नबिल बैंकले घोषणा गर्याे लाभांश, २ दशकयताकै न्यून
काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्मकै न्यून हो । यसअघि आर्थिक वर्ष २०७८/७९मा १८.५ प्रतिशत बोनस सेयर ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
बिजनेस बद्लियो, करको संरचना फेर्नुपर्छ – अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समयमा व्यवसायको मोडेल बद्लिएको र सोही अनुसार करको संरचना पनि बदल्नुपर्ने बताएका छन् । आन्तररिक राजस्व विभागले आयोजना गरेको कर सप्ताह समापन समारोहमा बोल्दै अर्थमन्त्री महतले इभी, अनलाईन मार्केट, डिजिटल कारोबार र डिपार्टमेन्टल स्टोरहरुको विकास हुँदै गएकाले करको संचनामा पनि फेरवदल गर्न आवश्यक रहेको बताएका हुन् । ‘अहिले राजस्वको संरचना बद्लिदै छ, अहिले २/३ ईभी आएको छ, डिजिटल कारोबार बढेको छ, डिपार्टमेन्ट स्टोर आए, अनलाइन बिजनेस भैरहेको छ । स्यानो स्यानी स्टोर च्यालेन्जमा छ, त्यसकारण बिजनेसको स्ट्रक्चर चेन्ज भएपछी ट्याक्सको स्ट्रक्चर चेन्ज गर्नुपर्छ’, अर्थमन्त्री महतले भने । उनले भन्सारको आम्दानी बढेको तर, आम्नदानीका अन्य क्षेत्रमा जान आवश्यक भएको भन्दै राजस्व विभागका कर्मचारीलाई औंल्याएका छन् । ‘अहिले कस्टमको बिजनेस बढेको छ, अब फराकिलोतर्फ जानुस, सँधै एकैठाउँमा कोतरेर बसेर हुन्छ’, उनले भने, ‘अब परिणामको आधारमा तीन-तीन महिनामा हामी रिभ्यु गर्छौं ।’
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, को हुन् उनी ?
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य थिए । संस्थापक सेयरधनी डा.उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी अध्यक्ष बनेका हुन् । साथै, डा. महतो बैंकमा संलग्न नरहेको कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए । अध्यक्ष केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी लिमिटेड, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्टमा सञ्चालक भएर काम गरेको अनुभव उनीसँग छ । साथै, उनले के.सी. कन्स्ट्रक्सन प्रा.लि. सञ्चालन गरिरहेका छन् । उनको स्थायी घर महानगरपालिका ७ मुस्ताङ्गचोक हो ।
सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बने विजय शाह, आफ्नै रेकर्ड ब्रेक
काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । सरकारले उनलाई व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनलाई सम्मान गरेका हुन् । हिमालयन डिस्टिलरीका अध्यक्ष शाहले सबैभन्दा बढी आयकर तिरेका हुन् । उनले जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायत कम्पनी सञ्चालन गरिरहेका छन् । सरकारले बिहीबार १६ विधामा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । उनी पछिल्लो वर्षहरूमा उत्कृष्ट करदाता बनिरहेका छन् । उनको रेकर्ड अन्य करदाताहरूले ब्रेक गर्न सकिरहेका छैनन् ।
बैंकमा बढ्दै गइरहेको एनपीएलले चिन्ता बढिरहेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल)ले बैंकहरूलाई चिन्ता थपेको बताएका छन् । बिहीबार कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढ्दै जाँदा त्यसले बैंकरमा एक किसिमको तनाव सिर्जना गरेको बताएका हुन् । उनले वर्तमान अर्थतन्त्रको सुधारका लागि राष्ट्र बैंक र सरकारले हातेमालो गर्नु पर्ने बताए । सरकारले आयोजना गरेको सर्वपक्षीय कार्यक्रममा गर्भनर र अर्थमन्त्रीले पेश गरेको तथ्यांक सकारात्मक थियो । तर, ठ्याक्कै त्यस्तो भने छैन, बैंकिङ क्षेत्रमा एनपीएल बढिरहेको छ, यसले चिन्ता बढाएको छ,’ उनले भने । उनका अनुसार पछिल्लो समय अर्थतन्त्र केही सकारात्मक पनि हुँदै गएको छ । ‘विदेशी मुद्राको रिजर्भ, रेमिट्यान्स र पर्यटन क्षेत्र राम्रो छ, तर अझै समस्या छ, राष्ट्र बैंक र सरकारको तर्फबाट समस्या नआउने गरी काम गर्नु पर्छ, पब्लिकमा कन्फिडेन्स आउने गरी काम गर्नुपर्छ,’ उनले भने । यस्तै, उनले विगतमा सहज हिसाबले ऋण दिने र लिने काम भएपनि त्यसमा निजी क्षेत्रको कुनै भूमिका नरहेको बताए । उनका अनुसार अहिले कुल राजस्वमा निजी क्षेत्रको योगदान ८० प्रतिशत छ । उनले आयकर र मूल्य अभिवृदी करमा सुधार आवश्यक रहेको पनि बताए । निजि क्षेत्रका करदातालाई सम्मान गर्ने कार्यक्रमले कर तिरेपछि सम्मान पाइँदो रहेछ भन्ने महसुस व्यवसायीमा परेको उनको भनाइ छ ।
सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, बैंकिङमा ग्लोबल आइएमई र बीमामा एलआईसी नेपाल
काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो । गत वर्ष सबैभन्दा बढी आय कर तिर्नेमा व्यक्तिगततर्फ विजयकुमार शाह रहेका छन् । यस्तै, सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्नेमा सुर्य नेपाल रहेको छ । यस्तै, आयकर दाखिलामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) परेको छ । गत आर्थिक वर्षको आय विवरण अनुसार टेलिकमले सबैभन्दा बढी कर तिरेको विभागले जनाएको छ । त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपाल र विशेष उद्योगमध्ये एशियन पेन्ट्सलाई सम्मान गरेको हो । गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् । यस्तै, कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये ओ.सि.बी फुड्स एन्ड फिड्सलाई सम्मान गरेको हो । स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनमा मनकामना दर्शन र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् । मध्यमस्तरका करदाताअन्तर्गत नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर र रेमिट्यान्समा आईएमई रहेका छन् ।
खाद्य व्यवस्था कम्पनीले धान किन्न थाल्यो
काठमाडौं । बाँकेमा किसानले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले कृषकले उत्पादन गरेको धान आजदेखि खरिद गर्न सुरु गरेको हो । नेपालगञ्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको प्राङ्गणमा धान बिक्री गर्न आएका पहिलो किसान बाँके जानकी गाउँपालिका वडा नं –५ का रुपबहादुर कार्कीलाई स्वागत गरेर धान खरिद सुरु गरिएको नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । पालिकाको सिफारिस लिएर आएका किसानको धान परीक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको छ । बुधबार दिनभर ६ जना किसानबाट जम्मा २३० क्विन्टल धान खरिद गरिएको छ । यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लामिछानेले भने, “पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था यो वर्ष हुने छैन ।” गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचानका लागि पालिकाबाट सिफारिस अनिवार्य गरिएको छ । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ । यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने लिमिटेड नेपालगञ्जले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा नौ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो । यस वर्ष किसानको सहजताका लागि १० देखि १५ जनासम्मलाई कुपन दिएर पालो पर्ने दिनमा बोलाउने व्यवस्था मिलाइएको छ ।
अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह
काठमाडौं । ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो । ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ । ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।