लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी, के-के छन् सुविधा ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन लगानीकर्तालाई लगानी प्रवर्द्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यका साथ उक्त अध्यादेश जारी गरिएको हो । अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ । अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) पछि देहायको उपदफा ९३० थपिएको छ । उक्त दफामा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भ एपनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने छैन ।’ नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकाले सङ्घीय संसद्ले यो ऐन बनाएको छ । राष्ट्रपतिले आज प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आएको छ । भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन गरी उक्त ऐनको उपदफा (१) पछि देहायको उपदफा (१) थप गरी भनिएको छ, ‘निवेदन दिन नसकेको उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले यो उपदफा प्रारम्भ भएको मितिले एक वर्षभित्र हदबन्दीभन्दा बढी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खोली स्वीकृतिका लागि मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष निवेदन दिन सक्नेछ ।’ कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हदबन्दीभन्दा बढी जग्गा रहेकामा विभाग तथा कार्यालयले त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हदबन्दीभित्र रहेको र हदबन्दीभन्दा बढी रहेको जग्गाको अभिलेख बनाई राख्नुपर्ने अध्यादेशमा उल्लेख छ । अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्ने सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै संस्थाको रोजगारी तथा उत्पादन नघट्ने र निरन्तर सञ्चालन हुनसक्ने भएमा ऋण फरफारक र दायित्व भुक्तानी गर्न दफा ७ बमोजिमको हदभित्रको जग्गा मन्त्रालयले तोकेको शर्तको अधीनमा रही मन्त्रालयको स्वीकृतिमा एकपटकका लागि बिक्री वितरण गर्न बाधा पर्ने छैन भनिएको छ तर त्यसरी हदभित्रको जग्गा बिक्रीवितरण गरिएको कारणले जग्गा बिक्री गर्नुभन्दाअघि हदबन्दीभन्दा बढी रहेको जग्गा दफा ७ बमोजिमको हदभित्र कायम भएको मानिने छैन । ‘सकार’ गरेको जग्गा बेचबिखन गर्नुपर्ने व्यवस्थामा बैंक वा वित्तीय संस्था वा सहकारी सङ्घसंस्थाले कर्जा सुरक्षणबापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी सङ्घसंस्था आफैँले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले तीन वर्षभित्र बेचबिखन गरिसक्नुपर्ने व्यवस्था गरिएछ । सो अवधिभित्र बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखन गर्न सरकारको स्वीकृति लिनुपर्नेछ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ मा संशोधन गरी विदेशी विनिमय भुक्तानीको सिफारिस गर्नसक्ने व्यवस्था गरेको छ । उक्त व्वस्थामा कम्प्युटर नेटवर्क वा कम्प्युटर प्रणालीमा प्रयोग हुने व्यवस्था छ । कुनै सफ्टवेयर, हार्डवेयर वा कम्प्युटर वा सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा सेवा विदेशबाट आयात गर्दा विदेशी मुद्रामा रकम भुक्तानी गर्नुपर्ने भई सम्बन्धित लगानीकर्ताले त्यस्तो सामग्री वा सेवा नेपालमा भित्र्याउन विदेशी मुद्रा सटही सुविधा माग गरेमा सूचना प्रविधि विभागले प्रचलित कानुनबमोजिम विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्रबैंकमा सिफारिस गर्नुपर्नेछ । साथै अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ खोल्न सक्ने व्यवस्था भएको छ । नेपालमा स्थापित भएको सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम स्वदेशमा भित्र्याउने प्रयोजनका लागि विदेशमा शाखा कार्यालय खोल्न सकिनेछ । यस्तै, इकाइ खोली व्यापारिक कारोबार गर्न आवश्यक भई सम्बन्धित व्यक्ति, फार्म, उद्योग वा कम्पनीले सो कुराको पुष्टाइँ गर्ने कागजातसहित निवेदन दिएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो शाखा कार्यालय वा इकाइ खोल्नका लागि अनुमति दिनेछ । सम्बन्धित व्यक्ति, फार्म, उद्योग वा कम्पनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले एक पटकका लागि उपदफा (ज्ञ) बमोजिम विदेशमा शाखा कार्यालय वा इकाइ स्थापना र सञ्चालन गर्न आवश्यक विदेशी मुद्रा सटही गर्न सुविधा प्रदान गर्न सक्नेछ भनी व्यवस्था गरेको छ । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा संशोधन गरी विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्नसक्ने व्यवस्था छ । यो दफा प्रारम्भ हुँदाका बखत प्रचलित कानुनबमोजिम दर्ता भई वा अनुमतिपत्र लिइ सञ्चालनमा रहेको उद्योगको लगानीकर्ताले प्रयोगमा ल्याइसकेको मेसिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्नसक्ने व्यवस्था छ । संशोधित ऐनमा भनिएको छ, ‘अनुमतिपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगले उत्पादन सुरु गरेको मितिले चार वर्षसम्म कम्तीमा १५ प्रतिशत र त्यसपछिका वर्षमा कम्तीमा ३० प्रतिशत उत्पादित वस्तु वा सेवा निर्यात गर्नुपर्नेछ ।’ उद्योग र विदेशी लगानीकर्ताबीच वा नेपालमा स्थापना भई सञ्चालनमा रहेको उद्योग वा कम्पनी र विदेशस्थित उद्योग, फर्म वा कम्पनीबीच सम्झौता गरिने प्रविधिको हस्तान्तरण प्रविधि हस्तान्तरणमा पनि समावेश गरिएका छन् । सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा संशोधन गरी राष्ट्रिय वनभित्र खनिज पदार्थ रहेको उत्खनन् गर्नुपर्ने भएमा प्रचलित कानुनबमोजिम वातावरणीय अध्ययन गरी त्यसरी उत्खनन् गर्दा वातावरणमा उल्लेख्य प्रतिकूल असर नपर्ने भएमा त्यस्तो खनिज पदार्थ उत्खनन् गर्न नेपाल सरकारले वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिनसक्ने रहेको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ संशोधन गरी स्टार्टअप उद्यम वा व्यवसायको दर्ता तथा सञ्चालन गर्नेलगायत रहेको छ । रासस
नेपाल हाइड्रो एक्पोले प्रदर्शनी गर्यो एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प
काठमाडौं । नेपाल हाइड्रो एक्पो २०८१ एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनी भएको छ । बैशाख ११ देखि १४ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्पो सुरु भएको हो । एक्पोमा एक्सप्लोर अर्थमुर्भसले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ । उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुन्छ । कम्पनीका अनुसार मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १००० हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ । नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ । धेरै ग्राहकहरुले यस्तो पम्प खरिद गरी आफ्नो आयोजना पूरा गरी सकेको र जसले खरिद गरेका छन् उनीहरु सन्तुष्ट छन् । साथै कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको छ । यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्धत मिल्ने कम्पनीले जनाएको छ ।
व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि द्विपक्षीय सम्झौता
काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतबार दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन् । त्यसैगरी, डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे । रासस
कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ
खजुरा । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार नेपालगञ्जबाट माउन्टेन उडान सुरु गरिएलगत्तै कैलाश मानसरोवर जानका लागि ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेको र अझै धेरैले यहाँ आउन बुकिङ गराएका छन् । त्यसबाट नेपालगञ्जका अधिकांश ठूला होटल भरिभराउ हुन थालेपछि होटल व्यवसाय पुनःएकपटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै पाँच सय बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगञ्ज आएको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । तीमध्ये तीन सय भारतीय आफ्नो होटल सिद्धार्थ भ्यूमा बसेको जनाउँदै उहाँले ती पर्यटकका कारण होटल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताए । उपाध्यक्ष न्यौपानेले नेपालगञ्जका अन्य होटलमा पनि दुई सय बढी भारतीय पर्यटक पुगेको बताए । सोही प्रकारले करिब तीन सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगञ्ज आएका छन् । माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै उनले पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगञ्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताए । उनका अनुसार नेपालगञ्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबङ्की, आगरा र अयोध्यालगायतका ठूला सहरबाट निकै नजिक रहेकाले भारतीय यहाँबाट माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जानसक्ने भएकाले यसले बाँकेको आर्थिक विकासमा ठूलो टेवा दिने विश्वास लिइएको छ । अझै यो महिनामा धेरै भारतीय पर्यटक नेपालगञ्ज पुग्ने विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताए । रासस
लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । ‘नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ छ । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएका छन्’, उनले भने । नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे । ‘नेपालले पहिचान गरेका र प्रस्ताव गरेका लगानी सम्भावनाबाट हामी सबैले लाभ लिन सक्नुपर्छ । यो सम्मेलनलाई लगानी प्रवद्र्धनका लागि अधिकतम सदुपयोग गर्न र यसलाई रोजगारी सृजना, पूर्वाधार विकास र सामाजिक-आर्थिक प्रगतिसँगै जोड्न सहकार्यका लागि आग्रह गर्दछु’, उनले भने । नेपालको पर्यटन क्षेत्र, सूचना प्रविधि र जलविद्युत् क्षेत्र पनि लगानीका लागि प्रमुख सम्भावना भएको क्षेत्रका रुपमा रहेको उनको भनाइ छ । ‘नेपालको प्राकृतिक सौन्दर्यले यहाँको साहसिक पर्यटनको सम्भावना र सांस्कृतिक पर्यटन विकासका लागि प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना देखाउँछ । जलविद्युत् क्षेत्रलाई नेपालमा लगानीको प्रचुर सम्भावना भएको क्षेत्रका रुपमा बुझ्न सकिन्छ । प्रचुरमात्रामा जलस्रोत र स्वच्छ ऊर्जा उत्पादन गर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै नेपाल लगानीका लागि महत्वपूर्ण क्षेत्र हो’, परिसङ्घ अध्यक्ष अग्रवालले भने, ‘जलविद्युत् पूर्वाधारको विकासमा भएको लगानीले नेपालको ऊर्जा सुरक्षामा मात्र योगदान पुर्याउँदैन, छिमेकी देशहरूमा निर्यातको अवसर पनि प्रदान गर्दछ ।’ नेपाल दक्षिण एशियाली क्षेत्रमा उदीयमान सूचना प्रविधि (आइटी हब)का रूपमा आफूलाई स्थापित गर्ने चरणमा रहेको उनले बताए । नेपालले सूचना प्रविधि क्षेत्रबाट निर्यात गर्नसमेत थालिसकेको अग्रवालले बताए । त्यसैगरी, नेपालमा शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायतका विविध क्षेत्रहरूमा लगानीकर्ताहरूको लागि उपयुक्त सम्भावना छ । शिक्षा क्षेत्रमा, सांस्कृतिक समृद्धि र शान्त वातावरणको सदुपयोग गर्दै नेपाललाई शैक्षिक हबका रूपमा स्थापित गर्ने अवसर रहेको बताउँदै उनले विश्वस्तरीय शैक्षिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू र व्यावसायिक प्रशिक्षण केन्द्रहरूमा लगानीले स्वदेशी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न सक्ने बताए । नेपाललाई मेडिकल हबका रूपमा स्थापित गर्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे । नेपालमा लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत र कानुनी सुधारको प्रयास थालेको पनि अध्यक्ष अग्रवालले बताए । ‘सरकारले विभिन्न कानुन र नियम परिमार्जन गरेर निजी क्षेत्रहरूको अनुरोधलाई सम्बोधन गरेको छ । यी कार्यहरूले देशभित्र लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारको प्रतिबद्धतालाई देखिन्छ’, उनले भने । उद्घाटनसत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विकास साझेदारका रुपमा रहेका विभिन्न क्षेत्रको पारस्परिक साथ र सहयोगले नेपालको आर्थिक विकासको आकाङ्क्षालाई पूरा गर्नसक्ने बताए । ‘हामीसँग लगानीका लागि पर्याप्त सम्भावना छ । तर यो सम्भावनालाई यथार्थमा बदल्न कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । रणनीतिक लगानीको सोच, दीर्घकालीन सहकार्य र प्रतिबद्धता चाहिन्छ’, उनले भने । लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताको उपस्थितिले नेपालको आर्थिक रूपान्तरणका लागि लगानीको वातावरण बन्दै गएको विश्वास लगानी कर्ताले पाउने उनले उल्लेख गरे । नेपाल भारत र चीन जस्ता दूई ठूला देशसँग सजिलो बजार पहुँच भएको देश भएकाले यहाँ उत्पादित वस्तु तथा सेवाका लागि बजार खोज्न समस्या नरहेको बताए ।
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलब १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सम्मानित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’ नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे । ‘नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे । नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेद्भावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।’ नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे । ‘नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।’ नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक-निजी साझेदारी (पीपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए । उनले भने, ‘यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।’ प्रधानमन्त्री प्रचण्डले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए । नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।’ उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय सम्झौताहरू साफ्टा/बिमिस्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे । ‘अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी दुबै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।’ वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।’ सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमनत्री प्रचण्डले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे ।