सदनमा भएको अमर्यादित व्यवहारबारे छानबिन गर्न समिति गठन
काठमाडौं । प्रतिनिधिसभामा आइतबार आज भएको अमर्यादित व्यवहार र भौतिक क्षतिको घटनाबारे छानबिन गर्न सभामुख डीपी अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन् । सोमबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अमर्यादित व्यवहार सिर्जना गर्दै भौतिक क्षतिसमेत पुर्याएको विषयमा जाँचबुझ गर्न समिति गठन गरिएको जानकारी दिए । संघीय संसद्का सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख गोपाल सिग्देल सदस्य रहेका छन्। सभामुख अर्यालका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम घटनाको थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। घटनासम्बन्धी मुचुल्का समेत तयार भइसकेको उनले जानकारी दिए। सभामुखले समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए। नियमावलीको व्यवस्था अनुसार कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक क्षति पुर्याएको प्रमाणित भएमा सभामुखले सम्बन्धित सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न तथा क्षतिपूर्ति भराउन आदेश दिन सक्नेछन्। यद्यपि, त्यस्तो कारबाही अघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेश गर्ने अवसर दिनुपर्ने कानुनी व्यवस्था रहेको छ। यसैबीच, सभामुख अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।
सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, कर्पोरेट बैंकिङ सेवा एकै प्लेटफर्मबाट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ । यससँगै बैंकका कर्पोरेट ग्राहकले अब विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । सहकार्यपछि ‘र्यापिड’ प्लेटफर्मलाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ । ‘र्यापिड’ एपीआईमा आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । यस सुविधा प्रयोगसँगै कर्पोरेट ग्राहकले अब आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्मबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न तथा आगामी दिनमा फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । सेवा प्रयोग गर्न ग्राहकले बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ र त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार ‘र्यापिड’ले ग्राहकको अनुमति (कन्सेन्ट) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले सेवा प्रयोगलाई अझ सहज र पारदर्शी बनाउनेछ । प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकोले डिजिटल कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । बैंकले एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
कपडा पसलमा ठूलो परिमाणमा सुन र भारु भेटियो
काठमाडौं । सुर्खेतमा ठूलो परिणाममा सुन र भारतीय रकम (भारु)सहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर ६ स्थित एक कपडा पसलमा लुकाइ राखेको अवस्थामा ठूलो मात्रामा सुन र रकमसहित एक व्यापारी पक्राउ परेका हुन् । प्रहरीले मुचुल्का उठाइरहेका थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले पक्राउ परेका व्यक्ति र सुनको विवरण तथा नगदको बारेमा केही समयमा जानकारी दिइनेछ ।
जेठ २२ देखि नेपालकै ठूलो विद्युतीय ‘प्रदर्शनी फिन इलेक्ट्रो-टेक २०२६’ आयोजना हुँदै
काठमाडौं । नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फिन इलेक्ट्रो–टेक २०२६ हुन लागेको हो। यस प्रदर्शनीले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास र औद्योगिक प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ । विसं १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रदर्शनीले विगत तीन दशकभन्दा बढी समयदेखि उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, सरकारी निकाय र उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई ज्ञान र प्रविधि आदान-प्रदान गर्ने प्रभावकारी मञ्चको रूपमा काम गर्दै आएको छ । नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बनेको छ । हालै नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा र विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । सरकारले अघि सारेका विद्युत उत्पादन वृद्धि, वितरण प्रणालीको विस्तार, विद्युतीय सवारीसाधनको प्रोत्साहन र ऊर्जा आत्मनिर्भरता जस्ता नीतिगत प्राथमिकताहरूलाई व्यवहारमा उतार्न आवश्यक प्रविधि र उपकरणहरूको प्रदर्शनका लागि यो मेला एक साझा मञ्च बन्ने महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालले जानकारी दिए । यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी र प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रीक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेण्डली, के नइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजि गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ । यस वर्षका सम्पूर्ण स्टलहरू पूर्वनिर्धारित समयमै बुकिङ भइसकेका छन् । प्रदर्शनीमा विद्युतीय उपकरण, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, तार तथा केबल, स्मार्ट होम सोलुसन्स, औद्योगिक स्वचालन, एलईडी, सौर्य ऊर्जा, ईमोबिलिटी तथा चार्जिङ पूर्वाधार र अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शनमा राखिने जनाइएको छ । प्रदर्शनी अवधिभर विभिन्न व्यावसायिक भेटघाट, अन्तरक्रिया कार्यक्रम, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरूसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार यसबाट उद्योगी, इन्जिनियर, आर्किटेक्ट र अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् । देश तथा विदेशका उद्योगी, प्राविधिक र सर्वसाधारण गरी करिब २५ हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको यस प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ । तर, अवलोकनकर्ताहरूले अनिवार्य रूपमा क्यूआर कोड वा तोकिएको लिंकमार्फत आफ्नो नाम रजिष्ट्रेशन गर्नुपर्ने आयाेजकले जनाएको छ ।
आमाबाबुलाई बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह
काठमाडौं । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गर्दै बालबालिकासँग समय बिताउँदा फोन प्रयोग सीमित गर्न आग्रह गरेको छ । नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो । स्विडेनको जनस्वास्थ्य एजेन्सीले सोमबार जारी गरेको नयाँ मार्गनिर्देशन स्क्रिन प्रयोगसम्बन्धी पछिल्ला अनुसन्धानमा आधारित रहेको जनाएको छ । एजेन्सीले सन् २०२४ देखि नै आमाबाबुलाई बालबालिकाको वरिपरि स्मार्टफोन प्रयोगबारे सचेत हुन सुझाव दिँदै आएको भए पनि यसपटक थप स्पष्ट र व्यवहारिक सल्लाह अघि सारेको छ । स्वास्थ्य प्राधिकरणले जारी गरेको वक्तव्यमा भनिएको छ, 'जब तपाईं आफ्नो बच्चासँग हुनुहुन्छ, आफ्नो फोन टाढा राख्नुहोस् । आवश्यक परेमा मात्र प्रयोग गर्नुहोस् वा बच्चासँगै प्रयोग गरिरहनुभएको अवस्थामा मात्र प्रयोग गर्नुहोस् ।' एजेन्सीले आमाबाबुलाई आफ्नै जीवनमा पनि ‘स्वस्थ स्क्रिन बानी’ विकास गर्न आग्रह गरेको छ । यसको कारण के हो भने बालबालिकाले वयस्कहरूको व्यवहारबाट प्रत्यक्ष प्रभाव ग्रहण गर्ने भएकाले आमाबाबुको डिजिटल बानीले उनीहरूको आचरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य एजेन्सीका अनुसार अध्ययनहरूले आमाबाबुको अत्यधिक स्क्रिन प्रयोगले बालबालिकासँग हुने प्रत्यक्ष संवाद र भावनात्मक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने देखाएका छन् । त्यस्तै, धेरै समय मोबाइल वा अन्य स्क्रिनमा बिताउने आमाबाबुका बच्चाहरूमा पनि त्यस्तै बानी विकास हुने सम्भावना उच्च रहने उल्लेख गरिएको छ । नयाँ सिफारिसमा घरभित्र ‘स्क्रिन–मुक्त क्षेत्र’ बनाउने अभ्यासलाई पनि प्राथमिकता दिइएको छ । एजेन्सीले शयनकक्ष, खाना खाने टेबल वा परिवार सँगै समय बिताउने स्थानहरूमा मोबाइल तथा अन्य स्क्रिन उपकरणको प्रयोग नगर्न सुझाव दिएको छ । एजेन्सीमा कार्यरत मनोचिकित्सक हेलेना फ्रिलिङ्स्डोर्फले बालबालिकाले केवल वयस्कका शब्द मात्र नभई, उनीहरूको व्यवहार पनि नजिकबाट सिक्ने बताए । उनले विज्ञप्तिमा भनेका छन्, 'बालबालिकाहरू वयस्कहरूले के भन्छन् भन्ने कुराले मात्र प्रभावित हुँदैनन्, उनीहरूले