नेपाल टेलिकमको पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिमकार्ड नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन् । नेपाल टेलिकमले नामसारी प्रक्रियालाई सहज बनाउँदै यस्तो व्यवस्था लागू गरेको हो । कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । पोर्टलमा मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ । त्यसपछि हालका ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । साथै, पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्नेछ । सबै विवरण अनलाइनबाट भरेपछि अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । नामसारी दस्तुर बुझाई सक्कल नागरिकतासहित ग्राहक स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिनेछ । कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सक्ने भएकाले नामसारी प्रक्रिया थप सहज हुने नेपाल टेलिकमले जनाएको छ । हाल यो सुविधा व्यक्तिगत ग्राहकका लागि मात्रै उपलब्ध हुनेछ । कर्पोरेट ग्राहकले भने नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अनलाइनमार्फत आवश्यक विवरण पहिले नै भर्न सकिने भएपछि पोस्टपेड सिम नामसारीका लागि लाग्ने समय र झन्झट कम हुने अपेक्षा गरिएको छ ।
भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने
काठमाडौं । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ । शुक्रबार (आज) प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले यसबारे जानकारी गराएका हुन् । प्रवक्ता अर्यालकाअनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले आगामी भदौ १ गतेदेखि उक्त कार्यालयले नयाँ संरचनाअनुसार पूर्ण रूपमा कार्य प्रारम्भ गर्नेछ । त्यस्तै, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य अघि बढाइएको उनले जानकारी दिए । हाल विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजहरूलाई प्रधानमन्त्री कार्यालयको ‘मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा’ मा अर्काइभ (अभिलेख) गरिने प्रवक्ता अर्यालले बताए । विगतका आन्दोलनका शहीद परिवारका लागि पूर्वघोषित राहत प्याकेज कार्यान्वयनमा सहजीकरण गर्न सरकारले विशेष समिति गठन गरेको जानकारी दिँदै उनले यो कुनै नयाँ कोष नभई घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि चालिएको कदम भएको स्पष्ट पारे । जनगुनासो सम्बोधनको सन्दर्भमा ‘हेलो सरकार’ मा साउन १ गतेयता प्राप्त गुनासोहरू र तिनको फर्छ्याैट दर उत्साहजनक रूपमा बढिरहेको उनले जानकारी दिए । यसैगरी, बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन समन्वय भइरहेको र सुकुम्बासी समस्याका विषयमा सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ । भक्तपुरमा गएको पहिरो र त्यसबाट सिर्जित समस्याका बारेमा गृह मन्त्रालयबाट रिपोर्टिङ भइरहेको र जनप्रतिनिधिहरूसँग छलफल भइरहेको जानकारी समेत प्रवक्ता अर्यालले दिए । प्रधानमन्त्रीको वैदेशिक भ्रमण र निमन्त्रणाका विषयमा भने परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिने पनि उनले स्पष्ट पारे ।
प्रभु बैंकको योजना : ३ करोडसम्म घर कर्जा, ७ वर्षसम्म सवारी कर्जा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ । बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ । उक्त सुविधा देशभरका ३०० शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ । यस योजनामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अधिकतम ७ वर्ष अवधिको सवारी साधन कर्जा योजना पनि सार्वजनिक गरेको छ । यस योजनामा सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ । कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसले ग्राहकलाई आकर्षक ब्याजदरमा सहज रूपमा सवारी साधन खरिद गर्ने अवसर प्रदान गर्ने बैंकको भनाइ छ । प्रभु बैंकले ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय सेवा उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको जनाएको छ । बैंकका सबै शाखामार्फत यी कर्जा योजना प्राप्त गर्न सकिनेछ । घर तथा सवारी कर्जा योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखा, बैंकको वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । शुक्रवारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् । सम्बोधनका क्रममा डा. कोइरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गरे । वीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरू साझा गरे । वीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रहरूका बारेमा देउवाले देखाएको सूक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोइरालाले बताए । उनले भेन, ‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लण्डनबाट फर्किएलगत्तै शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो । उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ ।’ देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने उनले विश्वास व्यक्त गरे । देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्ताहरूलाई स्वागत गर्दै कोइरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचनासमेत गरे । उनले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।
