विकासन्युज

एसईई पास गरेकाले यस कारण पढ्नैपर्छ आईबी

काठमाडौं । एसईईको नतिजा सार्वजनिक भइसकेपछि धेरैलाई के पढ्ने भन्ने अन्योलता हुन्छ । कतिपय विद्यार्थीले पहिल्यै आफ्नो योजना बनाएर त्यही अनुसार तयारी गरेपनि कतिपयलाई के विषय पढ्ने भन्ने चिन्ता हुन्छ । एसईई पछि प्राविधिक विषय र गैरप्राविधिक विषय पढ्न सकिन्छ । त्यसमध्ये इनटरनेशनल ब्याकलौरेट (आईबी) कार्यक्रम पनि एक हो । जुन एसईई पास गरेका जुनसुकै विद्यार्थीले पढ्न पाइन्छ । नेपालमा पनि केही विद्यालयले आईबी डिप्लोमा कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । के तपाई पनि आइबीबारे सुन्नुभएको छ ? अथवा यो पढ्ने सोचमा हुनुहुन्छ ? आज हामी तपाईंलाई एसईई पास गरेपछि पढ्न मिल्ने आईबी डिप्लोमा कार्यक्रमबारे जानकारी दिँदैछौँ । आईबी एसईई उतिर्ण गरिसकेपछि कक्षा ११ र १२ मा पढ्न मिल्ने समकक्षी कार्यक्रम हो । यो नेपालमा पनि पढाइ हुन्छ । तर, धेरै जस्तो विद्यार्थीलाई यो कार्यक्रमबारे थाहा छैन । विदेशमा हेर्ने हो भने हरेक वर्ष यो कार्यक्रम लागु गर्ने विद्यालयको संख्या बढ्दो छ । नेपालमा पनि केही विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुल र खुमलटारमै रहेको प्रिमियर इन्टरनेश्नलले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, विद्यार्थीलाई यो कार्यक्रमबारे जानकारी हुँदैन । यो एसईई पछि पढ्न मिल्ने दुई वर्षीय कार्यक्रम हो । तर, विदेशमा यसलाई प्रि युर्निभर्सिटी कोर्स पनि भन्छन् । के हो आईबी ? आईबी अर्थात् इनटरनेशनल ब्याकलौरेट सन् १९६२ सालमा इन्टरनेशनल स्कुल एशोसिएसनको सामाजिक अध्ययनका शिक्षकहरुको समूहले सुरु गरेको कार्यक्रम हो । त्यो भन्दा अघि एउटा देशको मान्छे अर्को देशमा बसाइँसराइ गरि त्यो देशको पाठ्यक्रम पढ्नु पर्ने हुन्थ्यो । जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने मान्छेलाई युरोपमा सिकाइको हिसाबले असहज हुन्थ्यो । सामाजिक अध्ययन विषयका शिक्षकहरुको समूहले यस्तो पाठ्यक्रम निर्माण गर्ने निर्णय भया जुन विद्यार्थी एउटा देशबाट अर्को देशमा अर्को विद्यालयबाट अर्को विद्यालयमा जाँदा पनि उनीहरूको सिकाइमा कुनै असर नपरोस् । सोही उद्देश्यले सुरु भएको हो आईबी । सन् १९६८ मा आईबीले डिप्लोमा कार्यक्रम सुरु गरेको हो । सन् १९७० मा पहिलो पटक यसको परिक्षा भयो जसमा १० वटा देशका १२ वटा विद्यालयले भाग लिएका थिए । सुरुमा कक्षा ११ र १२ मा कार्यक्रम चलेपछि बिस्तारै ६ देखि ८ कक्षासम्म (आईबी एमवाईपी) कार्यक्रम कक्षा ३ देखि १२ वर्षको उमेर समूहका लागि (आइबी पिवाईपी) कार्यक्रम सञ्चालनमा आएको छ । विश्वभरको पाठ्यक्रम एउटै आईबी विश्वका जुनसुकै देशमा बसेर अध्ययन गरेपनि यसको पढाइ एउटै हुन्छ । पाठ्यक्रम पनि एउटै