विकासन्युज

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

काठमाडौं । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ। यसै गरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ । यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिँउले सेताम्य भएका छन् । रासस

बैंक तथा बीमा कम्पनीले मर्जर र एफपीओमा कर तिर्नुपर्ने, सरकारको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । बैंक तथा बीमा कम्पनीले मर्जर तथा एफपीओमा कर तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णयलाई सदर गरेसँगै बैंक तथा बीमा कम्पनीले कर तिर्नुपर्ने भएको हो । बिहीबार भएको सुनुवाईपछि कर असुल्ने सरकारको निर्णय विरुद्ध बैंकर र बीमकले दायर गरेको रिटमा अदालतले सरकारको निर्णयलाई सदर गरिदिएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा कुमार रेग्मीको संबैधानिक इजलासले सरकारको उक्त निर्णय सदर गरिदिएको हो । यसअघि बैंकर र बीमकले मर्जर तथा एफपीओको कर असुल्ने निर्णय विरुद्ध परमादेश माग्दै अदालतमा रिट हालेका थिए । विभिन्न १५ वटा वाणिज्य बैंक र २ बीमा कम्पनीहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको निर्णयविरुद्ध गत भदौ २९ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । बैंकहरुले एफपीओमा र मर्जर/एक्विजिशनको बार्गेन पर्चेज गेनको रकममा लादिएको करबारे दुई वटा रिट दर्ता गराएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नबिल, सानिमा, सिद्धार्थ, सिटिजन्स, एनआइसी एशिया, कुमारी, हिमालयन, प्राईम, प्रभु, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकले संयुक्त रुपले मुद्दा हालेका थिए । त्यस्तै, बैंकहरु अदालत गएपछि प्रिमियममा एफपीओ निष्काशन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि अदालतमा मुद्दा दायर गरेका थिए । नेपाल लाइफले असोज २ गते र शिखरले असोज २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थिए ।

सेरेसको थ्रि एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा

पोखरा । पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एम.ए.डब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले शोरुमको उद्घाटन गरेका छन् । उक्त अवसरमा आ–आफ्नो धारणा राख्दै सेरेसको उपस्थितिसँगै पोखरामा विद्युतीय गाडीको माग बढ्ने र सेरेस लोकप्रिय हुने विश्वास व्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा २ जना ग्राहकलाई थापा मोटर्सले सेरेस इभी हस्तान्तरण गरेको छ । सेरेस थ्रि र मिनी इभी हस्तान्तरण गरिएको हो । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।

नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ३.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३१०.३६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो । यससँगै आइतबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३१०.३६ रुपैयाँलाई आधार मानेर हुने छ ।

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध, सञ्चालकमा ६ जना निर्वाचित

काडमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो वैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ । यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । उनले भने, ‘फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।’ सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाई सहयोगी दुई जना गरी हालसम्म पाँच जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए । रासस

व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । व्यवसायिक भवनले पार्किङ शुल्क उठाउने काठमाडौं महानगरको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार संविधानअनुसार स्थानीय तहलाई नभएको भन्दै सर्वोच्चले महानगरको निर्णयलाई बदर गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, शुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले महानगरको निर्णयलाई अमान्य र बदर घोषित गरेको हो । ‘सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिई काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्थाहरू नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ को उपदफा ९४० र अनुसूची ११(क) को क्रमसङ्ख्या (१) र क्रमसङ्ख्या (३) लाई नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजको मितिदेखि अमान्य र बदर घोषित गरिएको छ। आदेशको जानकारी प्रत्यर्थी काठमाडौँ महानगरपालिकालाई दिनू,’ आदेशमा भनिएको छ । त्यस्तै, आदेशमा ‘काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०६० को दफा १२ को उपदफा (४) मा “बहुतले आवासीय वा व्यवसायिक भवनहरुमा रहेका व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीले सोही ऐनको अनुसूची ११(क) को क्रमसंख्या (१) मा “महानगर क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा सञ्चालित सवारी साधन पार्किङले अधिकतम रुपमा निम्न बमोजिमको दर रेटमा शुल्क संकलन गर्न सक्नेछ” भन्ने उल्लेख भई देहाय खण्ड (अ) मा दुई पाङ्ग्रे सवारी साधन र देहाय खण्ड (आ) मा चार पाङ्ग्रे सवारी साधनको लागि पार्किङ शुल्क तोकिएको र सोही अनुसूचीको क्रमसंख्या (३) मा “व्यवसायिक भवनहरुमा भएको पार्किङ क्षेत्रमा सोही भवनमा भएका व्यवसाय र सेवा प्रवाहसँग सम्बन्धित सेवाग्राहीहरुलाई निशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्नेछ र सो बाहेकका लागि पार्किङ शुल्क लिन पाइनेछ” भन्ने उल्लेख भएको देखियो । यी व्यवस्थाहरु महानगरपालिका आफैले कर वा शुल्क दस्तुर लिने वा उठाउने कुरासँग सम्बन्धित नदेखिई निजी स्वामित्वका घरजग्गा वा व्यवसायिक भवनहरुमा भएको पार्किङ सेवा उपलब्ध गराएबापत ती घरजग्गा वा व्यवसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन पाउने वा नपाउने, उठाउँदा के कति उठाउने भन्ने कुरासँग सम्बन्धित रहेको देखियो’, सर्वोच्चको आदेशमा भनिएको छ ।