डाबर नेपालले गर्यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग
काठमाडौं । स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासमा, डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम’ लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसनसँग अर्थपूर्ण साझेदारी बनाएको छ । डाबर नेपालले आफ्नो सीएसआर पहल अन्तर्गत इजी हेल्थकेयर फाउन्डेसनलाई नेपाली २५ लाख प्रदान गरेको छ । सो रकम इजी हेल्थकेयर फाउन्डेसनकी अध्यक्ष इश्वरी राणालाई डाबर नेपालका एमडी हरकिरत बेदीले हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा अनिल पुरी, हेड- एचआर साथै इजी हेल्थकेयर फाउन्डेसनका निर्देशक रोहित रौनियार, संरक्षक उज्ज्वल विक्रम थापा र संस्थापक अध्यक्ष अखिल शाक्यको उपस्थिति थियो । यो महान कार्य नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धतासँग निर्बाध रूपमा मिल्ने र इजी हेल्थकेयर फाउन्डेसनसँग हात मिलाएर, डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) लाई आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्याएको विश्वास लिएको छ । यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिएको र डाबर नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्न समर्पित रहेको कम्पनिले जनाएको छ ।
मोरङको बुढीगंगामा २ अर्ब ५० करोडको सुविधा सम्पन्न अस्पताल बनाईने
विराटनगर । मोरङको बुढीगंगा १ स्थित टंकीसिनवारीमा आरआर इन्टरनेशनल अस्पताल बन्ने भएको छ । २ अर्व ५० करोड लगानीमा एक विगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने अस्पताल २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको बुधबार शिलान्यास गरिएको छ । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । शिलान्यासपछि आयोजित पत्रकार सममेलनमा अध्यक्ष राउतले ३ वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिएपनि २ वर्षमा निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी गरिएको बताए । अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने उनले जानकारी दिए । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ती तथा गुणस्तर बीचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजि क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतिक राउतले बताए । अस्पताल २०० शैया क्षमताको निमार्ण गर्न गरिएपनि सुरुवातमा १०० शैंयाको मल्टि स्पेशियालिटी अस्पताल संचालन गर्ने र क्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको उनले बताए । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवाल, कार्डियो, क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ । उनका अनुसार अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । झण्डै ३ दशकदेखि उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य समेत हुन् ।
शुक्रबार आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले, १४ विधामा अवार्ड वितरण हुँदै
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको अवार्ड कार्यक्रमको विगत ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो । अपग्राड आइसिटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्वन्धित १४ विधाहरुमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ । यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि समावेश गरिएको छ । प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट ८०० बढि विशिष्ट व्यक्तिहरूको सहभागीता हुनेछ । आठौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेश र ३ जना विदेशबाट विज्ञ जुरी समिती गठन गरिएको थियो । विभिन्न १३ विधामा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ७०० बढिको आवेदन प्राप्त भएको आयोजक समितीले जानकारी गराएको छ । अवार्ड वितरण हुने विधाहरुमा स्टार्टअप तथा इन्नोभेसनतर्फ इनड्राइभ स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड रहेका छन । व्यत्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन्। सस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड अन्तराष्ट्रिय अवार्ड विधाको रुपमा समावेश गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यी सम्पुर्ण विधाहरुमा १७ जना जुरी सदस्यहरुको सहभागितामा ३ महिनाको अवधिसम्म विभिन्न चरणका छनौट प्रकृयाहरु सञ्चालन गरिएको थियो । सातै प्रदेशमा स्टार्टअप मिट, बुटक्याम्प, काठमाडौंमा स्टार्टअप एण्ड आइडिया फेस्ट, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन भएको आयोजकले जनाएको छ । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पुर्ण तवरबाट प्रयास भएको लम्सालले बताए । आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर यसले डिजिटल रुपान्तरण र इकोसिस्टमको विकासलाई टेवा पुर्याएको छ । हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले यस क्षेत्रमा काम गर्ने र गर्न खोजेकाहरुलाई प्रोत्साहन गरिरहेको सहभागीहरुको बुझाइ छ । यस अवार्डमा प्रतिस्प्रधामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले थप लगानी र बजार बिस्तारको लागि अवसर प्राप्त गरेका छन । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरुसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन । एनसेल वुमन आइकनले ३ लाख रुपैयाको पुरस्कार पनि प्राप्त गर्नेछन् ।
एनसेल वुमन आइकन आइसिटी अवार्डबाट महिलाहरु सम्मानित हुँदै
काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्दैछ । यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात अवार्डका लागि ७ जना महिलाहरु छनोटमा परेका छन् । यहि शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरिने छ । प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ । हरेक वर्ष प्रदान गरिने आइसिटी अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन् । त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिईन् ।
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताए । ‘करिडोर दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ’, उनले भने, ‘यसअघि छोसेर–कोरला खण्डको १८ किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्यअघि नै सकिएको थियो ।’ गत मङ्सिर ९ गतेदेखि सात दशमलव पाँच मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न थालिएको थियो । प्राविधिक टोलीले सडकको नापजाँच गरिरहेको छ । दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट/पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए। ‘आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण हुँदा सहज भयो’, उनले भने, ‘गत असारमै ८० प्रतिशत निर्माण सकिएको थियो ।’ सो कम्पनीले तनहुँमा पनि हालै दुई वर्ष आयोजना लक्ष्यअघि नै निर्माण सकेको छ । सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र गरिएको हो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ’, उनले भने, ‘निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।’ रासस
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फर्छ्यौट
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फर्छ्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए । यस्तै सहमति नभएपछि दुई मुद्दा अदालतमा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये नौ सय १८ उजुरीको छानबिन गर्दा चार सय ५९ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ धुर आठ कनवा जग्गा र दुवै पक्षको सहमतिमा रु आठ करोड ८७ लाख ३५ हजार ६१ फिर्ता गराइएको छ । मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याजपीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए । परेका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको सहायक प्रजिअ लम्सालले बताए । छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाइ छ । रासस
लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व २ जना गरी ४ जनाको निर्वाचन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
लाभांश पारित गर्न लुम्बिनी विकास बैंकको साधारणसभा आह्वान
काठमाडौं । लुम्बिनी विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २६ गते कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ पुर्याउने र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।