आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास नहुनुस् : उद्योगमन्त्री रिजाल
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन् । चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा बुधबारदेखि भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । “सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु”, उनले भने, “यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ ।” नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे । “तपाईहरुको संरक्षकत्व, अभिभावकत्व नेपाल सरकारले लिनेछ, भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ”, उनले भने, “ब्याज समस्याका विषयमा सरकारले पहल गरिरहेको छ, निरास भइहाल्नुपर्ने अवस्था छैन ।” कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले मेलाको उद्देश्य औद्योगिक वस्तुको खरिद बिक्री मात्र नभई संस्कारको पुस्तान्तरणसमेत रहेको बताइन् । यसै सन्दर्भमा मन्त्रालयले ‘नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकासको अवधारणा’ अघि बढाएको उनको भनाइ छ । यसको लागि चालु आर्थिक वर्षमै कार्यक्रम र कार्यान्वयनमा लागेको मन्त्री साहको भनाइ छ । स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवामा आयोजित मेला मङ्सिरको १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्तीलगायतका खेल प्रतियोगिता सञ्चालन गरिँदै छ । महोत्सवमा तीन सय ५० स्टल रहेको छ ।
एनआईसी एशिया बैंकले आफ्नै हेड अफिसको भवन निर्माण गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । हाल भाडामा केन्द्रिय कार्यालय राखेर सञ्चालन हुँदै आएकोमा बैंकले कमलादीमा आफ्नै भवन निर्माण गर्ने भएको हो । बैंकले मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले काठमाडौं महानगरपालिका २८ कमलादीस्थित १ हजार १७.४८ वर्गमिटर भएको जग्गामा आफ्नो भवन निर्माण गर्ने जनाएको छ । बैंकले उक्त भवन निर्माण कार्यको लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्न बोलपत्र आह्वान गरेको छ । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी)को जिम्मेवारी इन्भाइरोन्मेन्टल सर्भिसेज नेपाल प्रा.लि.ले पाएको छ । ‘बैंकको भवन निर्माण तथा सञ्चालनका लागि प्रस्ताव गरिएको छ, आयोजनाको कुल जग्गा १०१७.४८ वर्ग मिटर र सो जग्गा प्रस्तावक स्वयंको नाममा दर्ता छ, प्रस्तावित भवनको बिल्ट अप एरिया ४०४९.८ वर्ग मिटर र उचाई २९.६ मिटर रहनेछ, प्रस्तावित भवन जम्मा ७ तल्लाको हुनेछ र पार्किङ्ग व्यवस्थाका लागि २ वटा बेस्मेन्ट निर्माण गरिनेछ,’ बैंकको सूचनामा उल्लेखछ । भवन निर्माण गर्दा सो क्षेत्रको जैविक तथा पारिस्थितिकिय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीहरुबिच कस्तो प्रभाव पर्छ भनी यकिन गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न लागेको बैंकले बताएको छ । त्यसैल काठमाडौं महानगरपालिका २८ नं वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाले ७ दिनभित्र सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ ।
मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तको ८औं साधारणसभा आह्वान
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर सम्बन्धि कार्य गर्न र अन्य वित्तीय संस्थाको शाखा खरिद गर्न वा बिक्री लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १४ गतेदेखि मंसिर ३० गतेसम्म सेयरधनी किताब बन्द ९बुक क्लोज० गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तको साधारणसभामा सहभागी हुन पाउने छन् ।
साधारणसभा भएको दिन नै सिद्धार्थ बैंकले जम्मा गर्याे सेयरधनीको खातामा लाभांश
काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको मंसिर ५ गते सम्पन्न २२औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीहरूलाई ४.२१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा मंसिर ५ गतेदेखि नै जम्मा गरेको बैंकले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
एकैदिन ५ जनाको शव फेला
काठमाडौं । काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका–४ धनपुरी बस्ने ४८ वर्षीय अमरलाल सदा सोही ठाउँस्थित माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राति घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । कैलाली, धनगढी उपमहानगरपालिका–६ मट्यारीस्थित सरस्वती सामुदायिक वनमा नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । चितवन, खैरहनी नगरपालिका–९ नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।
नेप्सेमा आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । लघुवित्तको ८.६० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४८७.७५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ५२९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै
काठमाडौं । ४ महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको महत्व तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनालगायत भाइरसबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादव बताउँछन् । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम
काठमाडौं । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् । प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा ३, जुम्लामा ४ र कालीकोटमा २ प्रहरी भवनमा क्षति पुगेको छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका ४ भवन भत्किएका छन् । बाह्र इलाका प्रहरी कार्यालय, १० प्रहरी चौकी, ६ अस्थायी प्रहरी पोस्ट र जिल्ला ट्राफिक कार्यालय भूकम्पबाट भत्किएको छ । रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय, २ इलाका प्रहरी कार्यालय, ४ प्रहरी चौकी र ५ अस्थायी प्रहरी पोस्ट भत्किएका छन् । त्यस्तै सल्यानमा ३ इलाका प्रहरी कार्यालय भत्किएका छन् । जुम्लामा जिल्ला प्रहरी कार्यालय, एउटा इलाका प्रहरी कार्यालय र २ प्रहरी चौकी भत्किएको छ । कालीकोटमा जिल्ला प्रहरी कार्यालय र एउटा प्रहरी चौकी भत्किएको छ । भाडाको घरमा रहेको जाजरकोट भेरी नगरपालिका–१ अस्थायी प्रहरी पोस्ट, रावतगाउँ चर्किएको छ । त्यहाँका प्रहरी अहिले त्रिपालको भरमा दैनिक कामकाज गरिरहेका छन् । सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरीचौकीभन्दा फरक छैन । जिल्ला प्रहरी कार्यालय प्रहरी जवान त्रिपालको भरमा छन् । प्रहरी नायव उपरिक्षक सन्तोष रोकाका अनुसार जिल्ला प्रहरी कार्यालयका ८ मध्ये ७ भवन चर्किएर बस्न नहुने भएका छन् । भर्खरै बनेको एउटा पक्की भवन मात्र बस्न लायक छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालय, २०३४ सालमा स्थापना भएको हो । भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको प्रहरी नायब उपरीक्षक नवराज भट्टराई बताउँछन् । पुर्तिमकाँडा, सोलावाङ र सिम्ली चौकी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अस्थायी प्रहरी पोस्ट साँख, स्यालाखदी, प्रहरीचौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन् । डिआइजी ढकाल प्रदेशभर ३०८ प्रहरी युनिट रहे पनि २५ प्रतिशत एकाइको मात्रै आफ्नो भवन रहेको बताउँछन् । ७५ प्रतिशत सबै जोखिममा रहेका र भाडामा लिएका घर रहेको उनको भनाइ छ ।