विकासन्युज

सहकारी छानबिन समिति कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन । संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उपप्राध्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६.५६ रुपैयाँ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर १५.३३ रुपैयाँ पाउने गरेका छन् । लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । उनका अनुसार उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, उद्योग संघ चितवनका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाट, पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक बब्लु ठाकुर, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक इन्दु राय यादवको उपस्थितिमा छलफल गरिएको हो । यसैगरी नेपाल पोल्ट्री महासंघका महासचिव दिनेश मिश्र, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, नेपाल ह्याचरी उद्योग संघका बागमती प्रदेश अध्यक्ष ज्ञानु विसुराल लगायत सरोकार पक्षबीच छलफल भएको थियो । कार्यक्रममा डा. अनन्त दाहालले अण्डाको लागत मूल्य १६.५६ रुपैयाँ हुनुका कारणबारे प्रकाश पारेका थिए। फर्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक व्याज, औषधि, मजदुर लगायतलाई समेटेर लागत मूल्य तय गरिएको उनले जानकारी दिए । सो अवसरमा सहभागीहरुले अब पनि लागत मूल्यभन्दा कममा अण्डा बिक्री भएमा नेपालमा पोल्ट्री क्षेत्र समाप्त हुने भन्दै बजारीकरणमा जुट्न सुझाव दिएको संघका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले हालको अण्डाको बजारको अवस्था र उत्पादनको बारेमा जानकारी गराएका थिए । उनका अनुसार यस अघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाई छ ।

नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न, व्यापार विस्तारमा जोड

काठमाडौं । नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न भएको छ । पर्साको वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो । भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत देवीसहाय मिणाले भारत–नेपालबीचको व्यापार विस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताए । नेपाल–भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दुतावास तयार रहेको उनको भनाइ थियो । यही विषयमा केन्द्रित रहेर सम्मेलनमा छलफल गरिएको उनले जानकारी दिए । सम्मेलनमा इण्डिया—नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा समेत भएको बताए । साथै नेपाल—भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिए । भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दुत ईश्वरराज पौडेलले नेपाल—भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अवलम्वन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए । दुई तिहाई भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरुको समाधानका लागि समय अनुकुल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताए । उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल—भारत बीचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा सहभागी वक्ताहरुले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आ–आफ्ना धारणा राखेका थिए ।

बजेट ‘सदनबाट आउँछ वा अध्यादेश’बाट आजै निर्क्यौल

काठमाडौं । आज (शुक्रबार) देखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदैछ । संसदको दुवै सदनमा आजदेखि नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक ११ बजे र राष्ट्रिय सभा बैठक १ः१५ बजे बोलाइएको छ । तर, अहिले पनि प्रतिपक्षको अवरोध कायमै छ । सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समिति मागिरहेको कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । सरकार र प्रतिपक्षबीच संसदीय समिति बनाउने सहमति भइसके पनि त्यसको दायरा, कार्यदेश र जिम्मेवारीको विषयमा भने अझैं पनि निर्क्यौल भइसकेको छैन । यसअघिका बैठकमा कार्यदलका सदस्यहरुबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरुको परामर्शपछि आज बिहान पुनः बैठक बसेको छ । झण्डै दुई महिना लामो विवाद र संसदमा निरन्तरको अवरोधपछि ५ जेठमा प्रमुख दलका शीर्ष नेताहरुले संसदीय छानबिन समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाएका थिए । नियमित बैठक बस्दै आएको भएपनि सहमति भने हुन सकेको छैन । संसदीय समितिबीच पनि सहमति बन्न नसक्दा संसदको अवरोध कायमै छ । आज बस्ने संसद बैठकमा पनि काँग्रेसले अवरोध गर्ने योजना बनाएको छ । तर, सरकारले भने विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममा छलफल चलाएर शुक्रबार नै पारित गर्ने तयारी गरेको बुझिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अहिलेसम्म पारित हुन सकेको छैन । राष्ट्रपतिलाई धन्यवाद पनि काँग्रेसको अवरोधकै बिच दिइएको थियो । त्यो बिचमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि काँग्रेसको संसद अवरोधकै बीच विश्वासको मत लिएको थिए । काँग्रेसले कुनै पनि हालतमा यो अवरोध नरोक्ने रणनीति बुनिरहेको छ । काँग्रेसले जेठ १३ गतेका लागि सडक प्रदर्शनी गर्ने तयारी पनि गरिरहेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने वैधानिक व्यवस्था छ । काँग्रेसको अवरोधकै कारण सरकारले बजेटका लागि आवश्यक छलफल तथा राय सुझाव लिन सकेको छैन । तर, सरकारले सकेसम्म सदनबाटै बजेट ल्याउने प्रयत्न गरिरहेको एक मन्त्रीले बताए । त्यो हुन सकेन भने सरकारसँग अन्तिम विकल्प अध्यादेश छ । ‘बजेट के कसरी ल्याउने भन्ने विषयको संकेत आजको बैठकले पनि गर्नेछ, त्यो भन्दा अघि संसदीय समितिको बैठक पनि छ, त्यसको निर्णयले यो विषयको किनारा लाग्न सक्छ । तर, आजको संसदको बैठकको माहोलले पनि बजेट संसदबाटै आउँछ वा अध्यादेशबाट आउँछ भन्ने विषयको निर्क्यौल गर्नेछ,’ ती मन्त्रीले भने । अहिले पनि प्रतिपक्षले निरन्तर नारावजीसहितको अवरोध गरेपनि सरकारले संसद अगाडि बढाएपछि काँग्रेस रुष्ट छ । आज पनि संसदीय समितिको बैठक निष्कर्षविहिन भएमा काँग्रेसको अवरोध कायमै रहने निश्चित छ ।

