६ महिनामा ८६ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताकाे लाभांश, नयाँ लगानी भने बढ्यो
काठमाडौं । ६ महिनाको अवधिमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेका कम्पनीहरूबाट साढे १ अर्ब रुपैयाँबराबरको लाभांश रकम फिर्ता लिएका छन् । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशी लगानीका कम्पनीहरूले १ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । पुस महिनामा मात्रै ८ करोड ७३ लाख ६७ हजार रुपैयाँ लाभांशबापत फिर्ता लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख रुपैयाँ लाभांश फिर्ता लगेका थिए । गत आवको सोही अवधिको तुलनामा चालु आवमा लाभांश रकम ८६ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । यस्तै, चालु आर्थिक वर्ष (आव)मा नेपालको विभिन्न औद्योगिक क्षेत्रमा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालको औद्योगिक क्षेत्रमा २२६ वटा विदेशी कम्पनीहरूले २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार बराबरको लगानीलाई स्वीकृत गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ३ करोड ६५ लाख १७ हजारले बढी हो । विभागको तथ्यांकअनुसार पछिल्लो समयमा विदेशी लगानीकर्ताहरूको आकर्षण ठूला तथा मझौला उद्योगमा भन्दा साना उद्योगमा भएको देखिएको छ । चालु आर्थिक वर्षमा २११ वटा विदेशी कम्पनीहरुले साना उद्योग, १२ वटा कम्पनीहरुले मझौला उद्योग र ३ वटा कम्पनीहरूले ठूला उद्योगहरुमा लगानी गर्नेगरी स्वीकृति लिएका छन् । अघिल्लो आवको सोही अवधिमा भने विदेशी लगानीकर्ताहरुले ११० वटा साना उद्योग, १९ वटा मझौला उद्योग र २ वटा ठूला उद्योगमा लगानी गर्ने स्वीकृति लिएका थिए । तथ्यांकअनुसार विदेशी लगानीकर्ताहरुको आकर्षण पर्यटन उद्योगतर्फ बढी भएको देखिन्छ । चालु आवको समीक्षा अवधिमा विदेशी लगानी स्वीकृत लिएका मध्ये १०३ वटा कम्पनीहरुले पर्यटन क्षेत्रमा, ८३ वटा कम्पनीले सेवा क्षेत्रमा, ४ वटा कम्पनीले भौतिक पूर्वाधारको क्षेत्रमा, २ वटा कम्पनीले खनिजको क्षेत्रमा, ४ वटा कम्पनीले कृषि क्षेत्रमा, २३ वटा कम्पनीले उत्पादनमूलक उद्योगको क्षेत्रमा र ७ वटा उद्योगले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने भएका छन् । त्यस्तै, नेपालमा विदेशी लगानीमा सञ्चालनमा रहेका २८ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको समीक्षा अवधिमा ४ अर्ब १ करोड ३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ बराबरको थप लगानी स्वीकृति लिएको विभागले जनाएको छ । १० वटा कम्पनीद्वारा प्रविधि हस्तान्तरण उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा १० वटा विदेशी कम्पनीहरूले नेपालमा प्रविधि हस्तान्तरण गरेका छन् । साथै प्रविधि हस्तान्तरणबापत चालु आवको समीक्षा अवधिमा विभिन्न विदेशी कम्पनीले नेपालबाट १ अर्ब ४ करोड १६ लाख नेपाली, १५ लाख १५ हजार, १८१ अमेरिकी डलर, ५३ करोड २६ लाख ५९ हजार भारतीय रुपैयाँ र १३ हजार ६ सय युरो मुद्रामा रोयल्टी लगेका छन् । विभागका अनुसार अहिलेसम्म नेपालमा ६ हजार ८५ वटा विदेशी कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । ती कम्पनीहरूले ३ लाख २१ हजार २६४ जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गरेका छन् भने ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार ३०५ रुपैयाँ बराबरको लगानी स्वीकृति पनि लिएका छन् । सरकारले विदेशी लगानीलाई थप प्रबर्द्दन गर्नको लागि चालु आवको बजेटमार्फत् प्रत्यक्ष विदेशी लगानी स्वीकृतिलाई सरल र स्वचालित बनाइने बताएको थियो । तर, प्रविधिको व्यवस्थाको अभावका कारणले बजेटमा समावेश सो आकांक्षा भने पूरा भइसकेको छैन भने सरकारले लगानी बोर्डको क्षमता विस्तार, कन्ट्री रेटिङ लगायतका विषयहरुमा काम प्रारम्भ गरेको जनाएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
काठमाडौं । सरकारले बुधबार विभिन्न ६ वटा निर्णयहरु गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी हुन् । सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने भएको छ । त्यसैगरी, सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुन र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा.रवि मल्ललाई नियुक्त गर्ने सरकारको निर्णय छ । साथै, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरिने भएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश जारी गरिने
काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा उत्तरदायीत्व ऐन, २०७६ संशोधन गर्न अध्यादेश जारी गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा ९१० बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । यस्ता छन् निर्णय : १. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने । ३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने । ४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने । ५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने । ६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।
सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त
काठमाडौं । सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा प्रा. डा. रवि मल्ललाई नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. मल्ललाई हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा. अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। प्रा. डा. मल्ल मुटु राेग विशेषज्ञ तथा सर्जन हुन् ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्की आगामी ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सर्टलिष्टको पहिलो नम्बरमा परेका थिए । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् ।
रुकुममा चार करोडभन्दा बढीको सुन्तला बिक्री
