शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २७ गते शुक्रबारको दिन आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको छ । र, सभामा जाने प्रयोजनको लागि आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ भने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति भएको छैन । दमकबाट घर्ती दोभानसम्म सोही खोलको ट्रयाकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता पाउन नसकेपछि एमाले नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो । तेत्तीस किलोमिटर दूरीको सो सडक कालोपत्रका लागि ठेक्का लागेको पनि पाँच वर्ष बितिसक्यो । ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । सडक चौडा गर्दै कालोपत्र गर्नुपर्नेमा त्यसो गरिएको छैन । तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । पहिलो खण्डअन्तर्गत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । उक्त कम्पनीले रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर काम नगरेको हो । चारपटक म्याद थप भएको र अन्तिमपटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । राजमार्गको दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय इन्जिनियर गौतमकुमार देवले राससलाई जानकारी दिए । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशतमात्र काम भएको उनले बताए । काम चाँडो गर्न सरोकारवालाको ताकेता निर्माणकार्य अधुरै छाडेपछि सवारीसाधन सञ्चालनमै समस्या भएको भन्दै काम चाँडो गर्न सरोकारवालाले ताकेता गरेका छन् । घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड सवारी चल्न नसक्ने गरी बिग्रिएको भन्दै चाँडो मर्मत गर्न निर्माण कम्पनीलाई ताकेता गरेका हुन् । जिल्ला प्रशासन कार्यालय इलाममा सोमबार भएको सर्वदलीय बैठकले सडक निर्माणको गति अत्यन्त सुस्त भएको निष्कर्ष निकाल्दै चाँडो गर्न ताकेता गरेको हो । बैठकले चार बुँदे निर्णय गर्दै तोकिएको गुणस्तरमा आउँदो वर्षायाम अगाडि नै निर्माण सम्पन्न गर्न अनुरोध गरेको छ । बैठकले सडक निर्माणमा भएको प्रगतिको तत्काल अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड पुस १० भित्र मर्मत गर्न प्रशासनले निर्माण कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ । ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि माङसेबुङ गाउँपालिकाले तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय इलाममा समन्वय गराउन पत्रचार गरेको थियो । तीन महिनापछि प्रशासनले बोलाएको सर्वदलीय बैठकमा निर्माण कम्पनीका प्रतिनिधिमाथि सरोकारवालाले चर्को असन्तुष्टि र गुनासो राखेका थिए । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ठेकेदार कम्पनीको लापरवाहीले सडक निर्माण गति सुस्त भएको बताए । ‘ठेकेदारको लापारवाहीले काममा ढिलाइ भएको छ । त्यसको दोष भने हामी जनप्रतिनिधिले खेप्नु परिरहेको छ’, अध्यक्ष राईले भने, ‘सडकको काम सहज बनाउन ढुङ्गा, गिट्टी, बालुवाको ठेक्कासमेत नलगाएर सहयोग गरेका छौँ तर ठेकेदारले जिम्मेवार भएर काम गर्नुपर्यो ।’ उनले ठेकेदार कम्पनीबाट जनप्रतिनिधि र नागरिकलाई पटक–पटक ढाँट्ने काम भएको भन्दै अब पनि ढाँट्ने काम भए जनप्रतिनिधि नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिए । निर्माण कम्पनी प्रतिनिधिले भने कोभिडको पहिलो र दोस्रो लहर नै सबैभन्दा ठूलो कारण देखाएर जोगिने प्रयास गरेका थिए । पटक–पटक म्याद थप्दासमेत काम गर्न नसकेको कमजोरी भने दुवै कम्पनीका प्रतिनिधिले स्वीकार गरेका थिए । रासस
लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो १६औं साधारणसभा
काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको हो । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको ५.२६३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ११ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच साझेदारीको सम्झौता
