काठमाडौं । बुधबारको सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सामान्य अंकले बढेको बजारमा विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
बजारमा नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
जसमध्ये नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३६५.२० रुपैयाँमा पुगेको छ । जुुन अघिल्लो दिनको तुलनामा ३३.२० रुपैयाँले बढी हो ।
त्यस्तै, बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ हजार ४६४ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ७६९.५० रुपैयाँले बढी हो ।
पाँचथर पावर कम्पनीको पनि सेयर मूल्य अघिल्लो दिनको तुलनामा २६.५० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर २९१.५० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, समाज लघुवित्तको ९.९९ प्रतिशत र जोशी हाइड्रोको ९.९७ प्रतिशतले सेयर मूल्य क्रमशः प्रतिकित्ता १३५१.५० रुपैयाँ र ३५७.३० रुपैयाँ पुगेको छ ।
बजारमा पिपुल्स पावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८१ प्रतिशतले घटेर प्रतिकित्ता ३८४ रुपैयाँमा झरेको छ ।
समग्रमा बुधबारको सेयर बजार ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा पुगेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर ४ अर्ब २५ करोड रुपैयाँमा झरेको छ । कारोबारमा आएका ३०२ स्क्रीप्समध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । जसको एकैदिन १७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६६८.१० रुपैयाँ पुगेको छ ।