विकासन्युज

देउसीभैलोको रकम भूकम्प प्रभावितलाई

कास्की । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५ सय ५५ रुपैयाँ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए । क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

बैठकभत्ताबाट बालबालिकालाई पोसाक

भोजपुर । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन् । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी हुन् । बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरूप उनीहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौंमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ९.७ र अधिकतम तापक्रम २३. ४ डिग्री सेल्सियस रहने छ ।

खेत बेचेको १० हजारबाट यसरी बनाए चन्दुभाइले १ खर्बको ‘बालाजी वेफर्स’

एजेन्सी । सन् १९७२ मा भारतका एक किसानले कृषिमा घाटा बेहोर्नुपरेपछि आफ्नो खेत बेच्ने निर्णय गरे । उनले खेत बेचेर आएको १० हजार रुपैयाँ छोराकाे हातमा थमाइदिए । छाेरा थिए चन्दुभाइ विरानी । वर्षा नहुँदा गुजरातमा चर्को खडेरी परेको थियो र त्यसका कारण चन्दुभाइ विरानीका बुबाले खेत बेच्नु नै उचित ठाने । त्यसपछि चन्दुभाइले राजकोटको प्रसिद्ध एस्ट्रोन सिनेमा हलअगाडि नास्ता बेच्न थाले । त्यतिबेला उनले ठूलो परिमाणमा स्यान्डविच बेचेका थिए। यो काममा समस्या थियो किनभने स्यान्डविच बाँकी रह्यो भने केही समयमै बिग्रिन्थ्यो। दोस्रो, सिनेमा हेर्न आउने दर्शकका लागि खाजा बोकेर घर जानुको विकल्प पनि थिएन । त्यसपछि चन्दुभाइको हातमा एउटा खजाना हात पर्यो । र, त्यो थियो– आलु चिप्स । उनले पहिलोपटक सिनेमा हलमा आलु चिप्स बेच्न थाले । यसका लागि चन्दुभाइलाई एउटा कारखाना र मेसिन चाहिएको थियो । बुबाले खेत बेचेर दिएको १० हजार रुपैयाँमा उनले घरमा एउटा सानो कारखाना स्थापना गरे । त्यसपछि उनको कारखानाले उत्कृष्ट चिप्स बनाउन थाल्यो । चन्दुभाइले सिनेमा हलसँगै दुइटा क्यान्टिनमा चिप्स बेच्न थाले । जकोटका कम्तीमा ३० व्यापारीले सिनेमा हल बाहिर चन्दुभाइले उत्पादन गरेको आलु चिप्स खाइरहेका थिए । बिस्तारै उनको व्यवसाय विस्तार हुन थाल्यो र उनले घरबाहिर कारखाना पनि स्थापना गरे । सन् १९८९ मा चन्दुभाइले ५० लाख रुपैयाँ ऋण लिएर गुजरातमा सबैभन्दा ठूलो आलु चिप्स कारखाना स्थापना गरे । उनको ध्यान गुणस्तर, प्रविधि र सरसफाइमा थियो । यसको नतिजा केही दिनमै देखिन थाल्यो । चन्दुभाइले एउटा ठूलो कारखाना स्थापना गरे जहाँबाट हरेक घन्टा २ सय ५० किलो आलुको चिप्स बनाउन सकिन्थ्यो। त्यतिबेला उनले मासिक ३० हजार रुपैयाँ कमाउँदै थिए र यो काम पूरा समय गर्न चाहन्थे । १९९५ मा चन्दुभाइले ‘बालाजी वेफर्स’ कम्पनी स्थापना गरे । बालाजी वेफर्स एस्ट्रोन सिनेमा पछाडिको हनुमान मन्दिरबाट प्रेरणा लिएर सुरु गरिएको थियो । त्यतिबेलासम्म गुजरातमा मात्र नभई देशभरि चिप्सको माग बढ्न थालेको थियो । त्यसपछि बालाजी वेफर्सले नमकिन र अन्य सेगमेन्टमा पनि काम गर्न थाल्यो । चन्दुभाइका चिप्स गुजरातमा उत्कृष्ट स्वादका कारण निकै चर्चित भएका छन् । सन् २००० सम्ममा चिप्स बजारमा बालाजी वेफर्सको ९० प्रतिशत र नमकिन बजारमा ७० प्रतिशत हिस्सा थियो । बालाजी वेफर्सका १ सयभन्दा बढी वितरक, ३० हजार खुद्रा विक्रेता थिए भने उनको मेगा कारखानाले प्रतिघन्टा १२ हजार किलो चिप्स उत्पादन गरिरहेको थियो । चन्दुभाइलाई थाहा थियो कि बालाजी वेफर्सलाई ठूलो कम्पनी बनाउन गुजरात बाहिर पनि जानुपर्छ । त्यसपछि बालाजी वेफर्सले मध्यप्रदेश, महाराष्ट्र र राजस्थानमा काम सुरु गर्यो । उनले हरेक क्षेत्रअनुसार जनतालाई दिने स्वाद पनि फरक–फरक बनाए । जसका कारण बालाजी वेफर्सले तीनवटै राज्यमा ठूलो प्रगति गरेको छ । गुजरातको घृति र महाराष्ट्रबाट चाट चस्का स्वादहरू अन्य राज्यहरूमा बालाजी वेफर्सका लागि सफलताको कथा बने । बालाजी वेफर्सको व्यापार निरन्तर बढ्दै गयो र यो क्रमशः १ अर्ब रुपैयाँबराबरको कम्पनी बन्यो। अंकल चिप्स र लेजसँग प्रतिस्पर्धा गर्न बालाजीले २५ प्रतिशत धेरै चिप्स दिन थाल्यो । बालाजी वेफर्सको यो रणनीतिका कारण पेप्सीले हार स्वीकार गरेको छ । त्यसपछि पेप्सीको बजार हिस्सा १० प्रतिशतले घटेको छ । सन् २०१३ मा पेप्सीले बालाजी वेफर्स किन्न ४० अर्ब रुपैयाँको बोली लगायो । त्यस समयमा बालाजी वेफर्सको आम्दानी वार्षिक १८ अर्ब रुपैयाँबराबर थियो। चन्दुभाइ ठूलो योजनामा ​​काम गरिरहेका थिए र त्यतिबेला उनले पेप्सी र पछि ग्लोबल एफएमसीजी कम्पनी केलोगको प्रस्ताव अस्वीकार गरे । आज बालाजी वेफर्सले वार्षिक ४० अर्ब रुपैयाँबराबर कमाइ गरिरहेको छ । देशभरि चारवटा ठूला कारखाना छन् जहाँ दैनिक ६५ लाख किलो आलु र १ करोड किलो नमकिन उत्पान हुन्छ । चन्दुभाइलाई वेफर्सको सुल्तान (राजा) पनि भनिन्छ।

