काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार बढीरहेको छ । १८ सय बिन्दुको हाराहारिमा रहेको परिसूचक एक सातामै बढेर २१ सय बिन्दु पार गरिसकेको छ ।
मंगलबारको बजारमा परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो भने गत पाँच महिनायताकै उच्च हो । गत साउन १५ गतेको बजारमा नेप्से परिसूचक २१०६.१८ बिन्दुमा रहेको थियो ।
कारोबार रकममा भने केही करेक्सन देखिएको छ । सोमबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबारको बजारमा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८८ करोड रुपैयाँले घटी हो ।
बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ ।
मंगलबार १० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ ।
बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटल्स एण्ड टुरिजम समूह सर्वाधिक अर्थात ३९५ अंकले बढेको छ ।