विकासन्युज

सोनापुर मिनरल्सले डाक्यो १६औँ वार्षिक साधारण सभा, बैंकको ऋण अनुमोदन गर्ने

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले माघ २६ गते दाङ्गको होटल माला इनमा बिहान १० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन र प्रबन्ध सञ्चालक तथा अन्य सञ्चालकको सेवा सुविधा सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको उद्देश्य थप संशोधन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित नाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

राष्ट्र बैंकले ६ वटा सवारी बेच्दै, मूल्य साढे ६ लाखदेखि २५ लाख ५५ हजारसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनी ६ वटा सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने जनाएको छ । बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी माघ २२ गतेभित्र सिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले बिक्रीमा राखेका सवारीको मूल्य ६ लाख ६३ हजार रुपैयाँदेखि २५ लाख ५५ हजार रुपैयाँसम्म तोकेको छ ।

आरएसडिसी लघुवित्तको नाफा ६.९३ करोड, खराब कर्जा १.८२ प्रतिशत पुग्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १२ प्रतिशत घटेर ६ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा लघुवित्तको नेट फि एण्ड कमिसन आम्दानी ८१ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपैयाँ, सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ र वितरण योग्य नाफा १०.७९ प्रतिशत अर्थात् ४ करोड ७४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ, जगेडा कोष १२ करोड १० लाख रुपैयाँ, सापटि ६ अर्ब १ करोड रुपैयाँ र कर्जा प्रवाह ६ अर्ब ६४ करोड रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०७ गुणा छ । यस अवधिमा लघुवित्तको खराब कर्जा बढेको छ । गत वर्षको पुसमा ०.८१ प्रतिशत एनपीएल रहेकोमा बढेर १.८२ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको ११.९० प्रतिशत, कस्ट अफ फण्ड ११.०८ प्रतिशत छ ,

कामना सेवाको नाफा ३२ प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो, अधिकांश सूचकमा छलाङ

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ९५ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको नेट फि एण्ड कमिसन आम्दानी १२ करोड ३२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १६ करोड रुपैयाँ, सञ्चाल नाफा ३७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १०..६४ प्रतिशत अर्थात् १७ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेड कोष १ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३.३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.३६ गुणा रहेको छ । बैंकको खराब कर्जा दर पनि घट्दो छ । गत वर्ष ३.७० प्रतिशत रहेकोमा पुससम्म घटेर खराब कर्जा ३.४२ प्रतिशत मा झरेको छ । यस्तै, आधार दर ११ प्रतिशत, कर्जा निक्षेप (सीडी) रेसियो ८०.४१ प्रतिशत रहेको छ ।

प्रधानमन्त्री दाहालको विदेश भ्रमण, आज युगान्डा प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुने छन् । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम रहेको छ ।

गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्म कर्जा दिने, २ दिनमै स्वीकृत हुने

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुलाई ५० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले ग्राहकको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित उक्त रकमसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको हो । उक्त कर्जा सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले बताएको छ । साथै, गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ । यो योजना अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ ।

खै ! म के खोजिरहेको छु ?

यदाकदा हारिरहेको छु । खोजौं, कसलाई खोजौं ? नखोजौं शताब्दीदेखि, कसलाई खोजिरहेको छु । कहिले पहाडको सुसाहटमा, आफैंलाई  हराइरहेको छु । कहिले तराईका फाँटहरूमा, गौँथली बनी आफ्नै अस्तित्व खोजिरहेको छु । प्रेमको अर्थलाई शिव खोज्दै धर्तीमा आएँ, म खोइ के कुराको खोजीमा शताब्दीदेखि खोजिरहेको छु । आफू अनगिन्ती यात्रामा हिँडिरहेको छु । शब्दले शब्दको अर्थ खोजिरहेको छ, प्रश्नले उत्तर खोजिरहेको छ । यहाँ मान्छे मान्छेबिच फाटा छन्, धर्म त यहाँ त्यतिकै  बदनाम भइरहेको छ । जातको निर्माण खोइ कसले गर्यो ? धर्मको स्थापना खोइ कसले गर्यो ? यहाँ मान्छे धर्म र जातका नाममा, एकले अर्कोलाई काटिरहेको छ । संकल्प  र संकल्पका  यात्रीहरू, आफ्नै  संकल्पमा  हिँडिरहेका थिए । खोइ  म  के संकल्प लिएर हिँडिरहेको  थिए ? आफैं अलमलमा अल्झिरहेको छु । भगवानहरू भगवान्त्वको खोजीमा हिँडिरहेका बेला, म आफूभित्रको आत्मज्ञानलाई खोजिरहेको छु । दिब्यदृष्टीमा सबैले आफ्नो अस्तित्व खोजिरहेका छन् । म त्यही दिब्यदृष्टीमा संसारको अस्तित्व खोजिरहेको छु ।

