विकासन्युज

व्यक्तिको नाम तोकेर संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आइतबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेका कांग्रेस सांसद जीवन परियारले बताए । उनले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भए पनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएको बताए । भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ । वार्ताबारे कांग्रेस सभापति देउवाले दलका नेताहरूलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताए । उनले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान कांग्रेसले राखेको पनि बताए । उनले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको बताए । शीर्ष दलका नेताहरूको बैठक आइतबार साँझ वा सोमबार बिहान पुनः बसेर निष्कर्षमा पुग्ने बताए । उनले सत्ता पक्ष छानबिन गर्ने गरी सही रूपमा अझै प्रस्तुत नभएको आरोप समेत लगाए ।

ग्रिलजन्य फलामको मूल्यवृद्धि, चाबी सरकारलाई बुझाउने

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले जनाएको छ । अन्तराष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएपनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको महासंघले बताएको छ । महासंघका अनुसार देशभर सञ्चालित ११ हजार भन्दा बढी ग्रिल उद्योग सञ्चालनमा छन् । साथै, ती उद्योगहरूमा एक लाख ६० हजार बढी श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएको महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बताए । अस्वभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारवाही गर्ने व्यवस्था मिलाउन उनले माग गरे । यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीहरूले सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत् उद्योग व्यवसायको साँचो (चाबी) सरकारलाई बुझाएर व्यवसाय बन्द गर्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिए । ‘अस्वभाविक रूपमा बढेको ग्रिलजन्य फलामको मूल्य तुरून्त मूल्य वृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयरहरूको विरुद्ध संघर्ष गर्न बाध्य हुनेछौं,’ उनले भने, ‘संघर्षबाट हुने परिणामको सम्पूर्ण भागिदार सरकार र सम्बन्धित पक्ष हुनुपर्छ ।’ अनियन्त्रित र अस्वभाविक ग्रिलजन्य फलामको मूल्य अत्याधिक रूपमा बढेका कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । जसकारण आम उपभोक्ताहरू समेत मारमा परेको उनले बताए । वाषर््िाक ५० अर्बभन्दा बढीको ग्रील जन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीहरू विरुद्ध अस्थायि सरकार र राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै ठूला कम्पनीहरूले गरेको मनोमानी विरुद्ध ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भिर आपत्ति जनाएको छ । साथै, आम व्यवसायी तथा उपभोक्ताहरूलाई एकजुट भएर अगाडी बढ्न महासंघले आह्वान गरेको छ ।

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले  बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए । उनका अनुसार यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गर्न बाँकी रहेकाे छ । इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् । सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्‍याउन सहज भएको छ । विसं २०७७ साउन ४ गते चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताए । पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए। उनका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ । ‘१४ वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो। हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि बर्खामा समस्या थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ,’ अध्यक्ष पुनले भने । ‘पुल बनेपछि निकै सहज भएको छ, अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या छैन,ु मङ्गला–५ छिसबाङका विकल सेनले भने, ‘स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।’ त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताए ।

अण्डाको समर्थन मूल्य तोकियो, एक क्रेटको कति ?

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी आजदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । नयाँ निर्धारण भएको मूल्यअनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ४६५ रुपैयाँ पर्नेछ । ठूलो अन्डा प्रतिक्रेट ४८० रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय रुपैयाँ पर्ने संघले जनाएको छ । नयाँ निर्धारण गरिएको मूल्य पहिलेको भन्दा बढेको हो । गर्मीका कारण अण्डा उत्पादन घटेको छ ।

