दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’ को मान्यता
खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए) को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मंगलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ । क्याम्पसले औपचारिकरूपमा क्यूएए प्राप्ति गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्याद दिँदै बधाई ज्ञापन गरेको छ । क्याम्पसले क्यूएए प्राप्त गर्न विसं २०७१ देखि प्रयासरत गरेको जनाइएको छ । क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पूर्वी पहाडमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न योग्य शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी दिए । ‘देशभर एक हजार चार सय ५५ वटा क्याम्पस सञ्चालनमा छन् । जसमध्ये अहिलेसम्म विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट एक सय छवटाले क्यूएए प्राप्त गरेका रहेछन् । त्यसभित्र हाम्रो क्याम्पसको नाम पनि लेखाउन सफल भएका छौं,’, उनले भन्नुभयो, “कोशी प्रदेशमा दुई सय तीनवटा क्याम्पस छन् । यसमध्ये १० वटाले यसअघि नै क्यूएए प्राप्त गरिसकेका रहेछन् । त्यसमा हाम्रो क्याम्पस पनि थपिएको छ । तर, यो सधैँभरिका लागि होइन । पाँच वर्षपछि पुनः क्यूएएको प्रक्रियामा जानुपर्छ । यसका लागि हामी थप गुणस्तर सुधार गरेर अगाडि बढ्ने योजनामा छौँ ।’ क्यूएए प्रदान गर्नका लागि आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले गत जेठ २८ देखि असार १ गतेसम्म क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि विसं २०७६ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो । क्यूएए प्राप्तिबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघिमात्र च्यास्मिटार मावि, चम्पावती मावि बुइपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै क्यूएएबाट क्वालिफाइड भएको प्रमाणपत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविहरूमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले जानकारी दिएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले ढिलै भए पनि क्यूएएको प्रमाणपत्र पाएकामा खुसी व्यक्त गरेका छन् । विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन् । मानविकी तथा समाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय विषय अध्ययन÷अध्यापन हुँदै आएको क्याम्पसमा करिब सात सयको हाराहारीमा विद्यार्थी छन् । आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही भू–भागलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
माथिल्लो कर्णालीको काम अगाडि बढाउन मुख्यमन्त्री शर्माको आग्रह
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री शर्मालाई मंगलबार भेट्न आएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गरेका हुन् । त्यसक्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिएका थिए । माथिल्लो कर्णाली जलविद्युत कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाए । आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने बताएका थिए । नौ सय मेगावाट जलविद्युत क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले लिएको छ । जिएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन । जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो ।
फेसबुकको सर्भर डाउन, एक्कासि प्रोफाइल लगआउट
काठमाडौं । फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामको सर्भर डाउन भएको छ । फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम लगइन गर्दा डाउन भएको देखिएको हो । एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट भएको हाे । नेपाली प्रयोगकर्ताले आफ्नो फेसबुकमा आएको समस्याबारे बताइरहेका छन् । फेसबुकमा देखिएको समस्या केही समयमा समाधान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । केही प्रयोगकर्ताले सरकारले नै फेसबुक डाउन गरेको आशंका गरेका छन् । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले फेसबुकको सर्भर डाउन भएकोले यसमा सरकारलाई दोष दिन नहुने बताएका छन् ।