इखुवा खोला हाइड्रो निर्माणका लागि साढे ९ अर्ब लाग्ने, अर्को वर्षबाट मुआब्जा वितरण

काठमाडौं । संखुवासभामा निर्माण हुने ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनामा साढे ९ अर्ब रुपैयाँ लगानी लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले अगाडि बढाउने उक्त आयोजना निर्माणमा अनुमानित साढे ९ अर्ब रुपैयाँ बजेट लाग्ने देखिएको हो । ‘अहिले इखुवा खोलाको टेन्डर डकुमेन्टहरू बन्दै छ, उक्त डकुमेन्ट सम्भवतः माघको अन्तिमसम्ममा तयार हुन्छ, जतिसक्दो अध्ययनको काम टुङ्ग्याइ आयोजनाको निर्माणको तयारी गरिरहेका छौं,’ अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका प्रबन्ध निर्देशक फनेन्द्रराज जोशीले भने । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ । उक्त प्रतिवेदन स्वीकृत भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीमा कम्पनी छ । मन्त्रालयले ईआईएको स्वीकृति दिए पश्चात् फाइनान्सियल क्लोजर पनि हुने जोशीले बताए । ‘इखुवा खोला आयोजनाको लागि लगानी जुटिसकेकाे छैन,  लगानी जुटानका लागि विभिन्न वित्तीय निकायसँग अनौपचारिक कुराकानी भइरहेकाे छ । तर, औपचारिक कुरा भइसकेको छैन,‘उनले भने, ‘मलाई लाग्छ यसको फाइनान्सियल क्लोजर छिट्टै हुन्छ, सानो आयोजना भएकाले लगानी जुटाउन समस्या नहोला ।’ मन्त्रालयबाट ईआईए स्वीकृत भएपछि जग्गाको अधिग्रहणकाे प्रक्रिया सुरु हुने जोशीले बताए । उनकाअनुसार आयोजनाको लागि सरकारी र निजी गरेर ५० हेक्टर जमिन आवश्यक पर्छ । कम्पनीले सबै प्रक्रिया सकेर आगामी आर्थिक वर्ष २०८१/८२ बाट मुआब्जा वितरण सुरु गर्ने योजना बनाएको छ । आयोजना संखुवासभाको मकालु गाउँपालिकाको वडा नम्बर ३ र ४ मा निर्माण हुनेछ । सो पालिका भएर बग्ने इखुवा खोलामा ६ मिटर अग्लो र १६.५ मिटर लम्बाइको बाँध निर्माण गरी पानीलाई उपयोग गरिनेछ । पानीलाई ३६११.५ मिटर लामो सुरुङ र १७७०.५ मिटर लामो पेनस्टक पाइपमार्फत सिरुटार नजिकै निर्माण हुने विद्युतगृहमा खसाली ४० मेगावाट विद्युत उत्पादन गर्ने बताइएको छ । उक्त आयोजना निर्माण गर्दा नजिकैको हाइवेदेखि पावर हाउसम्मको पहुँच मार्ग साथै अरुण नदिनमा पक्की पुलको निर्माण गर्नुपर्ने बताइएको छ । प्रबन्ध निर्देशक जोशीले हाइड्रोपावर निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गरी व्यवसायिक रूपमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको पनि बताए । उक्त कम्पनीले संखुवासभामा नै १०६३.३६ मेगावाटको अपर अरूण जलविद्युत आयोजना निर्माणको कार्य पनि अगाडि बढाएको छ ।