विकासन्युज

एनएमबी बैंक जीवाश्म इन्धनको अन्त्य गर्ने विश्वव्यापी आह्वानमा सामेल

काठमाडौं । एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ । बैंकले जीवाश्म ईन्धनको अन्त्यका लागि ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ लाई अनुमोदन गरेको हो । ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ सबैका लागि हरित उर्जाको व्यवस्था, जीवाश्म इन्धनको विस्तारको अन्त्य र वर्तमानको उत्पादनलाई निर्मुल पारि अन्तर्राष्ट्रिय हातेमालो गरी पेरिस सम्झौताका लक्ष्यहरु हासिल गर्ने एउटा विश्वव्यापी प्रयास हो । यो सन्धिप्रति प्रतिवद्धता जाहेर गर्ने वित्तीय संस्थाहरुको संख्या बढ्दो क्रममा रहेको छ । यसका साथै उनीहरु जलवायु संकटको मूल कारण तेल, ग्याँस र कोइलाको उत्पादन र प्रयोगलाई सम्बोधन गर्न विश्वव्यापी प्रयासमा महत्त्वपूर्ण कदम अघि बढाईरहेका छन् । ‘यस कदमले जलवायु कार्यलाई अगाडि बढाउने र पेरिस सम्झौताका लक्ष्यहरूसँग पङ्क्तिबद्ध गर्ने, कार्बन उत्सर्जन प्रकटीकरण र व्यवस्थापनमा हाम्रा प्रयासहरूलाई बढावा दिने हाम्रो प्रतिवद्धतालाई दर्साउँछ । हामी सचेत छौं कि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू मध्ये एक हो, र हामी समाधानको एक हिस्सा बन्न प्रतिबद्ध छौं,‘ एनएमबी बैंकका सीईओ सुनिल केसीले भने । यो कदमले उज्यालो, स्वच्छ भविष्यको प्रतिज्ञा गर्ने र वातावरणीय कल्याण र दीर्घकालीन दिगोपनलाई प्राथमिकता दिने दिगो अभ्यासहरूतर्फ बैंकको परिवर्तनलाई जनाउने एनएमबी बैंकले जनाएको छ । जीवाश्म ईन्धनमा कम निर्भरता भनेको स्वच्छ हावा, पानी र जमिन हो, जसले स्वास्थ्य र जीवनको गुणस्तरलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउने बैंकले बताएको छ । यसले हरित अर्थतन्त्रमा आर्थिक वृद्धि र स्थीरतालाई प्रोत्साहन गर्दै दिगो विकासको ढाँचा प्रदान गर्दछ ।

महानगरको सक्रियतामा ठूला आयोजना निर्माण सम्भव भएको हो : प्रमुख दाहाल

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठूला विकास निमाणका आयोजना अघि बढेको बताएकी छन् । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन् । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ । नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । ‘विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ’, उनले भनिन् । ‘रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ, काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ’, उनले भनिन्, ‘काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो, जनता जनार्दन हुन्छन्।’ भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो ।

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए । आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा रु १० लाख ६३ हजार बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनी सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए । यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । रासस

सुरु भयो बाइसधारा मेला, भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बालाजुमा बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा रहेको बाइसवटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्छन् । यहा स्नान गरीसकेपछि स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन रहेको छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।  

सिद्धार्थ प्रिमियरद्वारा २१ करोडको बीमा दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २१ करोड बढीको बीमा दाबी भुक्तानी गरेको छ । २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको अपर हेवा खोला हाइड्रो पावर कम्पनीमा ठूलो क्षति भएको थियो । सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज,   लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिव ६ महिनाको क्षति समेतको जम्मा २११,९६०,५०० रूपैयाँको दावी फछ्र्यौट गरेको छ । कम्पनीमा आयोजित एक समारोहमा सो हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सान वापत १०४,५३१,५०० रूपैयाँ बराबरको चेक इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्री द्धारा हस्तान्तरण गरियो भने सम्पत्ति क्षति वापतको बीमा रकम १०७,४२९,००० रूपैयाँ दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरियो । सो अवसरमा  दुवै कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । चेक हस्तान्तरण पश्चात इन्स्योरेन्सका कार्यकारी प्रमुख क्षेत्रीले इन्स्योरेन्समा पर्न आएको दावीहरुलाई उच्च प्राथमिकताका साथ फछ्र्यौट गर्दै आएको बताए भने हाइड्रो पावरका प्रवन्ध सञ्चालक खड्काले बीमा भुक्तानीमा कम्पनीले पुर्याएको सेवा प्रति सन्तुष्ट रहेको बताए ।

दुलेगौडा-लामागाउँ सडक स्तरोन्नति

दमौली । दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँको लागतमा स्तरोन्नति सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन् । विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ ।

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

मन्थली । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर संकलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् । जिल्लाको सहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई संकलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले यहाँका सातजना युवा मिलेर ग्रिन हाइलाइट प्रालि स्थापना गरेका हुन् । जिल्लालाई सफा राख्ने र केहीलाई रोजगारी दिएर आय आर्जनको बाटो बनाएको उक्त अभियानका साथ स्थानीयलाई रोजगारी दिएर सुरु गरिएको यो उद्योग समस्यामा परेको छ । सुरुमा प्रतिगोटा सात रुपैयाँका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा चार रुपैयाँमा पनि बिक्न मुस्किल छ । यसअघि यसले राम्रै बजार पाएको भए पनि विद्युत् नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था यस उद्योगले झेल्नुपरेका कारण समस्या बढ्दै गएको हो । उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली दोलखा, ओखलढुङ्गा र काठमाडौंसम्म लगेर बिक्री गर्ने गरिएको थियो । तर, अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन् । मेसिन बेलाबेलामा बिग्रने, पार्टपुर्जा सर्वसुलभ नहुने भएकाले उद्योगमा समस्या आएको उद्योग सञ्चालक सुनिल रायले बताए । उद्योगमार्फत प्रत्येक शनिबार जिल्ला सदमुकाम मन्थलीलगायतका अन्य सहरी क्षेत्रमा कागजजन्य फोहर प्रतिकिलो १० रुपैयाँका दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ । यस उद्योगमा महिला एवं पुरुष गरी १५ जनाभन्दा बढीले रोजगारी पाएको अर्का सञ्चालक जयराम मानन्धरले बताए । उद्योग स्थापना हुनुअघि आफ्नो घर तथा पसलबाट निस्कने फोहरलाई पैसा तिरेर नगरपालिकाको गाडीमा पठाउनुपर्ने बाध्यता भए पनि अहिले भने काजगजन्य फोहर बिक्री गर्न पाउँदा आफूलाई खुसी लागेको उप्रेती स्टोर्सका प्रोप्राइटर रामहरि उप्रेतीले बताए । उनले भने, ‘कागजजन्य वस्तुजस्तै प्लास्टिकजन्य वस्तु पनि यसैगरी उठाउने हो भने मन्थली बजार सधैँ सफा हुने थियो ।’ अण्डाको क्रेटसँगै यस उद्योगले सिमेन्टका ब्लक पनि निर्माण गरेको छ । प्लास्टिकजन्य र फलामका टुक्रालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने वस्तु निर्माण गर्ने उद्योगको योजना छ । स्थानीय तहमा उत्पादन हुने वस्तुलाई सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्नेमा उद्योगका सञ्चालक रुद्रकुमार श्रेष्ठ बताउँछन् ।

६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा । झापाको झापा गाउँपालिकाले ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिइन् । यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताइन् । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार ६ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।