विकासन्युज

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, कर्णली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । मौसमविद् लामिछानेले आज रातिबाट मौसम विस्तारै सुधार हुँदै जाने उल्लेख गरे। उनले भने, ‘यो मौसमी प्रणाली आजको लागि हो, रातिदेखि सुधार हुँदै जाने देखिन्छ । देशको पाहडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा नै रहने देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’ सङ्घीय राजधानी काठमाडौं उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले काठमाडौँको आकाश खुलेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब पुग्यो कूल सम्पत्ति

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा ३२ अर्ब रुपैयाँ सेयरमा लगानी गरेको छ । कोषले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तसम्म धितोपत्रमा २२ प्रतिशत लगानी बढाएर ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ गरेको हो । गत वर्षको सोही अवधिमा कोषले २६ अर्ब २३ करोड ९४ लाख रुपैयाँ धितोपत्रहरूमा लगानी गरेको थियो । असोजसम्म कोषको बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ मौज्जात रहेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २५ अर्ब ९८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मौज्जात थियो । कोषका अनुसार गत असोजसम्म २ अर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । गत वर्षको असोजमा २ खर्ब २७ अर्ब ७३ करोड रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको थियो । ४ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ कूल सम्पत्ति रहेकोमा गत असोजसम्म बढेर ५ खर्ब २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज मंसिर १२ गते अन्तिम दिन रहेको छ । मंसिर ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता कर्मचारी, ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ३.५० प्रतिशतदेखि ४ प्रतिशत, विशेष बचतमा ४.२५ प्रतिशत, सुपर बचतमा ४.२५ प्रतिशतदेखि ४.७५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशत, अनिवार्य नियमित बचतमा ९.५० प्रतिशत र क्रमिक बचतमा ९.२५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम ८.७५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट १०.२५ प्रतिशत सम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

९ महिनादेखि घरभाडा नतिरेपछि निदान हस्पिटललाई घरखाली गर्न ३५ दिनको अल्टिमेटम

काठमाडौं । ललितपुरस्थित निदान हस्पिटल प्रा.लि.ले ९ महिनादेखिको घरभाडा नतिरेपछि घर खाली गर्न घरधनीले आग्रह गरेकी छिन् । मंगलबार एक सूचना प्रकाशन गर्दै घरधनी मिना श्रेष्ठले ३५ दिनभित्र घर खाली गर्न र बाँकी रहेको घरभाडा वापतको रकम उपलब्ध गराउन आग्रह गरेकी हुन् । ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित निदान हस्पिटलले श्रेष्ठका पिता इन्द्रमान जोशीसँग वि.सं. २०७४ मंसिर १ गतेदेखि लागु हुने गरी कित्ता नम्बर ६२, ६३ र ६४को जम्मा क्षेत्रफल दुई रोपनी एघार आना दुई पैसा जग्गामा बनेको घर र बाँकी खाली सम्पूर्ण जग्गा भाडामा दिनेलिने गरि घरबहाल सम्झौता भएको थियो । उक्त जग्गा पिताको शेषपश्चात् आफ्नो नाममा नामसारी भई आएकोमा हस्पिटलले पटक–पटक अनुरोध गर्दा समेत सम्झौताको उल्लंघन गरि २०७९ फागुनदेखि २०८० कार्तिकसम्म ५५ लाख ५१ ह्जार ७२९.२० रुपैयाँ घरभाडा रकम नबुझाएको घरबेटी श्रेष्ठले बताइन् । ‘अब उपरान्त भाडामा दिने वा नदिने मेरो निजी हकअधिकारको विषय भएकोले उक्त रकम तथा सोको कानुन बमोजिमको ब्याज तथा मनासिव क्षतिपूर्ति उपलब्ध गराई ३५ दिनभित्र उक्त घर जग्गा खाली गराइदिन तथा उल्लेखित घर वहाल सम्झौतापत्र समेत रद्द भएको २०८० कात्तिक २० गते इमेलमार्फत् हस्पिटलको आधिकारिक इमेल तथा संचालकहरुको इमेलमा पठाइएको र सोही व्यहोराको पत्र उक्त हस्पिटलमा बुझाउन जाँदा बुझ्न इन्कारी गरेकोले हुलाक मार्फत पठाउँदा समेत बुझ्न इन्कारी गरेको भनी हुलाकबाट जानकारी प्राप्त भएकोले यो सूचना प्रकाशित गरिएको छ,’ घरबेटी श्रेष्ठले भनिन् । हस्पिटललाई इमेलमार्फत् दिइएको ३५ दिने सूचना मंसिर २४ गते समाप्त हुने भएता पनि अन्तिम पटकको लागि यो मौका प्रदान गरिएको उनको भनाइ छ । अतः उल्लेखित सम्झौता रद्द भइसकेको र ३५ दिनभित्र घर जग्गा खाली गराई बाँकी भाडा रकम उपलब्ध नगराए कानून बमोजिम अघि बढ्ने श्रेष्ठले बताइन् ।

