युरो र पाउण्डको मूल्य घट्यो, डलर र खाडी मुलुकको मुद्रा स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (साउन १५ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.५३ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ तोकिएको छ । हिजो सोमबार युरोपियन युरो एकको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६२ रुपैयाँ र बिक्रीदर ९७.०५ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ तोकिएको छ ।
सुरु भयो लाभांश सिजन, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सकिएपछि लाभांश सिजन सुरु भएको छ । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि अब कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने चासोको विषय बन्न थालेको छ। यही बीचमा आर्थिक वर्ष सकिएको १५ दिनमै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई प्रतिफल बाँड्न थालिसकेका छन् । लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखा परिक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २१ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।
आज खिर खाएर साउन १५ मनाइँदै
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १ सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
काठमाडौं । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ रुपैयाँ पुगेको छ । सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ९८ लाख ९७ हजार ७४८ रुपैयाँ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम ८ करोड ३४ लाख ५९ हजार ६७० रुपैयाँ रकम बक्यौता कायमै छ । कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । ‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोड रुपैयाँभन्दा बढी छ, निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि ४ करोड रुपैयाँ हाराहारीमा छ,’ उनले भने । कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता १ करोड ८४ लाख ७८ हजार ९७० रुपैयाँ छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता १ करोड रुपैयाँभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार ४१७ रुपैयाँ छ । जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार ४४७ रुपैयाँ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए । ‘खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर, अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ,’ उनले भने । कार्यालयका अनुसार आव २०८०/८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार १३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।
ब्रिफिङ लिएको एक दिनमै प्रधानमन्त्रीले गरे २१ सचिवको सरुवा, अर्थसचिव बने घिमिरे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग छलफल गरेको एक दिनमै सरुवा गरेका छन् । उनले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् । हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् । यस्तै, भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव अर्जुन प्रसाद पोखरेल बनेका छन् । उनी हाल राष्ट्रिय तथ्यांक कार्यालयमा थिए । हाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्यांक कार्यालय पुगेका छन् ।
प्रधानमन्त्री ओली भन्छन् : देशमा बढी बाघ पाल्नु हुँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संख्या वृद्धि गर्ने क्रममा सधैं दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बाघ दिवस २०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बालबालिकासंग बाघ संवाद गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारी रोकेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए । ‘देशको क्षमताभन्दा बढी बाघको संख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी बाघको संख्यामात्रै वृद्धि गर्दा मानवीय बिनास निम्त्याउन सक्छ, यस्तो अवस्था आउन दिनु हुँदैन, उनले भने, ‘प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु रहेका छन्, उनीहरुका लागि सहज बासस्थान चाहिन्छ, उनीसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन, मानिसले सचेत भएर जंगली जनावरसंगको द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।’ कार्यक्रममा विभिन्न पाँच विद्यालयका बालबालिकाहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रकृति सबैको साझा भएको र मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए । उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएको बताउँदै वैकल्पिक र उपयुुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा राखे । वि.सं. २०७३ सालमा आफै प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापना गरि वर्गीकरणका आधारमा वन्यजन्तुहरुलाई संरक्षण गर्न पहल गरिने जानकारी उनले गराए । तपाईंलाई प्रकृतिसंग प्रेम गर्न के कुराले प्रेरित गर्याे भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैसी चराउन जंगलमा जाँदा प्रकृतिसँग रमाउन थालें, त्यसैबेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोला, नाला, जीवजन्तु, चराचुरुङ्गी सवैसंग प्रेम हुन थाल्यो ।’
साउनभित्र पाकेको ब्याज आम्दानीलाई गत वर्षकै ब्यालेन्ससिटमा देखाउन पाउने, यस्तो छ नयाँ व्यवस्था
काठमाडाैं । बैंकहरुले साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित नाफामा खर्च गरी नियमन कारी निकायमा जम्मा गनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका लागि मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८०/८१ मा प्रोदभावी आधारमा लेखांकन गरिएको व्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको व्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ,’ परिपत्रमा उल्लेख छ । यस्तै, हालसम्म एनएफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको व्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसावमा आम्दानी जनाउन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
कर्णालीबाट सवा ४ अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात
कर्णाली । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट ४ अर्ब ११ करोड रुपैयाँको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्यांक सार्वजनिक गरिएको हो । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) २ अर्ब २६ करोड ६७ लाख ११ हजार रुपैयाँको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए । त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) १ अर्ब ८४ करोड ९० लाख ७० हजार रुपैयाँको निर्यात गरिएको उनले बताए । कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्यांकअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ संकलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए । यसैगरी गत आवमा ६ बैंक तथा ८ सहकारीबाट ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले ३ करोड ४० लाख २३ हजार रुपयाँ ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका ९ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए । कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए । कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधार, शीतभण्डार, संकलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उनले बताए ।