विकासन्युज

रक्तदान किन आवश्यक र कतिपटक गर्न सकिन्छ ?

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी/एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्याङ्क छ । रक्तदान किन आवश्यक छ ? वैज्ञानिकहरूले चिकित्सा क्षेत्रमा अकल्पनीय आविस्कारहरू गरी क्यान्सर, मिर्गौला प्रत्यारोपण, ठूला एवं जटिल रोगहरूको उपचार पनि सम्भव गराएका छन् तर त्यस्ता रोगहरू उपचार गर्न मानव जीवनका लागि नभई नहुने रगतको विकल्प भने दिनसकेका छैन । प्राकृतिक प्रकोपका कारण बर्सेनि लाखौँले जीवन गुमाउने गर्दछन् भने करोडौँको सङ्ख्यामा घाइते हुन्छन् । त्यस्तै मानव निर्मित सडक दुर्घटना, युद्धजस्ता कारणले समेत बर्सेनि ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ । यसका अलावा सरुवा रोगलगायत विभिन्न प्रकोपका कारण लाखौँको ज्यान जान्छ । साथै गरिब परिवारका गर्भवती, सुत्केरी तथा नवजात शिशुको रगतमा हेमोग्लोबिनको मात्रा कम भएकालाई उपचार गर्न रगत आवश्यक पर्दछ । कुनै पनि बिरामीको उपचारका क्रममा रगत आवश्यक हुन गएमा अर्को स्वस्थ मानिसलाई रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । आफ्नो शरीरको अमूल्य रगतबाट अरुको जीवन बचाउन सकिने भएकाले नै रक्तदानलाई जीवनदान भन्ने गरिएको हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने भावनाको विकास हुन जरुरी छ । त्यसैले रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुँदैन । रक्तदान कतिपटक गर्न सकिन्छ ? मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा हरेक १२० दिनमा नयाँ रगत बन्दै जाने र पुरानो रगत नष्ट हुने गर्दछ । पुरुषमा ७६ र महिलामा ६६ मिलीलिटर प्रतिकिलोग्राम रगत हुन्छ । मानिसलाई दैनिक काम गर्नका लागि ५० मिलीलिटर रगत प्रतिकिलोग्राम आवश्यक पर्दछ । एकजना स्वस्थ एवं ४५ किलोग्राम तौल भएको व्यक्तिले आठ मिलीलिटर प्रतिकिलोग्राम अर्थात् तीन सय ६० मिलीलिटर रगत सजिलैसँग दान गर्न सक्छ । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन । दान गरेको रगतको परिणाम कुनै पनि तीन सय ६० मिलीलिटर पेय पदार्थबाट र दैनिक खानपानबाट केही दिनमा आफैँ बनेर पूर्ति हुने भएकाले रक्तदान गर्न सकिन्छ । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सञ्चालन भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरूमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट खाएका एक–दुई दिनमा नै यथारूपमा आउँछ । एउटा स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । त्यसमध्येबाट ३५० मिलीलिटर मात्र रगत लिइरहेका हुन्छौँ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई रगत दान गरी उनीहरूलाई बचाउन सकिन्छ । विश्वभरि रक्तदान गर्नेमध्ये एक प्रतिशतभन्दा कमले मात्र सयौँपटक रक्तदान गर्न सकेका छन् । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडामा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ भने १६ वर्ष पुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरूले वर्षमा छ पटकसम्म रक्तदान गर्न सक्छन् । रक्तदानप्रति युवाको आकर्षण कसरी बढाउने ? नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभावलाई पूर्ति गर्न सकेको छैन । दाताहरू पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रगतको स्रोत स्वस्थ्य युवाहरू नै हुन् । रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ । अहिले काठमाडौँमा प्रतिदिन झण्डै पाँच सय युनिट रगत चाहिन्छ । तर स्वयंसेवीहरूबाट करिब एक सय ५० युनिटमात्र रगत दान गरेको पाइन्छ । यसले गर्दा दैनिक झण्डै तीन सय बिरामीले रगत नपाउने स्थिति छ । नेपालको जनसङ्ख्या करिब तीन करोडमध्ये एक प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झण्डै सवा तीन लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग दुई लाखले मात्र रक्तदान गरेका थिए । प्रविणता प्रमाणपत्र तहमा अङ्ग्रेजी पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ पाठबाट प्रेरित भई रक्तदान कार्यमा आफूलाई समर्पण गरेको मैले विगत ४० वर्षदेखि निरन्तर रक्तदानको माध्यमबाट बिरामीलाई नयाँ जीवन दिँदै आएको छु । युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । रक्तदानको महत्वबारे समाजमा अझै अनेक अविश्वास, भ्रम र चेतनाको अभाव रहेको पाइन्छ । त्रिवि मातहतको सरस्वाती क्याम्पसको समाजशास्त्र विभागले सन् २०२२ मा गरेको रक्तदानबारे सामाजिक बुझाइसम्बन्धी अध्ययनमा पनि अझै यो अवस्था रहेको पाइएको छ । अध्ययनमा नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ । अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने नेपाल रेडक्रसको रक्तसञ्चार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त ब्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय सङ्घसंस्थालाई प्रोत्साहन गर्नुपर्छ । रक्तदानको अभियान ‘म एक्लैले यस संसारलाई दयारुपी संसारमा बदल्न सक्दिन तर संसाररुपी पानीमा एउटा पत्थर फ्याँकेर समाज सेवाको हलचल मच्चाइ मानव सेवाका लागि मनुष्यमा दया पैदा गर्न सक्छु’ भन्ने मदर टेरेसाको भावनाबाट प्रेरित भएर नै मैले पनि रक्तदानको अभियानलाई विश्वव्यापी बनाउन खोजेको हुँ । मान्छेहरूलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिने नै मेरो अभियान रहेको छ । रगत दान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउनु मेरो अर्को उद्देश्य हो । बिरामीलाई रगत उपलब्ध गराउन, युवाहरूलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि १९९० डिसेम्बर ५ मा रक्तदान गरेको एक घण्टापछि विभिन्न जिल्लाहरूमा साइकलयात्रा गरेको थिएँ । सन् २०२२ नोभेम्बरसम्म विश्वका छवटै महादेशका १४ वटा देशमा पुगी त्यहाँ बसोबास गरेका नेपाली समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु र आफूले पनि दुई सय पाँचपटक रक्तदान गरेको छु । यस अभियानबाट छ सय १५ जना बिरामीलाई बचाउन सक्नु आफैँमा असाधारण काम हो भन्ने लाग्दछ । प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा होइन । मेरो रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । मैले आफ्नै साधन, स्रोत, समयमा यो अभियानलाई विश्वव्यापी बनाउने जमर्को गरेको हुँ । यसले विश्वमा नेपालको परिचय गराउन मद्दतमात्र पुगेको छैन, मानवीय भावनाको विस्तार पनि भएको छ । अझै ५० वर्षसम्म पनि रगतको विकल्प आउन कठिन रहेकाले देश र विदेशमा पुगेर रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा जनचेतना बढाउने मेरो अभियान कायमै रहनेछ । रासस (प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग गरेको कुराकानीमा आधारित)

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दै

काठमाडौं । रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् । गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ९१८ थियो । विभागका अनुसार जसमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन् । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । चालु आवको पहिलो छ महिनामा श्रम स्वीकृति लिएका विदेशी श्रमिकमध्ये ७७२ जना चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् । विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका चीनका ठुला परियोजनामा आवश्यक साना ठुला प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै भएको बताउनुभयो । उहाँका अनुसार अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्ना देशका नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिक कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन । नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सिपयुक्त विदेशी जनशक्तिलाई मात्रै श्रम स्वीकृति दिनुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा काम गर्ने विदेशीको श्रम स्वीकृति अधिकतम छ वर्षसम्म नवीकरण हुने व्यवस्था छ । यसै गरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सिप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् । आजको गोरखापत्रबाट ।

गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ’, उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’ गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ । आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए । ‘कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ’, उनले भने, ‘नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।’ गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ । रासस

एनसेलको इन्डिया रोमिङ प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ । यो प्याक सुचारु गरि ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकले कर सहित १०० रूपैयाँमा यो रोमिङ् प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन् । यसको अर्थ प्रतिदिन मात्र ३३ रूपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डाटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउने कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो प्याक शुक्रबार (माघ १९)बाट संचालनमा आएको हो । यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ । ग्राहकहरुले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ। यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डाटा पाउँछन् साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ रूपैयाँ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रूपैयाँमा एसएमएस पठाउन सक्छन् । एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् । यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकहरूसँग आफुले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।

सम्झौता बहुउद्देश्यीय सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’  , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो । ‘दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग रु ३४ छ ।’ सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए। स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताए । ‘विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे’, उनले भने, ‘व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ नगरप्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलोपटक सञ्चालनमा आएको बताए । ‘उद्योग खुलेपछि रोजगारीका अवसर सिर्जना हुन्छन्’, उनले भने, ‘किसानको तोरी बिक्री हुन्छ, मिसावट भएको तेलको प्रयोगमा कमी आउँछ ।’ उद्योग सञ्चालक सहकारीसँग बजारभाउभन्दा बढी मूल्यमा किसानको तोरी खरिद गर्ने सहमति भएको उनले उल्लेख गरे । किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए । नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ । यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । रासस

नेशनल लाइफको सेयर बेचेर बाहिरिँदै ३ संस्थापक सेयरधनी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता, स्वदेशी सेक्युरीटिज एण्ड इभ्नेष्टमेन्टको १५ हजार ९४५ कित्ता गरी कूल ८ लाख ६४ हजार ५५ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि विद्यमान संस्थाप सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन पर्नेछ । यदि उक्त समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

हिमालयन लघुवित्तको ब्याज आम्दानी ११,७२ करोड, खराब कर्जा ३.५९ प्रतिशत

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १४ करोड ८० लाख रुपैयाँ, सञ्चालन नाफा ७५ लाख ११ हजार रुपैयाँ छ । वितरण योग्य नाफा भने १ करोड ९३ लाख रुपैयाँ ऋणात्मक छ । लघुवित्तको खराब कर्जा २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर १६.५८ प्रतिशत, कस्ट अफ फण्ड ९.३१ प्रतिशत छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२५.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८५.७९ गुणा छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ, जगेडा कोष ११ करोड ८२ लाख रुपैयाँ, निक्षेप ९५ करोड ३८ लाख रुपैयाँ, सापटि २ अर्ब ९९ करोड रुपैयाँ र कर्जा ४ अर्ब ३९ करोड रुपैयाँ छ ।

रिलायबल नेपाल लाइफको नाफा ५ प्रतिशत बढ्यो, ईपीएस कति छ ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ५ प्र्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, रिटन्ड अर्निङ ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, अन्य इक्विटी १७ प्रतिशत बढेर ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तको जीवन बीमा कोष ३१.४७ प्रतिशत बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ९५ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले ३२ लाख ९९ हजार ६३२ बीमा लेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।