विकासन्युज

थुनछेक बहसका लागि तुलसा अधिकारीलाई पुनः भोलि अदालत लगिने

काठमाडौं । टिकटकर तथा व्यवसायी तुलसा अधिकारीलाई अदालतमा हाजिर गराइएको छ । सोमबार अदालतमा उपस्थित गराइए पनि थुनछेक बहस हुन सकेन । जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले आज ललितपुर जिल्ला अदालतमा पेश गरिने पनि थुनछेक बहस हुन नसकेको जानकारी दिए । ‘अदालत खुलेपछि आजै पेश गरिएको थियो अधिकारीलाई,’ उनले भने, ‘विविध कारणले बहस हुन सकेन ।’ भोलि पुनः अदालतमा पेश गरिने मिश्रको भनाइ छ । अदालतमा उनीविरुद्ध आपराधिक विश्वासघात, आपराधिक लाभ ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएको छ । शनिबार राति १ बजे अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । इन्टरपोलमार्फत उनलाई प्रहरीले थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । उनी केही समयदेखि चीनमा बसेर पत्थर तथा मुगाको व्यापार गर्दै आइरहेकी थिइन् ।

टोखामा ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

काठमाडौं । पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश गरिएको थियो । ती गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्‍याएको थियो । आयोजकका अनुसार ‘पल्सर आरपीएम टेकओभर’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो । एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न उक्त कार्यक्रमले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन

काठमाडौं । ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदका लागि १ सय १३ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले दरखास्त आह्वान गरेसँगै १ सय १३ जनाले आवेदन दिएका हुन् ।  ६ वटा प्रतिष्ठानमध्ये सबैभन्दा बढी आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ भने सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २६ जनाले आवेदन दिएका छन्।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४ जनाको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जनाको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जनाको, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ११ जनाको आवेदन परेको छ ।

झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोडको क्षति

काठमाडौं । झापा इनर्जी प्लान्टमा आगलागी भएको छ । सोमबार दिउँसो झापा शिवसताक्षी नगरपालिका ४ फुलचोक रहेको झापा इनर्जी प्लान्टमा आगलागी भएको हो ।  आगलागी हुँदा विभिन्न मेसिनहरू जलेर अन्दाजी ६ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी सुमन बानियाले जानकारी दिए । के कारणले आगलागी भएको त्यसबारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ । दुधेका स्थानीय वर्षीय ५० को लाल प्रसाद सावा रहेको उनले जानकारी दिए । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल साथै स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा आगो निभाइएको उनले बताए ।    

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकले सोमबार (आज)देखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ । नवनियुक्त सहप्रवक्ता एवं सूचना अधिकारी श्रेष्ठ विगत लामो समयदेखि केन्द्रीय बैंकमा सेवारत छिन् ।  उनी विसं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध भई विभिन्न विभागहरूमा कार्यअनुभव सँगालेकी दक्ष अधिकृत हुन् । केन्द्रीय बैंकले सर्वसाधारण र सञ्चारमाध्यमलाई बैंकका सूचना तथा गतिविधिहरू पारदर्शी र सहज रूपमा उपलब्ध गराउनका लागि उनको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ। 

एनआईसी एशिया बैंकको साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सोमबार काठमाडौंस्थित भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आवश्यक नियामक निकायको स्वीकृति पश्चात् बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ । अन्य विविध प्रस्तावहरू समेत पारित गरिएको बैंकले जनाएको छ । सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्वाचित भएका छन् ।

बजेटलाई लगानीकर्ताको इग्नोर, नेप्से २७ अंकले घट्दा साढे ५ अर्बको कारोबार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि खुलेको पहिलो कारोबार दिन सेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २ हजार ७५५.०५ विन्दुमा झरेको छ । बजेटमार्फत सेयर कारोबारबाट हुने पुँजीगत लाभकर बढाइएपछि त्यसको असर बजारमा परेको लगानीकर्ताहरू बताउँछन् । बजेटमा एक वर्षभन्दा कम अवधिको सेयर किनबेचबाट प्राप्त नाफामा लाग्ने कर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ । त्यस्तै, एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर नाफा कमाउने लगानीकर्ताले तिर्नुपर्ने कर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत कायम गरिएको छ । यद्यपि केही लगानीकर्ताहरूले भने बजार घट्नुको प्रमुख कारण कर वृद्धि मात्र नभएको बताउँछन् । ‘बजार घट्नुको कुनै ठोस कारण छैन । क्यापिटल गेन ट्याक्स बढे पनि त्यसले ठूलो असर पार्नुपर्ने अवस्था होइन । पुँजीगत लाभकरलाई अन्तिम कर मानिएको छ, जुन आफैंमा सकारात्मक विषय हो,’ एक लगानीकर्ताले भने ।  ‘कर सामान्य बढ्दैमा बजार घट्नु हुँदैन । सम्पत्ति शुद्धीकरण र सम्पत्ति छानबिनसम्बन्धी विषयले लगानीकर्ता केही सशंकित भएका हुन् । बजेटबाट तर्सिनुपर्ने अवस्था छैन,’ उनले भने ।  नेप्सेका अनुसार सोमबार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन ३४९ कम्पनीका १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ । उक्त कम्पनीको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ करोड, हिमालयन रिइन्स्योरेन्सको २५ करोड र रिडी पावर कम्पनीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। नन–लाइफ इन्स्योरेन्स उपसमूह १.३७ प्रतिशत र अन्य उपसमूह ३.३६ प्रतिशतले बढेका छन् ।

हिरासतमा पुगेर लागुपदार्थ दिन खोज्ने रिजाल पक्राउ

काठमाडौं । प्रहरी हिरासतमै रहेका एक थुनुवालाई लागुपदार्थ दिने एक व्यक्ति पक्राउ परेका छन् । शनिबार प्रहरी वृत्त बालाजुको प्रहरी हिरासत रहेका थुनुवालाई लुगा दिन पुगेका २२ वर्षीय कृतन रिजाल पक्राउ परेका हुन्। रिजालले दिएको जिन्सको पेन्टमा खैरो हेरोइन थियो ।  उनले दिएको लुगालाई चेकजाँच गर्दा जिन्स पाइन्टमा लुकाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन तीन सय मिलीग्राम फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । नुवाकोट, सूर्यगढी नगरपालिका ५ का रिजाल काठमाडौं, तारकेश्वर नगरपालिका- ८ शान्तिटोलमा बस्दै आएका थिए । उनलाई काठमाडौं जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।  अर्का थुनुवालाई भने लागुऔषधसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।