शतप्रतिशत हकप्रद जारी गर्न बाराही हाइड्रोले पायो अनुमति
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगको फागुन २३ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । आयोगको अनुमति पाएपनि नेपाल धितोपत्र बोर्डको प्रकृया भने बाँकी नै रहेको छ । बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात हाइड्रोको चुक्ता पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।
सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक
काठमाडौं । सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५ देखि लागू हुनेछ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ । घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् । सानिमा बंैकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ ।
चेम्बर एक्स्पो २०२४ भृकुटीमण्डपमा सुरु
काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२४ काठमाडौंको भृकुटीमण्डपमा बिहीबाट सुरु भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो आयोजना भएको हो । सातौं संस्करणको चेम्बर एक्सपोको उद्घाटन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरे । एक्सपोको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले कठिन अवस्थामा रहेको अर्थतन्त्रलाई स्वदेशी उत्पादन पर्वद्धनले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका लागि चेम्बर एक्स्पो २०२४ आयोजना गरिएको बताए । ‘मुलुकभित्रका यस्ता आर्थिक क्रियाकलापल देशमा उत्पादन भएका वस्तुलाई निर्यात साथै प्रवर्द्धन गर्नमा मद्दत पुर्याउने छ,’ उनले भने, ‘यस एक्सपोमा अन्तर्राष्ट्रि क्षेत्रको सहभागिताले त्यहाँ भइरहेका आर्थिक क्रियाकलाप, नवीतम प्रवधिको उपयोग एवं व्यापार व्यवसायका नयाँ आयामहरू नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।’ उनले देश आयातमुखी भएकाले देशमा नै उत्पादित वस्तुको प्रवर्द्धन र निर्यात गर्न अति आवश्यक भएको पनि उनले बताए । प्रर्दशनीमा हस्तकलाका वस्तु, जडिबुटी, स्वास्थ्य सामग्री, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू रहेका छन् । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका अध्यक्ष मल्लले जानकारी दिए । एक्सपो फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।
खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रुपान्तरणका लागि रणनितिक सम्झौता
काठमाडौं । खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनितिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् । उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, ‘डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५० बैंक सँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेका छ । यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ ।’
होण्डाले १५० करोडको लगानीमा नेपालमै शुरु गर्यो उत्पादन प्लान्ट
काठमाडौं । होण्डाका दुइ पाङ्ग्रे सवारीको असेम्बल अब नेपालमै हुने भएको छ । भैरहवामा १५० करोडको लागतमा बनेको उक्त प्लान्टको उद्घाटन होण्डा मोटरसाइकलको मूख्य बिजनेस युनिटका भाइस प्रेसिडेन्ट मिनोरु कटोले गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो। दुई लाख स्क्वायर फुटको क्षेत्रफलमा रहेको उक्त प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटरको उत्पादन क्षमता राख्ने कम्पनीले बताएको छ । होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी रहेको छ । त्यस्तै, स्याकार ट्रेडिङ्गको सहायक कम्पनी हिमाल मोटो प्रा.लिले एसेम्बल गर्ने छ । यससँगै कम्पनीको उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्बिसिङ्गको सेवा थप सहज र सुलभ हुने कम्पनीको दावी छ ।
