विकासन्युज

धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति

म्याग्दी । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् । धवलागिरि आरोहण अनुमतिवापत ३५ लाख ७० हजार ८ सय ४० र अन्नपूर्ण आरोहण अनुमतिवापत ५९ लाख ६१ हजार ७ सय ८० रोयल्टी (सलामी दस्तुर) संकलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताए । गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् । यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेकी छन् । पेपरले सेभन समिट ट्रेकका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गरेको सभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गरेकी थिइन् । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट ३४ करोड ४३ लाख ९९ हजार ६ सय ५६ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

‘वान एक्स बेट’ मार्फत ५७ करोड बढीकोको कारोबार गर्ने ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम संकलन गर्ने तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ,’ प्रवक्ता रेग्मीले भने । पक्राउ परेकाले ती खाताबाट ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरअन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए । प्रहरीले उनीहरूसँग नौ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सिपियु एक थान, नगद ६२ हजार रुपैयाँ र विभिन्न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

निर्वाचनअघि मोदीको वाचा : सामाजिक खर्च बढाउने, मुलुकलाई उत्पादनको केन्द्र बनाउने

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गरेका छन् । मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आम निर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गरे । मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गरे । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबहरूका लागि लाखौं निःशुल्क घरहरू समावेश छन् । उनको सरकारले गरिब किसानहरूलाई प्रतिवर्ष छ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । एक अर्ब ४० करोडभन्दा धेरै जनसङ्ख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जे. पी. नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताए । भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै सातासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ । अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ । मोदीले मुलुकभर व्यापक प्रचार गरिरहेका छन् र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गरेका छन् । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् । उनले आइतबार आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । साथै, उनले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गरे । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय छन् र उनले द्रुत गतिमा आर्थिक विकास गरेका छन् । रासस/एपी

साना र मध्यम व्यवसायलाई पनि लगानी सम्मेलनले समेट्नुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजले आज राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले योलगायत आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् । ‘पछिल्लो समय साना उद्योगी पनि विदेश पलायन भइरहेको अवस्था छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण तय गरेर उहाँहरुलाई स्वदेशमा नै बस्ने वातावरण तय गर्नका लागि यस्ता लगानी सम्मेलनमा साना तथा मध्यमस्तरका व्यवसायलाई पनि समावेश गरेर लगानी जुटाउने वातावरण तय गरिनुपर्छ ।’ मुलुकको आर्थिक समृद्धिका लागि मुनाफा दिने चीज हेर्नुपर्नेमा उनको जोड रहेको छ । मुलुक कृषि प्रधानबाट औद्योगिक अर्थतन्त्रमा रुपान्तरण भइरहेको भन्दै उनले औद्योगिक क्षेत्रको विकासका लागि पनि मानव स्रोत र प्रविधिको विकास हुन जरुरी रहेको बताए । ‘यतिबेला मुलुकको आर्थिक क्षेत्रमा शिथिलता निरन्तर देखिएको छ, कसरी अर्थतन्त्र सुधार गर्नुपर्छ भन्नेमा गम्भीर किसिमको छलफल हुनुपर्छ र मुलुक कसरी समृद्धिको बाटोमा लैजाने भन्ने विषयको बुझाइमा एकरुपता आउन जरुरी छ’, उनले भने, ‘हाम्रो जस्तो औद्योगिकीकरण हुँदै गएको अवस्थामा पूँजी, श्रम बजारको सुनिश्चितता जरुरी रहेको छ, पूँजीवादी बजार चलायमान हुनु पनि उत्तिकै जरुरी रहेको छ ।’ मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको पनि विकास जरुरी रहेकामा उनले जोड दिएका छन् । उनले स्वदेशी उत्पादनको ठूलो बजार भारत र चीन रहेकाले कसरी उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । ‘आजभोलि आकर्षक श्रम र प्रविधिका कारण युवा शक्ति विदेश पलायन भइरहेका छन्, १२ कक्षा पढ्ने बित्तिकै सबै विदेश पलायन हुन थालेका छन्’, उनले भने, ‘कसरी शैक्षिकस्तर सुधार गरेर स्वदेशमा नै प्रशस्त रोजगारीका माध्यमको विकास गरिनुपर्छ ।’ भट्टराईले नेपालको आन्तरिक बजार भारत र चीन भए पनि मुलुक भूराजनीतिक भूमरीमा फसिरहेकाले समस्या उत्पन्न भएको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रको नै सुधार गरेर उत्पादन शक्तिको विकास गर्नुपर्नेमा जोड दिए । ‘कृषि क्षेत्रको सुधारका लागि हामीले अपनाउनुपर्ने मुख्य नीति भूमिसुधारको कुरा नै गर्दैनौं’, उनले भने, ‘खाद्य सुरक्षाको क्षेत्रमा लगानी सुरक्षित गर्नुपर्छ ।’ उनले मुलुकको अर्थतन्त्र सुधारका निम्ति हरित उर्जाको विकासमा जोड दिन उत्तिकै आवश्यक रहेकामा जोड दिए । आगामी लगानी सम्मेलनमा मुलुकको खास क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । जिडिपीको ४० प्रतिशत विकासमा लगानी गर्नुपर्नेमा उनको जोड छ । प्राथमिकताको क्षेत्र पहिचान गरी त्यसमा लगानी बढाउनुपर्ने र अनावश्यक क्षेत्रमा लगानी बढाउन नहुने पनि उनको भनाइ छ । रासस

