
काठमाडौं । सरकारले अर्थतन्त्र सुधारसम्बन्धी गतिविधि अघि बढाए पनि सेयर बजारमा भने त्यसको रौनकता छाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सुस्ताएको अर्थतन्त्रलाई ‘यूटर्न’ गर्न रणनीतिक कदम चाल्ने तयारीमा भएपनि त्यसको असर पुँजी बजारमा परेको देखिँदैन ।
पछिल्लो केही दिनयता प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसहित विज्ञहरूसँग छलफल जारी राखेका छन् । तर, त्यसको प्रभाव भने पुँजी बजारमा पर्न सकेको छैन । साथै, नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका भए पनि लगानीकर्ताहरूमा त्यसको सकरात्मक प्रभाव पर्न नसकेको सेयर जानकारहरू बताउँछन् ।
दशैंपछि खुलेको सेयर बजार सामान्य अंक बढ्दा उकालो लाग्ने अनुमान गरिएको थियो । तर, दोस्रो दिन नै दोहोरो अंकले घट्दा भने अझै कति ओरालो लाग्ने हो भन्ने चिन्ता लगानीकर्ताहरूमा बढेको छ ।
आज नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ अंकमा बन्द भएको हो । मंगलबार दिनभरि २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ३७ हजार पटक खरिद बिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको हो । हिजो १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज म्युचुअल फण्ड समूह ०.४२ प्रतिशत बढ्दा अन्य सबै समूह राताम्य भएका छन् । आज सबैभन्दा धेरै म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१२ प्रतिशत र लघुवित्त समूह २.८९ प्रतिशत घटेको छ ।
मंगलबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशत बढेको हो । यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशत अर्थात् २५.८० रुपैयाँ घटेको छ ।
आज हिमालयन डिस्ट्रिलरिको सेयर कारोबार धेरै भएको छ । कम्पनीको ७ करोड ७८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ४ करोड ३९ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।