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश पठाउन सक्छन् । साथै, सो रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनु पर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण भएको राष्ट्र बैंकले जनाएको छ । ‘यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगरौं,’ राष्ट्र बैंकको सन्देशमा भनेको छ । साथै, वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

बीमा कम्पनीरू शहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रसम्म बीमा पुगेन : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले बीमाको पहुँच विस्तारका लागि बीमा कम्पनीहरू शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने र बीमा सम्बन्धी जनचेतना अविृद्धिमा जोड दिनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले कर्णाली प्रदेश सरकारसँग सुर्खेतमा आयोजना गरेको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री शर्माले बीमा गर्न चाहनेले सहजै बीमा गर्न पाउने र विना झन्झट समयमा नै दाबी भुक्तानी पाउने सुनिश्चित गर्न आग्रह गर्दै बीमाबाट कसरी लाभ प्राप्त गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकारले बीमा सम्बन्धी नीति ल्याउनुपर्ने र सेवासँग बीमालाई जोडेर बीमाको दायरा विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमामार्फत थोरै रकमबाट धेरै आर्थिक सुरक्षण हुने भएकाले घर तथा सम्पत्तिको बीमा गर्नुपर्ने र ठेक्कापट्टाका क्रममा मात्र नभई निर्माण सम्पन्न भएपछि पनि भौतिक पूर्वाधारहरूको बीमा गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । प्रदेश सरकारले लक्षित स्थान र समूह पहिचान गरी बीमामा अनुदानको व्यवस्था गर्नु उचित हुने सुझाव दिँदै अध्यक्ष सिलवालले कर्णाली प्रदेशको आवश्यकताका आधारमा बीमाको व्यवस्था गर्न प्राधिकरण तयार रहेको जानकारी दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तार गर्ने, बीमा सम्बन्धी सचेतना बढाउने र बीमा सम्बन्धी समस्याहरूको समाधान गर्ने सन्दर्भमा प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको बताए । सहभागीहरूले बीमा कम्पनीहरूले पशुबीमा गर्न ध्यान नदिएको, सुँगुरको बीमा नगरेको, बीमा कम्पनीहरू जिल्लाको सदरमुकाममा मात्र केन्द्रित हुने गरेको, गाउँ गाउँमा बीमा कम्पनीहरू नपुगेको, कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको भूमिका निर्वाह नगरेको, कम्पनीका क्रियाकलापबाट बीमा नाफा मात्र नभई सेवा पनि हो भन्ने नदेखिएको, बीमा दाबी गर्न धेरै ठाउँ धाउनुपर्ने बाध्यता रहेको, कृषिबीमामा धेरै समस्या रहेको, कर्णालीमा भूकम्प पश्चात् पनि विपद् कोषमा बीमा कम्पनीहरूको योगदान नभएको जस्ता गुनासाहरू आउने गरेको जानकारी दिए ।

सामाजिक सुरक्षा कोषद्वारा सिप्रदी ट्रेडिङ सम्मानित

काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान तथा प्रसंशापत्र प्रदान गरेको छ । कोषले छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङलाई सम्मान गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको ५ वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरुमध्ये आर्थिक वर्ष २०७९÷८०मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडिङ उत्कृष्ट हुन सफल भएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ)राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।