प्रचण्डले राजनीतिक बेइमानी गरे : नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आफूहरुले गठबन्धनको संस्कृतिअनुसार इमान्दारिता निभाएको तर माओवादीले भने राजनीतिक बेइमानी गरेको आरोप लगाएको हो । ‘हामीले गठबन्धनका मूल्य मान्यता र गठबन्धनमा रहँदा हाम्रा बीचमा भएका सहमतिहरुलाई अक्षरसः पालना गरेर हामी प्रतिबद्ध रह्यौं र तदनुरुप हामीले काम गर्यौं’, उनले भने, ‘तर, पछिल्लो समयमा गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माननीय पुष्पकमल दाहालजीले गठबन्धनलाई हामीलाई विश्वासघात गर्नुभो र गठबन्धन भत्काउनुभो ।’ लेखकले प्रचण्डले बाहिर गठबन्धन भत्कनुको कारणबारे भनेका कुराहरु तथाकथित र काल्पनिक भएको भनेर पनि आरोप लगाएका छन् ।
महानगरद्वारा ४२२ वटा बोलपत्र मूल्याङ्कन, ६ अर्ब बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ४२२ वटा बोलपत्र मूल्याङ्कन गरेको छ । मूल्याङ्कन गर्न बाँकी बोलपत्रको संख्या २७ छ । बुधबार केन्द्रीय कार्यालय रहेको काठमाडौं प्लाजाको सभा कक्षमा सम्पन्न अर्धवार्षिक समीक्षा यस सम्बन्धी जानकारी दिइएको हो । यस अवधिमा ६ अर्ब ३ करोड ५९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सञ्चित कोषबाट लक्ष्यको २४ प्रतिशत खर्च भएको छ । गएको असारमा सम्पन्न महानगरपालिकाको १३औँ नगर सभाबाट यस बर्ष सञ्चित कोषबाट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट पारित भएको छ । यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ छ । यस अवधिमा १२.३६ किलोमिटर सडक कालोपत्रे र ५.६५ किलोमिटर सडक गरिएको छ । ३.७१ किलोमिटर ढल निर्माण, ६.१३ किलोमिटर सडकमा ब्लक छापिएको छ । ९७८ वर्गकिलोमिटर सडकमा ढुङ्गा छापिएको छ । १.४७ किलोमिटर रिटेनिङ् पर्खाल बनाइएको छ । ३ वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । अन्य ९ वटा भवन निर्माण गरिएका छन् । ३ वटा पार्क बनाइएका छन् । यस अवधिमा १०९ वटा योजना निर्माण सम्पन्न भइसकेका छन् । महानगरपालिकाभित्र रहेका १ हजार ९३५ वटा सहकारीमध्ये करिब ५० प्रतिशत निष्क्रिय छन् । स्वीकृत भएका १६ वटा कानुन स्थानीय राजपत्रमा प्रकाशित भएका छन् । १६ हजार ५९३ जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा (लिखत, परामर्श र अन्य) उपलब्ध गराइएको छ । सूचना अधिकारीसमक्ष सूचना माग गर्दै दर्ता भएका भएका ७१ निवेदनमध्ये ६७ वटालाई सूचना उपलब्ध गराइएको छ । कानुनी सल्लाहकारहरुबाट १०४ वटा, कानुन तथा मानव अधिकार विभागबाट १५२ वटा राय दिइएको छ । ३६३ वटा विषय खुलाएर पठाइएको छ । सम्पदा तथा पर्यटन विभागबाट २४ वटा योजना सम्पन्न गरिएका छन् । ३७ वटा योजना निर्माणाधीन र ६८ वटा योजना ड्रइङ् डिजाइनको अवस्थामा छन् । ८ वटा योजना खरिद प्रक्रियामा छन् भने २ वटा खरिद मूल्याङ्कन प्रक्रियामा छन् । अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागि ५२ वटा विभिन्न संघसंस्थाहरुलाई अनुदान रकम उपलब्ध गराइएको छ । यस बर्ष मूर्त सांस्कृतिक सम्पदातर्फ १६१ वटा र अमूर्त सांस्कृतिक सम्पदातर्फ ३२ वटा कार्यक्रम छन् । त्यस्तै चालु क्रमागततर्फ ८९ वटा कार्यक्रम छन् । स्वास्थ्य क्षेत्रका कार्यक्रमअन्तर्गत लक्षित वर्गको निःशुल्क उपचार प्रणाली कार्यान्वयनमा आएको छ । स्वास्थ्य प्रवर्धन केन्द्र र बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । ११९ वटा स्वास्थ्यका कार्यक्रममध्ये ६२ प्रतिशत भौतिक प्रगति भएको छ । स्वास्थ्य विभागले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ महानगर गौरवको योजना कार्यान्वयनमा ल्याएको छ । यसमा १० वटा कार्यक्रम छन् । ‘सुलभ फार्मेसी’, ‘स्च्छ भान्छा कार्यक्रम’ र ‘आरोग्य जीवन’ स्वर्णिम योजनामा क्रमशः ३०, १० र ३७.५ प्रतिशत भौतिक प्रगति भएको छ । महानगरपालिकाभित्र ५२ वटा निजी अस्पताल, १० वटा सरकारी अस्पताल, एउटा प्राथमिक उपचार केन्द्र, ३२ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र छन् । ५५८ जना महिला स्वास्थ्य स्वयमसेविकाले समुदाय स्तरमा परिवार नियोजन, खोपसहितका आधारभूत स्वास्थ्य सेवा प्रवर्धनका लागि काम गरिरहेका छन् । यस अवधिमा महानगरपालिकाभित्र २ हजार ३४४ जनाको जन्म दर्ता र १ हजार २३५ जनाको मृत्यु दर्ता भएको छ । १ हजार ७७० जनाको विवाह दर्ता भएको छ भने २८२ जोडीको सम्बन्ध विच्छेद भएको छ । १ हजार १२२ परिवारबाट ३ हजार १८० जना बसाइँ सरेर आएका छन् भने ६२० परिवारका १ हजार ६०९ जना बसाइँ सरेर गएका छन् । सामुदायिक विद्यालयहरुमा पुस्तकविहिन शुक्रबारका कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको रुचि बढेको छ । हरित विद्यालय, सुन्दर विद्यालयलगायतका कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । मंसिर १ गतेदेखि सरसफाइका लागि ३ सय जना जनशक्ति थप भएपछि दैनिक ८० देखि १ सय मेट्रिक टनसम्म फोहोरको मात्रा थपिएको छ । विगतमा दैनिक ६ सय मेट्रिक टन फोहोर व्यवस्थापन हुँदै आएको थियो । भवन निर्माण इजाजत लिँदा घरधनीहरुको बायोमेट्रिक लिन थालिएको छ । इबीपीएसलाई कर र बैंकिङ प्रणालीसँग आवद्ध गरिएको छ । समीक्षापछि बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘योजना र कार्यक्रमको मात्र होइन, समीक्षामा सेवाको स्तरका बारेमा पनि छलफल गर्नुपर्छ । आन्तरिक समन्वय बलियो बनाउनुपर्छ । सार्वजनिक कोषबाट गरिएको खर्चबाट कस्तो स्तरको काम भयो, गुणस्तर पनि मापन गर्नुपर्छ ।’ वित्तीय सुशासनका लागि इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए । वित्तीय प्रगति कम देखिन सक्छ । योजना कार्यान्वयनमा गएको तर भुक्तानी नभएको हुन सक्छ । परियारले भने, ‘आन्तरिक नियन्त्रण निर्देशिका तर्जुमा गरेर कार्यान्वयन गरिनेछ । बैशाखबाट इअफिस (अनलाइन प्रक्रिया प्रणाली) कार्यान्वयनमा ल्याइनेछ ।’ योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले समीक्षा आयोजना गरेको थियो । कार्यक्रममा विभाग, सचिवालय, कार्यक्रम तथा आयोजनाबाट कार्यक्रमबाट प्राप्त उपलब्धी, लक्ष्य प्राप्त गर्न देखिएका समस्या र समस्या समाधानका लागि थालिएको प्रयासका बारेमा छलफल गरिएको थियो । यस्तै, महानगर गौरव योजना र स्वर्णिय योजनाको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गरिएको थियो ।
अर्थमन्त्रीले सेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता खुसी, हरियाली बजार
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो । यो समाचार तयार पार्दासाँ नेप्से परिसूचक २२.६७ अंकले बढेर पौने ७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने गरी काम गर्नु पर्ने बताएका थिए । अर्थमन्त्री पुनले आफूले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताउँदै अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गरेर सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने धारणा राखेका थिए । ‘सेयर बजार तलमाथि भइरहन्छ, यसमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ, ६० लाखभन्दा धेरै सेयर होल्डरहरू बजारमा छन्, उनीहरू सबैको हितका लागि काम गर्नुपर्छ,’ उनले भनेका थिए । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने पनि उनको भनाइ थियो । उनको यस्तो अभिव्यक्तिप्रति सेयर लगानीकर्ता पनि खुसी भएका छन् । बिहीबार बजार खुलेदेखि बजार निरन्तर बढिरहेको छ ।
बिहीबारको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको संसदमा सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् । नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
सुनको मूल्यमा दैनिक रेकर्ड, यस कारण बढिरहेको छ भाउ
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १ हजार ५ सय बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो । सुनको मूल्य बढ्नुमा विभिन्न कारण छन् । पछिल्लो समय लगानीकर्ताको सुनप्रतिको आकर्षण र भूराजनीतिक अवस्थाले पनि सुनको मूल्यमा प्रभाव पारिरहेको बुझिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले उच्च दरमा सुनमा लगानी बढाएका छन् ।
पदम लिम्बूको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय
काठमाडौं । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समशेर राईले बताए । बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि निर्णय गरिसक्नुपर्ने अबण्डाको रकमसम्बन्धी सामाजिक विकास मन्त्रालयद्वारा प्रश्तावित एजेण्डालाई पास गरेको छ । मन्त्रिपरिषदबाट अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि बजेटमा रकम अपुग भएकाले थप रकम निकासा गर्ने निर्णय समेत भएकोे छ । यस्तै, अर्को नीतिगत व्यवस्था नहुन्जेलसम्मका लागि करार सेवाका कर्मचारीको म्याद थप्ने निर्णय समेत बुधवार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले भने सुरक्षित आप्रवासन स्रोत केन्द्रसम्बन्धी निर्देशिका पनि स्वीकृत गरेको जनाएको छ ।
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल ९एपिएफ०ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो । एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ । कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित हात पारेको छ भने यससँगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर भएका छन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्त्वपूर्ण कुरा रहेको बताए । उनले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताएका छन् । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको जनाउँदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेलगायतले सदरमुकामबाट टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा प्रतियोगिता भएको हो । गत फागुन १८ गतेदेखि छ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो । रामपुरमा पहिलोपटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ ।
काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित
काठमाडौं । काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी) परिचालन गर्न सुरुआत गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरेको हो । प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए । पहिलो चरणमा काठमाडौं जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त÷प्रभागबाट जिपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ । टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ । उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताए । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जिपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौं उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताए । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिँदै आएको बताए ।