इन्स्पेक्टर बन्न सोर्स लगाउन गएका लाला सीए बनेपछि…

काठमाडौं । एउटा विकट हिमाली क्षेत्र, जहाँका नागरिकलाई आफ्नै सदरमुकाम पुग्न भारतको बाटो हुँदै दुई तीन दिन समय लाग्छ । अहिलेसम्म पनि सदरमुकाम पुग्ने बाटो बनेको छैन । त्यस्तो गाउँको केटोको सपना के होला ? धेरैसम्म भए पढेर सरकारी जागिर खाने, नभए भारत गएर मजदुर गरी सुविधा सम्पन्न ठाउँमा घर बनाइ बस्ने, यही त होला । तर, भास्करको संघर्ष भने यत्तिमै सीमित भएन । उनीे अहिले चार्टर्ड एकाउन्टेन्ट (सीए) बनेर फर्ममा काम गर्ने भएका छन् । नेपाल र भारतको सीमा पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरु सबैभन्दा विकट ठाउँ हो । कालापानी, लिपुलेक सीमा विावादमा जति नाम प्रचलित छ, त्यति त्यो ठाउँ राज्यको नजरमा न कहिल्यै पर्‍यो न त अझै पर्न सकेको छ । त्यही ठाउँमा जन्मेका हुन् सीए भास्कर सिंह लाला । ठाउँ विकट भए पनि चेतना भने त्यहाँका नागरिकमा धेरै थियो र छ नै । भारतसँगको सीमा र व्यापारिक केन्द्र चीन भएकाले पनि पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने सोच पहिल्यैदेखि त्यहाँका नागरिकमा थियो । भास्करका बुबा पनि छोराछोरी पढाउनुपर्छ भन्नेमा नै जोड दिन्थे । भास्कर गाउँकै विद्यालयमा कक्षा ५ सम्म पढे । त्यसपछिको उनको पढाइ भने सुविधा सम्पन्न शहर काठमाडौंमा भयो । उनका बुवाले छाङरुबाट उनका दाजुभाइको यात्रा काठमाडौँमा डो¥याइदिए । त्यसपछि सुरु भयो उनको सहरको पढाइ । सहरको पढाइ भास्कर काठमाडौँ आएर कीर्तिपुरमा रहेको ल्याब्रोटरी स्कूलमा पढ्न थाले । एक वर्ष त्यहाँ पढिसकेपछि त्रिभुवन आदर्श मावि फर्पिङमा उनको पढाइ सुरु भयो । त्यही स्कुलबाट २०३७ सालमा एसएलसी (हालको एसईई) पास गरे भास्करले । एसएलसी पास गरिसकेपछि उनी मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पस (एनसीसी)मा आइकम अध्ययन गर्न थाले । कलेजमा पढाइ राम्रो थिएन । त्यो बेला देशमा राजनीतिक उथलपुथल थियो । कहिले परीक्षाको मिति सर्ने, कहिले परीक्षा नै नहुने भयो । उनलाई आइकम पास गर्न ४ वर्ष लाग्यो । आइकम पास गरेपछि उनले बीकमको पढाई शंकरदेव कलेजमा सुरु गरे । वि.सं २०४६ सालमा बीकम पनि पूरा गरे । ‘मलाई पढ्नुपर्छ भन्ने त थियो । तर, यही पढ्छु, यस्तै गर्छु र यही बन्छु भन्ने थिएन,’ विगत स्मरण गर्दै भास्करले भने । ग्रेजुएट भइसकेपछि भास्करका बुवालाई छोराले जागिर खाइदिए हुन्थ्यो भन्ने लाग्यो । उनलाई पनि अब आफैं काम गर्नुपर्छ भन्ने लाग्यो । तर, त्यो बेला जागिर पाउन त्यति सहज थिएन । ‘पढाइ सकेपछि जागिर खानुपर्छ भन्ने सबैलाई लाग्छ,’ उनले थपे, ‘मलाई पनि त्यस्तै लाग्यो । र, पढाइ सकेपछि कामको खोजीमा लागें ।’ इन्स्पेक्टर बन्न सोर्स भास्करलाई यत्तिको पढेलेखेको मान्छेले जागिर खान पाए हुन्थ्यो भन्ने हुटहटीले सताइरहन्थ्यो । उनलाई जागिर त सरकारी नै खानुपर्छ भन्ने पनि लाग्न थाल्यो । ‘त्यो समय प्राइभेटभन्दा सरकारी काम गर्नेहरूको छुट्टै सान हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यही भएर मैले नेपाल प्रहरीमा जागिर खाने निर्णय गरें ।’ नेपालमा हरेक काम गर्न भनसुन चाहिन्छ भन्दा अन्यथा नहोला । पहिलेदेखि चलिआएको भनुनसुन प्रथा अहिलेसम्म पनि कायमै छ । कुरा २०४६ तिरको हो । भास्कर नेपाल प्रहरीको इन्सपेक्टर पदका लागि तयारीमा लागे । नाम निकाल्न जानेर मात्रैले पनि हुँदैनथ्यो । पावर लगाउनुपथ्र्यो । उनी एउटा काका नाता पर्नेलाई भेट्न गए । काका त्यो बेलाका आईजीपी अच्युत खरेलको आफन्त थिए । ती दिनहरू सम्झदै भास्करले विकासन्युजसँग भने, ‘इन्सपेक्टरमा नाम निकाल्नका लागि भनसुन गर्न गएँ, मलाई जसरी हुन्छ जागिर लगाइ दिनुपर्‍यो, जे गर्नुपर्छ म तयार छु के भनेको थिएँ उनले मलाई सीए पढ्न सल्लाह पो दिएर पठाए ।’ भास्कर भेट्न गएका व्यक्ति नेपाल राष्ट बैंकमा काम गर्दा रहेछन् । उनले जागिरको कुरा गर्ने बित्तिकै भास्करलाई उल्टै पश्न गरे, पढाइ सक्यौँ ? भास्करले आफ्नो पढाइबारे सबै कुरा भने । उनको पढाइ र उनको दक्षता देख्दा उनी रिसाए, ‘यस्तो मिहिनेत गर्ने क्षमता भएको व्यक्तिले यस्तो जागिर खाने ? बरु तिम्रो भविष्य अझै राम्रो बन्छ, तिमी सीएको तयारी गर,’ ती व्यक्तिले भनेको कुरा स्मरण गर्दै भास्करले विगत सम्झिए । यति भनिसकेपछि उनलाई दोमन भयो, के गर्ने ? के नगर्ने ? जागिरको सपना बोकेर गएका उनी फेरि पढ्नुपर्छ भन्ने सल्लाह पाइसकेपछि उनको मनमा लाग्यो सीए पढ्ने कि नपढ्ने ? रातभर उनलाई छटपटी भयो । उनले त्यो बेलाका बैंकिङ क्षेत्रमा प्रख्यात रत्नराज बज्रचार्यसँग भेट्न निधो गरे । जो अहिले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । बजाचार्यसँग भेटेर सीएको बारेमा जानकारी लिइसकेपछि लालाले सीए पढ्ने योजना बनाए । आइकम र बिकम गरिसक्दा पनि सीएको बारेमा लालालाई केही थाहा थिएन । पहिले पढ्दै गर्दा एकाउन्टेन्टको प्रश्नहरू सल्भ गर्ने क्रममा सीए १९८२, १९५० लेखेको हुन्थ्यो । ‘त्यो बेला त्यति वास्ता गरिएन जब सीएको बारेमा थाहा पाएँ पछि बुझें। त्यो त सीए पढ्ने विद्यार्थीका लागि यति सालमा सोधिएको प्रश्न रहेछ,’ उनले त्यो बेलाको रमाइलो किस्सा सुनाए । सीए पढ्न भारत हानिँदा सीए पढ्ने योजना अनुसार भास्कर वि.