१० लाखसम्म बढ्यो बीवाईडीको मूल्य, बजेटको ठूलो धक्का
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ । सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो । सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ । नयाँ नीतिअनुसार अन्य इलेक्ट्रिक गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको हो । नयाँ मूल्यसूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ । साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
साउन पहिलो साता मौद्रिक नीति आउँदै, ‘फ्लेक्जिबल मुड’मा गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने किसिमले तयारी गालेको हो । उनका अनुसार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ । वर्तमान अर्थतन्त्रको अवस्था र यसलाई समाधानको बाटो दिने किसिमले मौद्रिक नीति बनिरहेको उनको भनाइ छ । ‘राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिसकेको छ, अहिले मौद्रिक नीतिको मस्यौदा बनिरहेको छ, साउन पहिलो साता सार्वजनिक गर्ने किसिमले तयारी भइरहेको छ,’ डा. पोखरेलले विकासन्युजसँग भने । अहिले राष्ट्र बैंकले कृषि र साना तथा मझौला उद्यममा बढी प्राथमिकता दिएर नीति निर्माण गरिरहेको छ । वर्तमान अर्थतन्त्रमा संकचुन सिर्जना भएकोले यो समस्या समाधानका लागि अहिले राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरूसँग छलफल पनि गरिरहेको छ । सरोकारवालासँग छलफल गरेर राष्ट्र बैंकले राय सुझाव संकलन पनि गरिरहेको छ । अहिले मौद्रिक नीतिमा माग राख्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संघ संस्थाका पदाधिकारीहरू राष्ट्र बैंक पुगिरहेका छन् । बजारमा रहेको आर्थिक शिथिलता हटाउन बैंकरदेखि उद्योगी व्यवसायीको लर्को राष्ट्र बैंकमा लागिरहेको छ । अहिलेको मुख्य समस्या भनेको कर्जाको मागको हो । कर्जाको माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् । यस पटक गभर्नर अधिकारी पनि मौद्रिक नीतिमार्फत् केही नयाँपन दिन खोजिरहेका छन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमार्फत् उनी केही अविस्मरणीय कार्य गर्न खोजिरहेका छन् । उसो त उनी आफैं पनि विभिन्न सार्वजनिक कार्यक्रममा आगामी वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले अर्थतन्त्रको मार्गचित्र कोर्ने प्रयास गर्ने बताउँदै आएका छन् । मौद्रिक नीति आशा जगाउने गरी आउने उनी बताउँदै आएका छन् । सहप्रवाक्ता पोखरेल पनि यस पटकको मौद्रिक नीति सबैले चासोका साथ हेरेका बताउँछन् । गभर्नरको अन्तिम मौद्रिक नीति भएकोले पनि धेरैको चासो मौद्रिक नीतिमार्फत् के आउँछ भन्ने रहेको उनको भनाइ छ ।
प्रधानमन्त्रीसमक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’ प्रस्तुत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१ प्रतिवेदन प्रस्तुत गरेको छ । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष महान्यायाधिवक्ताले प्रस्तुत गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कानुन सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्दै प्राप्त सुझावलाई सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्ने बताए । प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ । महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाय र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र त्यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । विसं २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो ।
मनोज गजुरेलको घरमा ताला लगाउन पुगेपछि मीना ढकाल पक्राउ