हुन्छ । आईबी डिप्लोमा कार्यक्रम अन्य कार्यक्रम भन्दा नितान्त फरक हो । यसले फरक खालको विद्यार्थी तयार गर्छ । यो विषय पढेका विद्यार्थीलाई विश्वका जुनसुकै देशमा जाँदा पनि सिकाइमा कठिनाई हुँदैन । यसले कुनै विषय पढ्दा कसरी पढ्ने र त्यसको बुझाइलाई कसरी व्यवहारमा उतार्ने भन्नेबारे सिकाउँछ । दुई वर्ष आईबी पढिसकेका विद्यार्थीले सोच्ने तरिका, गर्ने व्यवहारमा धेरै फरक हुन्छ । यो विषय २ वर्ष पढिसकेपछि विद्यार्थी कस्तो बन्छ भने आईबीओले स्पष्ट पारेको छ । आफूले सिकेको कुरा, आफुले अनुभव गरेको कुरा र आफुले र्निमाण गरेको ज्ञानमा त्यसलाई प्रतिबिम्बित गर्ने सोच विकास हुन्छ । त्यस्तै, विद्यार्थी खुल्लाविचारक (ओपन माइन्डेड ) हुन्छन् । आफुभन्दा फरक विचार सोच, दृष्टिकोणलाई स्वीकार गर्न सक्ने हुन्छन् । विद्यार्थी जोखिम लिन सक्ने खालका हुन्छन् । आफुले सिकेको कुराले आफ्नो वरिपरी रहेको मान्छेलाई हानी गर्छ कि गर्दैन म कसरी केयरिङ नागरिक बन्ने, आफुले जानेको कुरा प्रस्तुत् गर्ने र सोच्ने क्षमता बढाउँछ । कस्ता विषय पढाइ हुन्छन् ? यो कार्यक्रममा विद्यार्थीलाई समूह बनाएर अध्ययन गराइन्छ । २ वर्षसम्म समूह १ मा भर्ना भएर छैटौंसम्म पुगिसकेपछि परिक्षा दिनुपर्छ । पहिलो र दोस्रो समूहका विद्यार्थीले भाषाका विषय पढ्नुपर्छ । युलेन्स स्कुलको हकमा समूह क मा अंग्रेजी वा नेपाली भाषामध्ये छनोट गर्नुपर्छ । समूह ख मा अंग्रेजी, फ्रेन्च वा स्पेनिसमध्ये एउटा लिनुपर्छ जसले अंगे्रजी ए लिएको छ ती विद्यार्थीले स्पेनिस वा फ्रेन्चको प्ररारम्भिक चरणको भाषा सिक्छन् । जसले नेपाली लिएको छ उसले  ‘बि’मा अंग्रेजी लिन्छन् । एउटा विद्यार्थीले न्युनतम २ वटा भाषा अनिवार्य पढ्नुपर्छ । तेस्रो मा सोसल साइन्सका विषय मध्ये एउटा विषय पढ्न पाइन्छ । त्यसमा बिजनेस स्टडी, इकनोमिक्स, साइकोलोजीमध्ये एउटा पढ्न पाइन्छ । त्यसपछि चौथोमा साइन्सका विषय फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्समध्ये एउटा विषय पढ्न पाउँछन् । पाँचौँमा गणित छ । यो हेरक विद्यार्थीले पढ्नै पर्छ । छैटौं समूहमा आर्टसका विषयहरू भिजुअल आर्टस्, थियटर, फिल्म मेकिङ यी तीन विषय मध्ये एउटा पढ्न पाइन्छ । गु्रप ६ स्किप गरेर माथिका कुनै एक विषय थप पढ्छु भन्न पनि पाइन्छ । यसमा एउटा विद्यार्थीले न्यू नतम ६ विषय पढ्नै पर्छ । आईबी र अन्य कार्यक्रममा फरक नेपाल सरकारका अन्य कार्यक्रम र आईबीमा धेरै फरक छ । यसमा ६ वटा विषयसँगै तीनवटा मुख्य विषय पढ्नुपर्छ । एउटा विद्यार्थीले २ वर्ष पढिसकेपछि अनुसन्धानमुलक निबन्ध लेख्नुपर्छ , जुन कुरा नेपाल सरकारको कक्षा ११÷१२ को कार्यक्रममा सिकाइ हुँदैन । यस्तै, अर्को थेउरी अफ नलेज (ज्ञानको सिद्धान्त) । मलाई जे चिज थाहा छ त्यो मैले