नेपाली पुनर्बीमा कम्पनी राहत कि बोझ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिएको छ । एक दशक पुरानो नेपाल पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न नसकेको भन्दै प्राधिकरणले हिमालयन पुनर्बीमा कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दियो । नेपालमै दुइटा पुनर्बीमा कम्पनी भएपछि नेपाली बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको थियो । तर, दुइटा पुनर्बीमा कम्पनी हुँदा जोखिम हस्तान्तरण गर्न झन् सकस परिरहेको बीमाकर्मीहरू बताउँछन् । नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीले जोखिम स्वीकार नगर्दा आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ । सबै बीमा कम्पनी बढीभन्दा बढी व्यवसाय र मुनाफा गर्ने उद्देश्यले सञ्चालनमा आएका हुन्छन् । व्यावसायिक जोखिम आफैंले मात्र वहन गर्दा धेरै नोक्सानी बेहोर्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले बीमा कम्पनीहरूले आफ्नो जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका हुन्छन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री नेपाली पुनर्बीमा कम्पनीले जोखिम लिएनन् भने बाहिरका कम्पनीलाई कन्फिडेन्स लेभल नआउने बताउँछन् । जलविद्युत क्षेत्रमा बढी जोखिम भएका कारण विदेशी कम्पनीहरू सहर्ष स्वीकार गर्न नमान्ने उनको भनाइ छ । ‘नेपाली पुनर्बीमा कम्पनीले जोखिम लिएनन् भने बाहिरका कम्पनीलाई कन्फिडेन्स लेभल आउँदैन, विदेशी कम्पनीभन्दा नेपालको समस्या नेपाली कम्पनीले बुझेका हुन्छन् , त्यसैले यहाँका पुनर्बीमा कम्पनीले अस्वीकार गरेको जोखिम विदेशी कम्पनीले सहर्ष लिन मान्दैनन्,’ उनले भने, ‘जलविद्युत, पूर्वाधारमा नेपालको भौगोलिक बनावटले जोखिम बढी छ । त्यसैले उनीहरूले कम्पनीवाइज र नेशनलवाइज हेर्छ कति दाबी आयो र कति प्रिमियम आयो भनेर ।’ उनका अनुसार निश्चित अवधिमा जोखिम रिकभरी गर्न सक्ने व्यवसाय हो भने पुनर्बीमा गर्ने गर्छन । यदि त्यो नोक्सानी रिकभरी नै हुँदैन भने जोखिम लिन चाहँदैनन् । नेपाली पुनर्बीमा कम्पनीले बीमा कम्पनीसँग ट्रिटी (सम्झौता) गर्दा जलविद्युतलाई समावेश गरेका हुँदैनन् । ‘पहिला हामी आफैंले ट्रिटीमा राख्थ्यौं, अहिले ट्रिटीमै छैन, त्यसैले जलविद्युतको लागि काम गर्न गाह्रो छ,’ उनले भने, ‘हाइड्रोपावरबाट उठ्ने प्रिमियम कम छ, पहिला घाटा कम हुने भएकाले प्रिमियम पनि कम थियो । नयाँ–नयाँ परियोजना १० अर्बभन्दा बढी लागतका छन्, ती आयोजानामा पुरानै प्रिमियमले नथेग्ने भएपछि विदेशी कम्पनीले पनि पुनर्बीमा गर्न मान्दैनन् ।’ नियामक नेपाल बीमा प्राधिकरणले रेटिङ भएका पुनर्बीमा कम्पनीसँग मात्रै जोखिम बिक्री गर्न अनुमति दिएको छ । रेटिङ भएका कम्पनीसँग पुनर्बीमा गर्दा प्रिमियम पनि बढी हुने गरेको छ । उनका अनुसार रेटिङ भएका पुनर्बीमा कम्पनीको पिमियम बढी छ भने नभएका कम्पनीसँग प्रिमियम कम छ । यदि तथ्यांकले नाफा भएको छ भने रेट आफैं घट्छ, तथ्यांकले घाटा भएको देखाउँछ भने रेट आफैं बढ्छ । हवाइ क्षेत्र पनि जलविद्युत क्षेत्रजस्तै जोखिम रहेको उनले बताए । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह आफ्नै देशभित्र भएका दुइटा पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा जति सहजता हुनुपर्ने हो, त्यो सहजतामा कमी रहेको बताउँछन् । पुनर्बीमाको एउटा हिस्सा दुइटै कम्पनीलाई दिनु पर्ने र बाँकी रहेको हिस्सा विदेशी पुनर्बीमालाई दिँदा नेपाली बीमा उद्योगको आकार ठूलो नभएको उनको भनाइ छ । ‘नेपालको भौगलिक बनावटका कारण जलविद्युत आयोजना, सडक, हवाई जहाजहरू अति जोखिमको क्याटागोरीमा पर्छन्, त्यो अवस्थामा उनीहरूलाई बीमाको आकार सानो लागेर खासै उत्साहित छैनन्, पुनर्बीमा गर्दा क्रेडिट रेटिङ भएको कम्पनी हुनु पर्ने नियामकीय प्रावधान छ, रेटिङ भएका कम्पनीका लागि बजार सानो र रेटिङ नभएका कम्पनीले व्यवसाय गर्न नपाउने भएकाले आजको दिनमा बीमा कम्पनीलाई राम्रो पुनर्बीमा कम्पनीको खाँचो छ,’ उनले भने । विशेषगरी जलविद्युत र निर्माणसँग सम्बन्धित व्यवसायमा एक्सपोजर ठूलो रहेको उनको भनाइ छ । यो जोखिम यहाँ सञ्चालित पुनर्बीमा कम्पनीले लगिदिए सजिलो हुने बताउँदै सीईओ शाहले भने, ‘उहाँहरूले ‘नो’ भनेपछि विदेशी बजारमा त्यो जोखिम बेच्न जाँदा तिम्रो देशमा भएका पुनर्बीमा कम्पनीले अस्वीकार गरेको जोखिमलाई मैले कसरी लिन सक्छु भनेर प्रतिप्रश्न गर्छन्, त्यसैले निर्जीवन बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्न असाध्यै गाह्रो भएको छ ।’ उनका अनुसार आजको दिनमा जसरी पुनर्बीमाको व्यवसाय भइरहेको छ । जसरी जोखिम बाँडफाँट भइरहेको छ त्यसलाई पुनरावलोकन गर्न जरूरी रहेको उनले बताए । ट्रिटीमा भाग लिइसकेपछि थप जोखिमहरूलाई पनि लिनुपर्ने व्यवस्था हुनु पर्ने उनको भनाइ छ । ‘पुनर्बीमा कम्पनीलाई क्षमता बढाउन र व्यावसायिक बनाउनु पर्छ भनेरै पुँजी वृद्धिको निर्देशन दिइएको छ । पुनर्बीमा कम्पनीले ट्रिटीमा भाग लिइसकेपछि थप जोखिमहरूलाई पनि लिनुपर्ने व्यवस्था गर्नुपर्छ । जुन अहिलेको व्यवस्थाको विपरित हुन आउँछ,’ उनले भने, ‘अहिले उहाँहरूले अस्वीकार गर्नु भयो भने मात्र विदेशमा जान्छौं, देशकै पुनर्बीमा कम्पनीले ‘नो’ भनेपछि बाहिरकोले लिने कुरै भएन, त्यसलाई उल्टो गरेर उहाँहरूलाई हामीले अनिवार्य दिनुपर्ने हिस्सा दिइसकेपछि बाँकी रहेको हिस्सा आन्तरिक र बाह्य दिन सक्छौ, यदि बाह्य कम्पनीले किनेन भने नेपाली कम्पनीले लिनु पर्यो ।’ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि विदेशी पुनर्बीमा कम्पनीहरूले पनि जलविद्युत बीमालाई उच्च जोखिममा राखेको बताउँछन् । तर, प्रयाप्त पुनर्बीमाको सुनिश्चितता गरेर मात्रै जलविद्युत व्यवसायको बीमा गर्नु पर्ने उनको भनाइ छ । ‘जलवायु परिवर्तनले जलविद्युत कम्पनीहरू धेरै जोखिममा छन्, जलविद्युत कम्पनी पनि उच्च जोखिममा छन्, यसले बीमा कम्पनीहरूलाई कठिनाइ परिरहेको छ, विदेशी पुनर्बीमा कम्पनीहरूले पनि जलविद्युत बीमालाई उच्च जोखिममा राखेका छन् ।’
महासंघको कार्यसमिति सदस्य बने आचार्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् । आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराएका छन् । आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् । यसअघि दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उप सभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
तीन वर्षपछि माधवको घरमा ओली, सरकारमा सहभागी हुन आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्षौंपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेका छन् । नेपाल कम्युनिट पार्टी विभाजन भएपछि राम्रोसँग बोलचाल समेत नगरेका ओली करिब तीन वर्षपछि नेपालको घरमा पुगेका हुन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पाेखरेल पनि माधव नेपालको निवासमा पुगेका छन् । ओलीले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सत्तामा सहभागी हुने विषयमा हालसम्म एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन ।
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने
काठमाडाैं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे । प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् । अब प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु पर्ने भएको छ । सरकारबाट कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रधानन्त्रीले प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेस गर्नु पर्ने व्यवस्था छ ।