साउन २६ गते स्वदेश फर्किँदै देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देउवा साउन २६ गते बेलुका पौने १० बजे नेपाल आइपुग्ने जानकारी दिए । देउवासँगै पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा पनि नेपाल फर्किन लाग्नु भएको हो भन्ने प्रश्नमा महतले आफूलाई त्यसबारे जानकारी नभएको बताए । यस्तै, कांग्रेस संस्थापनइतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देउवा सहभागी हुने वा नहुने विषयमा पनि महतले केही खुलाएनन् । देउवा गत वर्ष फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए । विदेशमा रहँदा देउवाले विभिन्न निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्किने जानकारी गराएका थिए । सोहीअनुसार उनी साउन २६ गते नेपाल फर्किन लागेका हुन् ।
विशेष महाधिवेशनबारे सर्वोच्चमा सबै तथ्य प्रस्तुत गर्न तयार छौं : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि अदालतसमक्ष सबै तथ्य पुनः प्रस्तुत गर्न आफूहरू तयार रहेको बताएका छन् । उनले संयुक्त इजलासले यसअघि रिट खारेज गरेर विवाद टुंग्याएको र पुनरावलोकनमा नगए पनि लामो बहसपछि न्यायिक निरूपण भइसकेको उल्लेख गरेका छन् । तर पुनः परीक्षणको प्रक्रियाले विशेष महाधिवेशनसँग सम्बन्धित संवैधानिक तथ्य र राजनीतिक यथार्थलाई अझ फराकिलो ढंगले उजागर गर्न मद्दत पुग्ने उनको विश्वास छ । शर्माले संयम र परिपक्वताका साथ नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित सर्वोच्च अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट, खुला र पूर्ण रूपमा तत्पर रहेको बताएका छन् ।
१ खर्ब बढी बीमा दाबी भुक्तानी, २ अर्ब भुक्तानी हुन बाँकी
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन र निर्जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरूले गत आवमा कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । जुन अघिल्लो आव २०८१/८२ को तुलनामा दाबी भुक्तानी ११.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । गत वर्ष जीवन बीमा कम्पनीहरूले ४ लाख १९ हजार १३६ वटा दाबीको ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छन् । अघिल्लो आवमा कम्पनीहरूले ३ लाख ९१ हजार १३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी संख्या ७.१६ प्रतिशत र रकम ५.८३ प्रतिशतले बढेको छ । त्यसैगरी, गत आवमा निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवमा कम्पनीहरूले १ लाख ५० हजार ६३९ वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमकहरूको दाबी संख्या ८.९४ प्रतिशत र दाबी रकम २५.५७ प्रतिशतले बढेको छ । ५२ अर्ब भुक्तान हुन बाँकी प्राधिकरणको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले अझै ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । जीवन बीमा कम्पनीहरूले मात्रै १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६ हजार २३७ वटा दाबीको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
निःशुल्क उपचार सेवा प्रभावकारी बनाउन जोशीलाई फोकल पर्सनको जिम्मेवारी
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवालाई प्रभावकारी बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ । मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ अनुसार विभिन्न अस्पतालसँग समन्वय, सेवा सहजीकरण तथा सूचना आदान–प्रदान व्यवस्थित गर्न उनको जिम्मेवारी तोकेको जनाएको छ । उपचारसम्बन्धी समन्वय, सूचना आदान–प्रदान वा सेवा सहजीकरणका लागि ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका अनुसार यस व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा उपचारसम्बन्धी सहजीकरण एकीकृत रूपमा हुने छ । यसबाट लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ उम्मेदवार छनोट
काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन् । अर्थ मन्त्रालयले बिहीबार (आज) सार्वजनिक गरेको सूचनाअनुसार शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक र वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको हो । छनोट हुनेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ का अर्जुनकुमार गौतम, काठमाडौं महानगर– ३२ पूरानो सिनामंगलका गोपाल घिमिरे, उदयपुरको लिमचुङ्गबुङ्ग गाउँपालिका २ का पर्वत कुमार काकी, काठमाडौंको टोखा नगरपालिका– ६ का यज्ञप्रकाश न्यौपाने र काठमाडौं महानगर– २८ की समता पन्त भट्टराई रहेका छन् । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिको कार्यतालिकाअनुसार अर्जुनकुमार गौतमले साउन २५ गते बिहान ७ बजे, गोपाल घिमिरेले बिहान ८ बजे, पर्वत कुमार काकीले साँझ ५ बजे र यज्ञप्रकाश न्यौपानेले साँझ ६ बजे व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता दिनेछन् । समता पन्त भट्टराईको प्रस्तुति तथा अन्तर्वार्ता साउन २६ गते बिहान ८ बजे तोकिएको छ । सबै उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबारमा हुने अर्थ मन्त्रालयले जनाएकाे छ । रिक्त कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरिएको थियो । सोही प्रक्रियाअन्तर्गत उम्मेदवार छनोट गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
कांग्रेस आधिकारिकता विवाद : देउवाको पुनरावलोकन निवेदन अघि बढ्ने
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले यसअघि दिएको फैसलाविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदन अघि बढ्ने भएको छ । प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गर्ने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । यससँगै देउवाले दायर गरेको पुनरावलोकन निवेदनको विषयवस्तुमा प्रवेश गरी सुनुवाइ हुने बाटो खुलेको हो । यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । उक्त फैसलामा कानुनी त्रुटि भएको जिकिर गर्दै देउवाले पुनरावलोकनको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
अब घरजग्गा कारोबारका लागि लाइसेन्स चाहिने
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको हो। सूचनाअनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। विभागका अनुसार इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने पाँच करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले दश लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेश गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ। अनलाइन आवेदनसँगै पेश गरिएका कागजातको एकएक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्र समेत पेश गर्नुपर्ने विभागले जनाएको छ। विभागले इजाजतपत्र सम्बन्धी थप जानकारी आवश्यक परे विभागमै सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
नाडेप लघुवित्तका सीईओ अर्यालले दिए राजीनामा, कामु सीईओको जिम्मेवारी आचार्यलाई
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घबहादुर अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् । अर्यालले साउन १८ गते दिएको राजीनामा सञ्चालक समितिको साउन २१ गते बसेको २४३औँ बैठकले स्वीकृत गरेको हो । सीईओको राजीनामा स्वीकृत भएसँगै अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्यलाई कामु (कायममुकायम) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। आचार्यले साउन २१ गतेदेखि नै लागू हुने गरी कामु सीइओको कार्यभार सम्हाल्ने संस्थाले जनाएको छ ।