कसरी थाहा पाए भन्ने (फिलोसेफिकल कोर्स) टीओके हरेक आईबी पढ्ने विद्यार्थीले पढ्नै पर्छ । अर्को क्रियटिभेटी, एक्टिभेटी र सर्भिस पढ्नुपर्छ यसभित्र फोटोग्राफी, कुकिङ, विभिन्न क्रियटिभिटीमा इंगेज हुनुपर्छ । एक्टिभिटीभित्र खेलकुदका कार्यक्रम हुन्छन् र सर्भिस भित्र विद्यार्थी समुदायमा गएर काम गर्नुपर्छ । यसो गर्दा यहाँबाट पनि केही न केही सिकाई विद्यार्थीलाई हुन्छ । अरु कार्यक्रम पढेर २ वर्ष बाहिर निस्केको विद्यार्थी र आईबी पढेर बाहिर निस्केको विद्यार्थीको सोच्ने शैली, विद्यार्थीले गर्ने व्यवहार अरुको भन्दा निकै भिन्न हुन्छ । यो कोर्ष पास गरिसकेपछि जुनसुकै संकायमा गएर पनि विद्यार्थी स्नातक र स्नातकोत्तर गर्न सक्छन् । नेपाल सरकारले यो कोर्सलाई कक्षा १२ पास सरहको मान्यता दिँदै आएको छ । तर, डाक्टर र इन्जिनियर पढ्न चाहनेका लागि भने केही समस्या हुन्छ । मेडिकल साइन्स पढ्न हाम्रो देशमा फिजिक्स, क्यामेस्ट्री र बायो र म्याथ अनिवार्य पढ्नै पर्छ । इन्जिनियर हुन फिजिक्स, क्यामेस्ट्री र म्याथ पढेको हुनैप¥यो । तर, आईबीले तीन वटा साइन्स पढ्न दिँदैन । त्यसैले विद्यार्थीले डाक्टर इन्जिनियर बन्ने सोचले आईबी पढ्ने हो भने आईबीबाट सहमति  माग्नुपर्छ । डाक्टर पढ्ने नै इच्छा हो भने आईबी भन्दा नेपाल सरकारको कार्यक्रम पढ्नुपर्छ । अहिलेसम्म १२ सय २३ विद्यार्थी दिक्षित भइसकेका छन् । अहिले आईबी पढ्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । नेपालमा आजभन्दा १५ वर्ष पहिलेदेखि यो कार्यक्रम सञ्चालन गर्दे आइरहेको युलेन्स स्कुलमा पनि विद्यार्थीको संख्या बढ्दै गएको छ । पहिलो वर्ष यहाँ भर्ना हुने विद्यार्थी २६ जना थिए । तर, अहिले धेरै बढेको छ । आईबीले विद्यार्थी यसरी तयार गर्छ कि उनीहरूलाई पनि क्याम्पसमा जान निकै सहज हुन्छ । यसमा विद्यार्थीको आकर्षण बढ्दै गएपनि १ सय ५० विद्यार्थीमात्र भर्ना गर्नुपर्ने प्राबधान भएकोले धेरै विद्यार्थी लिन भने सकिँदैन । नतिजा प्रक्रिया आईबी चार सेमस्टरको हुन्छ । आईबीओले वर्षको दुई पटक मे र नोभेम्बरमा परिक्षा लिन्छ । यसमा कुन महिनाको परिक्षा दिने भन्ने विद्यार्थीको रुचि हुन्छ । तीन विषय मे महिनामा र तीन विषय नोभेम्बरमा दिन्छ भन्न पनि पाइन्छ । यसमा आन्तरिक मूल्यांकन र बोर्ड परिक्षाभन्दा नितान्त फरक छ । यसमा यस्तो प्रोटकल बनाएको छ त्यो अलिकति पनि ब्रेक गर्न पाइँदैन । यसमा प्रश्नहरू घोकेर दिने खालको भन्दा अलि फरक खुल्ला किसिमको सोधिन्छ । तर, कन्सेप्ट बुझ्नुपर्छ । यो विषय पढेपछि विद्यार्थीले कक्षा १२ पास सरहको मान्यताकोे सर्टिफिकेट पाउँछन् । (युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछानेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