वल्फ लिण्डाको विवाह र नेपालको सत्ता गठबन्धन
पूर्वपतिहरूको फोटो देखाउँदै वल्फ लिण्डा काठमाडौं । कहिले एउटा र कहिले अर्कै राजनीतिक दलसँग गठबन्धन गरेर सत्ता सम्हाल्ने विषय नेपाली राजनीतिक दलका लागि नयाँ होइन । यसमा उनीहरू आफू पनि अभ्यस्त भइसकेका छन् भने अब सर्वसाधारणले पनि त्यसलाई सहजरूपमा लिन थालिसकेका छन् । यहाँ सिद्धान्त, मूल्य, मान्यता, राष्ट्रिय आवश्यकता, देशको मुलभुत समस्या समाधान केन्द्रीत नभई मात्र केवल नेतृत्वको आकांक्षा र व्यक्तिगत सुविधाका नयाँ सम्बन्ध वा सम्बन्ध विच्छेद भइरहेका छन् । सत्ता गठबन्धनमा फेरवदल आउँदा सत्ताबाट बाहिरिएकाे मुख्य पार्टी नेपाली काँग्रेसको कार्यकर्ता पंक्तिमा व्यापक निराशा देखियो । तर, सत्तामा भित्रिएको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका कार्यकर्ता पंक्तिमा कुनै उत्साह देखिएन । नयाँ गठबन्धनमा सरकार बन्दै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, प्रधानसेनापति लगायत सरकारको मुल नेतृत्व यथावत रहनेछ । राज्य सञ्चालनको लागि महत्वहीन रहेको राष्ट्रिय सभाको अध्यक्षमात्र फेरिँदैछ, जुन परिवर्तनको समय नै भएको हो । नयाँ गठबन्धनसँगै केही मन्त्रीहरू फेरिएका छन् तर प्रवृतिमा कुनै परिवर्तन छैन । सरकारको नीति, कार्यक्रम, बजेटमा खास परिवर्तन हुने छैन । एउटा सम्भावना निश्चित छ, जेठ १५ गते सार्वजनिक गरिने बजेटमा करका दर वृद्धि गरिनेछ । करका दर वृद्धि हुनुपूर्व सातै प्रदेश सरकारहरूमा टुटफुट निश्चित छ, त्यसको सुरुवात पनि भैसकेको छ । केन्द्रमा झै प्रदेशमा पनि मन्त्रिपरिषद् फेरबदल हुँदैछ । अबको करिब एक महिनासम्म राजनीतिक विधाका पत्रकारहरू दलहरूले मन्त्री पदका लागि गर्ने दावी र मन्त्रीहरूको फेरबदलका समाचार छिनछिनमा ब्रेक्रिङ गर्न व्यस्त हुनेछन् । रुखको पात झर्ने र पलाउने जस्तै मन्त्री खुस्कने र बन्ने महत्वहीन विषयमा सञ्चारकर्मीहरूले धेरै समय बिताउने छन् । सरकार बन्नु र भत्कनु नेपाली समाजको लागि नौलो विषय बन्न छोडेको छ । जनसरोकारको विषयमा सरकारको भूमिका देखिन छोडेसँगै सरकार गठन, विघटन, एउटा दल सरकारबाट बहिर्गमन, अर्को दल सरकारमा आगमनले सर्वसाधारणमा कुनै फरक पार्न छोड्दै गएको छ । सरकार परिवर्तन केवल सरकारी सेवामा दलाली गरेर अबैध आर्जनको पेशामा रहेका दलाल र राजनीतिक विचौलियाको लागि मात्र चासोको विषय बन्दैछ । र, राजनीतिक विधामा समाचार लेख्ने पत्रकारको लागि समाचारको विषय बन्ने गरेको छ । अरुको लागि सरकार परिवर्तन घाम उदाउनु र अस्ताउनु बराबर हुँदैछ । सत्ता गठबन्धन परिवर्तनपछि थोरै मानिसको अनुहारमामा खुशी देख्न सकिन्छ । आम मानिसहरू बेचैन छ । बेचैन हुनुमा केही आधारहरू छन् । राजनीतिक अस्थिरता झनै बढ्यो । नयाँ संविधानले राजनीतिक स्थायित्व दिन सकेन । राजनीतिक नेतृत्वले बारबार गल्ती स्वीकार गर्छ तर सच्चिनेतर्फ कुनै संकेत समेत दिएन । २०४७ सालको परिवर्तनको १२ वर्षमा धेरै राजनीतिक अस्थिरता भएको थियो । त्यसको अपजस दलहरूले राजा र दरवारियालाई दिन्थे । त्यतिबेला भन्दा गणतन्त्र आएपछिको राजनीतिक अस्थिरता झनै बढेको छ । मुल कारणबारे सचेत नागरिक जानकार छन् कि -राजनीतिक दलका नेताहरू चरम स्वार्थी हुनु, व्यक्तिवादी हुनु, राष्ट्रिय आवश्यकता नबुझ्नु, दूरदर्शीता नहुनु, विचारको राजनीति छोड्नु । नेतृत्वले इमान, जमान, अडान सबै लत्याउँदै जानु । सरकारले दिने न्यायिक सेवाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । प्रहरीले दिने सुरक्षाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर खस्कदै गएको छ । सहरका सडक भत्कदै गएका छन् । गाउँमा सडक पूर्वाधार बन्न छोडेका छन् । बनेका विमानस्थलमा जहाज आउँदैन । बनेका धारामा पानी झर्दैन । जहाँ सरकारको उपस्थिति छ, त्यहाँ अस्तव्यस्तता चरम छ । कतिसम्म भने सरकारी कर्मचारीहरूले तलब नपाएकाे गुनासो पत्रकारसँग गर्न थालेका छन् । कलेज पास गर्नेले काम पाउँदैनन् । रोजगारी पाउनेले पनि नियमित तलब पाउन छोडेका छन् । उद्योग व्यवसायमा लगानी गर्नेले प्रतिफल पाउने छोडेका छन् । सेयर र घरजग्गामा लगानी गर्नेहरू गुमेको सम्पत्तिको हिसाव गरेर बसिरहेका छन् । ऋण प्रवाह गर्ने बैंकहरूले कर्जाका किस्ता फिर्ता पाउन छोडेका छन् । सहरमा घर बनाउनेले भाडा पाउन छोडेका छन् । गोलभेडा वा उखु वा अन्य बाली लगाउने किसानले उत्पादनको उचित मूल्य पाउँदैनन् । दुध किसानले भुक्तानी पाउँदैनन् । अर्थतन्त्र डामाडोल भएको छ । उद्योगहरू ४० प्रतिशतभन्दा कम क्षमतामा चलेका छन् । व्यापारमा उच्च गिरावट भएको छ । सहरका सटरहरू भटाभट बन्द भैरहेका छन् । निजी क्षेत्र नियमित रूपमा कर्मचारीको तलब खुवाउन र बैंकको किस्ता तिर्न असफल हुँदै गएको छ । सरकार आफ्नै कर्मचारीलाई नियमित तलब खुवाउन, सार्वजनिक ऋणको किस्ता तिर्न र सामाजिक सुरक्षा भत्ता खुवाउन नसक्ने अवस्थामा फस्दैछ । सरकारी बजेटमा आधारित निर्माणको काम ठप्प नै भएको छ । देशको अवस्था बिग्रदै जाँदा काम गरिखाने वर्ग कि देशबाट पलायन भएको छ कि निराश भएर, विरक्तिएर बसेको छ । उत्पादनमुलक उद्योगहरू क्रमशः बन्द हुदै गएका छन् । अन्तर्राष्ट्रिय व्यापार घाटा बढ्दै गएको छ । युवा पुस्ता गुणस्तरीय शिक्षा र रोजगारीका लागि देश छोड्न बाध्य भईरहेको छ । विदेश पलायन र नैराश्यता देशको लागि सबैभन्दा ठूला समस्याको रूपमा फैलिएको छ । वल्फ लिण्डा यी यावत समस्या समाधान गर्नेतर्फ राजनीतिक नेतृत्वको सिर्जनात्मक सोच, छलफल, योजना केही छैन । एउटा नेताले अर्को नेतालाई गाली गर्न जानेको छ । विपक्षीमा हुनेले सत्ता पक्षलाई धम्क्याउन जानेको छ । समाजलाई पुरै निराश तुल्याउने गरी संसदमा वा सार्वजनिक मञ्चमा समस्याको चाङ देखाउन राजनीतिक नेतृत्व माहिर छ । तर, उसँग समास्याको समाधान छैन । मात्र सत्ता चाहिएको छ, मात्र पद चाहिएको छ, मात्र कुर्सी चाहिएको छ, मात्र निजी स्वार्थ र आसेपासेको स्वार्थ पूर्ति गर्नु परेको छ । नेपालको सत्ता गठबन्धनको नयाँ श्रृंखलाले वल्फ लिण्डाको विवाहलाई स्मरण गराएको छ । गिनिज वल्ड रेकर्डका अनुसार लिण्डाले २३औं पटक विवाह गरेर विश्वको सबैभन्दा बढी विवाहको रकर्ड कायम गरेकी रहिछन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकी नागरिक लिण्डाको निधन ८७ वर्षको उमेरमा सन् २०२२ मा भयो । २४औं विवाह गर्न नपाएकोमा उनी मर्नुअघि पनि असन्तुष्ट थिइन् । वल्फ लिण्डा पत्रकार एवं लेखक हुन् । चरम यौन इच्छा भएकी लिण्डाले धेरै पुरुषसँग विवाह गरिन् । उनका पतिहरूको सूचीमा अदालतबाट दोषी ठहर भएका व्यक्तिदेखि मेकानिक, प्रचारक, बारमेन, प्लम्बर, संगीतकारसम्म थिए । र, विवाहित पुरुषसँग उनको सम्बन्ध कम्तिमा ३६ घण्टा र बढीमा ७ वर्ष रहेको थियो । शुभेच्छा व्यक्त गरौं नेपालको सत्ता गठबन्धन वल्फ लिण्डाको विवाहको लहड जस्तो नबनोस् ।
सञ्चारमन्त्री रेखा शर्माले नै पाइन् सरकारको प्रवक्ताको जिम्मा
काठमाडौं । सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ । बिहीबार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन् । साथै, उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने समेत बताइन् ।
गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा
काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन फागुन २३ गते भएको हो । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।