विकासन्युज

नेपाल बैंकको सीईओ बन्न संघर्ष गर्दैछन् पाँच उम्मेदवार, कसको सम्भावना बलियो ?

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम छनोट गरिएको छ । बैंकको सीईओका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम छनोट गरिएको हो । योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरी सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा पुस ४ गते बुधबार ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि बोलाएको हो । अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछ । सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले बैंकको सीईओ पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ । अशोक पौडेल अशोक पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । नेपाली बैंकिङ क्षेत्रमा लामो समय अनुभव भएका उनी पछिल्लो समय विभिन्न संस्थाको नेतृत्व गर्न हतारिएका छन् । उनले यसअघि कृषि विकास बैंकको सीईओ र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न आवेदन दिएका थिए । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओमा समेत आवेदन दिएका छन् । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओ छनोट समितिले सिफारिस गरेको दोस्रो स्थानमा छन् । ध्रुब गौतम कृषि विकास बैंकको उपमहाप्रबन्धक पदबाट अवकाश प्राप्त गौतमसँग पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । बहुआयामिक कार्य तथा वित्तीय क्षेत्रमा सरकारको नीतिलाई कार्यान्वयन र वाणिज्य बैंकको समेत काम गर्ने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको कृषि विकास बैंकमा उनले २२ वर्ष काम गरे । रिकभरी र समस्याग्रस्त कर्जाहरूमा विभागीय प्रमुख भएर झण्डै एक दशक काम गरेका गौतमसँग एसएमईमा समेत लामो समय काम गरेको अनुभव छ । कृषि विकास बैंकमा हुँदा क्षेत्रीय निर्देशक भएर काम गर्ने अवसर पाएको बताउँदै उनले भने, ‘जोखिम व्यवस्थापनमा ६÷७ वर्ष काम गरे, मेरो विज्ञता रिकभरी नै हो किनकी यसमा नै लामो समय बिताए, कर्पाेरेट बैंकिङमा चिफ अफिसर समेत भएर काम गरे ।’ त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका गौतम सीईओ भएपछि नेपाल बैंकको प्रविधिलाई समयानुकल परिवर्तन गर्ने योजना बनाएको बताउँछन् । साथै, नयाँ र पुरानो पुस्ताको ग्यापलाई पूर्णता दिने, जनशक्ति व्यवस्थापन परम्परागत ढंगबाट चलेको हुँदा त्यसलाई नयाँ शैलीमा लैजाने उनको योजना छ । ‘बैंकको परम्परागत प्रणालीलाई आधुनिकीकरण बनाउने, नयाँ पुस्ताको कर्मचारीलाई अभिमुखीकरण गराउने, कर्मचारी खर्च घटाउने, नीतिगत ग्यापलाई सुधार गर्ने, जोखिम व्यवस्थापनमा सुधार गर्ने, प्रविधिमा जोड दिने, अहिले भएको प्रविधिलाई परिवर्तन गर्ने, नयाँ मार्केटको खोजी गर्ने, बैंकको ब्राण्डलाई बलियो बनाउने योजना छ,’ उनले विकासन्युजसँग आफ्नो योजनाहरू सुनाउँदै भने, ‘रिकभरीमा दक्ष जनशक्ति भित्र्याउने, ग्राहकलाई छिटो र गुणस्तरीय सेवा दिने, अटोमेसन र डिजिटाइजेसनमा परिवर्तन गर्ने, एचआर पोलीसी परिवर्तन गर्ने, काम गर्ने वातावरण सहज बनाउने, मार्केट सेयरलाई सुधार गर्ने हो ।’ सरकारी लगानीको बैंक भएकाले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्ने उनको योजना छ । साथै, आवश्यकता अनुसार संस्थाको रिस्ट्रक्चरिङ गर्ने उनले बताए । इन्टर्नल कन्ट्रोलिङ सिस्टमलाई बलियो बनाउने योजना रहेको उनले बताए । तिलराज पाण्डे बैंकिङ क्षेत्रमा तीन दशक बढी अनुभव हासिल गरेका पाण्डे नेपाल बैंककै प्रडक्ट हुन् । २९ वर्ष नेपाल बैंकमा जागिर गरेपछि चिफ म्यानेजरबाट अवकास लिएका थिए । नेपाल बैंकबाट बाहिरिएपछि उनले एक वर्ष एशियाली विकास बैंकमा कन्सलटेन्ट भएर काम गरे । तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा उनी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरे । भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । र, उनी बाहिरिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशलन बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरे । उनले हाल नेपाल बैंकको खराब कर्जा बढी, रिकभरीको समस्या र लगानीको सुस्सता भएकोले यो समस्या समाधानका लागि आफूले काम गर्ने बताए । उनले ग्राहकहरुको मनोबल उठ्न नसकेका समस्या पहिचान गरी समाधान गर्ने पनि बताएका छन् । चितवन घर भएका पाण्डेलाई व्यवसायिक स्वार्थका लागि केही व्यवसायिक घरानाले बैंकको सीईओ बनाउनका लागि लबिङ गरिरहेको पनि बुझिएको छ । समता पन्त हाल नेपाल बैंकको कामु सीईओ भएर काम गरिरहेकी पन्त सीईओ बन्ने सम्भावित पात्र हुन् । उनले नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशकभन्दा बढी काम गरिसकेकी छन् । पन्तले एमबिएससम्मको अध्ययन गरेकी छन् । बैंकिङ क्षेत्रमा मिहिनेती र अनुभवी बैंकरको छवि बनाएकी पन्तले आफूलाई सीईओका लागि बलियो प्रतिस्पर्धाका रूपमा प्रस्तुत गरिरहेकी छन् । धेरैले उनलाई अबको नेपाल बैंकको सीईओका रूपमा हेरेका छन् । एउटा कुशल बैंकरका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी उनका श्रीमान राष्ट्र बैंकको कार्यकारी अधिकृत छन् । उनले पनि नेपाल बैंकको सीईओ बन्नका लागि पूर्णरूपमा संघर्ष गरिरहेकी छन् । लक्ष्मण पौडेल पौडेल अहिले नेपाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एबीए गरेका छन् । नेपाल बैंकमा दुई दशक काम गरिसकेका उनले बैंकमा विभिन्न विभागकाे प्रमुख भएर काम गरिसकेका छन् । उनले आफूले हालसम्म गरेका काम र त्यसको अनुभवबाट सिकेका विषयहरू कार्यान्वयन गर्दै अगाडि बढ्ने सुनाए ।

