विकासन्युज

सौर्य एयरलाइन्सका क्याप्टेन शाक्य डिस्चार्ज हुँदै

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिषरत्न शाक्य डिस्चार्जको तयारीमा रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले जनाएको छ । अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । अस्पतालकी डाइरेक्टर डा मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको जानकारी दिइन् । ‘उपचार त उहाँको जारी रहन्छ, तर अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन, घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ,’ उनले भनिन् ।

खल्तीबाट अर्को खल्ती अकाउन्टमा १०० रुपैयाँमाथि पैसा पठाउँदा सेवाशुल्क लाग्ने

काठमाडौं । डिजिटल वालेट खल्तीले दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँमाथिका कारोबार गर्दा शुल्क लिने भएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी यस्तो व्यवस्था सुरु गरिएको जानकारी दिएको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआरमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’लाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क परिवर्तन गरेको कम्पनीले उल्लेख गरेको छ । ‘यही मिति २०८१ साउन १७ बाट लागु हुने गरी एक खल्ती प्रयोगकर्ताले अर्को खल्ती प्रयोगकर्तालाई गर्ने १०० रुपैयाँसम्मको फन्ड ट्रान्सफर सेवा निःशुल्क रहने, साथै एक दिनमा अधिकतम तीन पटक र महिनाको ३० पटकसम्म गरिने फन्ड ट्रान्सफर सेवा पनि निःशुल्क रहने जानकारी गराउन चाहन्छौं,’ कम्पनीले जारी गरेको सूचनामा छ । यसअन्तर्गत १०० रुपैयाँसम्मका सबै कारोबार निःशुल्क हुनेछन् । एक दिनमा १०० रुपैयाँ बढीका तीन ओटा कारोबारमा कुनै शुल्क लाग्ने छैन । तर, त्यसभन्दा माथिका कारोबारमा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

डिआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् । बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन् । उनले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए । केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए । सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरे । ‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ’, उनले भने । गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिवद्ध छ रहेको बताए । सदाचार नीति अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तःशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार, ब्याज ६ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ ३ करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ १ करोड ९२ लाख ८४ हजार र अन्य २ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । आव २०८०/८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८.०२ प्रतिशत राजस्व संकलन भएको उनले बताए । आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनको भनाइ छ । आव २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा अन्तःशुल्कतर्फ मात्र ३६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो । खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए । ‘जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तःशुल्कको रहेको छ, यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन,’ उनले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रूपमा यो सकारात्मक परिणाम हो ।’

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा अवुरुद्ध हुने भएको छ । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले सेवा अवरुद्ध हुने भएको हो । टेलिकमका अनुसरा बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले आज (साउन १७ गते) राति ११ बजेदेखि ४ घण्टासम्म सेवा अवरुद्ध हुनेछ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेइरी सेवाहरू प्रभावित हुने टेलिकमले जनाएको छ । ११ बजे अगाडि नै ब्यालेन्स रिचार्ज र प्याकेज खरिद गर्न कम्पनीले आग्रह गरेको छ । तर, उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस र पीएसटीएन तथा एफटीटीएच, भ्वाइस, डाटा, आईपीटीभी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । रिचार्ज तथा प्याकेज सब्स्क्रिप्सन वा अन्य सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर चार लाख १८ हजार रुपैयाँ झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो । विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनानारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिए । प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए । बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ । मल्लिकले प्रधानाध्यापक र लेखापाल दुबैको कीर्ते हस्ताक्षर गरेको पाइएको छ । मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनाधिकृत रुपमा चेक काट्ने गरेका थिए ।

सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले यस्तो आशंका गरेका हुन् । उनले स्थानीय सरकारको गठनपश्चात सहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीयस्थल लगायतका सार्वजनिक स्थलहरूमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सीसीटिभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए । काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरूमा जडान भएका सडक बत्तीहरूको बिलसमेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरूको महसुलको विषय केन्द्रिय सरकार र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताए । उनले आव २०८०/८१ सम्मको बिल भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थ मन्त्री वर्षमान पुनवाट प्रतिबद्धता व्यक्त भएको अवगत गराउँदै आव २०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्वन गरिएको मोडल (स्थानीय तहबाट ६०) र (नेपाल विद्युत प्राधिकरणबाट ४०) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महसुल भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरूमा झैं विद्युत काटिदिन सक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए । उनले विद्युत काटिएको खण्डमा आन्दोलन सुरु हुने समेत बताए । ‘आर्थिक वर्ष २०८०र२०८१ सम्मको बिजुली बत्तीको तिर्नुपर्ने पैसा कहिलेदेखि सुरु भयो भन्ने थाहा नै छैन, यति पैसा ललितपुर महानगरपालिकाले तिर, यति पैस चन्द्रागिरीले तिर भनेको छ, त्यति त तिर्न पनि सक्दैनौँ हामी, तिरेकै खण्डमा पनि भोलि त्यो बेरुजु निस्किन्छ,’उनले भने, ‘कहिले देखिको बिजुलीको बत्तीको शुल्क तिर्ने भन्ने कुराको डिफाइन गरिएको छैन, त्यो कुरालाई लिएर गएको आर्थिक वर्ष २०८०/०८१ सम्मको हामीले सबैलाई तिर्न नपर्ने गरिदिने र त्यसपछि हामी पैसा तिर्छौं, तर तिर्ने फर्म्याट के त ६० प्रतिशत हामी तिर्छौं, ४० प्रतिशत सरकारले तिर्नुपर्छ, पछिल्लो कालखण्डमा गएर केही बत्तीहरू काटेको सुन्नमा आयो, त्यसपछि प्रधानमन्त्रीज्युलाई आग्रह गरेका थियौँ, यसलाई टुंग्याइदिनुपर्छ, सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटे जस्तै हामीतिर पनि काट्यो भने लडाइँ हुन्छ, यो त राम्रो हुँदैन ।’ मेयर महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको बताए ।

भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको सयुक्त आयोजनामा यही भदौ २१, २२ र २३ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै लैजाने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुनेछ । विद्युतीय उपकरणहरुलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनिका विधुतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने समस्थ व्यक्तिहरुले लाभ उठाउन सकिने आयोजकको दाबी छ । नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ विधुतीय सामानहरु खरिद गर्ने चलन रहेको तथा नेपालीहरुको महान पर्व दशैंको केहि हप्ता अगाडि आयोजना हुने यस प्रदर्शनीले ग्राहकहरुलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएको छ ।