
काठमाडौं । साेमबार सेयर बजार मा दाेहाेराे अंककाे वृद्धि भएकाे छ । सेयर बजार २४.३९ अंकले बढ्दा नेप्से परिसूचक १९९८.८९ बिन्दुमा पुगेको छ ।
आज ३१० स्टकको ९५ लाख ४१ हजार कित्ता सेयर ४५ हजार ८२८ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ उपसमूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ । १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । आज लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढी छ । विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।