विकासन्युज

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा घट्यो

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मार्चमा ४.८५ प्रतिशत रहेको छ । खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयको राष्ट्रिय तथ्याङ्क कार्यालयका फिल्ड स्टाफले व्यक्तिगत भ्रमणमार्फत सबै राज्यलाई समेट्ने एक हजार ११४ चुनिएका सहरी बजार र एक हजार १८१ गाउँबाट मूल्य तथ्याङ्क सङ्कलन गरिएको अधिकारीहरूले जनाएका छन् ।

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।  ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरे। शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरे। ‘गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ ।  सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ’, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’ सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताए। विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गरे । यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो । चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

भिभोको नयाँ स्मार्टफोन भिभो भी ३० लाइट बजारमा

काठमाडौं । भिभोले नयाँ वर्षको उपलक्ष्यमा सनिबार नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक गरेको छ । स्टाईल, कार्यक्षमता र कार्यसम्पादनको उत्तम मिश्रण भिभो भी ३० लाईटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथसाथै ८० वाटको फास्ट चार्गिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ । कम्पनीका अनुसार भिभो भी ३० लाईटलाई एउटा फोन मात्र नभई नेपाली स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने तत्वको रुपमा हेरिएको छ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ । साथै, यसको अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ, तपाईंले सुविधा र सुरक्षा सुनिश्चित गर्दै, केवल आफ्नो औंलाको स्पर्शले फोन अनलक गर्नसक्नेछन् । स्लीक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाईग्लस फ्रेमले प्रिमियम फिनिश प्रदान गर्दछ । चाहे ड्रीमी ब्रीज ग्रीन रोज्नुस् या क्लासिक क्रिस्टल ब्ल्याक यसको अद्वितीय सौन्दर्यताले मोहित पार्दछ । क्रिस्टल ब्ल्याकमा, भी ३० लाईट केवल यसको ७।७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लीक प्रोफाइलमा चम्कन्छ, भने ब्रीज ग्रीन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ्ग डिजाईन फिचर गर्दछ , जस्को ब्याक प्यानल सुर्यको प्रकाश साथसाथै यू भि रेजको सम्पर्कमा गहिरो हरियोमा रूपान्तरण हुँदै तपाईंको स्टाईलमा जादूको स्पर्श थप्दछ । भिभो भी ३० लाईटमा लूक मात्र नभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सक्नेछन् । ८+८ जीबीको एक्सटेन्डेड र्याम र २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेको यस फोनले तपाईंको सबै फोटो र भिडियोहरूको लागि पर्याप्त ठाउँ प्रदान गर्दछ भने स्नैपड्रैगन ६८५ चिपसेटले प्रतिदिनका कामहरूलाई सहजतासाथ निर्वाह गर्दछ । भिभो भी ३० लाईटमा थप, ठूलो ५००० एम ए एच ब्याट्री रहेको छ जसमा ८० वाटको फ्ल्यास चार्जको साथ – मात्र ३० मिनेटमा तपाईंलाई ८० प्रतिशत पुनर्जीवित गर्दछ र भिभोको अभिनव ब्याट्री स्वास्थ्य सुविधाबाट, तपाईंले ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता पाउनेछन् । भी ३० को अपार सफलता पछी, भिभो भी ३० लाईटले पनि आफ्नो नवीनता र उत्कृष्टताको विरासतलाई जारी राख्दै, ३३,९९९ रुपैयाँको अफर्डेबल मूल्यमा उपभोक्ताहरूलाई उन्नत सुविधाहरू प्रस्तुत गर्दछ । यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुनेछ । नयाँ वर्षको विशेष अवसरको रुपमा भिभोले पहिलो २००० ग्राहकहरुका लागी फ्री क्लिपबड्सको पनि व्यवस्ता गरेको छ, जस्ले भिभो भी ३० लाईटलाई अझै आकर्षित बनाएको कम्पनीले जनाएको छ ।

गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फन्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीसमेतको उपस्थिति रहेको थियो । विगत १५ वर्षदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसँगै बैंकको चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । पद तथा गोपनियताको शपथ ग्रहणपश्चात् बोल्दै नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी बैंकलाई थप उचाइँमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान सीईओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाइँसम्म पुर्याउनका लागि निवर्तमान सीईओ खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त सीईओको नेतृत्वमा बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारेकी थिइन् । साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित गरेको छ । स्थापनाको पाँच वर्ष पूरा गरेको यस संस्थाले गत आर्थिक वर्ष सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको  क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले ठूलो लगानीमा होटल तथा रिसोर्ट खोल्न थालेका हुन् । केही समयअघिसम्म दुई/तीन वटा मात्र होटल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट खुलेका होटल व्यवसायी सुमन श्रेष्ठले बताए । ‘निकुञ्जभित्र र बाहिर थुप्रै होटल तथा रिसोर्ट खुलेका छन्,’ श्रेष्ठले भने, ‘अझै खुल्ने क्रम जारी छ ।’ पर्सा निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर होटल खुलेका हुन् तर निकुञ्जमा पर्यटक नआउँदा समस्या भएको उनले बताए । निकुञ्ज नजिक दुई करोड ५० लाख रुपैयाँको लगानीमा  रिसोर्ट निर्माण भएको छभने मध्यवर्ती क्षेत्रको बफर जोनमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । हात्तीको प्रमुख बासस्थान मानिएको  निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या पनि बढ्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।  पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम क्रमशस् बढेको  निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए ।  चालु आर्थिक वर्षको आठ महिनामा ६ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ जना, र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताए । अघिल्लो आवको सोही अवधिमा एक सय ४० जना पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए । कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

एक दर्जन बैंकले घटाए ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा प्रयाप्त तरलता भएपछि बैंकहरूले थप ब्याजदर घटाएका छन् । बैशाख महिनाका लागि विभिन्न १२ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । प्राइम बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, मछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले बैशाख महिनाका लागि ब्याजदर घटाएका हुन् । प्राइम बैंकको ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल एसबिआई बैंकले ०.४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो । कुमारी बैंकले ०.२५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण थियो । लक्ष्मी सनराइज बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सानिमा बैंकले ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.४५ प्रतिशत घटाएर ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो । नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो । मछापुच्छ्रे बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६५ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ०८४८ प्रतिशत घटाएर ६.७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ८.५४८ प्रतिशत र संस्थागततर्फ ५.५४८ प्रतिशत ब्याजदर तोकेको थियो ।