विकासन्युज

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । यूएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको आह्वान गरेका हुन् । उनले जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन निम्तो दिए । उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए । शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकोछ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरिएका थिए ।

कलेजोको टुक्रा जोड्ने डा. रमेशको संगीत मोह

काठमाडौं । एक पटक सोच्नुहोस् त, कलेजोको टुक्रा कसरी जोडिँदो हो ? एउटा मान्छेको शरीर चिरेर भित्री भाग कलेजो काटेर अर्को मान्छेको कलेजोमा कसरी राखिदो हो ? सोचे अचम्म । तर, चिकित्सकीय भाषामा नर्मल । किनकी स्वास्थ्य क्षेत्रको विश्व बजारमा अनेक किसिमका उपचार र प्रत्यारोपण सम्भव भइसकेका छन् । नेपालजस्तो विकासोन्मुख देशमा कलेजोको सफल प्रत्यारोपण गरिनु पनि ठूलो कुरा हो । आफ्नै अठोटले कलेजो प्रत्यारोपणको सुरुवात गरेका उनी अहिले नेपालमा आफ्नै नेतृत्वमा कलेजो प्रत्यारोपण गर्न सफल समेत भएका छन् । वि.सं २०७३ सालदेखि विदेशी विज्ञ डाक्टरहरूको सहयोगमा सुरु गरेको कलेजो प्रत्यारोपण ११औं प्रत्यारोपणमा पुगेर नेपाली डाक्टरको टीमले कलेजो प्रत्यारोपण गर्न सफल भयो । यसअघि गरिएका १० औं प्रत्यारोपण विदेशी चिकित्सकको नेतृत्वमा हुने गर्थे । यही माघ १८ गते नेपाली चिकित्सक नेतृत्वको टोली नै कलेजो प्रत्यारोपणमा सफल भयो । यसरी शरीरको अंग त्यसमा पनि महत्वपूर्ण कलेजोसँग खेलिरहने डाक्टरको मोह भने फरक पेशामा पनि उत्तिकै छ । पेशा डाक्टर, रहर अनेक । सबै रहर सबैको पुरा हुँदैनन् । तर, चटक्क रहर भुल्न पनि कहाँ सकिँदो रहेछ ? उनलाई दिनहुँ बिरामी र विद्यार्थीसँग व्यस्त रहनुपर्छ । बिरामीलाई उपचार गर्न र विद्यार्थीलाई सिकाउँदै उनका दिन बित्छन् । तर, बचेको समयमा उनी आफ्नै मोह तिर फर्कन्छन् । र, गाउँछन् कहिल्यै लय मिलाएर गीत त कहिले हान्छन् गोल । उनी अर्थात डाक्टर रमेशसिंह भण्डारी । भण्डारी त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा कलेजो प्रत्यारोपण सर्जन हुन् । भण्डारीको तपाईं फेसबुक वा ट्विटर (एक्स)मा साथी हुनुहुन्छ भने उनको संगीतमोह पक्कै थाहा होला । कहिले गिटारमा गीत गुनगुनाउँदै गरेको त कहिले फुटबल हानिरहेको फोटो/भीडीओ देख्न सकिन्छ । कलेजो काट्दै जोड्दै गर्ने डाक्टरमा संगीत मोह कसरी छायो ? डाक्टर भण्डारीलाई प्रश्न गर्दा उनी भन्छन्, ‘संगीत मेरो प्यासन हो ।’ डा.