काठमाडौं । चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणमा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर रकाठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताबाट दुवै पक्षबीच एकापसमा रहेको ज्ञान र अनुभवका साथै विज्ञताको आदान–प्रदान र शैक्षिक कार्यक्रम विस्तारमा सहयोग पुग्ने बताए । उपकुलपति थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत चिकित्सा शिक्षामा हातेमालो गर्दै विश्वविद्यालयले स्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमा, बर्सेनि पाँच लाख कमाइ
गलकोट । धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो । उनी सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख आम्दानी गर्न सफल भएका छन् । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आएका छन् । आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए । उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो । दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराखेका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेती समर्पित गराएको बताए । ‘परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई रु पाँच लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष सुन्तला बिक्रीबाट रु पाँच लाख कमाएको हो’, खड्काल भने । चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन् । आगमी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ । यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहेका छन् । सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुगेका हुन् । सुन्तला गाउँका रूपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् । ‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ’, खड्काले भने, ‘परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर रु तीन करोडसम्मको सुन्तला उत्पादन हुने गर्दछ ।’ पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दौ आम्दानी गर्दै आएका छन् । खड्कासहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आएका छन् । रासस
करारमा खटिएका चिकित्सकले असोजदेखि तलब पाएनन्, डाक्टरको संख्यामा विवाद
काठमाडौं । छात्रवृत्ति करार कोटामा काम गर्ने चिकित्सकहरुले असोज महिनादेखि सेवा सुविधा पाउन सकेका छैनन् । संघीय सरकारले बजेट निकासा नगर्दा छात्रवृत्ति कोटाका चिकित्सकहरुले दुई महिनाको तलब र दशैंभत्ता वापत पाउने सुविधा नपाएका हुन् । छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ अनुसार छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययन पूरा गरेका विद्यार्थीहरुले सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । तीनै छात्रवृत्तिमा अध्ययन पूरा गरेर करारमा खटिएका चिकित्सकहरुको सेवा सुविधाको लागि भने संघीय सरकारले समयमा नै सेवा सुविधा पठाउन सकेको छैन । कात्तिक महिनादेखिको सेवा सुविधा नपाएपछि चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष गुनासो पनि गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिलेसम्म गण्डकी र बागमती प्रदेशका अस्पतालहरुबाट सामूहिक रुपमा गुनासो समेत आइसकेको छ । तर, समस्याको समाधान गर्नेतर्फ भने मन्त्रालय अगाडि बढेको देखिँदैन । संघले आवश्यक बजेट नदिँदा तलब पठाउन नसकिएको प्रदेशको गुनासो सिन्धुली जिल्ला अस्पतालमा छात्रवृत्ति कोटा अन्तर्गत करार सेवामा कार्यरत १४ जना चिकित्सकहरुले कात्तिक महिनादेखिको तलब सेवा सुविधा नपाएपछि संघीय स्वास्थ्य मन्त्रालयमा नै सेवा सुविधाको लागि सामूहिक निवेदन गरेका छन् । त्यस्तै मन्त्रालयमा गण्डकी प्रदेशमा रहेको मातृ शिशु मितेरी अस्पतालबाट पनि छात्रवृत्ति करार कोटामा कार्यरत चिकित्सकहरुले सेवा सुविधा नपाएको भन्दै गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय नीति तथा योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताएका छन् । गुनासो सिमित ठाउँबाट आएपनि असोज महिनापछि सेवासुविधाको लागि भने मन्त्रालयले बजेट प्रदेशहरुलाई पठाएको छैन । सिन्धुली जिल्ला अस्पतालका चिकित्सकको सामूहिक निवेदन आएपछि स्वास्थ्य सचिव योजना महाशाखामा तोक