कृषि विकास बैंकले नागार्जुनको राधाकृष्ण मन्दिरलाई दियो १ लाखको सामान

काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुनमा रहेको श्री राधाकृष्ण मन्दिरलाई सामान हस्तान्तरण गरेको छ । बैंकले श्री राधाकृष्ण मन्दिरलाई १ लाख रुपैयाँ बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको हो । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए भने प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डा. बाबुकाजी थापाको उपस्थिति रहेको दियो । प्रमुख अथिति डा.थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने रं मन्दिर परिसरमा उपस्थित हुने आमा बुबा लगायत भक्तालुजनहरुलाई साहयता पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष नरहरी घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा व्यक्त गरे ।  

६ अर्बको कारोबार हुँदा सेयर बजार परिसूचक २१ सयको विन्दुमा

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक २१.२७ अंकले बढेर २ हजार १४० को विन्दुमा कायम भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यस्तै, ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यसदिन यो कम्पनीका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् । यस दिन सबैभन्दा धेरै गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

कांंग्रेस र एमालेबीचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन : सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली कांग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सत्ता समिकरणको सहमती अपारदर्शी भएको बताएका हुन् । उनले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताए । संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने जानकारी दिए । उनले नेकपा(एमाले)ले नैतिकता नदेखाएको पनि बताए ।  दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने जानकारी दिए । सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल सुुरु भएको बताए । नेकपा (एमाले) प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए । ‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्न अगाडी बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो’, उनले भने । सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने जानकारी दिए ।

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । उनले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए । सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताए । गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको जानकारी दिए । ‘जनतालाई कहिलेसम्म भ्रमित पार्ने हो ? काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई(सुकुम्वासीलाई) हटाऔँ भन्दाखेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ? गृहमन्त्रीज्युलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस्’, उनले भने । प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने जानकारी दिए ।

एक करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले एक करोड २१ लाख रुपैयाँको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो । गत वर्ष ५० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो । यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भाँडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको उनले बताए । भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन् । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाँडाका लागि भइरहेको खर्च बचत हुने वडाध्यक्ष शेरपुञ्जाले बताए । ७१ लाख ६६ हजार चार सय १५ रुपैयाँमा गत चैत मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङ्गरोगन, विद्युत, पानी, फर्निचरलगायत कामलाई पूर्णता दिएको गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल चोखालले बताए । भवन निर्माण गर्न ५९ लाख रुपैयाँ खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो । भवन परिसरमा घेराबारसहितका पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्ष २०८१/८२ मा २७ लाख रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए । आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि मौवाफाँटमा वडा नं ६  र भगवतीमा २ नं का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् । रासस

सोमबारदेखि सबै सरकारी खाता रोक्का

काठमाडौं । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्,’ रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर, भोलि रातिदेखि बजेट भुक्तानी हुँदैन ।’ संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

चित्रबहादुर केसीको प्रश्न : कांग्रेस-एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि स्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन कांग्रेस एमालेले नयाँ सत्ता समिकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् । अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए । एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसदको ठूलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो । ‘नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने । पैसा जम्मा गर्ने । र, आउँदो चुनावलाई करोडौं रकम जम्मा गर्ने, यो लोकतन्त्र गणतन्त्र हामीबाटै खतरा छ’, उनले भने । अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अव बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए ।