निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए । ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ’, उनले भने, ‘जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन् ।’ स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो । बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ । बीमा कार्यक्रममा कूल विमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल विमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ । रासस
अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताएका छन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्षले लिए शपथ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । इन्स्योरेन्सको २०८० साल चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गर्ने निर्णय गरेको थियो । आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथग्रहण गरे । शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
कोका-कोलाको ‘ड्रिंक एण्ड विन’ योजना सार्वजनिक, २० लाखसम्मको पुरस्कार
काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।
भक्तपुरको जिब्रो छेड्ने जात्रा (फोटोफिचर)
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आईतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थियो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन रहेको छ ।
बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित
तनहुँ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन् । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेवान तनहुँको संयुक्त आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । बन्दीपुरमा ११औँ सडक खाना महोत्सवले यहाँका होटल पर्यटकले भरिभराउ हुने गरेको समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकको आवगमन बढेपछि यहाँका होटल व्यवसायीमा उत्साह थपिएको छ । अघिल्ला वर्ष कोरोनाका कारण पटकपटक ‘लकडाउन’ हुँदा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा यतिबेला खुसी छाएको हो । ‘बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अधिक’, उनले भने, ‘स्वीजरल्याण्ड, जर्मनी र चाइनिजलगायतका देशका बाह्य पर्यटक आएका छन् ।’ पर्यटक आउने र जाने प्रक्रिया चलिरहेकाले महोत्सव अवधिभर करिब १० हजार पर्यटकले बन्दीपुर भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए । होटल व्यवसायीले पर्यटकलाई प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने गरेका क्षेत्रीय होटल सङ्घकी अध्यक्ष सङ्गीता प्रधानले जानकारी दिए। चितवन, तनहुँ, पोखरा र काठमाडौँ घुम्नेगरी आन्तरिक पर्यटकले रुट मिलाएर आउने गरेका छन् । बन्दीपुरमा करिब ८० जना व्यवसायी सङ्घमा आबद्ध भएका छन् । महोत्सवले यहाँका होटल तथा घरबाससमेत भरिभराउ हुँदा छुट्टै रौनकता छाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। महोत्सवमा लाखेनाच, टाकटुके, सोरठीलगायतका स्थानीय कला, संस्कृति प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उनले जानकारी दिए । बन्दीपुर तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर दूरीमा पर्छ भने पृथ्वीराजमार्गस्थित डुम्रे बजारबाट करिब आठ किलोमिटरको उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । उक्त स्थानबाट विभिन्न हिमशृङ्खला, पहाडका टाकुरा, समथर फाँटलगायतका मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गर्दछन् । रासस
भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार
काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले आईतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरे। समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो । उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए । नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । साथै उनले यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताए । उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले उल्लेख गरे । सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर एक हजार नौ एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पु¥याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ । रासस
सेयर बजारमा सामान्य गिरावट
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले ओरालो लागेर दुई हजार २३.३५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले उकालो लागेर तीन सय ५८.२० मा पुगेको छ । विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ रुपैयाँ मूल्यमा कारोबार भएको छ । कारोबार भएकामध्ये आज एक सय २७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यस्तै, एक सय आठ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ९.७२, डोल्टी पावर कम्पनी ९.३५, राप्ती हाइड्रोपावर ९.२३ र मिथिला लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशत बढेको छ । आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४.४१, तेह्रथुम पावर कम्पनी ४.३८, तारागाउँ रिजेन्सी होटल ३.९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको सेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ ।