देशको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको जानकारी दिए । ‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन’, उनले भने । उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ ।
जुसको बट्टामा लुकाइएको ४ करोडको कोकिनसहित ठमेलको होटलबाट २ विदेशी पक्राउ
काठमाडौं । जुसको बट्टामा लुकाएर ल्याइएको १ किलो १०० ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई बिहीबार लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको हो । अन्सारीलाई असार १ गते काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्यासुल लुकाइ छिपाइ गरी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनको साथबाट १ केजी १०० ग्राम बराबरको कोकिन बरामद गरिएको ब्युरोले जनाएकाे छ । अन्सारीले काठमाडौं-९ पिङगलास्थानस्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबोडोइफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीका अनुसार असार १ गते कतार एयरलाइन्सबाट नेपाल आएका ओबोडोइफुलाले कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर कोकिन ल्याएको पाइएको हो । बरामद कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे । उनले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताए । उनले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए । उनले मुख्य दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको जानकारी दिए । ‘हामी सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचिमा तीन पटक फोटो टाँसेको हुनाले चौथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्रीजी चौथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले के महशुस गरेका छौँ भने देश साँच्चै अफ्ठ्यारो स्थितिमा छ’, उनले भने । उनले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताए ।
नेपालकै इतिहासमा पहिलो पटक राष्ट्र बैंकमा अहिले विदेशी मुद्राको थुप्रो लागेको छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले अहिले नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राकाे थुप्राे लागेकाे बताएका छन् । बिहीबार काठमाडौंमा रास्वपाले आयोजना गरेको ‘नीति मन्थन’ (मौद्रिक नीतिबारे अन्तरक्रिया) कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालकै इतिहासमा यति धेरै विदेशी मुद्राको थुप्रो राष्ट्र बैंकमा लागेको सायद पहिलोपटक होला ।’ अर्थविद्समेत रहेका डा. वाग्लेले अर्थतन्त्रका वित्तीय र मौद्रिक गरी दुई पांग्रा हुने र त्यसैले वाह्य तथा आन्तरिक पाटाहरूलाई डोर्याउने तर्क गरे । यसै कारणले मौद्रिक नीतिमा सबैको ध्यान जाने उनले बताए ।
त्रिविमा भर्नादेखि नतिजा प्रकाशनसम्मका लागि शैक्षिक क्यामलेण्डर तय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक क्यालेन्डर तय गरेको छ । विश्वविद्यालयको पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउन क्यालेन्डर तय गरिएको हो । क्यालेन्डरअनुसार स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्नादेखि परीक्षाको नतिजा प्रकाशनसम्मको समय निर्धारण गरिएको छ । अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा कार्यक्रमलगायतका निकायमा शैक्षिक क्यालेन्डर लागु भए नभएको विषयमा नियमित अनुगमन गर्न एक समिति गठन गरिने भएको छ । स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमेस्टर प्रणाली अनुरूपको क्यालेन्डर निर्धारण गरेको हो । वार्षिक प्रणालीअनुसार पढाइ हुने स्नातक तह प्रथम वर्षका लागि २०८१ साल साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना सञ्चालन गरिने भनिएको छ । भदौको चौथो हप्तादेखि नै कक्षा सञ्चालन हुने जनाइएको छ । २०८२ जेठ पहिलो हप्तामा कक्षा सकाउने र २०८२ जेठ चौथो हप्तादेखि परीक्षा कार्यक्रम सञ्चालन हुने तय भएको छ । नतिजा २०८२ असोजको दोस्रो हप्तामा आउने छ । स्नातक तह पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म भर्ना आवेदन आह्वान गर्ने भनिएको छ । भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुने, असोजदेखि कात्तिकको बिचमा विद्यार्थी भर्ना गरिने, मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन र माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ। २ नतिजा प्रकाशन ०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको गरिनेछ । स्नातकोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फाराम खुल्ने, पुसमा प्रवेश परीक्षा तथा भर्ना हुने, माघ पहिलो सातादेखि कक्षा सञ्चालन हुने, चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुने भनिएको छ। २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ ।
बागलुङमा विकास खर्च बढ्यो
