आईजीआई प्रुडेन्सियलले आर्जन गर्यो ४ अर्ब ३८ करोड बीमाशुल्क
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद नाफामा झन्डै शतप्रतिशत गिरावट आउँदा अन्य सूचक भने बढेको देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा ९८ दशमलव ८९ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११ दशमलव २२ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६ दशमलव ६७ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको विशेष जगेडामा १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो । ३ अर्ब २ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको ईपीएस ०.१३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ ।
चक्र मल्ल बन्दैछन् सुदूरपश्चिमको अर्थमन्त्री
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएपछि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने टुंगो लागेको छ । एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ । एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो । थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने गरी दलले सिफारिस गरेको छ । त्यस्तै, सांसद दमन भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय भएको छ । यस विषयमा नेकपासँग छलफल गरेर अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ । एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय पनि गरेको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीसहित आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ । एमालेको सरकार प्रवेशसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । को हुन् अर्थमन्त्री बन्दै गरेका मल्ल ? डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चक्र मल्लको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । डोटीको आदर्श गाउँपालिका-३, झुँडामा २०३७ सालमा जन्मिएका मल्ल किशोर अवस्थामै संगठित राजनीतिमा सक्रिय बनेका थिए । २०४९ सालमा सीताराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहँदा उनले एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए । त्यसपछि विद्यार्थी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी विद्यालयस्तरीय कमिटीको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको यात्रामा पुगे । विद्यार्थी राजनीतिमा सक्रिय मल्ल २०५७ सालमा डोटी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए । अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले विद्यार्थी आन्दोलनपछि शिक्षण पेशालाई पनि निरन्तरता दिए । वि.सं २०६१ सालदेखि डोटी क्याम्पसमा अध्यापन सुरु गरेका मल्लले शिक्षा र राजनीति दुवै क्षेत्रमा समानान्तर रूपमा सक्रियता देखाए । पार्टी राजनीतिमा उनको भूमिका २०६४ सालपछि थप विस्तार भयो । सो वर्ष नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका उनी २०६६ सालमा जिल्ला उपाध्यक्ष र २०६९ सालमा जिल्ला अध्यक्षमा निर्वाचित भए । जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनी तत्कालीन ७५ जिल्ला कमिटी अध्यक्षमध्ये सबैभन्दा कम उमेरका नेता मानिन्थे । विद्यार्थी आन्दोलन, शिक्षण पेशा र संगठन निर्माणको लामो अनुभव बोकेका मल्ल अहिले सुदूरपश्चिम प्रदेशको राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।
सानिमा जिआइसीको खुद बीमाशुल्क ८३ करोड नाघ्यो
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ थियो । यससँगै अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब ६१ प्रतिशतले घटेको छ । २ अर्ब २५ करोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा ७४ करोड ९५ लाख, महाविपत्ति कोष ४ करोड ५९ लाख, रिटेन्ड अर्निङ १७ करोड २७ लाख र अन्य इक्विटी १४ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको कुल बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो । यस आधारमा खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो । कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमामार्फत १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो । यता, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ
काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ । कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र भविष्यमा आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटलसँग ‘कर्पोरेट एडभाइजरी सर्भिसेस’ सम्बन्धी सम्झौता गरेको हो । शुक्रबार साउन २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत आफ्नो विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ । सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको थियो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएसँगै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको जनाएको छ । कम्पनीले हाल क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको छ । विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर बढाउने, माटोको दीर्घकालीन स्वास्थ्य कायम गर्ने र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न तालिम तथा ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई संस्थागत परामर्श सेवाअन्तर्गत आईपीओ कन्सल्टेसन तथा क्यापिटल रिस्ट्रक्चरिङसम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौताअनुसार क्यापिटलले कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा मूल्यांकन, पूँजी संरचना र सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ ।
नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले सम्हाले पदभार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् । कम्पनी सञ्चालक समितिको ४७औँ बैठकको निर्णयअनुसार पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।
प्रभु बैंकका ग्राहकलाई सासा ट्वा हस्पिटालिटीमा १५ प्रतिशत छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले सासा ट्वा हस्पिटालिटी प्रालिका सेवामा छुट पाउने भएका छन् । प्रभु बैंक र सासा ट्वा हस्पिटालिटी प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन, कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सासा ट्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक सुशान महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारी र वैध परिचयपत्र भएका ग्राहकले सासा ट्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा लिन ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको अन्य विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ । प्रभु बैंकले देशभर रहेका ३०० भन्दा बढी शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।
जुट्न नपाउँदै फुटे, वरीयतामा मिलेन कुरा
काठमाडौं । राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मुद्दालाई केन्द्रमा राखेर सहकार्य थालेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको राजनीतिक सहयात्रा राम्रोसँग जुट्न नपाउँदै फुटेको छ । राणा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहँदा प्रसाईं भने छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने गृहकार्यमा लागेका बुझिएको छ । राप्रपाको महामन्त्री पद छाडेर नयाँ राजनीतिक अभियानमा लागेका राणाले ‘जय नेपाल पार्टी’ नामको दल गठन गर्न लागेका हुन् । प्रस्तावित दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको राणा पक्षका नेताहरुले बताएका छन् । दलको प्रस्तावित चुनाव चिह्न त्रिभुज राख्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । प्रारम्भिक चरणमा राणा र प्रसाईं दुवैलाई एउटै राजनीतिक दलमा समेट्ने सहमति बनेको थियो । त्यसअनुसार राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने समझदारी भएको थियो । तर, संगठनको नेतृत्व, वरियता र निर्णय गर्ने अधिकारका विषयमा विवाद बढेपछि सहकार्य टिक्न नसकेको बुझिएको छ । पार्टीभित्र आफ्नो वरीयता पहिलो हुनुपर्ने र महत्वपूर्ण कार्यकारी अधिकारसमेत आफूले पाउनुपर्ने प्रसाईंको मागपछि दुई पक्षबीच मतभेद चुलिएको बताइएको छ । राणा पक्षले उक्त प्रस्ताव स्वीकार नगरेपछि संयुक्त पार्टी निर्माणको योजना प्रभावित भएको हो । विवादकै बीच प्रसाईंले पछिल्लो समय दिएका सार्वजनिक अभिव्यक्तिले पनि दुई पक्षबीचको दूरी बढाएको बताइएको छ । प्रसाईंले एक अन्तर्वार्तामा राणाको राजनीतिक दृष्टिकोणप्रति प्रश्न उठाउँदै राजसंस्था पुनःस्थापनाका विषयमा उनीहरूको धारणा समान नरहेको संकेत गरेका थिए । प्रसाईं पक्षका नेताहरूले भने तत्काल दल दर्ता गर्नुभन्दा केही समय लिएर सहमति खोज्नुपर्ने धारणा राखेका थिए । तर, राणा पक्षले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै दल दर्ता अघि बढाउने निर्णय गरेपछि दुई समूह छुट्टिने अवस्था आएको उनीहरूको भनाइ छ । राजसंस्था र हिन्दु राष्ट्रको एउटै एजेन्डामा नजिकिएका राणा र प्रसाईं अब फरक राजनीतिक संगठनमार्फत अघि बढ्ने अवस्थामा पुगेका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार (आज) बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगी मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ३ बजे हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले नेकपा एमाले र नेकपाको गठबन्धनपश्चात अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।