सेयर बजारमा उछाल कायमै, नेप्से परिसूचकले पार गर्यो २१ सय बिन्दु

काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार बढीरहेको छ । १८ सय बिन्दुको हाराहारिमा रहेको परिसूचक एक सातामै बढेर २१ सय बिन्दु पार गरिसकेको छ । मंगलबारको बजारमा परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो भने गत पाँच महिनायताकै उच्च हो । गत साउन १५ गतेको बजारमा नेप्से परिसूचक २१०६.१८ बिन्दुमा रहेको थियो । कारोबार रकममा भने केही करेक्सन देखिएको छ । सोमबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबारको बजारमा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८८ करोड रुपैयाँले घटी हो । बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ । मंगलबार १० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटल्स एण्ड टुरिजम समूह सर्वाधिक अर्थात ३९५ अंकले बढेको छ ।

उद्योग व्यवसायीको समस्या समाधान  हुन्छ : अर्थमन्त्री

मनहरी । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र  निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित  छलफल कार्यक्रममा उनले बैँकको ब्याजदर र  भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताए । उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने र हेटौँटा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताए । ‘पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरुप बजेट बनाउने छौँ’, अर्थमन्त्री डा महतले भने । उनले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनाका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरे । सङ्घका अध्यक्ष कृष्णकुमार  गुप्ता र निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ–आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी  ध्यानाकर्षण पत्र बुझाएका थिए । सो अवसरमा  नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण कटुवाल, कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नंका प्रहरी उपरीक्षक अनिल बुढाथोकीलगायत उद्योगी–व्यवसायीहरुको सहभागितो थियो । रासस

