सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
ढोरपाटन । पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायत तल्लो क्षेत्रमा झरेको उनको भनाइ छ । अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताए । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको उनी बताउँछन् । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेमौसम भएको हुँदा पर्यटकको सङ्ख्या न्यून रहेको उनको भनाइ छ । यो याममा हिँउ परेको भए धेरै पर्यटक भित्र्याउन सकिने भण्डारीको भनाइ छ । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्यधिक रहेको उनी बताउँछन् । ‘चिसो निकै छ, पाहुना आउँदैनन्, होटल व्यवसायी यत्तिकै बसेका छन्, पुस पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगङ्गा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्, तर बास बस्ने गरेर आएका छैनन्, हिँउ परेपछि धेरै आउने थिए, अहिले हिँउ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ’, भण्डारीले भने, ‘यहाँ वरपर बस्नेहरु पनि चिसो बढेको हुँदा तल बेँसीतिर गएका छन्, गर्मी मौसम सुरु भयो भने बल्ल आउँछन् ।’ दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैन्थे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास सञ्चालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडकका कारण यात्रा भने त्यत्ति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताए । चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुना पनि नआउँदा खाली रहेको उनको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेँसी झर्ने र बेला–बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउँछन् । उनले भने, ‘शनिबार र शुक्रबारका दिन अलिअलि आउँछन्, तर धेरैजसो फर्किहाल्ने हुँदा होटलमा पाहुना हुँदैनन्, केही बसे पनि होटल धेरै छन्, सबैतिर जाँदा एउटा पाहुन पनि पुग्दैनन्, चिसो बढी छ, बिहान उठ्दा धारामा पानी जमेको हुन्छ, चिसोले गर्दा धेरै मान्छे आएका छैनन्, अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेँसीमै भएको हुँदा चिसो छल्नलाई बेँसीतिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु ।’ रासस
पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरु
फाइल तस्बिर काठमाडौं । पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठक विभिन्न क्षेत्रसँग सम्बन्धित १९ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को पुस ९ गते बसेको बैठकले गरेका निर्णयहरु : [pdf id=459960]
सरकारी भएका कारण राष्ट्रिय वाणिज्य बैंक वान नम्बर हुन सकिरहेको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विगतमा राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बैंक भएको र नम्बर वान बनाउन कर्मचारीले काम गर्नुपर्ने बताएका छन् । बुधबार बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री महतले कर्मचारीहरुले गुनासो मात्रै गर्ने तर आफूहरुले के गर्छौं भनेर पनि सोच्नुपर्ने बताए । ‘म जुनसुकै कार्यक्रममा जाँदा कर्मचारीहरुले आफ्ना गुनासो मात्रै गर्छन्, तर हामीले के गर्छौ भनेर सोच्नुपर्छ’, उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक नम्बर वान थियो, यसलाई नम्बर वान बैंक कायमै राख्न कर्मचारीले पनि काम गर्नुपर्छ, यस बैंकको हैसियत यति मात्रै होइन, नम्बर वान बैंक हुनुपर्ने बैंक हो । तर, सरकारी बैंक भएका कारणले नम्बर वान हुन सकिरहेको छैन ।’ उनले संस्थाको समृद्धि भयो भने कर्मचारीको पनि समृद्धि हुने भन्दै आफ्नो व्यक्तिगत सम्पत्ति भन्दा बढी माया गरेर काम गर्नुपर्ने बताए । उनले नेपाल बैंकमा हचुवाको भरमा सुविधा बढाइको र राष्ट्रिय वाणिज्य बैंकमा त्यसो गर्न नहुने बताए । उनले अवस्था सुधार भएपछि तलबभत्ता वृद्धि हुने भन्दै कर्मचारीलाई अहिले अपेक्षा नगर्न अनुरोध गरे । ‘सरकारी संस्थामा सरकारले कडाइ गरेको छ, सवारी साधन, भत्ता नदिने देखि तलबभत्तामा कुनै वृद्धि गरेनौं ’, उनले भने, ‘त्यसैले बैंकका कर्मचारीले पनि अहिले त्यो अपेक्षा नगर्नुहोस्, अवस्था सुधार भएपछि तलब भत्तावृद्धि हुन्छ ।’
काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुश्री सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेको हो । सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् । उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु हुन् । यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो, ‘काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन् । काठमाडौं उपत्यकाका बासिन्दाका लागि पहिले देखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्डवाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ । तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्डवाटरको अत्यधिक उत्खनन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्याटर्नमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले ग्राउण्डवाटर रिचार्ज हुने प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको छ ।
बालेनले भने : नारायणहिटी दरबार परिसरको पर्खाल छिटो भत्काउनु
काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउनका लागि तोकेता गरेको छ । महानगरले बुधबार एक पत्र जारी गर्दै नेपाल ट्रष्टको कार्यालयलाई पर्खाल भत्काउनका लागि पुनः ताकेता गरेको हो । निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नु पर्ने व्यवस्था रहेकाले महानगरले उक्त संग्राहालय परिसरको पर्खाल भत्काउनका ताकेता गरेको छ । पत्रमा ‘काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नु हुन आग्रह गर्दछौँ,’ महानगरपालिको जारी पत्रमा उल्लेख छ । यसअघि महानगरपालिकाले पुस १३ गते पत्रद्वारा पर्खालको पुर्नसंरचना गर्न अनुरोध गरेको थियो । तर, सो कार्य हालसम्म गरेको नदेखिएकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः ताकेता पत्र लेखिएको महानगरका सहरी व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले जानकारी दिइन् । हाल महानगरको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।
टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रणका पूर्व कार्यकारी निर्देशक विकल पक्राउ
काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा आयोगले पौडेलद्वयलाई पक्राउ गरेको हो । अख्तियारले असोज १५ गते सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरिसकेको छ भने २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको थियो । फेरि उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको र अख्तियारले बयानका लागि बोलाउँदा उपस्थिति नभएपछि पक्राउ गरिएको जनाइएको छ । अख्तियारले दुवै जनालाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
‘विगतमा एनपीएल ६० प्रतिशतसम्म हुन्थ्यो, अहिलेकाे ३ प्रतिशत त केही पनि होइन’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको खराब कर्जा (एनपीएल)को विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै यो सामान्य विषय रहेको धारणा राखेका हुन् । ‘कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म हुन्थ्यो, अहिले ३ प्रतिशत हुँदा के-के न भएकोजस्तो गर्छन्, त्यसैले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था छैन, अन्य बैंकको अवस्था पनि यही हो, खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु पर्दैन,’ उनले भने । अर्थतन्त्र सुस्त भएको बेला यो किसिमको एनपीएल हुनु स्वभाविक रहेको धारणा उनकाे छ । यस्तै, उनले बैंकहरूले अब रिकभरीमा भने जोड दिनु पर्ने बताए । उनले बैंकको कर्जाको ब्याजदर पनि घटिरहेको बताउँदै आगामी दिनमा थप घट्ने अपेक्षा रहेको बताए । यस्तै, उनले बैंकहरूले हजारौं उद्यमी जन्माएको बताउँदै त्यसमा हामी सबैले गर्व गर्नु पर्ने बताए । उनले पछिल्लो समय सरकारी लगानीका बैंकले गरेको सुधारको पनि प्रशंसा गरे । ‘विगतमा सरकारी बैंकमा किताबमै हिसाब हुन्थ्यो, राष्ट्र बैंकले सुपरिवेक्षण गरेर सही ठाउँमा ल्याउन सफल भयो, अहिले सरकारी बैंकका सबै सूचक ठिकठाक छन्, यसमा राष्ट्र बैंकको पनि भूमिका छ,’ उनले भने ।
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ रुपैयाँ बराबर सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो । भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् । भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले दुई अर्ब रुपैयाँ बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई दुई अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ बराबर सहयोग जम्मा भएको छ । त्यस्तै, बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान एक करोड रुपैयाँ बराबर सहयोग गरेका छन् । जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ । रासस