विकासन्युज

यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिममा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ ।

भारतको फ्लिपकार्टमा गुगलको २ अर्ब लगानी

काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५ करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब ९ करोड ७० लाख भारु लगानी गरेको छ । गुगलले यो लगानी हालै फ्लिपकार्टले १ अर्ब डलर हासिल गर्न गरिरहेको फन्डिङ राउन्डमा गरेको हो । फ्लिपकार्टले यो राउन्ड सन् २०२३ मा सुरु गरेको थियो । यससँगै यो फ्लिपकार्टको साझेदार बनेको छ । अब अमेजन, मीशो, जियो मार्ट र टाटा डिजिटलले भारतीय ई–कमर्स क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्न सक्छ । फ्लिपकार्टले वर्तमान राउन्डमा कोष जुटाउन १ अर्ब डलर उठाउँदैछ । फ्लिपकार्टले आफ्नो मूल कम्पनी र अमेरिकी रिटेल विशाल वालमार्टबाट ६० करोड डलरको वित्तीय सहयोगको आश्वासन पनि प्राप्त गरेको छ । लगानी सर्तबारे जानकारका अनुसार यो लगानी राउन्डमा फ्लिपकार्टको मूल्य ३५–३६ अर्ब डलर छ, जुन गत वर्ष फोनपे समूहबाट अलग भएपछि ३३ अर्ब थियो । अमेरिकी रिटेल विशाल वालमार्ट, जसको भारतीय ई–रिटेलरमा ८५ प्रतिशत हिस्सेदारी छ । गत वर्ष सुरु भएको कोष अभियानमा ६० करोड डलर लगानी गरेको छ । ‘गुगलको प्रस्तावित लगानी र क्लाउड सहकार्यले फ्लिपकार्टलाई आफ्नो व्यवसाय बढाउन र देशभरिका ग्राहकहरूलाई सेवा दिन यसको डिजिटल पूर्वाधारलाई आधुनिकीकरण गर्न मद्दत गर्ने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन

झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा १ करोड १६ लाख ७२ हजार आठ सय २९ रुपैयाँ बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए । उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले ३ करोड ६९ लाख ९३ हजार नौ सय ४४ रुपैयाँ राजस्व संकलन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो । ‘राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने ।

निर्यात बढाउन चिनियाँ विज्ञता खोज्दै पाकिस्तान

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताएका छन् । आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७० करोडभन्दा बढी मानिसलाई गरिबीबाट बचाउनको लागि चिनको सफलताले पाकिस्तानका लागि रोल मोडेलको रूपमा काम गरेको बताए । उनले पाकिस्तान निर्यात बढाउनमा चीनको अनुभवबाट फाइदा लिन चाहेकाले विदेशी मुद्रा भण्डार बढाउन र गरिबी घटाउन प्रमुख कदमको रूपमा काम गर्ने उल्लेख गरेका छन् । पाकिस्तान र चिनको लामो समयदेखिको प्रगाढ भाइचारा सम्बन्ध समयसँगै बलियो हुँदै गइरहेको बताउदै उनले कठिन समयमा पाकिस्तानलाई सहयोग गरेकोमा चिन राष्ट्रसहित चिनियाँ नेतृत्व र जनता प्रति आभार प्रकट गरे । यसैगरी चिन–पाकिस्तान आर्थिक करिडोरको ढाँचाअन्तर्गत स्थापना भइरहेका विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई प्रधानमन्त्री मोदीले प्रोत्साहित गरे । सन् २०१३ मा सुरु गरिएको, चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख परियोजना, सिपिइसी, दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई स्ष्ट पार्छ । सिपिइसीको नयाँ चरणको लागि पूर्ण तयारी भइरहेको र यसको सफल थालनीले पाकिस्तान र चीनबिचको आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्री मोदीले बताए । पाकिस्तान कृषि प्रधान देश भएकाले कृषिमा चीनको आधुनिक प्रविधि र प्रविधि अपनाएर उत्पादकत्व बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । यसै क्रममा उनले चिनियाँ कम्पनीलाई पाकिस्तानमा विद्युतीय र हाइब्रिड सवारीका लागि प्लान्ट स्थापना गर्न आमन्त्रित गर्दै यसले देशलाई यातायात क्षेत्र लक्ष्य हासिल गर्न मद्दत गर्ने बताए ।