एउटै पार्टीका २ जनाको मुख्यमन्त्रीमा दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले आज छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गरेका छन् । प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे । केही समयपछि सोही पार्टीका अर्का प्रदेशसभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेकपा (एमाले) र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे । लक्ष्मण किशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेशसभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ । एउटै पार्टीबाट दुईजनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श थालेका छन् । कानुनी परामर्शपछि मुख्यमन्त्रीमा नियुक्ति हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए । नाउपामा उत्पन्न आन्तरिक किचलोका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मणकिशोर पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षका र कैलाश पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका मानिन्छन् । १० दिनअघि अर्थात् गत चैत २३ गते संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सीमा आजै अपराह्न ५ बजे सकिएको छ । नाउपा सुदूरपश्चिम प्रदेशसभामा चौथो ठूलो शक्ति हो । नाउपामा देखिएको आन्तरिक मतभेदका बीच अध्यक्ष रञ्जिताले प्रदेशसभा नाउपा संसदीय दलका नेता घनश्यामलाई केही दिनअघि दलको नेताबाट हटाएर कैलाशलाई जिम्मेवारी तोकेको थियो । अध्यक्ष रञ्जिताले सोही पार्टीको समानुपातिक कोटाबाट निर्वाचित सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको पत्र प्रदेशसभा सचिवालयमा पठाउनुभएको थियो । अदालतले आजमात्रै आफ्नो पुनर्बहाली गरेको गिरीले जानकारी दिए । मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, कारबाही गरिएको भनिएका समेत गरेर नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र १ स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा यही वैशाख १५ गते उपचिर्वाचन हुँदैछ ।

घरजग्गा कारोबारबाट चैतमा ४.३१ अर्ब राजस्व उठ्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारबाट साढे ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । देशभरिका विभिन्न मालपोत कार्यालयमा चैतमा ४९ हजार घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार चैतमा सेवा करवापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चैतमा सबैभन्दा धेरै राजस्व संकलन मालपोत कार्यालय लगनखेल ललितपुरले ४२ करोड ८६ लाख रुपैयाँ गरेको छ । यस्तै, मालपोत कार्यालय भक्तपुरले २९ करोड ८२ लाख रुपैयाँ, कलंकीले २७ करोड ८६ लाख रुपैयाँ, डिल्लीबजार कार्यालयले २६ करोड ९६ लाख रुपैयाँ, चावहिलले २५ करोड ६६ लाख रुपैयाँ र चितवनले १४ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, इनरुवा सुनसरीले १४ करोड १ लाख रुपैयाँ, कास्कीले १२ करोड ७९ लाख रुपैयाँ, भद्रपुर झापाले १० करोड ९३ लाख रुपैयाँ, काभ्रेपलान्चोकले १० करेड ६३ लाख रुपैयाँ, मालपोत कार्यालय रुपन्देहीले ९ करोड ६३ लाख रुपैयाँ र मालपोत कार्यालय बुटवल रुपन्देहीले ९ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाहरुबीच समझदारी भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ । हाल बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

