विकासन्युज

विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीआई वानले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु भएको छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडीआई वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग बिहीबार १५ फेब्रुअरीमा खेल्ने छ । सबै खेल बिहान सवा ९ बजेदेखि सुरुहुने छ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।

नेपाल-न्युजिल्याण्डबीच द्विपक्षीय बैठक, विभिन्न क्षेत्रमा सहयोग बढ्ने

काठमाडौं । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग बुधबार वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल गरेका हुन् । बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । बुधबार मन्त्री साउदको सम्मानमा मन्त्री पिटर्सले दिवाभोजको आयोजना गरे । त्यसअघि मन्त्री साउदले न्युजिल्याण्डको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर सत्रको अवलोकन गरेका थिए । संसद्मा नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिलाई सभामुख गेरी ब्राउन्लीले स्वीकार गरेका थिए । न्युजिल्याण्डस्थित नेपालका अवैतनिक दूत तथा वेलिङ्टनमा रहेका नेपालीको आयोजनामा भएको छलफलमा मन्त्री साउद तथा उनको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यसअवसरमा न्युजिल्याण्डमा रहेका नेपालीलाई राहदानी, कन्सुलर सेवालगायत सेवा प्रवाह गर्ने, न्युजिल्याण्डमा नेपालीले सिकेका सीप, ज्ञान र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्नेसम्बन्धमा छलफल भएको उक्त दूतावासले जनाएको छ । त्यसअघि नेपाल-न्युजिल्याण्ड परराष्ट्र मन्त्रालय परामर्श बैठक भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल र त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभागीय निर्देशक जोन्ना केम्केर्सले न्युजिल्याण्डको नेतृत्व गरेका थिए । बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार आदानप्रदान हुनका साथै दुई देशबीच आर्थिक-सांस्कृतिक साझेदारीका माध्यमबाट आपसी सहयोगलाई अझ सघन तुल्याउने सम्बन्धमा छलफल भएको थियो । परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही फागुन ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कुमारी सबल योजनामा आवेदन दिने समय लम्बियो

काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । माघ २८ गतेदेखि बिक्री खुला गरेको कुमारी सबल योजनामा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

घोराही सिमेन्टको आम्दानी बढ्यो, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ बढी

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बिक्री आम्दानी सामान्यले बढाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत साउनदेखि पुससम्ममा १.४० प्रतिशतले बिक्री आम्दानी बढाएको हो । कम्पनीले गत पुससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ बराबरको यस्तो आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा भने ऋणात्मक छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २२५.१८ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १८.३२ रुपैयाँ ऋणात्मक छ । कम्पनीको चुक्ता पुँजी ४३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार पनि ४२.३८ प्रतिशतले बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

सिंगटी हाइड्रोको हकप्रद सेयर आजदेखि बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज फागुन २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता सेयर अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीको हप्रद सेयरमा लगानीकर्ताहरूले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

तीन अर्बको लागतमा पाथीभरामा केबलकार निर्माण थालिने

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको सङ्घर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो । समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए । केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको सङ्घर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ । यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन् । पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ । सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो । सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए । उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकरी दिए । पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन् । अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन् । केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन् । पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ । प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन् । यहाँ हाल वर्षमा करिब चार लाख धार्मिक पर्यटक एवं भक्तजन आउने गरेका छन् । यदि केबलकार तथा आवश्यक अन्य पर्यटकीय पूर्वाधार निर्माण हुनसकेमा वर्षमा कम्तीमा पनि १५ लाख भक्तजन यहाँ आउने अनुमान गरिएको छ । त्यसैले यहाँका नागरिक जतिसक्दो चाँडै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा छन् । अहिले पाथीभरा मन्दिरसम्म पुग्नका लागि काफ्लेपाटीसम्म सडक पुगेको छ । सुकेटारसम्म कालोपत्र गरेको सडकको पहुँच पुगेको छ भने सुेकेटारबाट काफ्लेपाटीसम्म ११ कोलोमिटर कच्ची सडक हुँदै पुग्न सकिन्छ । काफ्लेपाटीबाट पदमार्ग हुँदै पाँच किलोमिटर उकालो चढेपछि तीन हजार सात सय ९५ मिटरमा अवस्थित पाथीभराको मन्दिरमा पुग्न सकिन्छ । उचाइमा अवस्थित यस मन्दिरमा पुग्न उकालो बाटो भएकाले ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी तथा शारीरिक असक्त एवं फरक क्षमता भएकाहरूका लागि निकै कठिन हुने गरेको छ । त्यसैले स्थानीयजस्तै यहाँ आउने दर्शनार्थीले पनि केबलकार निर्माणको माग गर्ने गरेका छन् । निर्माण कम्पनीले मन्दिर आसपास कुनै संरचनामा फेरबदल नहुने र केबलकारको स्टेशन मन्दिरबाट करिब एक किलोमिटर तल रहने भएकाले अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै दर्शनार्थी जान सकिने गरी केबलकार निर्माण हुने स्पष्ट गरेको छ । रु तीन अर्बभन्दा बढीको लागतमा यहाँ केबलकार निर्माण हुन लागेको र यसपछि यहाँ आउने ठूलो सङ्ख्याका पर्यटकलाई लक्ष्य गरी पर्यटकीय पूर्वाधारसमेत बन्ने भएकाले स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने गरी उनीहरूको सहमति र सहयकार्यमा नै यो बृहत् आयोजनालाई अघि बढाउनुपर्ने पक्षमा यहाँका स्थानीय तहका जनप्रतिनिधि रहेका छन् । रासस