रुकुम पश्चिमका करिब साढे १३ हजार भूकम्प प्रभावितले पाए पहिलो किस्ता

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् । त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् । आठबीकोटमा सात हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका चार हजार सात सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार नगरिपालिकाभर नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या एकीन भएको छ । बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उनले जानकारी दिए । त्यहाँ हालसम्म दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण भइसकेको छ भने तीन हजार छ सय ९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट छ हजार दुई सय ७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा आठहजार तीन सय ८३ लाभ्रग्राहीको पहिचान भएको छ । अझै विगरण सङ्कलन गर्न केही दिन लाग्ने उनले जानकारी दिए । त्यहाँ एक सय १८ अस्थायी आवास निर्माण हुँदा एक हजार पाँच सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार तीन सय २१ लाभ्रग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म पाँच हजार चार सय २५ लाभग्राही पहिचान भएका छन् । जससमा बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए । उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घ संस्था तथा सरकारको अनुदानमा एक हजार छ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उनले जानकारी दिए । त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् दुई हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बाँकी रहेका छ सय ७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण सङ्कलनको काम अझै जारी छ । पालिकामा हालसम्म दुई सय २२ अस्थायी आवास निर्माण भएको र दुई सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा आठ सय ६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभगा्रहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । त्यहाँ हालसम्म नौ सयभन्दा बढी लाभग्राही पहिचान भएका छन् । बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार छ सय ९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि सङ्घीय सरकारलाई रु एक अर्ब दुई करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । रासस

सतिशलाल आचार्यको भीआईपी नेतासँग उठबस्, प्रचण्डले भने : सिंगापुर जाँदा उहाँकै घरमा बस्थ्यौं

काठमाडौं । एनसेलको सेयर खरिदकर्ता सतिशलाल आचार्यको राजनीतिक दलका शिर्षस्थ नेताहरूसँग सम्बन्ध रहेको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग आचार्यको राम्रै सम्बन्ध रहेको खुलेको हो । यो विषयको प्रष्टता प्रधानमन्त्री प्रचण्डले नै गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आचार्यसँग आफ्नो र अन्य नेताहरूको पनि चिनजान रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद गरेका आचार्यसँग राम्रै चिनजान रहेको बताएका हुन् । तर, आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको बताए । उनले आफूमात्र नभई कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उहाँकाे घरमा बस्ने गरेको  बताए । ‘मेरो श्रीमति बिमारी भएको बेलामा आचार्यकै घरमा बसेको छु, शेरबहादुरजी र ओलीजी पनि उहाँको घरमा बस्नुभएको छ, हामी बीचमा कुरा पनि हुन्छ, चिनजान भएकै आधारमा कसैलाई छोडिँदैन,’ बैठकमा उनले भने । आचार्य नेपाली मुलका विदेशी हुन् । उनी सिंगापुरमा बस्छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले आचार्यको राम्रै राजनीतिक पहुँछ छ भन्ने पनि बुझिन्छ । यद्यपि, यस विषयमा सरकार प्रष्ट भएको र गलत गर्नेलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्री प्रचण्डको दाबी छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जन्ताका विरुद्ध हुने चलखेलकाविरुद्ध अन्तिम लडाइँ लड्न तयार भएको पनि बताएका छन् । अहिले एनसेलको खरिदबिक्रीको विषयले सडकदेखि सदनसम्म प्राथमिकता पाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बिनाअनुमति आचार्यको कम्पनीलाई साढे ६ अर्बमा बिक्री गरेपछि यो विषयले चर्चा पाएको हो ।

रवि लामिछानेको प्रश्न : एनसेलको सेयर बिक्री प्रकरणमा किन समिति बनाइयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्राधिकरणको क्षेत्राधिकार भएको एनसेलको सेयर बिक्री प्रकरणमा किन समिति बनाइएको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग यस्तो प्रश्न गर्दै समिति बनाउन आवश्यक नरहेको बताएका हुन् । ‘प्राधिकरणको क्षेत्राधिकार भित्र भएको कुरामा पनि किन समिति बनाउनुहुन्छ ? लाईसेन्स समातियो भने समिति बनाउनुहुन्छ कि नाइँ ?,’ उनले प्रश्न गरे । त्यस्तै, उनले अर्बौंको कम्पनी बेच्दा कर तिर्नु पर्छ कि पर्दैन भनेर थप प्रश्न गर्दै यसमा प्रधानमन्त्रीले किन हस्तक्षेप गर्ने बताएका छन् । एनसेलमा जहिले पनि कानुनलाई झुक्क्याउने काम भएको उनको भनाई छ । त्यस्तै, २० प्रतिशत सेयर नेपालीको हुन्छ भनिने तर विदेशिकै हुने अवस्था रहेको उनले बताए । प्रधानमन्त्रीले चाहेर हुने भन्ने होइन, ऐनमा के छ त्यो बुझ्नुपर्ने हुन्छ । ऐनमा नै चलखेलको सुविधा रहेको भए कानुन संशोधन गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसमा हामी तयार हो कि होइन ?, प्रश्न गर्दै उनले भने ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तिर्यो करिब दुई अर्ब कर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि सरकारलाई करबापत करिब दुई अर्ब रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले एक अर्ब ९२ करोड २३ लाख २१ हजार ९८१ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । हालै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएसँगै बैंकले अन्य वित्तीय संस्थासँग मर्ज हुँदा वा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा र फर्दर पब्लिक अफरिङ्गमा प्रिमियमवापत प्राप्त रकम समेतलाई आयकार मानी दायित्व भुक्तानी गरेको बैंकले जानकारी गराएको छ ।

साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी, व्यापार बढाउन हौसिए

  कञ्चनपुर । डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन् । परशुराम नगरपालिकाभित्र भौगोलिक रुपले विकास साँदनी गाउँ आवतजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ । विसं २०२८ मा बैतडीको पुर्चौडी क्षेत्रबाट साँदनी सरेका भट्टले विगतमा दिनभर हिँडेर कञ्चनपुरको महेन्द्रनगर, भारतको टनकपुर झरेर कुटानीपिसानी गरेर जीविका चलाएको विगत सुनाए । तर हालै परशुराम –६ चन्दनी र ७ को बीचमा पर्ने साँदनी खोलामा पक्की मोटेरेवल पुल बनेपछि गाउँको विकासको ढोका खुलेको भट्टको भनाइ छ । ‘हामी त कुवाका भ्यागुतासँगै भएर चार दशक सङ्घर्ष गर्दै दुर्गम बस्ती बस्यौँ ।’ उनले भने, ‘यो पुल हिँडडुलका लागि मात्रै होइन महाकाली करिडोरमा समेत पर्ने भएकाले यसको महत्व धेरै छ ।’ उनले पुल नहुँदा पारी चन्दनीमा रहेको विद्यालयमा बर्खामा विद्यार्थीले जानसमेत छाडेको विगतको अवस्था सुनाए । ‘पुल नभएकै कारण खोलामा पानीको बहाव बढ्दा स्कुले बालबालिका चन्दनीको बस्तीमा आश्रय लिएरै पनि बसे ।’ उनले भने,’आज भन्दा डेढ दशकअघि मेरै छोरी विद्यालय जाँदा खोलामा बगेपछि मुस्किलले ज्यान जोगायौंँ ।’ साँदनीका स्थानीय व्यापारीले बर्षात अघि तीन/चार महिनाका लागि अगावै सामान भण्डार गर्नुपर्ने बाध्यता पनि पुल बनेपछि हटेको उनको भनाइ छ । त्यसैगरी बस्ती भएरै महाकाली करिडोरको ‘ट्र्याक’समेत खोल्ने काम थालिएपछि साँदनीबासीमा खुसीको सीमा छैन् । स्थानीय ८० वर्षीय वृद्ध गंगादत्त भट्टले साँदनीवासीले निकै अभाव र गरिबीकाबीच महाकाली नदी र साँदनी खोलाको पीडा सहेर बस्ती बचाएको बताए । ‘बस्तीमा बिरामी पर्दा डोकोमा बोकेर महाकालीमा तुईनमा तारेर भारतीय बजारमा उपचारका लागि जानुपर्ने बाध्यता थियो ।’ उनले भने, ‘अहिले पुल, सडक लगायतका विकास पूर्वाधार जोडिँदा गरिबका पनि दिन आएजस्तो भान भयो ।’ उनले साँदनी खोलामा बस्ती बसेको साँढे पाँच दशकपछि पुल बनेको बताए । ‘उत्तरतिर चुरे पहाड, पश्चिम दक्षिणमा महाकाली र पूर्वतर्फको साँदनी खोला भएको यो बस्तीमा बर्खामा त हलचलसमेत गर्न गाह्रो हुन्थ्यो ।’ उनले भने, ‘अहिले त गाउँमै मोटर गाडी आउन थालेपछि सपना जस्तै लाग्छ ।’ यसैगरी विसं २०२६ मा बैतडीबाट साँदनी सरेका उज्वलदत्त भट्टले आफूहरु खेतीपानी अन्न फल्ने आशमै यहाँ आएको बताए । ‘त्यो बेलाको जस्तो अन्न फल्न पनि अहिले छोड्यो ।’ उनले भने, ‘नब्बे किलोग्राम चामल महेन्द्रनगरबाट बोकेर पनि परिवारको छाक टारेका थियौं।’ उनले पनि साँदनी खोलाको पुल आफूहरुका लागि बरदान जस्तै भएको बताए । ‘जोगबुढा र आलिताल क्षेत्रमा मात्रै ठेक्का भएर पनि सडक र पुल लामो समयदेखि अलपत्र नै छन् ।’ उनले भने, ‘तर साँदनी खोलामा तोकिएको समय भन्दा सात महिना अघि नै पुल बन्दा गाउँलेहरु खुसीले गद्गद् छन् ।’ उनले खोलामा पुल नहुँदा विसं २०५२ मा विद्यार्थीको एसएलसी परीक्षा नै प्रभावित भएको बताए । ‘जोगबुढा बजार गएर दैनिक उपभोग्य सामान ल्याउन अब दिनरात जतिबेला जाँदा नी सहज भयो ।’ उनले भने, ‘विेद्यार्थी अहिले पुल तरेर विद्यालय आवतजावत गरेको देख्दै आनन्द लाग्छ।’ त्यसैगरी पुल छेउमै (पारी) तर्फ रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले सडक पूर्वाधार क्रमिक रुपले विकास भएसँगै बस्तीको मुहार फेरिएको बताए । २६ वर्षदेखि सोही विद्यालयमा कार्यरत उहाँले विगतमा खोलामा पुल नहुँदा दर्जनौँ विद्यार्थी समस्यामा पर्ने गरेको बताए। ‘खोला बढ्यो की ३०/४० विद्यार्थी साँदनी गाउँमै रोकिन्थे ।’  उनले भने, ‘अलि पानी कम भएका बेला अभिभावक र विद्यालयका शिक्षकले विद्यार्थी तार्ने काम गर्थे ।’ त्यसैगरी साँदनीमा स्वास्थ्य चौकी उपचारका लागि जानवारी चन्दनीका स्थानीयवासीलाई समस्या हुन्थ्यो । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुराम पुग्ने ट्र्याकसमेत हालै खुलिसकेको छ । लामो समय रुख कटानकै कारण कञ्चनपुर र डडेल्धुरालाई करिडोरले जोड्न सकेको थिएन् । साँदनीका स्थानीयवासीले करिडोरको ट्र्याक खुलेपछि आवागमन पनि हुन थालेको बताएका छन् । ४२ महिनाको समयावधि पाएर पुल निर्माण थालेको लुम्बिनी–कुमार– राजेन्द्र जेभीका इञ्जीनीयर किशोरराज पाण्डेले ३४ महिनामै काम सकेर पुल सञ्चालनमा ल्याएको बताए । ३२ करोड ६१ लाख लागतमा निर्मित पुलको लम्बाइ दुई सय पचास मिटर रहेको छ । उनले उक्त पुल महाकाली करिडोर अन्र्तगत नै पर्ने भएकाले महाकाली पुल योजना कार्यालय मार्फत बनेको बताए। ‘पुलको दुवै तर्फ गरेर पाँच सय मिटर पहुँच मार्ग र नौ सय मिटर खोलाको तटवन्ध समेत निर्माण भएको छ ।’ उनले भने–’पुल बनेपछि गाउँहरुबाट पनि राम्रो प्रतिक्रिया पायौं।’ उनले निर्धारित समय भन्दा आठ महिना अघि नै पुल निर्माण गरेर पुल योजना कार्यालयलाई हस्तान्तरण गरेर बोसनका लागि समेत निर्माण कम्पनी दाबेदार बनेको बताए । ‘तोकिएको भन्दा २ सय दिन अगाढी काम सके सरकारले प्रोत्साहन स्वरुप रकम दिने सम्झौतामा उल्लेख छ ।’ उनले भने, ‘सोही अनुसार हामीले पनि बोनसका लागि दाबी गरेका छौं ।’ रासस