वयस्कहरूले के गर्छन् भन्ने कुरा पनि हेर्छन् । त्यसैले दैनिक जीवनका साना परिवर्तनहरूले तत्कालको पारिवारिक अन्तरक्रिया र दीर्घकालमा बच्चाको आफ्नै बानी दुवैमा प्रभाव पार्न सक्छन् ।' हालका वर्षहरूमा स्विडेनले बालबालिकाको अत्यधिक स्क्रिन समय घटाउन विभिन्न नीति र कदम अघि बढाउँदै आएको छ । त्यसैको निरन्तरतामा जनवरीमा सरकारले कक्षा ९ सम्मका विद्यार्थीका लागि विद्यालयभित्र स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो । यो नियम लागू भएमा करिब १५–१६ वर्ष उमेरसम्मका बालबालिकाहरू विद्यालयमा स्मार्टफोन प्रयोग गर्न पाउने छैनन् । स्विडेनको पछिल्लो सिफारिसलाई केवल फोन प्रयोग घटाउने प्रयासका रूपमा मात्र नभई परिवारभित्र प्रत्यक्ष संवाद, सहभागिता र स्वस्थ डिजिटल संस्कार प्रवर्द्धन गर्ने अभियानका रूपमा पनि हेरिएको छ । रासस
माननीय हुँ भन्दै ट्राफिक प्रहरी धम्क्याउने तामाङ पक्राउ
काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ को माननीयको हुँ भन्दै ट्राफिक प्रहरीलाई धम्क्याउने एक जना पक्राउ परेका छन् । बिहीबार सिन्धुली कमलामाई ७ का ३६ वर्षीय लोकबहादुर तामाङ पक्राउ परेका हुन् । उनले आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य माननीय धनेन्द्र कार्की हुँ भन्दै झुटो परिचय दिने गरेका थिए । तामाङले ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिहरूलाई फोनमार्फत दबाब दिने काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने गरेका थिए । अभद्र व्यवहारसमेत गरेको भन्ने बेहोराको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्वल कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई कृषि विकास बैंकको स्मार्टबोर्ड
काठमाडौं । कृषि विकास बैंकले काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामग्री डिजिटल स्मार्टबोर्ड सहयोग गरेको छ । सोमबार (आज) एक कार्यक्रमको आयाेजना गरी बैंकले उक्त सामग्री सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग प्रदान गरिएको बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले बताए । सो कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक राघवप्रसाद दवाडीले बैंकको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेकोमा कृतज्ञतासहित हार्दिक आभार प्रकट गरे । कार्यक्रममा बैंकको तर्फबाट विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, अभिभावक संघका अध्यक्ष जनकबहादुर अधिकारीलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक किरण धितालले गरेका थिए ।
रणवीर र रश्मिकासँग कजारियाको ‘घरमा कजारिया’ अभियान सार्वजनिक
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले नयाँ ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार देशव्यापी रूपमा सञ्चालन हुने उक्त अभियान जेठ ११ देखि सुरु हुनेछ । चर्चित ब्रान्ड एम्बेसेडर रणवीर सिंह र रश्मिका मन्दानालाई समेटिएको अभियानले आफ्नै घर हुनुको गर्विलो अनुभूति र त्यसमा प्रयोग गरिएका कजारिया टायल्सले दिने आकर्षणलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ । अभियानमार्फत विश्वस्तरीय टायल्सको प्रयोगले सामान्य घरलाई समेत स्टाइलिस र आकर्षक बनाउने तथा पाहुनाहरूको ध्यान खिच्ने सन्देश दिइएको छ । प्रिमियम इन्टेरियर रोजाइमार्फत समाजमा प्राप्त हुने पहिचान र प्रशंसालाई अभियानको मुख्य अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । रणवीर सिंहको ऊर्जाशील व्यक्तित्व र रश्मिका मन्दानाको आकर्षक शालीनताको संयोजनमार्फत कजारियाका डिजाइनहरूले नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता प्रदान गर्ने सन्देश दिइएको कम्पनीले जनाएको छ । अभियान सार्वजनिक कार्यक्रममा कम्पनीका प्रवक्ताले ‘घर व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हुने’ उल्लेख गर्दै नयाँ अभियानले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा गर्ने क्षणलाई समेटेको बताए । साथै, अन्तर्राष्ट्रिय स्तरको विलासिता नेपाली घरसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याइएको छ ।