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ । किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो । गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ । पालिकाका कुनै पनि वडामा बाहिरबाट तरकारी र दूध आयात नहुने बरु यामअनुसार निर्यात गर्न थालिएको छ । गाउँपालिकाले अहिले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान किसानलाई दिने गरेको छ । यसले भैँसीपालक किसानले उत्साहित भएर दूध उत्पादन बढाउँदै लगेका छन् । बिहादीमा उत्पादन भएको दूध कुश्मा बजारसम्म पुग्ने गरेको छ । गाउँपालिकाका कृषि प्राविधिक जीवन शाहीले पछिल्ला दिनमा कृषि क्षेत्रमा पालिकाको लगानी बढेको र यसले यान्त्रिकीकरणमा सहयोग र विभिन्न खालका तालिमले किसानमा उत्साह थपेको दाबी गरे । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९४ हाइटेक टनेल, ८० भकारो सुधार, झण्डै चार दर्जन कुटानीपिसानी मेसिन वितरण गरेको छ । पालिकाले झण्डै ६ हजार किलो गहुँको बीउँ वितरण गरिसकेको छ । यस वर्ष एक सय ६० मौरीका घार वितरणको तयारी पनि भएको छ । मौरीका घार ५० प्रतिशत अनुदानमा गाउँपालिकाले वितरण गर्ने तयारी गरेको हो । त्यसैगरी चालु आवमै कागती, सुन्तला, लिची, आपलगायतका फलफूलका बिरुवा वितरण गर्ने तयारी छ । गाउँपालिकामा सबैभन्दा बढी रैथाने बालीअन्तर्गत कोदो उत्पादन हुने गरेको छ । ‘बिहादीमा उत्पादन भएको कोदो र पोखरेली जेठो बुढोको चामलको माग चर्को छ,’ कृषि प्राविधिक शाहीले भने, ‘पछिल्ला दिनमा उत्पादन बढ्दै जाँदा निर्यात पनि बढेको छ ।’ किसानको मेहनत, प्राविधिकको निगरानी र जनप्रतिनिधिको प्रोत्साहनले गर्दा बिहादीमा कृषिप्रति आकर्षण बढेको शाहीको दाबी छ । आगामी दिनमा स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पु¥याउन मद्दत गर्ने पालिकाको योजना छ । गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ । ‘अब केही समयमै कृषि एम्बुलेन्स आउँदैछ, त्यसपछि उत्पादन गरेको बस्तु बिक्रीका लागि कुनै कष्ट बेहोनुपर्दैन,’ शाहीले भने । गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले पालिकाले गरेको लगानीले प्रतिफल दिने गरी लागेको बताए । उनले बिहादीलाई कृषि क्षेत्रमा आत्मनिर्भर गराउने गरी योजनाबद्ध रूपमा अगाडि बढेको जानकारी दिए । ‘के गर्दा बिहादी कृषिमा आत्मनिर्भर हुन्छ भनेर हामी लागिपरेका छौँ,’ अध्यक्ष गुरुङले भने, ‘दूध र तरकारीमा भए पनि अहिले आत्मनिर्भर हुँदा हामीलाई थप उत्साह थपेको छ ।’ किसानले उत्पादन गरेको वस्तु बजार पुर्‍याउन समस्या भएको गुनासो आएपछि आफ्नै योजनामा गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको अध्यक्ष गुरुङले बताए । ‘अब कृषिजन्य वस्तु उत्पादन भएको बजार पु¥याउन सकिएन भन्ने अवस्था रहँदैन,’ उनले भने, ‘अहिले पनि गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान दिएका छौँ ।

