आज सेयर बजार बन्द रहने
काठमाडौं । बिहीबार सेयर बजार बन्द रहने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस आज सेयर बजार बन्द रहने भएको हो । आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था बन्द रहने छन् । २०८० सालको अन्तिम कारोबार दिन चैत २८ गते भएको छ। सेयर बजार २०८१ साल वैशाख २ गते मात्र खुल्नेछ ।
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न पियोर इनर्जीले डाक्यो विशेष साधारण सभा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १६ गतेका लागि विशेष साधारण सभा बोलाएको हो । उक्त सभाले आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।
रिभर फल्स पावरले डाक्यो एकैपटक दुई आर्थिक वर्षको साधारण सभा
काठमाडौं । रिभर फल्स पावर लिमिटेले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले सातौं र आठौं वार्षिक साधारण सभा वैशाख २० गते बिहीबार, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ । यस सभामा चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस हुनेछ । सभाले गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र निजको पारिश्रमिक, बैठक भत्ता तथा सुविधाको बारेमा छलफल गरिनेछ । साथै, हकप्रद सेयर प्रयाजनका लागि अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा छन् । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा वैशाख ९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।
भिजन लुम्बिनी ऊर्जाको लकइन अवधि जेठ ४ गते सकिँदै
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता सेयरको लकइन अवधि आगामी जेठ ४ गते सकिने भएको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँड गरिएको थियो । उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ ।
प्रभु इन्स्योरेन्सले डाक्यो २८औं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेन्डा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा बीमा प्राधिकरणले तोकेबमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोही बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्णअख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, सञ्चालकमा समितिको संरचना परिवर्तन गरी १ जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको २०७५ जेठ १० गते सम्पन्न विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्ति गर्नेबारे सञ्चालक समितिको निर्णलाई अनुमोदन गरिनुका साथै सञ्चालक समितिका सदस्यहरूको पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने प्रस्तावसमेत पारित हुनेछ । सभामा संस्थापक सेयरधनी समूह ‘क’ बाट २ जना, समूह ‘ख’बाट १ जना र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।
आज इद मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ‘जकात (दान) यही महिनामा दिइन्छ,’ उनी भन्छन्, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।’ इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्यांक अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए । काठमाडौंमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउँछन् । ‘संस्कृति बचाउन स्थान चाहिन्छ,’ उनी भन्छन्, ‘देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।’ इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।
आठ महिनामा ३७ करोडको अवैध सामान बरामद
वीरगञ्ज । पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गतेसम्मको अवधिमा ३६ करोड ८४ लाख ८३ हजार २ सय ६० रुपैयाँ मूल्य पर्ने अवैध सामान बरामद गरेको छ । प्रहरीको सक्रियताले पछिल्ला समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री नियन्त्रणमा लिने क्रम बढेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेविरुद्ध प्रहरीले कारबाही गरिरहेको बताए । ‘नेपाल प्रहरीले एक सातामा भन्सार छली गरेर ल्याएका करिब एक करोड मूल्य पर्ने सामान तथा वस्तु नियन्त्रणमा लिँदै आइरहेको छ,’ उनले भने, ‘चोरी/तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने गर्छौं, बिलबिजकअनुसारको नभए राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेका छौँ ।’ पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले खुला सीमाका कारण चोरी तस्करी सक्रिय भएको बताए । ‘पर्सा जिल्लाको सिमाना भारतसँग एक सय ७० किलोमिटर जोडिएको छ,’ उनले भने, ‘चोरी तस्करी नियन्त्रण गर्न सबै निकायलाई निर्देशन दिँदै आइरहेको छु ।’ चालु आवको चैत २२ गतेसम्मको अवधिमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा ३१ करोड ८९ लाख ७३ हजार मूल्य पर्ने सामान बुझाएको छ । त्यस्तै भन्सार कार्यालय वीरगञ्जलाई चार करोड ९५ लाख ९ हजार २ सय ७३ मूल्य पर्ने सामान बरामद गरी बुझाएको छ । प्रहरीले अघिल्लो आव २०७९/८० मा ४८ करोड ९ लाख ६४ हजार ६ सय ४६ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको थियो । जसमा किरानाको सामान ८ करोड ३ लाख ५ हजार ९ सय ७५ मूल्य बराबरको थियो । त्यसैगरी विद्युतीय सामग्री १ करोड ८० लाख मूल्य बराबरको थियो । त्यसैगरी अघिल्लो आवमै सवारीसाधनको पार्टपुर्जा सम्बन्धि १५ करोड ५८ लाख ७७ हजार रुपैयाँको बरामद गरेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ । लत्ताकपडा २२ करोड ३५ लाख ६६ हजार मूल्य बराबरको बरामद गरेको र गत आवमा चोरी तस्करीमा संलग्न १५ अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गत आवमा ९५ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रू’
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रू’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगंगा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिए । ‘अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो,’ उनले भने, ‘बाँधदेखि विद्युतगृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ ।’ सुरुङ छेडिएपछि प्रवर्द्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन् । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो । बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ । मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ । तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युतगृहको उचाइ तीन सय ५० मिटर छ । विद्युतगृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ । तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । मंगले राहुघाटको विद्युतगृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छ । करिब १४ अर्ब रुपैयाँ लागतमा विसं २०७७ मा सुरु भएका दुईवटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले बताए । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युतगृह जोड्ने अपर राहुघाटको चार हजार नौ सय मिटर लामो सुरुङ ६ महिनाअघि निर्माण भएको थियो । अपर राहुघाटको विद्युतगृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत उत्पादन गर्ने तयारी छ । उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ । राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ । रासस