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको भक्तपुर बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् । उनीहरूबीच सम्बन्ध विच्छेद भइसकेको छ । उनीविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रभु बैंकका ग्राहकलाई टी थ्री थकाली र साइनो तन्दुरीको सेवामा छुट
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टी थ्री थकाली ग्रुपका अध्यक्षरप्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाइले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पुर्याउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि टी थ्री थकाली एण्ड मल्टी क्यूजीङमा एन्थेटीक थकाली खानाको स्वाद लिन सक्नेछन् भने साइनो तन्द्री एण्ड सेकुवा कर्णरल मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको बैंकले जनाएको छ ।
मुकेश अम्बानीको छोराको भव्य वैवाहिक कार्यक्रम र अतिथि चर्चा
काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् । गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिएका थिए । पार्टीमा पूर्व विश्व नेता, प्रविधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड) का सुप्रसिद्ध कलाकारसहित १ हजार २०० जनाको अतिथि सूची र प्रख्यात गायिका रिहानाको प्रस्तुति समावेश थियो । यो केवल उनीहरूको महिनौं लामो भव्य विवाहपूर्व समारोहको सुरुवात थियो । यसले विश्वका प्रसिद्ध पत्रपत्रिका तथा अनलाइनमा समाचारको मुख्य समाचारको स्थान पाएको थियो । सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो । मे महिनामा, अम्वानी परिवारले तीन दिने समारोहका अवसरमा अतिथिहरूलाई सुविधासम्पन्न पानीजहाजमा इटालीदेखि फ्रान्ससम्मको यात्रामा लगेको थियो । डेभिड गुएटाको डीजे सेट, केटी पेरीको सुप्रसिद्ध गीत ‘फायरवर्क’ र पिटबुलको प्रदर्शनका साथ यसलाई भव्य सांगीतिक माहोलबीच अन्त्य गरिएको थियो । २९ वर्षीय अनन्त अम्बानीले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएपछि यसको तयारीमा गरिएको विवाहपूर्वको पार्टी र उत्सवले निकै चर्चा पाएको थियो । विश्वका नवौँ धनी र एसियाकै सबैभन्दा धनी व्यक्ति फोर्ब्स पत्रिकाका अनुसार दुलहाका पिता ६६ वर्षीय मुकेश अम्बानी हाल ११६ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका नवौं धनी व्यक्ति हुन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनको पेट्रोकेमिकल्स, र तेल र ग्याँस देखि दूरसञ्चार र खुदरासम्मको सेवाबाट वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने रिलायन्स इन्डष्ट्रिज एक विशाल व्यावसायिक समूह हो । अम्बानी परिवारको अन्य सम्पत्तिका अलावा मुम्बईमा एन्टिला नामक २७ तले निजी अपार्टमेन्ट छ । यसको मूल्य मुम्बईमा एक अर्ब अमेरिकी डलर छ । यसमा तीनवटा हेलिप्याड, १६० कारको ग्यारेज, निजी सिनेमा हल, स्विमिङ पुल र फिटनेस सेन्टर छन् । अम्बानीका आलोचकहरूका अनुसार अम्बानीको कम्पनी सन् १९७० र ८० को दशकमा भारतीय काङ्ग्रेस सरकारको समयमा र सन् २०१४ पछि प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा राजनीतिक सम्बन्धका कारण फस्टाएको हो । भारतमा आसेपासे पूँजीवाद (क्रोनी क्यापिटलिज्म) ले अम्बानीजस्ता केही कर्पोरेसनलाई फस्टाउन मद्दत गरेको उनीहरूको भनाइ छ । अम्बानीले आफ्ना दुई छोरा र छोरीलाई जिम्मेवारी हस्तान्तरण गर्न थालेका छन् । सबैभन्दा जेठो छोरा आकाश अम्बानी अहिले ‘रिलायन्स जियो’को अध्यक्ष हुन् । उनकी छोरी इशाले खुद्रा व्यापारको रेखदेख गर्छिन् भने कान्छो छोरा अर्थात् भावी दुलहा अनन्तलाई नयाँ ऊर्जा व्यवसायमा सामेल गरिएको छ । दुलाहा र दुलहीको परिचय रिलायन्स इन्डस्ट्रिजको वेबसाइटका अनुसार अनन्तले ब्राउन युनिभर्सिटीबाट स्नातक गरेका छन् र समूहको नवीकरणीय र हरित ऊर्जा विस्तारसम्बन्धी जिम्मेवारी सम्हालेका छन् । उनले गृहनगर अर्थात् गुजरात राज्यको जामनगरमा तीन हजार एकड (लगभग १२ हजार हेक्टर) मा