त्रिवेणी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँ दङ्ग छन् । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाँका दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ रुपैयाँमा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको उनले बताए । ‘बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो ३० रुपैयाँका दरले र ठूलो दानालाई प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री हुँदा खुशी लागेको छ । गत वर्ष २५ रुपैयाँका दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको थियो । यस वर्ष दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा निकै खुशी छु,’ खड्काले भने । सुन्तला बिक्रीबाट ५३ हजार रुपैयाँ आम्दानी भएको र बिक्री गर्न अझै केही सुन्तला बाँकी रहेको उनले बताए । हाल खड्काको बारीमा एक सय बोटले फल दिन थालेको छ । सुन्तला राम्रो उत्पादन हुने भएकाले एक सय बोट थप गर्ने सोचमा खड्का छन् । वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्काले पनि निकै खुशी लागेको बताए। अघिल्लो सालको भन्दा दोब्बर आम्दानी हुनाका साथै बारीबाटै ८३ हजार रुकिो सुन्तला बिक्री गरिएको उनको भनाइ थियो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुवै वृद्धि भएकाले किसानले राम्रो मूल्य पाएको रुकुम पश्चिमस्थित कृषि विकास कार्यालले जनाएको छ । जिल्ला यस वर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले रु चार करोड ६० लाख आम्दानी गरेका उक्त कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकेजी २५ देखि ३० रुपैयाँसम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ४० देखि ६० रुपैयाँसम्ममा बिक्री गरेका छन् । जिल्लामा विशेषगरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै अन्य पालिका मुसिकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाफीकोट गाउँपालिकामा केही मात्रामा सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए । थोरै उत्पादन गर्ने किसानका लागि सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यावसायिकरूपमा सुन्तला खेती गर्ने किसानलाई बजारको समस्या नरहेको उनको भनाइ थियो । सुन्तला खरिद गर्न किसानको बारीमै व्यापारी पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान र नेपालगञ्जसम्म जाने गरेको छ । थोरै सुन्तला उत्पादन गर्ने किसानलाई भने ढोकामा बोकेर बजारसम्म लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । जिल्लामा व्यावसायिकरूपले सुन्तला खेती गर्ने किसानले वार्षिक रु आठ लाखदेखि रु नौ लाखसम्म आम्दानी गरेका छन् । व्यावसायिकरूपले सुन्तला खेती गर्ने किसानको सङ्ख्या आठ दशजना मात्र भए पनि सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सयभन्दा बढी रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । ‘कृषि पेसाबाट किसानको आयस्तर बढेको छ । हरेक कृषि बालीमा व्यावसायिकीकरण हुँदै गएको छ । कृषि विकास कार्यालयले अनुदानभन्दा पनि किसानलाई बिक्री परिमाणका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा परिश्रम गर्ने किसानलाई थप उत्पादन गर्न हौसला मिलेको छ,’ उनले भने । रासस
बीवाईडीको नयाँ शोरुम पुलचोकको हरिहर भवनमा
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पुलचोकस्थित हरिहर भवनमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै साइमेक्स इंकले सुविधा सम्पन्न शोरुम सञ्चालनमा आएको हो । बीवाईडीका गाडी ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताइएको छ । शोरुम उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बीवाईडीका गाडी वातावरणमैत्री हुनुका साथै यात्राका लागि उपयुक्त रहेको बताए । ‘म पनि बीवाईडीको गाडी नै चढ्छु । कुदाउन र यात्रा गर्न दुवै उपयुक्त छ, इन्धनमा आधारित गाडीको प्रयोग नगर्ने मेरो पनि लक्ष्य हो, महानगरले हरित शहरको अवधारणा लिएको छ, त्यसैले यहाँ बीवाईडी शोरुम खोल्नु आफैमा खुसीको विषय हो,’ उनले भने । यस्तै, बीवाईडीले ईभीका गाडी बिक्री साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडी गाडीको बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको बताइन् । ‘बीवाईडीको शोरुम देशका मेजर सिटीहरूमा सञ्चालनमा आइसकेका छन्, उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने छ, आगामी दिनमा पनि शोरुमको विस्तार गर्दै जाने छौं,’ उनले भनिन् । श्रेष्ठले ईभीका गाडी विस्तारलाई बढाए पेट्रोलियम पदार्थको आयतमा कमी आउने बताउँदै देशबाट ठूलो हदसम्म मुद्रा बाहिरिनबाट पनि रोकिने बताइन् । नयाँ शोरुमले बीवाईडीका गाडीको बिक्री र ग्राहकलाई सहज तरिकाबाट गाडी उपलब्ध गराउनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् । उक्त शोरुमबाट बीवाईडीका गाडी इको ड्राइभ अटोमोबाइल्स कम्पनीले बिक्री गर्ने छ । कम्पनीका अनुसार ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने छ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् । यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिब प्वाइन्ट पुगेका छन् ।
डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिविबीच समझदारी पत्रमा हस्ताक्षर, आइटी पढेका विद्यार्थीलाई रोजगारमा जोड्ने
काठमाडौं । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य शुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशलबीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन् । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन् । मन्त्री शर्माले भनिन्, ‘आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन् । आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं । र त्यो सम्भव छ भन्ने देखिएको छ ।’ यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवला भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए । उनले भने, ‘मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ । यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाईसहयोग गर्नेछ । बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्नसकियोस् ।’ कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए । ‘हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ’ डिईएसका अध्यक्ष अर्यालले भने । यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए । ‘अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ । एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सायमीले भने। कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले यो सहकार्यको बारेमा प्रस्तुती दिएका थिए । उनले शिक्षा र सिपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए । यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सिप र क्षमतामा पहुँच नभएको बताए। उनले यसलाई परिमार्जन गरेर विश्वबजार अनुकुल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाब समेत दिए । कार्यक्रममा बालकृष्ण सुवेदी सुनिल पाण्डेलगायतले यस कार्यक्रमको उद्देश्य र यसले दिने अवसरहरुको बारेमा आफ्ना धारणा राखेका थिए ।