सं २०४७ सालमा काठमाडौँबाट भारततर्फ लागे । भारतको कोलकत्ता हुँदै मद्ररास पुगे । त्यसपछि उनले बुवालाई फोन गरेर आफू पढ्न त्यहाँ पुगेको कुरा सुनाए । राष्ट्र बैंकबाट अरु पनि पढ्न चेन्नेई गइसकेका थिए । अहिलेका गभर्नर महाप्रसाद अधिकारी उनको कोठामा सँगै बस्ने साथी थिए । महाप्रसादले राष्ट्र बैंकमा काम गर्न सुरु गरिसकेका थिए । ‘सबै चिनेका साथी थिए, भारत बस्दा गाह्रो भएन,’ भास्करले सुनाए, ‘केही साथीहरूले कोर्स पूरा गर्न सकेनन् । त्यो बेला अहिलेको जस्तो प्लसटु पास गरिसकेपछि पढ्न पाइँदैनथ्यो ।’ त्यो बेला ग्रेजुएट गरेरमात्र सीए पढ्न पाइन्थ्यो । अहिलेको जस्तो तीन तह थिएन । पहिलो र दोस्रो तहमात्र पढ्नुपथ्र्यो । साढे ४ वर्षमा सीए गरेर वि.सं २०५१ सालमा उनी नेपाल फर्के । नेपाल फर्किसकेपछि भास्करले महालेखा परिक्षकको कार्यालयबाट लाइसेन्स लिए । त्यसपछि उनी एसआर एण्ड कम्पनीमा काम गर्न सुरु गरे । त्यो बेला जागिर पनि खान पाइन्थ्यो, बाहिर काम पनि गर्न मिल्थ्यो । नेपाल फर्किसकेपछि भास्करले ११ महिना राष्ट्र बैंकमा काम गरे भने विभिन्न संघसस्थामा पनि आबद्ध भए । उनले लामो समय नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् । जन्म थलो पुगेरै बिहे सीए बनिसकेपछि भास्करले बिहे गर्ने योजना बनाए । उनी बिहे गर्न आफ्नै गाउँ फर्के । परिवारले दार्चुलाकै सितोलाबाट केटी तयार पारेका थिए । भास्करले वि.सं २०५१ सालमा बिहे गरेपछि उनको बसाइँ पनि आजभोलि काठमाडौंमै छ । अहिले उनका एक छोरा र एक छोरी छन् । अहिले उनका छोरा पढाइको सिलसिलामा अमेरिकामा छन् । छोरीले भने नेपालमै पढ्दै छन् । ‘श्रीमती घर व्यवहारमै व्यस्त, म आफ्नै काममा व्यस्त छु । अहिले मेरो जिन्दगी गज्जबले चलिरहेको छ,’ भाष्करले छाङरुदेखि भारत हुँदै काठमाडौँसम्मको कथा सुनाए, ‘मिहिनेत खुब चाहिन्छ । तर, यो पढिसकेपछि त्यत्तिकै बस्न मिल्दैन । हामी काम गर्ने पैसाको लागि हो, पढ्न पैसा पनि कम लाग्ने भएकाले म अहिलेका भाइबहिनीलाई यही पढ्न सल्लाह दिन्छु ।’ याद आउने बालापन भास्कर जन्मेको छाङरुमा बाहै्र महिना गाउँमा बस्न सकिँदैन । ६ महिना सदरमुकाम खलंगा र ६ महिना गाउँमै बस्नु पर्ने बाध्यता त्यहाँका नागरिकको छ । हिउँद याममा गाउँ हिउँले ढाकिदिन्छ, ६ महिना फेरि गाउँ उक्लनुपर्छ । छाङरुबाट सदरमुकाम आउनभन्दा सहज चीनको तिब्बत पुग्न हुन्छ । तर, कोभिड १९ पछि भने अहिले त्यो नाका बन्द छ । भारतसँगको सीमा नाका, चीनसँगको व्यापारिक केन्द्रमा बालापन बिताएका भास्करलाई अहिले पनि चीनको तिब्बत पुगेको याद आउँछ । उनी भन्छन्, ‘कडा मिहिनेत र परिश्रम भए गाउँठाउँ विकट भएर पछि परिँदैन । बस्, लगनशील भएर काम गर्नुपर्छ, मैले इन्स्पेक्टरको जागिर खान भनसुन लगाउन गएजस्तो कसैले जागिर खान सोर्सफोेर्स लगाउन पर्दैन ।’

भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता मेला सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता मेला सञ्चालनमा आएको छ । विभिन्न १० वटा कम्पनीहरूको संयुक्त आयोजनामा सो मेला विशेष छुटको व्यवस्था सहित सञ्चालनमा आएको हो । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको व्यवसायी गंगा श्रेष्ठले बताए । उनका अनुसार मेलामा ३० भन्दा बढी ब्राण्ड र झण्डै ६ बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहने छन् । विभिन्न मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ता चप्पल खरिद गर्न सहज हुने पनि श्रेष्ठले बताए । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मंसिर महिना भर सञ्चालनमा रहने उक्त मेलामा पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल पाइने बताइएको छ । आयोजकका अनुसार मेला अवधिभर एक जोडी जुत्ताको खरिदमा न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुट पाइनेछ । मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, बोस सुज, फुट स्टेप लगायतको सहभागिता छ । मेला भेनस सुजको आयोजनामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगको मान्यता दिन माग

काठमाडौं । पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिन र भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ ।  यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ अन्तर्गत आज सञ्चालित अन्तरसंवाद कार्यक्रमका वक्ताले पुस्तक प्रकाशन क्षेत्र प्राज्ञिक र सेवामूलक व्यवसाय भएकाले उद्योगको मान्यता दिइ राज्यबाट आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन् । ‘विद्यालयस्तरीय पुस्तक र निजी प्रकाशनको भूमिका’ विषय उक्त संवादमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिका सभापति भानुभक्त जोशीले विद्यालय तहका पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने जिम्मेवारी पाएका सरकारी र निजी निकायले समयमै काम गरी विद्यार्थी र अभिभावकलाई सेवा दिनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय पुस्तक नीति जारी गराउन, यस क्षेत्रलाई उद्योगको मान्यता दिन र पाठ्यपुस्तकको मूल्य समायोजन गर्न आफूले पहल गर्ने विश्वास दिलाए । शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक दीपक शर्माले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृतिप्राप्त पुस्तक विद्यालयले प्रयोग गर्नुपर्ने भन्दै त्यसको गुणस्तर कायम गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्ने बताए ।  महासङ्घका सल्लाहकार एवं एकता प्रकाशनका सञ्चालक रामचन्द्र तिमोथीले आर्थिक मन्दीसँगै प्रकाशन पलायन हुन थालेको अवस्थामा राज्यले सहुलियत दिनुपर्ने बताए । महासङ्घका सल्लाहकार एवं बुद्ध प्रकाशनका सञ्चालक नवराज बजगाईंले राष्ट्रिय पुस्तक नीति छिटो जारी गर्न माग गर्दै यस क्षेत्रलाई उद्योगको मान्यता दिन र ११ वर्षदेखि वृद्धि नभएको पाठ्यपुस्तकको मूल्य समायोजन गराउन आग्रह गरे । यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहकाबीच उद्घाटन गरेका थिए । प्रदर्शनीमा दक्षिण एशिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दाबढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० कक्ष राखिएका छन् । महासङ्घका महासचिव शिवसागर शर्माले आज मेलामा ६० भन्दाबढी विद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति रहेको जानकारी दिए । रासस

