३८ किमीको पोखरा-सिक्लेस सडक स्तरोन्नति, सहज बन्दै यात्रा
गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो । कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख छन् । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले सुनाए । ‘पहिले दिनभर हिँडेर पोखरा आउजाउ गर्नुथ्र्यो, अहिले आधा–एक घण्टामै पुगिन्छ’, तामाङले भने, ‘यस क्षेत्रमा आउने पर्यटकलाई पनि धेरै सहज भएको छ ।’ लामो समयसम्म कच्ची रहेको सडक कालोपत्र हुँदा गाउँको मुहार नै फेरिएझैँ भएको उनले बताए । मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक हालै कालोपत्र भएको जानकारी दिए । उनका अनुसार थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । ‘अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ’, वडाध्यक्ष गुरुङले भने, ‘बाँकी खण्ड कालोपत्रका लागि स्रोत जुटाउन पहल भइरहेको छ ।’ मार्ग खुलेको झन्डै दुई दशकपछि पोखरा–सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिएको उनको भनाइ छ । ‘प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ’, उनले भने । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत विजयपुरखोलाबाट थाकसम्म पहिलो चरणको काम सकिएको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । विजयपुरखोला–थाक खण्डमा काष्ठमण्डप जेभीले २२ करोड २६ लाख ७८ हजारमा ठेक्का लिएर काम गरेको थियो । पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागेको बताए । ‘अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार काम गरिरहेको छ’, उनले भने । थाक–चिप्ली खण्ड स्तरोन्नतिको जिम्मा रौताहा निर्माण कम्पनीले लिएको छ । २५ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको रौताहा निर्माण कम्पनीका सब–इन्जिनियर भरत थापाले जानकारी दिए । ‘३० महिनाको ठेक्का अवधि हो, सात महिना अझै बाँकी छ, समयमै सक्ने गरी कामलाई तीव्रता दिएको छौँ’, उनले भने, ‘कालोपत्रका लागि गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीको भने अभाव भइरहेको छ, वैकल्पिक व्यवस्था गरेर काम गरिरहेका छौँ ।’ मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए । ‘अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सकिन्छ, कालोपत्र सडक सिक्लेसम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ’, उनले भने, ‘बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।’ पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । वडाध्यक्ष देवीजङ्गले सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए । ‘सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्र्याउन सकिन्छ’, उनले भने । पछिल्लो समय सिक्लेसबाट कोरी र कपुचे तालसम्मको पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । सिक्लेसबाट कोरीसम्म केबुलकार सञ्चालनका लागि पनि एक निजी कम्पनीले अध्ययन गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । हिमशृङ्खला अवलोकनसँगै प्रकृति, ग्रामीण परिवेश र संस्कृतिको आनन्द लिन पर्यटक सिक्लेस पुग्ने गर्दछन् । गुरुङ बाहुल्य सिक्लेस प्रदेश राजधानी पोखराबाट ३८ किमीको दूरीमा अवस्थित छ । रासस
अध्यक्ष सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् । बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरुसको प्रश्नमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पारे । यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताए । कैलाश सिरोहियासँग सरकारको नुकै शत्रुता नरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रुपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको जानकारी दिए । ‘अदालतले यो प्रक्रिया अघि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्नेकुरा गलत हो । गृहमन्त्री व्यक्तिगत रुपमा आउनुभयो भन्नकुरा मान्छेले भन्नेकुरा मात्रै हो । यो अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइ नै हाल्छ’, उनले भने । प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताए ।
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर/टहरालगायत संरचना हटाउने कार्य भइरहेको भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशील भट्टले जानकारी दिए । लामो समयदेखि महेन्द्रनगर नगर विकास समितिको बजार क्षेत्रका जग्गा भाडामा दिएर मिलेमतोमा बनाइएका पक्की संरचना हटाउने काम भइरहेका उनले बताए । ‘विगत पाच दिनदेखि नगरपालिकाबाट डोजर लगेर अवैध संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लागिपरेका छौँ’, उनले भने ,’यो अवधिमा बजार क्षेत्रमा बनेका डेढ सय भन्दा बढी घर, अधुरा संरचना हटाएका छौँ ।’ वडाध्यक्ष भट्टले दोस्रो चरणमा दोस्रो चरणमा बसपार्कलगायत स्थानका अवैध व्यापारिक संरचना हटाइने योजना रहेको बताए । ती संरचना खाली गर्न नगरपालिकाले मङ्गलबार सात दिने सूचनासमेत जारी गरिसकेको छ । यसअघि पनि अवैधरूपमा बनाइएका संरचना भत्काउन स्थानीय प्रशासनले पहल गरेको थियो । त्यसविरुद्ध व्यापारीहरू सर्वोच्च अदालत गएका थिए । अदालतले उनीहरुको रिट खारेज गर्दै महेन्द्रनगर नगरविकास समितिका केही पूर्वअध्यक्ष तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याएपछि स्थानीय सरकारलाई अवैध संरचना हटाउने बाटो खुलेको हो । ‘रिट खारेज भएकाले पनि जग्गा खाली गर्न सूचना र समय दिएका छौँ’, भट्टले भने,’तोकिएको समयावधिमा खाली नगरे हामी आफैँले थप प्रक्रिया अगाडि बढाउँछौँँ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अभियानकै रूपमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य भइरहेको बताए । ‘अन्य ठाउँमा भन्दा भीमदत्तमा सरकारी सम्पत्ति अतिक्रमण बढी भएको पायौँ । अहिले सबैको सहयोग र सहकार्यमा दैनिकरूपमा अवैध संरचना हटाउने काम भइरहेको छ’, अधिकारीले भने । यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले जिल्लाभर सरकारी सम्पत्तिको संरक्षण गर्दै अतिक्रमण हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बेल्डाडी गाउँपालिका र बेलौरी नगरपालिकाले पनि अतिक्रमण खाली गराउने काम छिटपुटरूपमा गरिरहेको छ । रासस
क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै
क्यानबेरा । बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ । नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए । सङघीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मगंलबाबार राति रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् । न्यू क्यालेडोनियामा रहेका लगभग ३०० अस्ट्रेलियालीहरूले स्वदेश फिर्ता लागि विदेश मामिला तथा व्यापार विभागमा दर्ता गरेका थिए । पहिलो उडानबाट करिब २०० भन्दा बढी स्वदेश फर्कने प्रतीक्षामा रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले गर्यो वृक्षरोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ईलाम र महोत्तरीमा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्ला स्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्ला स्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्याएको जनाएको छ । बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्धनका लागि आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्याली गर्दै
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्याली गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबार बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेकाे छ । सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकले जेष्ठ १६ गते सम्म निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिने बैंकले जनाएको छ । उक्त साइकल र्याली जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ । यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु-याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ भन्ने ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’, नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदै जाने जनाएको छ । सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
रास्वपाले भन्यो- नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्
फाइल फोटो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएका हुन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिसोध साँधेर पक्राउ गरेको आरोप लगाएपछि महामन्त्री मुकुल ढकालले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको उल्लेख गरेका छन् । महामन्त्री डा. ढकालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएकाे छ, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ, न्यायको विधि पुगोस्, सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस्, अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।’ नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । उनले भनेका छन्, ‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ ।’
दैनिक दुईपटक फोहर उठाइँदै, साढे ५ करोडमा फोहरमैला व्यवस्थापन गर्दै महानगर