घट्दो बजारमा सेयर कर्जा बढाउँदै नबिल, यी सात बैंक प्रतिस्पर्धामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वाणिज्य बैंकहरूले ६५ अर्ब ८६ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनामा बैंकहरूले सेयरधितो कर्जा बढाएका हुन् । सबैभन्दा बढी नबिल बैंकले सेयरधितो कर्जा लगानी गरेको छ । यस बैंकले पुस महिनासम्म ११ अर्ब ५६ करोड २० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब ४३ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको तथ्यांकमा उल्लेख छ । आधा दर्जन वाणिज्य बैंक भने सेयरधितो कर्जामा प्रतिस्पर्धामा देखिएका छन् । एनआईसी एशियाले ४ अर्ब ५८ करोड, नेपाल बैंकले ४ अर्ब ५४ करोड, सिद्धार्थले ४ अर्ब ४८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३६ करोड, सिटिजन्स इन्टरनेशनलले ४ अर्ब २८ करोड र प्राइम कमर्सियलले ४ अर्ब २७ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको हो । यस्तै, कुमारीले ३ अर्ब ९७ करोड, प्रभुले ३ अर्ब ४४ करोड, लक्ष्मी सनराइजले ३ अर्ब २६ करोड, हिमालयनले २ अर्ब ४६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब २२ करोड, एभरेष्टले १ अर्ब ७१ करोड र सानिमाले १ अर्ब ४० करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । यस्तै, कृषि विकास बैंकले १ अर्ब २३ करोड, एनएमबीले ९८ करोड, माछापुच्छ्रेले ४८ करोड र नेपाल एसबिआई बैंकले १४ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयरधितो कर्जामा केही कडाइ गरेको थियो । त्यसपछिको समीक्षामार्फत् केही खुकुलो बनाएर अधिकतम् २० करोड रुपैयाँको सीमा तोकेको छ । यो समिा तोकेपछि बैंकहरूले पनि सेयरधितो कर्जा बढाइरहेका छन् । लामो समय तरलता अभाव खेपिरहेका बैंकहरूलाई अहिले तरलताको समस्या पनि छैन ।

आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी

काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकर गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनबीच साझेदारी भएको छ । यो साझेदारीसँगै दुई कम्पनीले आइएमएस सबको फोन एक्सचेन्जको सुरुवात भएको घोषणा गरेका छन् । अब प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको जुनसुकै ब्रान्डको मोबाइल फोन साटेर सामसङ स्मार्टफोनको विकल्प रोज्न सक्नेछन् । प्रयोगकर्तालाई यो सुविधा दिनका लागि छुट्टै वेबसाइटको सुविधा दिइनेछ । त्यसमार्फत ग्राहकहरुले आफूले प्रयोग गरिरहेको मोबाइलको विवरण भरेर एक मिनेटमै उक्त फोनको मूल्य प्राप्त गरेर नयाँ सामसङ फोनमा अपग्रेड गर्न सक्नेछन् । यो एक्सचेन्ज सुविधा लिन ग्राहकले आफुले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणको लागि यो सुविधा हाल सामसङको आधिकारिक आइएमएस स्मार्ट आउटलेटहरु र काठमाडौंका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ । सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै यो साझेदारीले मोवाइल प्रयोगकर्ताहरुलाई मोवाइल एक्सचेन्ज सहज र छिटो बनाउदै उचित मूल्य प्रदान गर्ने लक्ष्य राखेको बताए । ‘एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरि पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,’ उनले बताए । आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए । यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको बताए । सबको फोनको प्रविधिसँग आइएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मुल्य प्रदान गरि सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आइएमएसको योजना रहेको छ ।