प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्रीले अब पाठ्यक्रम सुधार गरेर सैद्धान्तिक ज्ञान हासिल गरी विद्यार्थीहरुलाई व्यवहारमा लागू गर्न उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिए । अहिले शिक्षाक्षेत्रमा वितृष्णा फैलिएको औँलाउँदै उनले नेपालमा अध्ययन गरेपछि विदेश जाने परिपाटी बन्द गराउन व्यावहारिक शिक्षा आवश्यक भएको बताए । प्राविधिक विषय अध्ययनमा कोटा प्रणालीको अन्त्य गर्न सरकार लागिरहेको भन्दै उनले स्वास्थ्य र शिक्षाको लगानी अब प्रतिफल दिने गरी काम गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरूलाई आग्रह गरे । सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सिँचाइ, खानेपानी तथा ऊर्जामन्त्री एकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, प्राध्यापक डा विद्यानाथ कोइराला, प्राडा पेशल खनाल, शिक्षा विकास समन्वय एकाइका प्रमुख दीनानाथ गौतमले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो भने ।

ढल्केबर-इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए । ‘पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ,’ उनले भने । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यसनिम्ति ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । धेरै जसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ । मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत आउनसक्ने बताए । कूल ४००/२२० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । हेटौँडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा–११ स्थित थानाभर्‍याङमा दुई र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । थानाभर्‍याङमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् । स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि यसमा सफलता प्राप्त भएको छैन । प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट,–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरीहुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ । कुल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो । हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरु काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् । कुल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी छ । यसअघि सो आयोजनाका लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैंकले आयोजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ ।

अनुदानमा बिरुवा पाएपछि केराखेती गर्दै जैमिनीका किसान

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरूको आकर्षण बढेको छ । नगरपालिकाले केराखेत गर्ने किसानका लागि प्रतिबिरुवा २० रुपैयाँ अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केराखेती गर्न थालेका हुन् । बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए । यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केराखेतीमा पनि जोडिएको उनले जानकारी दिए । जैमिनी–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पुर्‍याउने चटारो छ । घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चारजना खेताला परिचालन गरेको उनले बताए । शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन् । उहाँले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताए । यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिए । उनका अनुसार अघिल्ला वर्षहरु लगाइएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन् । ‘केही वर्ष अघिसम्म कयौँ दिन लगाएर रोपाइँ गरिने खेत जनशक्तिको अभावमा बाँझै हुन थालेको थियो । अहिले केराका बगैँचा बनेका छन्,’ उनले भने, ‘छोराछोरी घरमा छैनन्, खेताला लगाउँदा घाटा नहुने भएकाले केराखेती गर्न लागेको हुँ ।’ खेत र पाखाभरि केराको बगान बनाउने योजना रहेको उनको भनाइ छ । शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थालेका छन् । ‘धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भयो । बीउ, मल उस्तै महँगो,’ पूर्णप्रसाद शर्माले भने, ‘वर्षमा एक महिना जति हेरचाह गरे वर्षभरि उत्पादन दिन्छ । खेती गर्न सहज र आम्दानी पनि मनग्ये हुन्छ ।’ उनका अनुसार केराखेती विस्तारका लागि वडा कार्यालयले प्रोत्साहित पनि गरिरहेको छ । प्राविधिक समस्या भए वडाले सहजीकरण गर्ने उनको भनाइ छ । केराखेतीबाट यहाँका अधिकांश किसानले वर्षमा ५० हजारदेखि चार लाखसम्म आम्दानी गरिरहेका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार समुन्द्री सतहबाट छ सय मिटर उचाइमा रहेकाले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान हो । ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी–९’ जातका केरा यहाँ सिफारिस गरिएको शर्माले जानकारी दिए । स्थानीय जातका केरा छिटो नबिग्रने भएको सिफारिस गरिएको उनको भनाइ छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ । वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा खण्डमा जोडिएपछि बजारीकरणमा सहज भएको जैमिनी–१ का वडाध्यक्ष आचार्यले बताए । यहाँको केरा बजारमा प्रतिदर्जनरु एक सय २० देखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् । नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिए । ‘एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौँ,’ उनले भने, ‘सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ ।’ कृषि प्राविधिक शर्माका अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केराखेती बढाइरहेका छन् । आगामी वर्षमा नगरपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा किसानलाई प्रोत्साहन हुने कार्याक्रम ल्याइने उनको भनाइ छ ।