विकासन्युज

तमोर-मेवा जलविद्युत आयोजनाको काम प्रारम्भ

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास गरेका हुन् । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो । अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । उनले भने, ‘जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ।’ आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे । आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा प्रतियुनिट ८.४० निर्धारण गरिएको छ । आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।

सरकारले २३४ जना जासुस माग्यो, योग्यता एसईई पास

काठमाडौं । सरकारले सहायक सूचक (जासुस) पदमा २३४ जना माग गरेको छ ।  मन्त्रिपरिषद्अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक २३४ जना, सुरक्षा गार्ड १६ जना र २ जना परिचर नियुक्त गर्ने भएको छ । शुक्रबार सूचना जारी गर्दै विभागले असार १० गतेसम्म म्याद राखेर आवेदन माग गरेकाे छ । सहायक सूचक पदका एससलसी वा एसईई पास हुनु पर्ने, १८ वर्ष पूराई भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । सुरक्षा गार्डको लागि ८ पास र परिचरको लागि सामान्य लेखपढ गर्न जानेको हुनुपर्नेछ । सुरक्षा गार्डको लागि उमेर हद २५ वर्ष छ भने परिचरको लागि ३५ वर्ष तोकिएको छ । सरकारी जागिर भए पनि राष्ट्रिय अनुसन्धान विभागले लिने कर्मचारीले लोकसेवा पास गर्नुपर्दैन । सहायक सूचकले लिखित, मौखिक परिक्षा र विस्तृत स्वास्थ्य परिक्षणमा उत्तिर्ण हुनुपर्नेछ । राष्ट्र हित विपरित हुने काम वा गतिविधिबारे प्रारम्भिक सूचना संकलन गर्नु र राष्ट्रिय अनुसन्धान विभागको प्रति-जासुसी संयन्त्रलाई सहयोग पुर्याउनु सहायक सूचकको भूमिका हुन्छ ।

मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क जीवन बीमा

काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । संघले बिहीबार आयोजित एक कार्यक्रमका बीच कामदारहरूको निःशुल्क बीमा गराएको हो । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी, लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रमुख शिव पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भई मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजार रुपैयाँको लाभ लिन सकिने जानकारी गराए । उनले कार्यक्रममा बोल्दै बीमा गर्नु खर्च नभइ लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बीमा रहेको बताउँदै उनले मानिसको अत्यावश्यक चिजमध्ये बीमा पनि एक भएको उल्लेख गरे । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपांग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भए पनि मलम लगाउने काम बीमाले गर्ने बताए । अध्यक्ष बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरू भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणको लागि बीमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरूको निःशुल्क बीमा गराइने बताए । अध्यक्ष बास्तोलाका अनुसार बीमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको छ। कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बीमाको अनुभावका बारेमा जानकारी गराइएका थिइन्  ।

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो । ‘साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो,’ भगवती मैदानका बासिन्दा रिम मल्लले भने, ‘सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।’ विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताए । ‘पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो,’ उनले भने, ‘यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु तीन सय भाडा रहेकामा हाल दुई सय ५० रुपैयाँ कायम गरिएको छ ।’ गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ (१) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताए । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिए । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का–कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ रुपैयाँमा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो । पहिरो प्रभावित राहुघाटबाट रघुगंगा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगंगा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो । भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताए । जलविद्युत आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले बताए ।

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आइपीभी खोप लगाइने भएको छ । तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

१९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वाटरको निर्देशन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कार्यरत प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । सूचनामा आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । अन्यथा सेवाबाट हटाउने कारवाही गरिने सूचनामा उल्लेख छ । गैर हाजिर हुनेमा प्रहरी नायब निरीक्षक, सहायक निरीक्षक, हवल्दार, सहायक हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

संसद बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

फाइल फाेटाे काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि पारित गर्ने सभामुखको तयारी छ ।