संसदीय समिति सञ्चालनका लागि बजेट अभाव

काठमाडौं । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गरेका हुन् । समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताइन् । संसदीय समितिका लागि वार्षिक कार्यक्रम बाँडफाँट विवरण २०८०-८१ प्रस्तुत गर्दै सभापति राईले न्यून बजेटका कारण समितिका गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताइन् । समितिका सदस्य डा खिमलाल देवकोटाले सरकारको प्रतिनिधि गर्ने संसदीय समितिको आर्थिक अवस्था कमजोर रहेको प्रस्ट्याए । उनले समितिमा बजेट अभावका कारण तोकिएको कार्यक्रममा लक्ष्यअनुसार काम गर्न नसकिएको पनि जानकारी दिए । समितिका अर्का सदस्य देवेन्द्र दाहालले संसद् सचिवालयलाई पर्याप्त बजेटसँगै निर्धारित वार्षिक कार्यक्रमको प्रभावकारिताबारे समेत प्रश्न उठाए। गत वर्ष समितिलाई रु १५ लाख बजेट विनियोजन भएको भए पनि उक्त रकम खर्च गर्न नसकेको बताउँदै सांसद दाहालले धेरै बजेट हुनुभन्दा कार्यक्रम छनोट गर्दा ध्यान दिनुपर्ने धारणा राखे। समितिका सदस्य जितेन्द्रनारायण देवले विधायन व्यवस्थापन समितिले सन्तोषप्रद काम गरेको बताए । उनले अन्य समितिभन्दा यो समितिले निर्धारण गरेका कार्यक्रमको नतिजा लक्ष्यअनुसार प्राप्न गर्न सकेको र अब आर्थिक वर्ष २०८०–८१ को योजनाअनुसार नै सफल हुने विश्वास व्यक्त गरे। सांसद गङ्गाकुमारी बेल्वासेले समितिमार्फत चार वटा प्रदेश अवलोकन गरिसकेको र बाँकी रहेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पनि अवलोकन गर्ने योजना तय गर्न सभापतिसँग अनुरोध गरिन् । सङ्घीय संसद्अन्तर्गतका विभिन्न १६ वटा विषयगत समितिको कार्यसञ्चालनका लागि सङ्घीय संसद् सचिवालयमार्फत सरकारले चालु आव २०८०–८१ का लागि एकमुष्ट २ करोड ८ लाख बजेट बिनियोजन गरेको छ । प्रत्येक समिति सचिवालयले आ–आफ्नो समितिको कार्यक्षेत्रका अनुगमन कार्यक्रम सञ्चालनका लागि १० लाखको दरले कूल १ करोड ६० लाख विनियोजन गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौमासमा सो रकमको एक तिहाइ बराबरको रकम खर्च गर्नुपर्ने रहेको छ । विज्ञ र परामर्श सेवाका लागि प्रत्येक समितिका लागि ६२ हजार ५०० का दरले कूल १० लाख बराबर रकम विनियोजन गरिएको छ । समितिका कार्यक्षेत्रबमोजिम अन्तक्रिया सञ्चालन गर्न एकमुष्ट ३० लाख र पूर्वबजेट छलफलका लागि ८ लाख बजेट राखिएको छ । रासस