लगाइदिए । छात्रवृत्ति करार कोटामा काम गर्ने चिकित्सकहरुलाई सेवा सुविधा पठाउने काम संघीय स्तरको सरकारले गर्दै आएको भएपनि प्रदेश सरकारको कार्यक्षेत्र भएकाले चिकित्सकको सामूहिक निवेदनमा सुनुवाई गर्न संघीय मन्त्रालयले प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएको मन्त्रालय नीति तथा योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले विकासन्युजलाई बताए । तर, केन्द्रीय सरकारले आवश्यकता अनुसार पैसा नपठाएको कारणले अस्पतालहरुमा आवश्यक पैसा पठाउन नसकिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालको भनाइ छ । संघीय सरकारले असोज महिनासम्मको लागि पठाएको पैसा अस्पतालहरुमा पठाइसकेको र त्यसपछि पैसा नआएकोले पठाउन नसकिएको उनले बताए । ‘हामीलाई जति पैसा आएको थियो त्यसबाट पठाएका छौं, बाँकी संघीय सरकारको कमिटमेन्ट छ, स्थानीय स्रोतबाट भएपनि खुवाउँदै गर्नुहोस पैसा आउँछ हामीले दिन्छौं भनेर उहाँहरुलाई भनेका छौं’, उनले भने, ‘पहिला जुन मात्रामा छुट्याएको पैसा हो त्यो सकिएको अवस्था हो ।’ आफूहरुले चिकित्सकहरुलाई सेवा सुविधा दिन संघीय सरकार समक्ष समन्वय गरिरहेको तर, समयमा नै पुग्नेगरी बजेट निकासा नभएको डा. गेलालको भनाइ छ । सिन्धुली अस्पतालमा छात्रवृत्ति करार कोटामा कार्यरत चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको सामूहिक पत्र ‘अर्थले रकमान्तरको स्वीकृति नदिँदा थप पैसा पठाउन नसकिएको हो’ छात्रवृत्ति करार कोटामा देशभर कति चिकित्सकहरुले काम गर्छन भन्ने एकीकृत तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन । संघीय स्तरको स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति करार कोटामा काम गर्ने चिकित्सकहरुको लागि भनेर पठाएको बजेट पनि कतिपय प्रदेशले रिलिज नगरेको मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकूरले बताएका छन् । प्रवक्ता ठाकूरले अनुसार अर्थ मन्त्रालयले रकमान्तर गर्न स्वीकृति नदिएका कारण छात्रवृत्ति करार कोटामा कार्यरत चिकित्सकहरुको लागि प्रदेशमा रकम पठाउन नसकिएको बताए । ‘गृह, रक्षा र सामान्य प्रशासन मन्त्रालय अन्तर्गत चिकित्सकहरुको लागि पुस मसान्तसम्म नै बजेट रकमान्तर नगर्ने भनेर अर्थ मन्त्रालयले भनेको छ, त्यो भएर रोकिएको हो’, उनले भने । छात्रवृत्तिमा पढेका कति चिकित्सकहरु करारमा गएका छन् भन्ने तथ्यांक नभएकोले पहिल्यै नै बजेट विनियोजनमा समस्या भएको उनको भनाइ छ । संघीय स्वास्थ्य मन्त्रालयमा एकमुस्ट भएको भिन्दै मन्त्रालयमा विनियोजन गर्न रकमान्तरको आवश्यकता भएको उनले बताए ।
इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न
पोखरा । इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२३ सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १२२ विद्यार्थी सहभागी भएका थिए । कलेजले सोमबार दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १७ जना र बिएससि (अर्नस) कम्प्युटिब तह पुरा गर्ने १०५ जना विद्यार्थी गरी जम्मा १२२ जना विद्यार्थी दीक्षित भएका थिए । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आइएनजी छात्रवृत्तिका लागि विपिन रेग्मी सम्मानित भएका थिए । यी छात्रवृत्ति विद्याथीहरूको उल्लेखनीय उपलब्धिहरू र भविष्यको सफलताको लागि अपार सम्भावनाको प्रमाण हो। समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो । समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले भने– ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ।’ यसलाइ निरन्तर दिदैँ भने, ‘ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ ।’ आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसीले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।
हाथवे इन्भेष्टमेन्टको १०.५२ प्रतिशत लाभांश घोषणा, डाक्यो १५औं साधारणसभा
काठमाडौं । हालै आईपीओ बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान १० बजे १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १२ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।