सेयर बजारमा ४ अर्ब २७ करोडको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २६४३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३४४ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एग्रिकल्चरल बोन्डको भएको छ । एग्रिकल्चरलको ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै खानीखोला हाइड्रोको १७ करोड, लिर्बटी इनर्जीको १६ करोड र न्यादी गुप्रको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्टसको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
चीनको सामान घुमाउरा बाटोबाट अमेरिका, ४० देशमाथि ह्वाइट हाउसको आरोप
काठमाडौं । ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा भारतसहित ४० भन्दा बढी देशले चीनलाई अमेरिकी ट्यारिफबाट जोगिन सहयोग गरेको दाबी गरिएको छ । चीनले आफ्ना सामान कम आयात शुल्क लाग्ने देश हुँदै अमेरिका पठाएर उच्च अमेरिकी ट्यारिफबाट बच्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा क्यानडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरियासहित विभिन्न देशको नाम उल्लेख गरिएको छ । ह्वाइट हाउसका अनुसार यी देशमार्फत चीनले अर्बौँ डलर बराबरको अमेरिकी ट्यारिफबाट बच्ने प्रयास गरेको थियो । अमेरिकाका व्यापार सल्लाहकार पिटर नाभारोले यस्तो व्यवस्थाका कारण ‘अमेरिकी रोजगारी र अर्बौं डलरको राजस्वमा क्षति पुगेको’ बताएका छन् । यता वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीको प्रश्नको जवाफ दिँदै अमेरिकी आरोपप्रति प्रतिक्रिया जनाएका छन् । उनले ‘व्यापार युद्धमा कसैको पनि जित हुँदैन’ भनेका छन् । उनले अमेरिकाले लगाएको ट्यारिफसम्बन्धी उपाय तथा चिनियाँ कम्पनीलाई लक्षित गर्न सरकारी शक्तिको प्रयोग गरिएको भन्दै विरोध गरेका छन् । चिनियाँ प्रवक्ताले तेस्रो मुलुक हुँदै सामान पठाउने प्रक्रियालाई लिएर कुनै पनि एकपक्षीय कारबाही वा सम्झौताले तेस्रो देशको हितमा क्षति पुर्याउन नहुने बताएका छन् । बीबीसीले प्रतिवेदनमा उल्लेख गरिएका भारत, क्यानडा, मेक्सिको, जापान, दक्षिण कोरिया लगायतका देशका दूतावाससँग पनि यस विषयमा प्रतिक्रिया मागेको जनाएको छ । अमेरिका र चीनबीच ट्यारिफ तथा प्रतिबन्धलाई लिएर तनाव बढिरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भेटवार्ता हुने तयारीसमेत भइरहेको छ । ह्वाइट हाउसले सरकारी तथा निजी क्षेत्रका अनुमानलाई उद्धृत गर्दै करिब ३० अर्बदेखि ३०० अर्ब डलरसम्मका सामान उच्च ट्यारिफ लाग्ने देशबाट कम ट्यारिफ भएका देश हुँदै अमेरिका पुगेको दाबी गरेको छ ।
नेपाल इन्स्योरेन्सको नाफा पौने १३ करोड, कुल बीमाशुल्क सवा २ अर्ब नाघ्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । यस समीक्षा अवधिमा कम्पनीले १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब १६ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क १७ दशमलव ८७ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १ अर्ब १२ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क १८ दशमलव १४ बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत १ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमामार्फत ८८ करोड ६३ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस समीक्षा अवधिमा बढी रकम खर्चिएको हो । समीक्षा अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो । २ अर्ब ५४ करोड रुपैयाँ सेयर पुँजी भएको कम्पनीको ईपीएस ५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।
मीन विश्वकर्माले देउवालाई 'सभापति भनेनन्', 'नेता'मात्रै भने
काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले तीन दिने राष्ट्रिय भेला सुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा रहेका छन् । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको भेलामा इतर पक्षका शीर्ष नेताहरू सहभागी भएका छन् । देउवासँगै भेलाको संयोजक डा. शशांक कोइराला, पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउँद, डा. प्रकाशशरण महत उपस्थित भएका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय भेला प्रचारप्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले गरिरहेका छन् । देउवा कार्यक्रम स्थलमा सहभागी हुँदै गर्दा विश्वकर्माले उनलाई पार्टीका सभापति तथा निवर्तमान सभापति नभनेर नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री भनेर आसन ग्रहण गराएका छन् । कार्यक्रमा स्वागत मन्तव्य राख्दै वागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने उनलाई पार्टीको संयोकजभ नेर सम्बोधन गरेका थिए ।