रमेशलाई सानैदेखि गीत गाउन खुब मन पर्थ्याे । फुटबलमा पनि उत्तिकै रुची । उनी दुई कक्षा पढ्दा म्युजिकमा पनि सहभागी हुन्थे । ‘मैले गाउँदा सरहरूले राम्रो छ भन्नुहुन्थ्यो, सबैले राम्रो भन्दा झन मिहिनेत गर्न मन लाग्थ्यो,’ उनी संगीत सिक्दाका दिनहरू स्मरण गर्दै सुनाउँछन्, ‘त्यो यात्रा अहिले पनि चलिरहेको छ ।’ उनले राम्रो गाएको सुन्दा एकजना संगीत शिक्षकले गीत रेकर्डको लागि रेडियो नेपाल लिएर गए । तर, विविध कारणवस् गीत रेकर्ड भएन । ‘गाउने र सुन्ने रहर सानैमा थियो । विद्यालयमा हुने हरेक कार्यक्रममा उनी गीत गाउँथे । कलेजमा पढ्दा उनको संगीत मोह झन बढ्दै गयो । कहिलेकाहीँ त कार्यक्रममा गाउन नदिँदा झगडा गरेरै भएपनि गीत गाउने गरेको अनुभव उनीसँग प्रशस्त छन् । २०५३ सालमा एमबीबीएस पढ्दा उनी र साथीहरू मिलेर एउटा गीत बनाएर रेकर्ड गरे । गीत थियो ‘चिसो चिसो हावा चल्छ, मनै रमाउने, मायाले मन पोल्न थाल्छ कसरी बुझाउने ।’ साथीहरूसँग मिलेर गीत रेकर्ड भएपछि काठमाडौंका विभिन्न रेडियोबाट गीत बज्यो । तर, समय उही रहेन । संगीतमा लाग्न पैसा र समय दुवै चाहिन्थ्यो । दुवै उनीसँग भएन किनकी उनी एमबीबीएस पढ्न तर्फ लागे । ‘एकातिर एमबीबीएस पढ्नु पर्ने गीततिर लाग्दा समय नै पुगेन । अर्को, पढ्ने बेलामा पैसा नहुँदा उनी गीत संगीतबाट टाढा भएँ,’ उनले भने । ‘पढ्नको लागि घरमा बुबाले पठाएको पैसा पढाइमा खर्च गर्ने कि गीतमा खर्च गर्ने समस्या भयो,’ उनी भन्छन्, ‘समय पनि भएन, पैसा पनि भएन, त्यो भन्दा यो क्षेत्रबाट टाढै रहुँ भन्ने लाग्यो पढाइमा ध्यान दिएँ ।’ फुटबलमा पनि प्यासन उनलाई गीत गाउन मात्र होइन, खेलकुदमा पनि उत्तिकै रहर छ । खेल खेल्न र हेर्न पनि उत्तिकै रुचि लाग्छ उनलाई । यो रुची बच्चैदेखि थियो । उनी स्कुलमा साथीसँग पनि किक्रेट, फुटबल, बास्केट बल खेल्थे । ‘मलाई सबै खेल्न मनपथ्र्यो,’ उनी भन्छन्, ‘खेलमा पनि अझै सजिलो फुटबल लाग्थ्यो, एउटा फुटबल भए साथीलाई जम्मा पार्दै मैदानमा कुदिहाल्थ्यौँ ।’ गीतजस्तै स्कुल पढ्दा मन पर्ने खेल खेलिए पनि कलेज पढ्दा भने खेल्न पाइएन । ‘कलेज पढ्दा पढाइतिर बढी ध्यान दिनुपर्थ्याे, त्यसैले पनि खेल खेल्न पाइएन,’ डाक्टरले भण्डारीले भने, ‘बीबीएस पढ्नुपर्‍यो , मास्टर्स गर्नुपर्‍यो , पढिसकेपछि जागिर गर्नै पर्‍यो , त्यसैले पनि टाढा हुनुपर्‍यो , अहिले भने बेला-बेला हामी फुटबल पनि खेल्छौँ ।’ उनी अहिले डाक्टरहरूकै टीम बनाएर फुटबल पनि खेल्ने गरेका छन् । ओलीको कविताका गायक चार वर्ष अगाडि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिस्क भएर शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा डाक्टर भण्डारीले अप्रेसन गर्नुप¥यो । सल्यक्रिया गर्दा आइसीयूमा ओलीसँगै डाक्टर रमेश पनि बस्नुपथ्र्यो । गफगाफ गर्दा उनले