गलकोट । जिल्लामा संघीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा बागलुङको संघीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो । आव २०७९/८० संघीय कार्यालयअन्तर्गतको पुँजीगत खर्च ७१.९४ प्रतिशत रहेकामा गत आवमा पुँजीगत खर्च बढेर ७९.७६ प्रतिशत भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पुँजीगत बजेट आव २०७९/८० मा दुई अर्ब ३३ करोड ८३ लाख २६ हजार छ सय ५० रुपैयाँ विनियेजना भएकोमध्ये एक अर्ब ६८ करोड २० लाख ८० हजार एक सय ६४ रुपैयाँ खर्च भएको थियो । त्यस्तै गत आवमा विनियोजन भएको एक अर्ब ४३ करोड ६३ लाख ८९ हजार तीन सय ९५ रुपैयाँ मध्ये एक अर्ब १४ करोड ५६ लाख ७४ हजार दुई ७५ रुपैयाँ अर्थात ७९.७६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धर्मभक्त बस्यालले जानकारी दिए । अघिल्लो आवको तुलनामा गत आवमा बजेटको आकारमा कमी आएको भन्दै समग्र बजेटको तुलनामा खर्च बढेको बस्यालले जानकारी दिए । अघिल्लो वर्षको भुक्तानी तथा ठूला आयोजना गत आवमा सम्पन्न भएकाले पुँजीगत खर्च बढेको जनाउँदै पुँजीजगत खर्च बढ्नु भनेको विकास निर्माणले तीव्रता पाउनु भएको उनले बताए । संघीय कार्यालयको ३६, प्रदेश कार्यालयको एक र जिल्लाका १० स्थानीय सरकारलाई आएको संघीय अनुदानसहित ४७ कार्यालयको बजेट विनियोजनका आधारमा चालु तथा पुँजीगत खर्च ९३.१३ प्रतिशत रहेको बस्यालले जानकारी दिए । अघिल्लो आवको तुलनामा गत आवको चालु खर्चमासमेत कमी आउनु सकरात्मक भएको उनले उल्लेख गरे । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बस्यालले अनुसार चालु खर्च घटाउन सकेमा विकास खर्च बढ्ने बताउँदै अघिल्लो आवको तुलनामा गत आवमा २६ करोड ५३ लाख ३६ हजार दुई सय २३ रुपैयाँ रकम कम खर्च भएको जनाए । गत आवमा सवारीसाधन तथा तलब भत्तामा कम खर्च भएको आँकलन गरिएको छ । ‘विनियोजन बजेटलाई आधार मान्दा विकास बजेटको खर्च बढेको छ भने चालु खर्च घटेको छ, यो सकरात्मक पक्ष हो । चालु खर्च घट्दा विकास बढ्छ’, बस्यालले भने, ‘संघीय सरकारको मात्रै होइन प्रदेश सरकारअन्तर्गत बागलुङका कार्यालयको पुँजीगत खर्च अघिल्लो आवको तुलनामा ८.६ प्रतिशतले बढेको छ । निर्माण व्यवसायीले काम गरेपनि भुक्तानी नपाएको गुनासो छ, बहुवर्षी आयोजनामा धेरै भुक्तानी दिन सकेको भए अझै पुँजीगत खर्च बढ्ने थियो ।’ प्रदेश सरकारअन्तर्गतका कार्यालयले अघिल्लो वर्षमा ७३.८० खर्च गरेकामा गत आवमा पुँजीगत खर्च बढेर ८२.४ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारबाट अघिल्लो आवमा बागलुङका २० कार्यालयलाई प्राप्त दुई अर्ब ४१ करोढ नौ लाख ८५ हजार नौ सय ६५ रुपैयाँ मध्ये एक अर्ब ७७ करोड ९३ लाख ५९ हजार दुई सय ५७ खर्च रुपैयाँ भएको थियो । गत आवमा प्रदेश मातहतका कार्यालयलाई प्राप्त एक अर्ब ९७ करोड ६६ लाख २५ हजार रुपैयाँमध्ये एक अर्ब ६२ करोड ८८ लाख ८८ हजार ३०७ रुपैयाँ अर्थात् ८२.४० प्रतिश खर्च भएको कोष नियन्त्रक आचार्यले उल्लेख गरे । उनका अनुसार उक्त खर्च गत आर्थिक वर्षको प्रतिशतमा ८.६ ले वृद्धि भएको छ । प्रदेश मातहतको चालु र पुँजीगत जोड्दा ७९.३ प्रतिशत वित्तीय प्रगति भएको आचार्यले जानकारी दिए । जिल्लामा धेरै बजेट खर्च गर्ने कार्यालयमा सडक डिभिजन, खानेपानी तथा सरसफाइ, जलस्रोत तथा सिँचाइ डिभिजन र पूर्वाधार विकास कार्यालय रहेका छन् । रासस
होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
काठमाडौं । पर्यटन व्यवसायी तथा हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । निमोनिया र बाथरोगबाट पीडित श्रेष्ठको बिहीबार ललितपुरस्थित मेडिसिटी हस्पिटलमा ९२ वर्षको उमेरमा निधन भएको होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए । सन् १९७७ मा द्वारिकाज होटल सञ्चालन आएकाे थियाे । श्रेष्ठले सन् १९९१ मा श्रीमान द्वारिकादास श्रेष्ठको निधनपछि होटलको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन् । उनी टानको संस्थापक अध्यक्ष पनि हुन् । श्रेष्ठ गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन् ।
पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बंगला
चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बंगला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । चार दिनसम्म निःशुल्क प्रवेश गराइएकामा असार २७ गतेदेखि शुल्क लिएर प्रवेश दिइएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार असार २७ गतेयता एक सातामा दुई हजार ८६ जनाले दियालो बंगला अवलोकन गरेका छन् । प्रवेश शुल्कबापत एक लाख ९१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क एक सय रुपैयाँ, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै, छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि एक सय ५० रुपैयाँ, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि दुई सय रुपैयाँ र अन्य मुलुकका पर्यटकलाई तीन सय रुपैयाँ शुल्क तय गरिएको उपप्रमुख अधिकारीले बताए । यहाँ दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे । “भरतपुर–१ मा दियालो बंगला अवस्थित छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो”, उपप्रमुख अधिकारीले भने । महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताए । दरबार क्षेत्रमा बालबालिकाका लागि संरचना नबिग्रने गरी बालउद्यान बनाउने तयारी गरिएको उनले जानकारी दिए । जाडो समयमा राजपरिवारले यही दरबारमा आएर समय बिताउने गर्दथे । सिकार खेल्न आउँदा बस्ने ठाउँका रुपमा यसलाई लिने गरिन्छ । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालय सँगै जोडिएका छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । दियालो बंगलाले ऐतिहासिक महत्व बोकेकाले विद्यालय र क्याम्पसका विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन र अवलोकन गराउनुपर्ने महानगर प्रमुख दाहालले बताइन् । लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको उनले जनकारी दिइन् । बर्सात सकिएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको दाहालले बताइन् । थप पूर्वाधार निर्माणसँगै बालउद्यानसहितको व्यवस्थापनका लागि महानगरले योजना बनाइरहेको उनले जानकारी दिइन् । रासस