संसारकै लोकप्रिय पर्यटन गन्तव्य बन्यो अमेरिका, पछ्याउँदै स्पेन, जापान र फ्रान्स

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ) ले हालै ‘ट्राभल एन्ड टुरिज्म डेभलपमेन्ट इन्डेक्स’ (टीटीडीआई) सार्वजनिक गरेको छ । यो सूचकांकले यात्रा र पर्यटनका हिसाबले शीर्ष १० देशहरूलाई सूचीकृत गर्छ । यस सूचकांकमा सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा अमेरिका शीर्ष स्थानमा छ भने ‘पृथ्वीको स्वर्ग’ भनेर चिनिने युरोपेली देश स्विजरल्यान्ड १०औं स्थानमा छ । टीटीडीआई सूचकांकमा देशहरूको सूचीकरणले यात्रा र पर्यटन क्षेत्रमा दिगो विकासलाई बढावा दिने कारक र नीतिहरूलाई ध्यानमा राख्छ, जसले देशको विकासमा योगदान पुर्‍याउँछ । सन् २०२४ को लागि यस सूचकांकमा १ सय १९ देश समावेश गरिएको छ र विश्वका शीर्ष १० देशले सबैभन्दा बढी पर्यटक भित्र्याउने गरेका छन् । यी हुन् शीर्ष १० देश १. अमेरिका (स्कोर ५.२४) २. स्पेन (स्कोर (५.१८) ३. जापान (स्कोर ५.०९) ४. फ्रान्स (स्कोर ५.०७) ५. अस्ट्रेलिया (स्कोर ५.००) ६. जर्मनी (स्कोर ५.००) ७. बेलायत (स्कोर ४.९६) ८. चीन (स्कोर ४.९४) ९. इटाली (स्कोर ४.९०) १०. स्विजरल्यान्ड (स्कोर ४.८१) टीटीडीआई सूचकांकमा घुम्नैपर्ने शीर्ष पाँच देश अमेरिका अमेरिकामा स्ट्याच्यु अफ लिबर्टी, ग्रान क्यानन, ग्लेसियर नेसनल पार्क, येलोस्टोन नेसनल पार्क जस्ता ठाउँहरू घुम्नका लागि प्रसिद्ध छन् । यहाँ तपाईं सान फ्रान्सिस्को, लस एन्जलस, न्युयोर्क जस्ता सुन्दर सहरहरू पनि भ्रमण गर्न सक्नुहुन्छ । सन् २०२३ मा अमेरिकामा ८ करोड विदेशी पर्यटक आएका थिए, जसले देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा १८ खर्ब डलर योगदान पुगेको थियो । स्पेन आफ्नो विशेष वास्तुकलाका लागि प्रसिद्ध स्पेनमा तपाईं बार्सिलोना र ग्रानाडा जस्ता सहरहरू भ्रमण गर्न सक्नुहुन्छ । देशका समुद्र तटहरू धेरै सुन्दर छन् र यहाँका सबै चाडपर्वहरू पनि धेरै रंगीबिरंगी छन् । सन् २०२३ मा ७ करोड पर्यटक स्पेन घुम्न गएका थिए, जसबाट १ खर्ब ५० अर्ब डलर राजस्व संकलन भएको छ । जापान पर्यटकहरूलाई जापानका परम्परा र आधुनिक आविष्कारको अद्भुत संयोजन मनपर्छ । क्योटो सहरका मन्दिरहरू र टोकियो सहरका उज्यालो सडकहरू निकै प्रसिद्ध छन् । सन् २०२३ मा ३ करोड विदेशी पर्यटकले जापान घुमेका छन् । जसले देशको अर्थतन्त्रमा ३ खर्ब डलरको फाइदा पुगेको छ । फ्रान्स प्रतिष्ठित आइफेल टावरको देश फ्रान्स पर्यटकहरू माझ धेरै लोकप्रिय छ । यहाँको प्रोभेन्स क्षेत्रका गाउँहरू संसारको सबैभन्दा सुन्दर गाउँहरूमा गनिन्छन् । प्रत्येक वर्ष ८ करोड पर्यटकहरू फ्रान्स भ्रमण गर्छन् । जसबाट २ खर्ब डलर पर्यटन राजस्व संकलन हुन्छ । अस्ट्रेलिया प्राकृतिक सौन्दर्य र विभिन्न प्रकारका वन्यजन्तुहरूले भरिपूर्ण अस्ट्रेलियाले हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरूलाई आकर्षित गर्छ । सिड्नी, मेलबर्न जस्ता सहरहरूमा यात्रा गर्दा तपाईंले फरक र अनुपम अनुभव प्राप्त गर्न सक्नुहुनेछ । सन् २०२३ मा अस्ट्रेलियामा ८० लाख पर्यटक आएका थिए जसले देशको अर्थतन्त्रमा ६० अर्ब डलरको फाइदा पुगेको थियो ।

कार्यादेश टुंगोमा पुर्‍याउन शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार पनि बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुंगो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो । कार्यादेशमा टुंगो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बिहान ९ बजे बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए । सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुंगोमा पुर्‍याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताए । ‘सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’

बालेनलाई सडक डिभिजनको चेतावनी- अराजकता देखाए प्रतिकार हुन्छ

काठमाडौं । काठमाडौं महानगर प्रहरीले सडक विभाग अगाडि ट्रकमा लगेर धुलो फालिदिएपछि सडक विभागअन्तर्गतको सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा शनिबार चक्रपथ निर्माणमा  ढिलासुस्ती भएकाले  प्रदुषण बढेको भन्दै महानगरको ट्रकले विभाग अगाडि धुलो फालिदिएको थियो । मेयर शाहले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको र यसले गर्दा काठमाडौं महानगरले अकारण गाली खानु परेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने पनि सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । यसकै प्रतिवादमा सडक डिभिजनले शनिबार राति एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’ मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिएको विज्ञप्तिमा उल्लेख छ । ‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापी नबढ्ने विषय छर्लंग छ’, विज्ञप्तिमा उल्लेख छ । शनिबार न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको पाइएपछि रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई बालेनले यस्तो हर्कत गरेको विज्ञप्तिमार्फ सडक डिभिजनले आरोप लगाएको छ ।