आफुले गाएको गीत ओलीलाई सुनाए । ओलीले डाक्टरको स्वर सुनेपछि भने, ‘आहा ! डाक्टरसाब त गीत पनि गाउनु हुँदो रहेछ, ल अभ्यास गर्नुहोस्, रेकर्डपनि गर्नुपर्‍यो भन्दै प्रोत्साहन पनि गर्नुभयो, मलाई फेरि गीत गाउनुपर्‍यो कि भन्ने लाग्यो,’ उनले सुनाए । ओलीको कुराले डाक्टरभित्र मर्न लागेको प्रतिभा ब्युतियो । आफ्नो स्वर परीक्षण गर्न डाक्टरले ‘कुन मन्दिरमा’ भन्ने गीतको कभर गाए । कभर गीत सुन्दा सबैले राम्रो छ भन्ने प्रतिक्रिया दिए । त्यसपछि केपी शर्मा ओलीले लेखेको ‘बन्छ नमुना नेपाल’ शिर्षकको गीत उनै डा. भण्डारीले गाए । बैतडीमा जन्म, अष्ट्रेलियामा पढाइ डा. रमेशसिंह भण्डारीको घर सुदूरपश्चिमको बैतडी जिल्लाको रोडीदेवल हो । बैतडीबाट पनि दूरमा रहेको रोडिदेवलमा जन्मेका उनी गाउँमा भने धेरै बसेनन् । गाउँको सम्झना उनलाई मधुरो मात्र छ । उनी पाँच वर्षको हुँदा काठमाडौं आए । उनी नर्सरीदेखि १० कक्षासम्म भिएस निकेतनमा पढे । उनलाई बैतडीको त्यति सम्झना छैन । तर, उनी जाडो बिदामा गाउँ जाँदाको भने केही याद छ । ‘काठमाडौँबाट गाउँ जाँदा सहरबाट आएको भन्दै छुट्टै फुर्ती लाइन्थ्यो’ उनी मुस्कुराउँदै भन्छन्, ‘साथीमाई जम्मा हुने, खेतमा उफ्रिने, खोलामा जाने, पौडी खेल्ने, माछा मार्न जाने गरेको याद खुब आउँछ ।’ आजभोली भने उनका बुबाआमा पनि कञ्चनपुर झरिसकेका छन् । उनी सुदूरपश्चिम गएपनि महेन्द्रनगरबाटै फर्केर आउनुपर्छ । गाउँलाई सम्झदै उनी भन्छन्, ‘धेरै वर्ष भयो जान पाएको छैन, अब मलाई म जन्मेको गाउँमा सानो भएपनि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी जान मन छ ।’ ‘म बैतडी नगए पनि शिक्षण अस्पतालमा जिल्लाको कोही बिरामी देख्दा मलाई गाउँ गएजस्तै अनुभव हुन्छ’ उनी भन्छन्, ‘मलाई उनीहरूको सेवा गर्न पाउँदा नै खुसी लाग्छ ।’ धरानबाट चिकित्सकीय पढाइ डा.भण्डारीले एमबीबीएस बिपी कोइराला मेमोरियल अस्पताल धरानबाट गरे । मास्टर सल्यचिकित्सबाट टिचिङ अस्पतालबाटै गरे । सर्जिकल ग्याष्ट्रो तीन वर्षको कोर्ष पनि टिचिङ अस्पतालबाटै गरे । सन् २०१० मा उनी अस्ट्रेलियाको रोयल अस्ट्रेलियन कलेज अफ सर्जनबाट छात्रवृत्ति पाएर अध्ययन गर्न गए । त्यहाँ उनले कलेजो प्रत्यारोपण सम्बन्धी थप सिक्ने अवसर पाए । त्यसपछि उनलाई लाग्यो- ‘म अब नेपाल फर्कदा स्वदेशमै कलेजो प्रत्यारोपण गर्न सक्ने गरी फर्कनुपर्छ ।’ अष्ट्रेलियामा पढाइ सके । र, नेपाल आइसकेपछि उनले किन नेपालमै कलेजो प्रत्यारोपण सुरु नगर्ने भन्ने सोचे र त्यही अनुसार अध्ययन गर्न थाले । उनले शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गर्ने कुरा गर्दा धेरे साथीहरूले कुरा पनि काटे । त्यो पल स्मरण गर्दै उनी भन्छन्, ‘धेरै साथीहरूले मेरो कुरा सुनेर हाँसे । तर, केहीले सम्भव छ भन्दै आत्मबल थपे । र, सबैभन्दा पहिले म आफू तयार भएँ ।’ उनले कसरी नेपालमै काम गर्न सकिन्छ र त्यसका लागि कति जनशक्ति चाहिन्छ ? उपकरणहरू के चाहिन्छ ? भन्ने विषयमा अध्ययन गरे । उनले यो विषयमा आफू पढेको अस्ट्रेलियाका प्रोफेसरहरूसँग पनि सल्लाह लिए । उनीहरूले रमेशलाई अस्ट्रेलिया बोलाए । उनी सन् २०१४ मा फेरि अस्ट्रेलेलिया गए । उनले एक वर्ष त्यहाँ कलेजो प्रत्यारोपणबारे अध्ययन गरे । एक वर्षपछि नेपाल फर्केर उनले टिम बनाउन सुरु गरे । त्यसपछि सुरु भयो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण । ‘जुनदिन पहिलो प्रत्यारोपण सफल भयो, त्यो दिन सबैभन्दा खुसी भएँ’ उनी भन्छन्, ‘मैले कलेजो प्रत्यारोपण सम्भव छ, मैले गर्छु, साथ दिनुस् भन्नेहरूपनि त्यो दिन बधाइ दिन आए, त्यसले थप ढाडस दियो, फेरि मिहिनेत गर्नुपर्छ भन्ने आत्मविश्वास आयो ।’ ६ वर्षमा उनले ११ जनाको कलेजो प्रत्यारोपण गरेका छन् । कलेजो प्रत्यारोपण सबैन्दा जटिल मानिन्छ । नेपालमा सबैभन्दा पहिले कलेजो प्रत्यारोपण मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सुरु भएको थियो । त्यसपछि भरतपुरको एउटा मेडिकल कलेजमा सुरु भएको थियो । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो पत्यारोपण भइरहेको छ । एमबीबीएसपछि उनले सल्यचिकित्सा पढे । सल्यचिकित्सा भित्र धेरै विषय हुन्छन् । उनले त्यसमध्ये ग्याष्ट्रो सर्जरीमा अध्ययन गरे । ग्याष्ट्रो सर्जरी भित्र पनि पेट, आन्द्रा र कलेजो लगायत विभिन्न अंगको छुट्टाछुट्टै अध्ययन गरिन्छ । रमेशलाई सबैभन्दा कलेजोमा रुचि लाग्यो । त्यसपछि उनी पढ्न विदेश तिर लागे । सल्यचिकित्सा सर्जरीमा सबैभन्दा ठूलो काम भनेको कलेजो पत्यारोपण हो । कुनैपनि काम गर्दा चुनौतीका पहाड हुन्छन् । तर, ती चुनौतीलाई चिर्न सक्नुपर्छ । यसो गर्न सक्नु नै सफलता हो । उनले सरकारबाट सुप्रवल जनसेवा श्री पदक पनि पाएका छन्  ।  डाक्टर रमेशले पनि धेरै चुनौतीसँग सामाना गर्नुपर्‍यो । उनी २००६ मा उनी सर्जन बने । सर्जन बनेको १८ वर्षमा उनलाई कहिल्यै पछुतो लागेन । तर, कहिलेकाँही दुःखी पनि हुनु परेको छ । आफूले गर्न लागेको काम सफल नहुँदा, बिरामीलाई सञ्चो बनाउन नसक्दा मनमा चिसो पस्छ । उनी अहिले गरिरहेको कामलाई निरन्तर अगाडि बढाउने सोचमा छन् । ग्याष्ट्रो सर्जनमा पनि कलेजो सर्जरीलाई अझ राम्रो बनाएर जाने योजनामा उनी छन् । पहिले त्यति धेरै कलेजोको सर्जरी हुँदैन थियो । अहिले कलेजोको ठूला सर्जरी पनि गरिन्छ । अब उनको लक्ष्य अस्पतालमा सुरु गरेको कलेजो प्रत्यारोपणलाई स्थापित गर्नुछ ।