पशु उद्धार केन्द्र पनि चलाएका छन् । उनीहरूले गृहनगर जामनगरमा मार्चमा अतिथिहरू भेला गरी असाधारण विवाहपूर्वको पार्टीमा उत्सव मनाएका थिए । हुनेवाला बेहुली अर्थात् २९ वर्षीया राधिका मर्चेन्ट औषधी व्यवसायी भिरेन मर्चेन्टकी छोरी हुन् । उनी ‘एनकोर हेल्थकेयर’ मा मार्केटिङ डाइरेक्टर छन् । सन् २०१७ मा दवै जनाका साथीमार्फत यी दुईको परिचय भएको उनले सञ्चारमाध्मलाई बताइन् । ‘त्यो पहिलो भेटले हामीबीच केही विशेष कुरा जन्मायो, र हामीले ‘डेटिङ’ सुरु गरेको धेरै समय भएको छैन,’ उनले भनिन् । विवाह मिति र कार्यक्रम र अतिथि स्थानीय सञ्चारमाध्यमका अनुसार विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज (रिसेप्शन) हुनेछ । अम्बानीको मुम्बई सहरमा रहेको जियो वर्ल्ड कन्भेन्सन सेन्टर र उनीहरूको पारिवारिक घरको बीचमा सेलिब्रेसन विभाजित हुने अपेक्षा गरिएको छ । हिन्दू रीतिरिवाजअनुसार दम्पतीको जन्मकुण्डलीको आधारमा मिति तय गरिएको र जुलाई १४ लाई शुभ मानिएको बताइएको छ । साथै, परम्परालाई ध्यानमा राख्दै विवाहको पारम्परिक कार्यक्रम र अनुष्ठानभन्दा सेलिब्रेसन पहिले हुनेछ । शुक्रबार भारतीय सामाजिक सञ्जालमा यो जोडीको संगीतको भिडियोले भरिएको थियो, जहाँ दुलहा र दुलहीका परिवारले अतिथिहरूका लागि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आलिया भट्ट, रणवीर सिंह, सलमान खान, जस्टिन बीबरलगायत बलिउड स्टारको पनि प्रस्तुति रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । परिवारले गत हप्ता ५० भन्दा बढी विपन्न दम्पतीका लागि सामूहिक विवाहको आयोजना पनि गरेको थियो । असाधारण पार्टीहरू अम्बानीहरूको विशेषता हो र अर्को हप्ताको घटनाहरूले अधिक सेलिब्रिटी, अर्बपति र विश्व नेताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । गत मार्चमा विवाहपूर्वको पार्टीमा बिल गेट्स, मार्क जुकरबर्ग, क्यानडा र कतारका पूर्व नेताहरुका साथै शाहरुख खान र दीपिका पादुकोणजस्ता बलिउडका ए–लिस्ट स्टारको पनि उपस्थिति थियो । रिहानाको अलावा, अकोन र अन्तर्राष्ट्रिय ख्याति कमाएका एक पञ्जाबी गायक दिलजीत दोसाँझले कोचेलामा प्रदर्शन गरेका थिए । सन् २०१८ मा, अम्बानीले छोरीको विवाह गरिदिँदा पनि भव्य उत्सवको कारण पत्रपत्रिकाले निकै महत्त्व दिएका थिए । छोरीको विवाहमा सहभागी अतिथि र पप गायक बियोन्सेले सांगीतिक प्रस्तुति विवाहपूर्वको उत्सवमा प्रदर्शन गरेका थिए । त्यतिबेला अमेरिकाका पूर्व विदेशमन्त्रीहरू हिलारी क्लिन्टन र जोन केरी पश्चिमी भारतीय सहर उदयपुरमा भारतीय सेलिब्रेटी र बलिउड स्टारहरूसँगै विवाहमा सहभागी भएका थिए । एजेन्सी
आइएसएमटी कलेजबाट ३९० जना विद्यार्थी दिक्षित
काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा असार १६ गते भएको एक विशेष समारोहमा ३९० जना विद्यार्थीहरु दीक्षित भएका थिए । आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको समबन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।
कांग्रेसले टुंग्यायो मधेस सरकारमा पठाउने मन्त्रीको नाम
धनुषा । नेपाली कांग्रेसले मधेस सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । शनिबार मुख्यमन्त्री शतिसकुमार सिंहलाई विश्वासको मत दिँदै कांग्रेसले मधेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मधेश सरकारमा पठाउने निर्णय गरेको छ । कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको बताइए पनि अहिलेसम्म मन्त्रालय टुंगो भने लाग्न सकेको छैन । यता, कांग्रेसले ४ मन्त्रीको नाम टुंगो लगाएपछि मुख्यमन्त्री सिंह कांग्रेसलाई ३ मन्त्रालय दिन तयार भएको बताइएको छ । उनी २५ सांसद रहेको एमालेलाई ४ र २२ जना सांसद रहेको कांग्रेसलाई ३ मन्त्रालय दिएर अर्थ मन्त्रालय आफैंसँग राख्ने सोचमा छन् ।