विकासन्युज

सोधनान्तर स्थिति पौने ३ खर्ब र चालु खाता १ खर्ब ६१ अर्ब रुपैयाँले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमाससम्म सोधनान्तर स्थिति पौने ३ खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुससम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँले धनात्मक रहेको थियो ।

भारततर्फको निर्यात घट्यो, चीन लगायतका मुलुकमा ३७० प्रतिशतले निर्यातमा वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई ७६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले कमी आई ६९३ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ७६ अर्ब २५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६० अर्ब ५६ करोड बराबरको भएको थियो ।

राष्ट्र बैंकले भन्यो : महँगी घट्दैछ, अब सहज हुने भयो

काठमाडौं । चालुआर्थिक वर्ष २०८०/८१ को ६ महिनाको तथ्यांकले महँगी घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ । २०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको राष्ट्र बैंकको भनाइ छ । २०८० पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.१६ प्रतिशत, १.९९ प्रतिशत र २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोकमुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।

विदेशी मुद्रा १८ खर्ब १६ अर्ब पुग्यो, एक वर्ष बढीको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनामा १८ प्रतिशत बढेको हो । गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती थियो । राष्ट्र बैंकका अनुसा अमेरिकी डलरमा असारसम्म ११ अर्ब ७१ करोड रहेको थियो भने पुसमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ६ महिनामा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्था ११.८ प्रतिशतले वृद्घि भई २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । गत असारसम्म १ खर्ब ९३ अर्ब ५९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

६ महिनामा आयो ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स २५.३ प्रतिशत बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।

एक अर्बमा बनेको अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर-ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर-ढुङ्गेसाँघु लाइन निर्माण सुरु गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर-इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर-ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ । हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ । उक्त प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत आयोजनाहरुको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रुपमा प्रवाह गर्न अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । आयोजना प्रमुख गौतमकाअनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आवद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ । यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रीडको विश्वसनीयता बढ्नुकासाथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्ने छ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ । नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५र७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुङ्गेसाँघु सबस्टेसनमा दुई/दुईवटा लाइन बे निर्माण गरिने छ । यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुङ्गेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिने छ । लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइने छ । आयोजनाअन्तर्गतका सम्पूर्ण कामहरु आर्थिक वर्ष २०८१/८२मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए । रासस

प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन नियुक्त

काठमाडौं । प्रोगेसिभ फाइनान्सको अध्यक्षमा लक्ष्मी प्रसाद महर्जन नियुक्त भएका छन् । माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २१९.५३ रुपैयाँ रहेको छ । जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) छन् । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।