अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाले गर्यो साढे ७ करोडको कारोबार
काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको जानकारी दिए । अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतिहरुका बीच पनि उपभोक्ताहरुको स्वदेशी उत्पादन प्रति अपार माया देखिएको बताए । प्रदर्शनीका सहभागीहरुको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उनले बताए । भुकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरु सताइएको भन्दै उनले साना उद्योगहरुको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए । समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै अर्थसचिव मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा बृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताए । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर मात्रै सम्भव भएको उनको भनाई थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवद्र्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्न सकिने बारे छलफल भइरहेको उनले बताए । नेपाल मौरी पालक महासंघका अध्यक्ष सुवास चन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए । उनले मौरी पाल्ने किसान विस्थापनको संघारमा पुगेको भन्दै यो व्यवसायलाई सरकारले सुक्ष्म ढंगले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा प्रा. लोककृष्ण भट्टराई, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मिनबहादुर कुँवर, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडकी अध्यक्ष जानुकादेवी थापा, नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष शोभा गुरुङलगायतले बोलेका थिए । लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको यो पटक १७औं श्रृंखला हो । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको थियो । यसैगरी नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको थियो । नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो । मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालय छन् । यस्तै प्रवद्र्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । अफिसियल बैंक कृषि विकास बैंक रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको थियो ।
सेयर बजारमा २४ अंकको वृद्धि, लगानीकर्ताको आकर्षण वाणिज्य बैंकमा
काठमाडौं । साेमबार सेयर बजार मा दाेहाेराे अंककाे वृद्धि भएकाे छ । सेयर बजार २४.३९ अंकले बढ्दा नेप्से परिसूचक १९९८.८९ बिन्दुमा पुगेको छ । आज ३१० स्टकको ९५ लाख ४१ हजार कित्ता सेयर ४५ हजार ८२८ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ उपसमूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ । १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । आज लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढी छ । विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन
काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई पुनःअध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघसंस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले हाले सर्वोच्चमा रिट
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले दलको न्यूनतम सर्त र प्रक्रिया पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा सात जना सांसदले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन निवेदन दिएका थिए । उक्त निवेदन आयोगले दर्ता गरेको थियो । आयोगले राई नेतृत्वको समूहलाई जनता समाजवादी पार्टीको नामसहित दलीय मान्यता दिएको छ । यादवको रिटमा सर्वोच्चले आगामी जेठ २ गते पेसी तोकेको छ । यादवले कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने दाबी सर्वोच्चमा गरेका छन् ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम
काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार आइतबार उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकल न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए । सुदुरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमति प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ । साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । साथै न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।
जलविद्युत् छ तर बत्ती बल्दैन
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा बस्न बाध्य छन् । वर्षौंदेखि यहाँस्थित लघु जलविद्युत्को भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य हुन् । पानीको बहान कम हुँदै गएपछि विद्युत् उत्पादन कम पनि घटेको बताइएको छ । यतिबेला स्थानीयलाई एउटा चिम (बल्ब) बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । जलविद्युत् भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उनको भनाइ छ । ‘वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यब सबै इलेक्ट्रोनिक सामान छन् तर विद्युत् आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नु पर्ने बाध्यता छ’, वडाध्यक्ष छन्त्यालले भने, ‘आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।’ जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडध्यक्ष छन्त्यालले बताए । ‘यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीन वटै बस्तीमा तीन वटा साना लघु जलविद्युत् छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ’, उनले भने । नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जल विद्युत् आयोजना सञ्चालनमा रहेका वडध्यक्ष छन्त्यालले जानकारी दिए । यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उनले बताए । ‘अहिले एक घण्टा ड्याममा पानी जम्मा गर्ने, एक घण्टा विद्युत् बाल्ने गरिरहेका छौँ । यसरी काम गर्दा सेवाग्रही निकै मर्कामा परेका छन् । बर्खामा खोला उर्लेर आउँछ, नहर र ‘पावर हाउस’ बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ । हिउँदमा खोला ह्वात्तै घट्ने हुँदा पानी पुग्दैन’, वडध्यक्ष छन्त्यालले भने, ‘सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने, घटना दर्ता गर्नुपर्ने हुन्छ । बिजुली नआएपछि हस्तलिखितमार्फत काम गरिरहेका छौँ । प्रविधिको विकास भए पनि केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।’ अति आवश्यक काम कम्प्युटरमार्फत गर्नु परे विद्युत् गृहमा फोन गरेर एकरदुई घण्टा लाइन मागेर छिटोछिटो काम गर्नुपर्ने स्थिति रहेको वडध्यक्ष छन्त्यालको भनाइ छ । यस वडामा २५० घरधुरीका करिब पन्ध्र सय जनसङ्ख्या रहेको उनले जानकारी दिए । यहाँ रहेको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको वडध्यक्ष छन्त्यालले बताए । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर यतिकै थन्क्याउनु परेको उनको भनाइ छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा बत्ती मात्रै बाल्न सकिने छन्त्यालले बताए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताए । यस वर्ष नर्जाखानीसहित तमानखोलाका सबै वडामा लाइन पुर्याउनका लागि ठेक्का आह्वान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । आगामी असोजरकात्तिकसम्म नर्जाखानीमा केन्द्रीय लाइन पुर्याउने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अहिले ठेक्का आह्वान प्रक्रियाको काम भइरहेको छ । अघिल्लो वर्षको बजेटले धेरै काम भए पनि नर्जाखानीसम्म केन्द्री लाइन पुर्याउन सकिएन’, उनले भने, ‘सो ठाउँमा म्याग्दीबाट ल्याउने योजना बनाइएकामा विविध कारणले कार्यान्वयन भएन । यस वर्ष बागलुङबाट लैजाने गरी काम भइरहेको छ । नयाँ ठेक्का लागेसँगै असोजरकात्तिकसम्ममा विद्युत् पुग्छ ।’ रासस
पुरै गाउँको १५० बिगाहा जग्गा आफ्नो भएको प्रमाण मालपोतमा पेस गरेपछि…
काठमाडौं । काठमाडौंका एक स्थानीयले कैलालीको धनगढी उपमहागरपालिको वडा नं. १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भएको भन्दै दाबी गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ३३ का प्रद्युम्न पाण्डेयको वारिसले कैलालीको धनगढी उपमहानगरपालिका ५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारेसले दिलिप सापकोटाले वडा नं. १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भन्दै प्रमाणसहित भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा निवेदन पेस गरेका छन् । स्व. गुरु पुरोहित पण्डित जनकराज पाण्डेयले वि.सं १९९३ मा लालमोहरबाट प्राप्त गरेको जग्गा वि.सं २०२१ मा नाप नक्सा हुँदा छुट्न गएकोले सो जग्गा आफ्नो नाममा दर्ता गरिदिन मालपोत कार्यालय धनगढीमा निवेदन दिएका हुन् । उनीहरूले धनगढी उपमहानगरपालिका वडा नं. १८ को सिट नं. ०२७/१०९६ को कित्ता नं. १, ८,९, ६२, ११९,१०, ११, १२, १६, १७, २१ र २२३ क्षेत्रफल क्रमशः २१२६६०.५७, १०२९७६.९६, ४९९१४२.१५, ३७०७७९.९८, २०९९५.०६, ३३८६.३०, ५८२२७.२७, २८६१४.४८, १२८६७.९४, ३३०३३३.५६ छुट जग्गा दर्ता अन्तर्गत निवेदकका नाउँमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा निवेदन पेस गरेका छन् । मालपोत कार्यालयले पनि प्लट रजिष्टर, फिल्डबुक, स्थानीय तहको सिफारिस समेत संलग्न राखी निवेदन दिएकोले निवेदकको माग अनुसारका कित्ता जग्गाहरू दर्ता गरी दिँदा साध संधियारको जग्गालाई असर पर्ने भए वा गर्नु नपर्ने भए आफूसँग भएको प्रमाणसहित ३५ दिन भित्र हकदाबी गर्न आव्हान गरेको छ । उनीहरूले आफ्नो हो भनेर निवेदन पेस गरेको जग्गामा अहिले डेढ सय बढी घर छन् । स्थानीयका अनुसार उनीहरूले डेढ बिगाहा बढी जग्गा आफन्नो भएको दाबी गरेका छन् । दाबी गरेको जग्गामा बसोबास गरिरहेका स्थानीयहरूसँग पनि लालपुर्जा भएको बुझिएको छ । ८८ वर्षपछि सो जग्गा आफ्नो हो भन्दै दाबी गरेपछि अहिले धनगढी उपमहानगरपालिकाको वडा नं. १८ सशंकित बनेको छ । स्थानीयहरूले आफूहरू लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा समेत हुँदा अर्कैले हक दाबी गर्दा त्रासको वातावरण सिर्जना भएको बताएका छन् । एक स्थानीयले आफूहरूसँग जग्गाको लालपुर्जा भएको कुनै हालतमा जग्गा नछोड्ने बताए । मालपोत कार्यलयबाट बैशाख पहिलो साता नै सूचना सार्वजनिक हुँदा पनि वडा कार्यालयले त्यसको जानकारी आफूहरूलाई नगराको बताउँदै वडा कार्यालयको जिम्मेवारी र भूमिकामाथि पनि प्रश्न गर्नु पर्ने अवस्था सिर्जना भएको ती स्थानीयले बताए । विभिन्न समयमा नापी भएर लालपुर्जा पाइसकेको अवस्थामा अहिले अर्कै व्यक्ति आएर दाबी गर्न नमिल्ने उनी बताउँछन् । धनगढी उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भुवन रिजालले यो घटनाले स्थानीयमा असुरक्षित र भयको वातावरण सिर्जना गरेको बताएका छन् । उनले अब सबै पक्ष बसेर समस्याको समाधान गर्ने पनि बताएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले यस विषयलाई लिएर स्थानीयले त्रसित हुनु पर्ने अवस्था नरहेको धारणा राखे । उनले आफूहरूले पनि अनौपचारिकरूपमा अधिकांश जग्गाको लालपुर्जा भएको जानकारी पाएको बताए । फूलबारी क्षेत्र । ‘हामीलाई जग्गा नाममा गरिपाउँ भनेर आएको जग्गाकै लालपुर्जा अर्को व्यक्तिको नाममा छ भन्ने जानकारी आएको छ, धेरैले दाबी पनि गरिरहेका छन्, लालपुर्जा नै छ भने फरक पर्दैन, त्यसको पनि प्रक्रिया हुन्छ, लालपुर्जा पाउनुभन्दा पहिले धेरै प्रक्रिया हुन्छ, जोसँग लालपुर्जा छ, उहाँहरूले डराउनु पर्दैन,’ उनले भने ।