विकासन्युज

बैंकहरूले ४ महिनामा डेढ खर्ब बढाए निक्षेप, कर्जा प्रवाह १ खर्ब पुग्यो

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाह सुस्त भनिएपनि तथ्याङ्कले भने बढेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरूले झण्डै १ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन् । राष्ट्र बैंकका अनुसार ४ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २.१ प्रतिशत अर्थात् ९९ अर्ब ४० करोड रुपैयाँ बढाएर कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरूको १.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । ४ महिनाको अवधिमा बैंकहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फकोकर्जा ३.७ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत बढेको राष्ट्र बैंकले बताएको छ । साथै, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशत, नगद प्रवाह कर्जा १३.९ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १८.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.० प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ४०.३ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.१ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.७ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब ६१ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ पतिशत अर्थात् ४६ अर्ब ७४ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निक्षेप १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.३ प्रतिशत, २६.० प्रतिशत र ५८.० प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०७९ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३७.१ प्रतिशत रहेको थियो ।

फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको मंसिर २७ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर २८ गते बिहीबार दिउँसो १२ बजेर ४६ मिनेटमा मात्रै उपलब्ध भएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर लघुवित्तले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले संस्थासँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ । यससँगै कम्पनीले पुस २ गते सोमबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।

सूर्यज्योति लाइफका सञ्चालक शर्माले दिए राजीनामा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले राजीनामा दिएका छन् । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनको राजीनामालाई मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

हस्तकला व्यापार मेला सुरु, लाखौं मूल्यका सामग्री प्रदर्शनीमा 

काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आजबाट सुरु भएको छ । दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा भइरहेको उक्त व्यापार मेला पुस २ गतेसम्म सञ्चालनमा हुनेछ । महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२औं हस्तकला दिवसको अवसर पारेर सुरु गरिएको उक्त मेलाको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । उद्घाटनका क्रममा पौडेलले विदेशी मुद्रा अर्जन गर्ने प्रमुख वस्तुका रूपमा हस्तकला रहेकोले यसको प्रवर्द्धन गर्न अपरिहार्य रहेको बताए । ‘नेपाली हस्तकलाका सामग्री निर्यात गर्न सरकारको सहयोग पनि व्यवसायीलाई आवश्यक छ, परम्परामा आधारित वस्तुलाई उपयोगितासँगै सौन्दर्य थप्दै लैजाने पद्धति हस्तकलाभित्र पर्छ, त्यसैले युवा पुस्तालाई पनि यसको सीप दिन जरुरी देखिन्छ,’ उनले भने । नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजारमा पुर्याउन व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने पौडेलको भनाइ छ । यस्तै, महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मेलाबाट हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने बताए । उनका अनुसार हाल नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँको हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको छ ।   मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी राखिएको पनि शाक्यले बताए । मेलामा ३ वटा प्याभिलियनसहित करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन् । लाखौं मूल्य पर्ने हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । महासंघले मेलामा झण्डै १ लाख आगन्तुक आउने अपेक्षा गरेको छ । जसमध्ये २० हजार आगन्तुकका लागि निःशुल्क प्रवेश पास वितरण गरिने पनि बताइएको छ । यस्तै, व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था महासंघले मिलाएको हो ।

  काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा गत आर्थिक वर्ष २०७९ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९२.६१ रहेको कच्चा पेट्रोलियमको मूल्य चालु आर्थिक वर्षको कात्तिक मसान्तमा १६.१ प्रतिशतले कमी आई अमेरिकी डलर ७७.७३ कायम भएको छ राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७७३ रहेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९८०.१० पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५१ प्रतिशतले अवमूल्यन भएको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.७४ रुपैयाँ पुगेको छ । असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो ।

नेपालीले चार महिनामा गरे विदेश भ्रमणमा ६१ अर्ब र विदेशमा पढ्न ३८ अर्ब खर्च

काठमाडौं । नेपालीले चालु आर्थिक वर्षको चार महिनामा विदेश भ्रमणमा ६१ अर्ब ९२ करोड र विदेशमा पढ्न ३८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा नेपालीहरुले विदेश भ्रमणमा ६५ प्रतिशत खर्च गरेका हुन् । समीक्षा अवधिमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो । त्यस्तै, सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पनि ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छव । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकमा घट्यो मूल्यवृद्धि, मरमसलाको भाउ भने ३६.४६ प्रतिशतले वृद्धि

काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत कार्त्तिक महिनामा मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू तथा तेल र तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । कात्तिकमा यातायात उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ । कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब रुपैयाँले बचत

काठमाडौं । चालुु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति डेढ खर्ब बचत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ । गत कात्तिकसम्म पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ थियो ।