त्रिशूलीमा बेपत्ता बस चालकका छोराछोरीको शिक्षाको जिम्मा वीरगञ्ज महानगरले लिने
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एन्जल बसका चालक जवाहीर महतोका तीन जना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार एन्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरी सो जिम्मेवारी लिने बताएका हुन् । ‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ,’ नगरप्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।’ जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका– २९, सिमलतालनजिकै पहिरोमा परेर त्रिशूली नदीमा खसेको थियो । नगर प्रमुख सिंहले आजै एन्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताए ।
प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता
काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको छ । यी दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् । विभिन्न बैंकरवित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच बुधबार एक सम्झौता भएको हो । उक्त सम्झौता प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्रअधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् । विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकले उपलब्ध गराएको क्युआर मार्फत बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । व्यवसायमा आवद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराईने कार्यक्रम रहेको बैंकले जनाएको छ । पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
हिमाल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच समझदारी भएको छ । बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत
मनिला । एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) लाई वित्तपोषण उपलब्ध हुनेछ । एडीबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ । छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ । एजेन्सी
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सरकारले ११ र १२ कक्षाको शिक्षालाई निःशुल्क गर्नुपर्छ : सांसदहरू
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले ११ र १२ कक्षाको शिक्षालाई निःशुल्क बनाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेत र नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मदरसा, गुम्बा, गुरुकुल शिक्षालयका लागि पनि शिक्षक दरबन्दी, पाठ्यक्रम लगायतको व्यवस्था गर्न सरकारलाई सचेत गराएका हुन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले प्रदेश र स्थानीय सरकारलाई पनि बजेटको व्यवस्था गर्न लगाएर संघीय सरकारले कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गर्नुपर्ने बताए । उनले शिक्षालाई निःशुल्क बनाउने कुरामा सरकार तयार हुनुपर्ने पनि बताए । सांसद बस्नेतले भने, ‘कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउने कुरामा सरकारले हुन्न भन्नसक्ने अवस्था नै रहँदैन । अर्थात यसमा संघीय सरकारले कति प्रतिशत बजेट हाल्ने, प्रदेश सरकारले कति प्रतिशत बजेट हाल्ने र स्थानीय सरकारले कति प्रतिशत बजेट हाल्ने ? या तीन वटै तहले हालेर भएपनि कक्षा ११ र १२ निःशुल्क गर्ने प्रक्रियामा हामीले स्ट्रङली लागौ । अब मन्त्रीज्युको पनि यो क्षेत्रमा काम गरेर आउनुभएको छ ।’ नेकपा एमालेका सांसद विश्वकर्माले मदरसा, गुम्बा, गुरुकुललगायतका शिक्षालयका लागि पनि सरकारले बरबन्दी, पाठयक्रम लगायतको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए । उनले एसईई परीक्षाको नतिजाबाट विद्यार्थीहरुले आत्माहत्या गर्नुपरेको घटना स्मरण गराउँदै सो समस्या समाधानमा गम्भिर हुन पनि सरकारलाई सचेत गराए । सांसद विश्वकर्माले भने, ‘यहाँ सरकारले ध्यान दिनुपर्ने कुरा के रह्यो भने मदरसा, गुम्बा, गुरुकुल जस्ता हाम्रा ती शिक्षालयहरु नै हुन् । आश्रित हुनबाट पनि जोगाउनु पर्छ भन्ने लाग्छ । नियमनको कुरा त्यतिबोल मात्रै हामीले गर्नसक्छौ, जतिबेला हामीले त्यसको अपनत्व लिन्छौं । हामीले केही गर्न नसक्ने अनि नियमनमात्रै गर्ने भनेर त भएन नि ।’ सांसद विश्वकर्माले एसईई परीक्षाको नजितामा सुधार ल्याउने गरी सरकारले शिक्षा प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
चन्द्रागिरि केबुलकारमा फसेका यात्रुको उद्धार
काठमाडौं । विद्युत आपूर्ति अवरुद्ध हुँदा चन्द्रागिरि केबुलकारमा फसेका यात्रुको उद्धार गरिएको छ । ८ वटा डिब्बामा फसकेका यात्रुको सशस्त्र प्रहरीले उद्धार गरेको हो । अहिले विद्युत आपूर्ति सुरु भएसँगै केबुलकार पनि सञ्चालनमा आएको छ । डेढ घण्टामा केबुलकार सञ्चालनमा आएको हो ।
यी ४ बैंकले पठाए कर्मचारीको खातामा बोनस, नबिलले दियो थप तीन महिनाको तलब
काठमाडौं । बैंकहरुले आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न सुरु गरेका छन् । आर्थिक वर्ष २०८०/८१ सकिएर नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुले कर्मचारीको खातामा बोनस रकम पठाउन सुरु गरेका हुन् । विगतका वर्षहरुमा अधिकांश बैंकले साउन १ गते नै कर्मचारीलाई बोनस रकम वितरण गर्ने अभ्यास भएपनि यस वर्ष भने सीमित बैंकले मात्रै साउन १ गते कर्मचारीको खातामा बोनस रकम पठाएका छन् । यस वर्ष नबिल, सानिमा, प्रभु र सिटिजन्स बैंकले मात्रै कर्मचारीको खातामा साउन १ गते नै बोनस रकम पठाएका छन् । सम्बन्धित बैंक स्रोतका अनुसार नबिलले तीन महिना, सानिमाले दुई दशमलब ७५ महिना, प्रभुले साढे १ महिना र सिटिजन्स बैंकले १ महिनाको तलब कर्मचारीको खातामा पठाएका छन् । हालसम्म नबिलले सबैभन्दा बढी बोनस वितरण गरेको छ । अन्य बैंकले पनि बोनस रकम वितरण गर्ने तयारी गरेको बुझिएको छ । बोनस ऐनको अनुसार बैंक तथा वित्तीय संस्थाले कुल नाफाको १० प्रतिशत रकम कर्मचारीलाई वितरण गर्नु पर्ने हुन्छ ।