सान्भी अटो लिकंले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरुम

काठमाडौं । सान्भी अटो लिकंले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिकंका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए । उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड

अर्घाखाँची । जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा भएको तालिम समापन समारोहका वक्ताले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाले अन्नमा आत्मनिर्भर हुन सबै किसान लाग्नुपर्ने तथा राज्यबाट उनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘कृषि पेसालाई नबुझेका मानिसले उपेक्षा गर्छन्, बुझेकाहरूका लागि यो उत्तम एवं सम्मानित पेसा हो । युवा शक्ति बाहिर भएकाले श्रम गर्ने व्यक्तिको समस्या छ । तर प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने दिशामा सबै अगाडि बढ्नुपर्छ ।’ जिल्लाका कृषि उत्पादन अधिक हुने क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले काम गरिरहेको निमित्त डिभिजन प्रमुख इन्जिनियर भेषराज भुसालले बताए । उनले कृषि उत्पादनमा लागेको जल उपभोक्ता समितिलाई सक्षम बनाउन तालिमको व्यवस्था गरिएको बताए । युवा वर्ग विदेशिने क्रम नरोकिएकाले व्यावसायिक कृषि गर्न र स्वरोजगार बन्न सबैले सहयोग गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र बेल्वासेले बताए । तालिममा जिल्लाका १७ जल उपभोक्ता समितिका ३४ किसानको सहभागी थिए ।

मिटरब्याज : आयोगले साहु र ऋणीसँग माग्यो लेनदेन प्रमाण

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले ऋण दिने (साहु) र कर्जा लिने व्यक्ति (आसामी) बीच आपसमा भएका सबै कागजात प्रमाण उपलब्ध गराउन २१ दिन म्यादको सूचना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट गठित मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले तोकिएको कार्यादेश बमोजिमको काम भइरहेको जनाएको छ । यही विषयमा आयोगले मिटरब्याज सम्बन्धी विषयमा पीडित पक्षहरूबाट लेनदेन वा ऋण र कर्जाको कारोबारका क्रममा ऋण र कर्जा लिने आसामी तथा ऋण र कर्जा दिने साहुबीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो । आयोगका अनुसार निवेदन संकलन गर्नुपर्ने भएकाले अनुचित लेनदेनका पीडितहरूको यथार्थ समस्या समाधानका लागि तथ्यांक संकलन र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन यस आयोगबाट ऋण र कर्जा लिने व्यक्तिले भर्नुपर्ने पृष्ठ संख्या पाँच (५) को फारम नम्बर १ गृह मन्त्रालयको वेबसाटमा राखिएको छ । मिटरब्याज पीडितहरूले उक्त वेबसाइटबाट निवेदन फारम डाउनलोड र प्रिन्ट गरी उक्त फारममा उल्लेख भएका अनुचित लेनदेन कारोबारसम्बन्धी सोधनी भएका विषयसँग सम्बन्धित सबै विवरणहरू प्रष्ट बुझिने गरी भरी आफूसँग रहे भएसम्मका त्यस्तो ऋण कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाइ, टिपोट, सर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गरिदिन आयोगले आग्रह गरेको हो । यस अघिको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ बाट संकलन भई फर्छ्योट हुन बाँकी उजुरी निवेदनहरू र त्यसपछि आयोग गठन हुनु अघिका निवेदनमाथि कारबाहीका सम्बन्धमा गृह मन्त्रालयको २०८० माघ ८ को पत्रमा स्वीकृत कार्यविधि एवं अनुचित लेनदेनसम्बन्धी वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुचारू हुने आयोगको भनाइ छ । अनुचित लेनदेन (मिटरब्याज) पीडित निवेदकसँग सम्बन्धित साहु एवं कर्जादाताहरूले समेत विवादको सहज निराकरण र मेलमिलाप प्रक्रियाबाट ऋणी र धनी (साहु) बीचको आपसी छलफलबाट समस्या समाधानका लागि ऋण दिने व्यक्तिले भर्नुपर्ने पृष्ठ संख्या चार ९४० रहेको छुट्टै फारम नम्बर २ को व्यवस्था भएकाले निजहरूले समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उक्त फारम भरी बुझाउन आयोगले भनेको हो ।

भीरमा मह काढेको छायांकन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले डोरी (पर्‍याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि १ हजार ५ सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनको भनाइ छ । ‘पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ’, उपाध्यक्ष पुनले भने ।