वीरगञ्ज । देशको सङ्घीय राजधानी काठमाडौंवासीले साताको एक पटक फोहरमैला सकंलन गर्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन् । घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौंवासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन् । राजधानीवासीलाई सुन्दै अनौठो र अचम्मित पार्ने दृश्य मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्ज महानगरमा देख्न पाइन्छ । औद्योगिक र व्यापारिक नागरिकको उपमा पाएको वीरगञ्ज बजार क्षेत्रमा दैनिक दुई पटक फोहरमैला सकंलन हुँदै आइरहेको छ । महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला सकंलन गर्दै आइरहेको छ । साथै महानगरले फोहर सकंलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिदैँन । उद्योगी/व्यवसायी तथा सरकारी निकायले मासिक तीन सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने नियम छ । वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले महानगरको नेतृत्व सम्हालेसँगै फोहरमैला सकंलनलाई उच्च प्रथामिकतामा दिँदै आइरहेका छन् । जनस्तरबाट भने अपेक्षाकृत रुपमा फोहरमैला व्यवस्थापनमा सचेतना अपनाएको कमै मात्र देखिन्छ । नगरप्रमुख सिंहले सामान्य अवस्थामा दिनको दुई पटक फोहरमैला सकंलन गर्दै आइरहेको बताए । ‘चाडपर्वको समयमा दिनको तीन पटकसम्म पनि फोहरमैला सङ्कलन गर्दै आएका छौँ’, उनले भने, ‘महानगरको फोहरमैला व्यवस्थापनको कार्यमा अझै पनि म व्यक्तिगत रुपमा सन्तुष्ट छैन । सहरी क्षेत्रमा फोहरमैला केहीहदसम्म नियन्त्रणमा आएको छ । ग्रामीण क्षेत्रमा अपेक्षाकृत रुपमा हुन सकिरहेको छैन ।’ महानगरका अनुसार वीरगञ्जमा दैनिक ५५–६५ मेट्रिक टन फोहरमैला सकंलन हुँदै आएको छ । विगत छ वर्षदेखि फोहरमैला सकंलन र व्यवस्थापनको काम निजी क्षेत्रबाट हुँदै आएको छ । महानगरले ठेक्का सम्झौता गरेर यहाँको फोहरमैला व्यवस्थापनको काम पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएका थियो । जेभिले वीरगञ्ज महागरका ३२ वटै वडाको फोहरमैला सङ्कलन गर्दै आइरहेको छ । महानगर र जेभीबीच विसं २०७६ जेठ २ गते पाँच वर्षसम्मका लागि सम्झौता भएको थियो । महानगरका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर फोहरमैला व्यवस्थापनको जिम्मेवारी दिएको बताए । ‘महानगर र निजी कम्पनीसँग यहाँको फोहर सकंलन तथा व्यवस्थापनको विषयमा पाँच वर्षको ठेक्का सम्झौता भएको थियो’, उनले भने, ‘उक्त ठेक्का सम्झौताको म्याद सम्पन्न भइसकेको छ । नयाँ ठेक्काको प्रक्रिया अघि बढे पनि टुङ्गो लागिसकेको छैन ।’ महानगर र जेभिबीच भएको सम्झौतामा प्रत्येक वर्ष फरक–फरक दररेटमा फोहरमैला सकंलन गर्ने उल्लेख गरिएको छ । सम्झौताको पहिलो वर्ष महानगरभित्र उत्पादन हुने फोहरमैला निजी क्षेत्रले व्यवस्थापन गरेबापत आव २०७५/७६ मा चार करोड ८४ लाख रुपैयाँ रकम दिने सम्झौता गरेको थियो । दोस्रो वर्ष आव २०७६/७७ मा पाँच करोड सात लाख ५६ हजार रुपैयाँ दिने उल्लेख छ । आव २०७७/७८ मा पाँच करोड २८ लाख ८८ हजार रुपैयाँ, आव २०७८/७९ मा पाँच करोड ५० लाख रुपैयाँ र आव २०७९/८० मा पाँच करोड ७२ लाख रकम उपलब्ध गराइएको थियो । अहिले महानगरले पाँच करोड ७२ लाख रुपैयाँमा खर्च तिरेर फोहरमैला व्यवस्थापन गराउँदै आइरहेको छ । निजी कम्पनीले दैनिक २५ ट्र्याक्टर तथा तीन ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइएको जनाएको छ । महानगरले फोहरमैला व्यवस्थापन गरेबापत सर्वसाधारणबाट कुनै शुल्क लिदैन । उद्योगी तथा व्यापारीसँग मासिक तीन सय देखि तीन हजार रुपैयाँसम्म लिने गरिएको जनाइएको छ । यहाँबाट निस्कने फोहरमैलाको व्यवस्थापन पर्सा र बारा जिल्लाको सीमा क्षेत्र विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याल्डफिल्ड साइडमा हुँदै आएको छ । नयाँ बोलपत्र टुङ्गो नलाग्दा दुई महिना म्याद थप वीरगञ्ज महानगरको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ बोलपत्र प्रक्रिया टुङ्गो नलाग्दा पुरानै कम्पनीसँग फेरि दुई महिना म्याद थप गरिएको छ । यसअघि फोहरमैला व्यवस्थापनको काम निजी कम्पनी पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभिले गर्दै आइरहेको थियो । जेभिसँगको पाँच वर्षको ठेक्का सम्झौता गतवर्ष सकिएको हो । विगत एक वर्षदेखि महानगरले नयाँ कम्पनी छनोट गर्न नसक्दा पुरानै कम्पनीसँग पुरानै दररेटमा फोहरमैला व्यवस्थापन गर्ने जिम्मेवारी दिँदै आएको छ । महानगरले २०८०/८१ सालको सुरुवाती चरणदेखि नै प्रक्रिया अघि बढाएको थियो । बोलपत्र प्रक्रियाको ढिलासुस्तीका कारणले अझै पनि ठेकेदार कम्पनी छनोट हुन सकिरहेको छैन । शाखा प्रमुख मियाँले नयाँ बोलपत्र प्रक्रिया टुङ्गो नलाग्दा पुरानै दररेटमा सोही कम्पनीसँग दुई महिना म्याद थप गर्ने निर्णय भएको बताए । ‘गत वैशाख ३१ गते प्रमुख प्रशासकीय अधिकृतको निर्णय अनुसार पुरानै दररेट अनुसार दुई महिनाका लागि फोहरमैला व्यवस्थापनको म्याद थप गर्ने निर्णय भएको छ’, उनले भने, ‘अबको दुई महिनाभित्र नयाँ ठेकेदार कम्पनीको टुङ्गो लगाएर आगामी साउन १ गतेदेखि छनोट हुने कम्पनीलाई जिम्मेवारी दिनेछौँ ।’ महानगरले प्रत्येक वडा कार्यालयमा पाँच जनाका दरले दैनिक ज्यालादारीमा मजदूर खटाएर नाली तथा मङ्गाल दुई वटा जेटिङ मेसिनको सहायताले सफा गर्दै आइरहेको छ । महानगरभित्र खुल्ला नालीका साथै अव्यवस्थित ढल निकाशा भएकाले पनि बारम्बार नाली तथा मङ्गल जाम हुने समस्या रहेको शाखा प्रमुख मियाँले बताए । ‘गर्मीयाममा वीरगञ्जका अधिकांश नाली सुख्या हुने र पानीको बहाव न्यून हुँदा पनि फोहरमैलाको दुर्गन्ध र लामखुट्टेको जोखिम देखिएको छ’, उनले भने, ‘सरसफाइलाई निरन्तर रुपमा अघि बढाउने योजनामा छौँ ।’ रासस