चैत मसान्तको रिपोर्ट खराब निस्कँदै, एनबीएले खाने भयो बैंकको नाफा

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र ब्याजदर निरन्तर घट्दा पनि व्यवसाय भने खासै बढ्न नसकेको बैंकरहरू बताउँछन् । विगतमा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा ब्याजदर उच्च भएको थियो । उच्च ब्याजदरमा कर्जा लगानी नहुँदा व्यवसाय वृद्धिमा ब्रेक लागेको थियो भने खराब कर्जा (एनपीएल) बढेको थियो । तर, यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम र ब्याजदर एकल अंकमा हुँदा पनि व्यवसाय उत्साहजनक हुन नसकेको बैंकहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बैंकरहरू धितो बिक्री नहुँदा बैंकमा गैर बैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको बताउँछन् । चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा बैंकको एनपीएल अझै बढ्ने र नाफामा असर गर्ने बैंकरहरूको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा तिर्न सकेनन् । ऋणीहरूले समयमा कर्जाको साँवा ब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुन लगायत बैंकहरूले लिलामीमा राखे । उक्त धितो लिलामी बिक्री नहुँदा बैंकहरू आफै सकार्न बाध्य भएपछि तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्ने हिमालयन बैंकका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली बताउँछन् । बिक्री नभएपछि बैंकहरू लिलामीमा राखिएको धितो आफै सर्कान बाध्य भएको उनको भनाइ छ । उनका अनुसार खराब कर्जा (एनपीएल) घटे पनि एनबीए बढ्दा सेयरधनीहरूले पाउने (वितरणयोग्य) नाफा घटाउँछ । ‘ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्याे, लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैंले सकार्नुपर्छ, अहिले बैंकहरूमा यस्तो सम्पत्ति थुप्रएको छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बढ्दा वितरणयोग्य नाफामा असर गर्छ, जबसम्म त्यो सम्पत्ति बिक्री हुँदैन तबसम्म उक्त पैसा वितरण गर्न मिल्दैन, त्यसलाई नाफाबाट घटाउनुपर्छ, जस्तो १ अर्ब नाफा र एनबीए ५० करोड रुपैयाँ छ भने त्यो ५० करोड रुपैयाँ नाफाबाट घटाउनुपर्छ ।’ उनका अनुसार बैंकहरू धमाधम गैर बैंकिङ सम्पत्ति बेचिरहेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरणमा बैंकहरूको एनपीएल सामान्य बढ्ने उनको भनाइ छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भए पनि आन्तरिक सूचक कमजोर रहेको उनले बताए । ‘दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सुधार भएको देखिन्छ, बाह्य क्षेत्रतर्फ रेमिट्यान्स, विदेशी मुद्रा बढेको छ, आन्तरिक अर्थतन्त्रलाई सुधार गर्ने हो भने राम्रो हुने देखिन्छ,’ उनले भने, ‘एनपीएल प्वाइन्ट एक/दुई प्रतिशतले बढ्न सक्छ, अहिले नै कुनै पनि बैंकको एनपीएलमा ठूलो सुधार भएको छैन, एनपीएल बढ्दा नाफामा केही असर पर्छ ।’ खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जसका कारण नाफामा स्वतः असर पर्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल तेस्रो त्रैमासमा बैंकहरूको ब्यालेन्ससिट दोस्रो त्रैमास जस्तै आउने बताउँछन् । तेस्रो त्रैमासबाट सुधार हुने अपेक्षा गरेको भए पनि खासै सुधार हुन नसकेको उनको भनाइ छ । ‘चैतमा सहज हुने अपेक्षा थियो, तर खासै सहज अवस्था छैन, यसपटक बैंकहरूको खराब कर्जा सामान्य बढ्ने देखिन्छ, एनपीएल बढेपछि स्तवः बैंकको नाफामा असर गर्छ, किनभने एनपीएल बढ्दा प्रोभिजन राख्नुपर्छ,’ उनले भने, ‘अघिल्लो २ क्वार्टरलाई पनि भाग लगाउने हो भने तेस्रो त्रैमास खासै उत्साहजनक छैन ।’ बैंकहरूले बाध्य भएर गैर बैंकिङ सम्पत्ति सकार्नुपरेको उनको भनाइ छ । गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि मात्रै कर्जा असुल भएको मानिने उनले बताए । ‘लिलामीमा राखेको धितो बिक्री नभएर आफैं सकार्दा यस्तो सम्पत्ति बढ्यो, गैर बैंकिङ सम्पत्तिका रूपमा सकार्नु समस्याको समाधान होइन, बाध्यात्मक व्यवस्था भएर लिनु परेको हो, किनभने पैसा नउठेपछि गैर बैंकिङमा भएपनि लिनुपर्छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि कर्जा नगदमा असुल भए सरह हो, ऋण दिँदा नगद पैसा दिनुपर्छ, त्यसैले बिक्री भएर नगद पछि मात्रै प्रभावकारी रूपमा कर्जा उठेको मानिन्छ ।’ राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) देवेन्द्ररमण खनाल बैंकको ब्याजदर घटिरहेकाले आगामी दिनमा सुधार हुने बताउँछन् । तर, अघिल्लो क्वार्टरबाट तेस्रो क्वार्टरमा आउँदा बैंकहरूको उत्साह ब्यालेन्ससिट नआउने उनले बताए । ‘अहिले कर्जा पुनरसंरचना गरेको हुँदा एनपीएल त्यति धेरै बढ्दैन, नाफा राम्रो पोजिसनमा आउने अवस्था छैन, १० प्रतिशत ब्याज तिरेर पुनर्संरचना गर्दा नाफामा स्वतः असर गर्छ,’ उनले भने, ‘जबसम्म ब्याज असुल हुँदैन तबसम्म नाफा बढ्न सक्ने स्थिति छैन । तर, समग्रमा गति लिने अपेक्षा छ ।’ अर्थतन्त्र सुधारको संघारमा रहेकाले बैंकिङ क्षेत्र पनि सुधार हुँदै जाने आशा रहेको उनले बताए ।