१ अर्बको म्युचुअल फन्ड ल्याउँदै गरिमा क्यापिटल

काठमाडौं । गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउने भएको छ । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ । यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ ।

द्वारीकाज, बसेरा र ले हिमालयनले बेच्छन् म्याद गुज्रेका खानेकुरा, विभागले तिरायो जरिवाना

काठमाडौं । काठमाडौंका प्रतिष्ठित होटेलहरु होटेल द्वारीकाज, होटेल बसेरा र ले हिमालयनले ग्राहकहरुलाई म्याद गुज्रेका खानेकुरा बेच्ने गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार, मंगलबार र बुधबार गरेको अनुगमनको क्रममा ती होटेलले म्याद गुज्रेका खानेकुराहरु किचन र स्टोरमा राखेर ग्राहकलाई बेच्ने गरेको पाइएको हो । होटेल बसेराको केशरमहलमा रहेको रेष्टुरेन्टले ग्राहकलाई गुणस्तरहीन खानेकुरा भान्छामा भण्डारण गरेर ग्राहकलाई बेच्ने गरेको पाइएको विभागले जनाएको छ । त्यस्तै, होटेल द्वारीकाज र ले हिमालयन होटेलले पनि म्याद गुज्रेका खानेकुरा किचन र स्टोरमा राखेर बेच्ने गरेको पाइएपछि ती तीनै होटेलहरुलाई कारबाही गरिएको जनाएको छ । विभागले तिनै होटेलहरुलाई जनही ३ लाखको दरले जरिवाना गरेर म्याद गुज्रेका खानेकुरा जफत गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

  जाजरकोट । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा छिट्टै काम सुरु हुने उनले बताए । पन्ध्र दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डर्कमी तालिम दिएर स्थानीय युवालाई सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । उनका अनुसार भेरी नगरपालिका–१ पिपेमा १०, नलगाड–३, ७ र १२ मा ३० जना डर्कमी उत्पादन गरिएको छ । अन्य ठाउँमासमेत तालिमको व्यवस्था गरी जनशक्ति उत्पादनको काम सुरु भएको कार्यालयले जनाएको छ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डकर्मीको अभाव हुन नदिन, पुनर्निर्माण गर्दा आउने समस्या समाधानका लागि उपभोक्ता हित संरक्षण कार्यालयले गाउँगाउँमा तालिम दिन सुरु गरेको भडेलले जानकारी दिए । दश कलस्टरमा दिइने उक्त तालिमले जिल्लामा हुने निर्माणमा सहयोग पुग्ने कार्यालयले अपेक्षा गरिएको छ । नलगाडमा तीन, भेरीमा दुई कलस्टरमा तालिममा दिइएको छ । अन्य पालिकामा पनि यही तालिका अनुसार सीप सिकाउने तथा तालिम दिने भडेलले बताए । दक्षजनशक्ति प्रयोग गर्नका लागि बाहिर जिल्लाको सहयोग लिनु भन्दा स्थानीय युवालाई तालिम दिएर सीप सिकाएर रोजगारीको सिर्जना गर्न यो पहल थालिएको हो । अहिले जिल्लामा सबै ठाउँमा अस्थायी आवासको निर्माणको काम चलिरहेको छ । बयालीस हजार पाँच सय २४ भूकम्प प्रतिरोधात्मक घर जाजरकोटका सात पालिकामा निर्माण हुनेछन् । छ हजार छ सय ३४ भेरीमा, नलगाडमा आठ हजार ९७, छेडागाडमा चार हजार दुई सय ५६, बारेकोटमा पाँच हजार पाँच सय ८६, कुशेमा पाँच हजार आठ सय ८७, जुनिचाँदेमा तीन हजार दुई सय ११ र शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ वटा घर निर्माण हुनेछन् । सोही सङ्ख्यामा अस्थायी आवास निर्माणको काम चलिरहेको छ । जिल्लामा १९ हजार सात सय एक मात्र अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

बुधबार पाँच कम्पनीमा लाग्यो सर्किट, कुनको मूल्य कति ?

काठमाडौं । बुधबारको सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सामान्य अंकले बढेको बजारमा विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । बजारमा नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । जसमध्ये नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३६५.२० रुपैयाँमा पुगेको छ । जुुन अघिल्लो दिनको तुलनामा ३३.२० रुपैयाँले बढी हो । त्यस्तै, बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ हजार ४६४ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ७६९.५० रुपैयाँले बढी हो । पाँचथर पावर कम्पनीको पनि सेयर मूल्य अघिल्लो दिनको तुलनामा २६.५० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर २९१.५० रुपैयाँ पुगेको छ । त्यसैगरी, समाज लघुवित्तको ९.९९ प्रतिशत र जोशी हाइड्रोको ९.९७ प्रतिशतले सेयर मूल्य क्रमशः प्रतिकित्ता १३५१.५० रुपैयाँ र ३५७.३० रुपैयाँ पुगेको छ । बजारमा पिपुल्स पावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८१ प्रतिशतले घटेर प्रतिकित्ता ३८४ रुपैयाँमा झरेको छ । समग्रमा बुधबारको सेयर बजार ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा पुगेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर ४ अर्ब २५ करोड रुपैयाँमा झरेको छ । कारोबारमा आएका ३०२ स्क्रीप्समध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । जसको एकैदिन १७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६६८.१० रुपैयाँ पुगेको छ ।

चीन र सिंगापुरका नागरिकले एक अर्का देशमा भिसामुक्त यात्रा गर्न पाउने

काठमाडौं । चीन र सिङ्गापुरबीच भएको ३० दिने भिसामुक्त यात्रालाई दुवै पक्षका नागरिकले स्वागत गरेका छन् । भिसामुक्त नीति गत शुक्रबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लागू भएको थियो । यस प्रयासले दुई देशबीचको सम्बन्ध बढाउने विश्वास लिइएको छ । उनीहरुले एक अर्का देशका नागरिकलाई आफ्नो देशमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

महानगरभित्रका स्वास्थ्य संस्थाले अब अनलाइनबाटै मासिक प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस) को युजर नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने गरेको छ । वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको, स्वास्थ्य निर्देशनालयले गएको साउन ७ गते पत्र पठाउँदै स्थानीय तहको स्वास्थ्य विभाग/शाखाबाट स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन प्रविष्ट गराउने युजर नेम र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो । यसका लागि विभागले फागुन १ गते (हिजो) ६० वटा संस्थालाई बोलाइएको थियो । जसमध्ये ४८ संस्था सहभागी भएर आफैँ प्रणाली चलाउन सक्ने भएका छन् । बुधबार पनि ६० संस्थालाई बोलाइएको छ । एउटा समूहमा ३० जना राखेर २ समूहमा प्रशिक्षण दिँदै युजर नेम र पासवर्ड दिने गरिएको छ । स्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार यस अघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै एकीकृत प्रणाली कार्यान्वयनमा ल्याइएको हो । महर्जन भन्छन्, ‘यसरी बुझाइएको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कबाट सहरमा मुख्य स्वास्थ्य समस्या र सेवा क्षमता थाहा हुनेछ । यो तथ्यका आधारमा नीति तर्जुमा र सेवा सुधारका योजना बनाउँदा वास्तविक हुनेछ ।’ महानगरपालिकाले अस्पताल दर्ता तथा नविकरणलाई पनि अनलाइन प्रणालीमा आवद्ध गर्ने तयारी गरेको छ । लक्षित वर्गलाई उपलब्ध गराइने निःशुल्क उपचार प्रणालीलाई अनलाइनबाट उपलब्ध गराउने, नियमन र नियन्त्रण गर्न मिल्ने बनाइँदैछ । महर्जनले स्वास्थ्य सेवा व्यवस्थापन प्रणालीका विषयमा जानकारी दिए । विभागकी सिनियर अनमी निरीक्षक लक्ष्मी पौडेलकाअनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी, सामुदायिक अस्तापल, पोलि क्लिनिक र फार्मेसीसहित करिब ३ हजार स्वास्थ्य संस्था छन् । विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पतालको संख्या करिब ७० वटा छन् । यसलाई अद्यावधिक गराएर वास्तविक संख्या एकिन गर्ने काम भइरहेको छ । एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति विरामीले स्वास्थ्य परीक्षण गराए, कुन कुन रोगको कति विरामीले उपचार गराए, उनीहरुको उमेर समूह कुन थियो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स रे कति जनाले गराए, ओपीडी सेवा कतिले लिए जस्ता सेवा र रोगसँग सम्बन्धित विवरण थाहा हुनेछ ।