लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका महिला
राँझा । सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । ‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा छोरीलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ’, महिला समूहमा आवद्ध रहेकी सुनिता विकले भनिन्, ‘मैले पसल सञ्चालन गरेर घरखर्च धानेँ, श्रीमान्ले कतारमा कमाएको पैसा बचाउन सक्यौँ ।’ बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले गाउँमै सञ्चालन गरेको नास्ता पसलबाट मनग्य आम्दानी गर्दै आएकी छन् । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्मको नास्ता बिक्री हुने गरेको छ । सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका धेरै दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा सबल बन्न थालेका छन् । थोरै पैसाका लागि विगतमा श्रीमान्को भर पर्दै आएका महिला अहिले कुखुरापालन, तरकारीखेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा क्रमशः सबल बन्दै गएका छन् । समूहमा आबद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका–३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले सहयोग गर्नसके महिला हिंसा घटाउन मद्दत पुग्ने उनको बुझाई छ । विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने विपन्न वर्गका दलित महिला पछिल्लो समय गाउँगाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–१ स्थित हातेमालो कृषक समूहकी अध्यक्ष बिन्दु विकले बताइन् । ‘दलित महिलाहरुलाई आम्दानीको स्रोतको सृजना गरी विभिन्न पेसा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानी गर्ने गरिएको छ’, उनले भनिन्, ‘समूहमा बचत गरेर १० लाख रुपैयाँजम्मा गरेका छौँ, समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।’ समूह गठनपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । हातेमालो समूहअन्तर्गतका २५ जना दिदीबहिनीले गाउँमा सामूहिक धान रोपाइँ गरेर तीन लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । गत वर्ष १७ जनाको समूह बनाएर सामूहिक रोपाइँको सुरु गरेका थियौँ, त्यसबाट एक लाख पाँच हजार रुपैयाँ आम्दानी भएकामा यस वर्ष २५ जनाको समूहबाट धान रोपाइँ गर्दा एक लाख ८५ हजार रुपैयाँ आम्दानी भएको हातेमालो कृषक समूहकी सचिव अञ्जली सुनारले बताइन् । बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कृषि पेसामा होमिएकी छन् । अहिले उनको फार्ममा बाख्रा, लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेका छन् । दलित महिला संघको सहजीकरणमा गाउँगाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिक रूपमा सक्षम भएका छन् । दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउन खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ जना सदस्य रहेका ५४ महिला समूह सक्रिय रहेका दलित महिला संघकी अध्यक्ष निर्मला सुनारले बताइन् ।
साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा लगानी बढाउने
काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा आफ्नो लगानी बढाउने र इजिप्टमा रहेको आफ्नो निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने योजना बनाएको छ । साउदी अरबका लगानी मन्त्री खालिद अल–फलेहले यसबारेमा जानकारी दिएका हुन् । कायरो भ्रमणमा रहेका साउदी प्रतिनिधिमण्डलको नेतृत्व गरेका अल–फलेहले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । उनीहरूले इजिप्टमा लगानीका अवसरहरू र दुई देशबीचको संयुक्त लगानी बढाउने उपायहरूबारे छलफल गरे । साउदी मन्त्रीले इजिप्टमा साउदी अरबलाई सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा वर्णन गर्दै इजिप्टमा साउदीको लगानी दोगुणा गर्न इजिप्टका अधिकारीहरूसँग काम गर्ने बताए।
साढे ३ करोडमा बन्यो सुनकोशीमा झोलुंगे पुल
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुंगे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त तीन करोड ५० लाख रुपैयाँ लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुंगाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।
मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा
जनकपुरधाम । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ । पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको एक अर्ब ५४ करोड रुपैयाँ तथा भारत सरकारको ६० करोड रुपैयाँ लगानी छ ।
ईपीएस ०.२४ रुपैयाँ, सेयर मूल्य २१५४ रुपैयाँ
काठमाडौं । अहिले बजार बुलिस ट्रेण्ड अर्थात् उकालो यात्रामा छ । दिनप्रतिदिन सेयर बजार बढ्दा कारोबार रकम २२ अर्ब छुनै लागेको छ । बजार बढ्दा लगानीकर्ता हौसिएका छन् । अब सेयर बजारले नयाँ रेकर्ड कायम गर्न सक्ने र मनग्य कमाउने लोभमा सर्वसाधारण तथा बजारलाई राम्रोसँग ‘नुबझेका’ सेयर लगानीकर्ता पनि सेयर बजारतर्फ आकर्षित भइरहेकाे संकेत देखिन्छ । बजार बढ्दा सेयर बजारमा प्रवेश गर्नुलाई त्यति राम्रो मानिँदैन । यतिबेला ठूला लगानीकर्ता तथा बजारमा अभ्यस्त भइसकेकाहरुले खेलेर साना अर्थात् आधारभूत र प्राविधिक ज्ञान नभएका लगानीकर्तालाई डुबाएर फिर्ता पठाउने प्रतिस्पर्धा चल्छ । यो प्रतिस्पर्धा र खेल भने कमजोर कम्पनीबाट सुरु हुन्छ । कमजोर कम्पनीको सेयर कारोबार बढाएको देखाएर मूल्य ह्वात्तै बढाउनेर कमाएर ठूला लगानीकर्ता बाहिरिने र साना लगानीकर्ता त्यसमै झुम्मिने खेलले अन्ततः साना लगानीकर्ताकाे हार हुन्छ । त्यस्तै, खेल अहिले सेयर बजारका विभिन्न कम्पनीहरूमा देखिएको छ । जसको वित्तीय अवस्था खराब छ, वित्तीय प्रतिवेदन नकारात्मक छ, लामो समयदेखि सेयरधनीलाई लाभांश दिएको छैन, साधारणसभा समेत गर्न सकेको छैन । प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण वित्तीय सूचकहरु नकारात्मक छन्, त्यस्तो कम्पनीको सेयर मूल्य यतिखेर अप्रत्यासित रुपमा बढ्ने गर्छ । यस्तै, खेल एउटा वित्त कम्पनीमा पनि देखिएको छ । बिहीबार नेपाल फाइनान्सको सेयर मूल्य अप्रत्यासित रुपमा बढ्यो । पछिल्लो केही दिनयता यस कम्पनीको सेयर मूल्यमा एकाएक उछाल आइरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा यस कम्पनीको सेयर मूल्य १ हजार ६ सय २ रुपैयाँ अर्थात् २९० प्रतिशतले बढेको छ । तीन महिनाअघि यस कम्पनीको सेयर मूल्य ५५२ रुपैयाँ थियो । यस कम्पनीको मूल्य बिहिबार २ हजार १५४ रुपैयाँ पुगेको छ । बिहिबार कम्पनीको सेयर ९.९६ प्रतिशतले बढेर २१५४ रुपैयाँ कायम भएको हो । बुधबार १ हजार ९५८ रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको थियो । बिहिबार सेयर बजार ५ अंकले घटेर २७५५.६२ बिन्दुमा कायम भएको भएको छ । यद्यपि यस कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लेभलमा बढेको छ । यसरी हेर्दा यस कम्पनीको सेयर मूल्य उल्लेख्य रूपमा बढेको देखिन्छ । तर, यस कम्पनीको वित्तीय विवरण भने कमजोर छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी ०.२४ रुपैयाँ मात्रै छ । ०.२४ रुपैयाँ मात्रै प्रतिसेयर आम्दानी रहेको सेयरको मूल्य २ हजार रुपैयाँ बढी हुनु अस्वाभाविक नै हो । कम्पनीले तेस्रो त्रैमाससम्म जम्मा १३ लाख १८ हजार खुद नाफा गरेको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ भने कम्पनीको निष्क्रिय कर्जा ९.२४ प्रतिशत रहेको छ । यति भेरै खराब कर्जा भएको यस कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँभन्दा पनि कम देखिनुलाई राम्रो मानिँदैन । अर्थात् त्यस्ता कम्पनी लगानीकर्ताको रोजाइमा पर्दैनन् । प्रतिसेयर आम्दानी बढ्दा सेयर मूल्य बढ्छ । तर, प्रतिसेयर घट्दा सेयर मूल्य पनि कम हुन्छ । सेयर बजारमा कम्पनीको नाफा भन्दा पनि प्रतिसेयर आम्दानीलाई नै बढी हेर्ने गरिन्छ । प्रतिसेयर नाफा बढ्दो भएका कम्पनी राम्रो मानिन्छ । सेयर बजारमा लगानीकर्ताले पनि जुन कम्पनीको प्रतिसेयर बढी छ, सोही कम्पनीको सेयर खरिद गर्न रुचाउँछन् । तर, पछिल्लो समय नेपाल फाइनान्स जस्तै कम्पनीको सेयरमा किनबेच बढी देखिन्छ । यो एउटा डुब्ने र डुबाउने खेल भएको सेयर बजारका जानकारहरु बताउँछन् । तीन दशक पुरा गरिसकेको नेपाल फाइनान्सले हालसम्म लाभांश दिन सकेको छैन । आर्थिक वर्ष २०६७÷६८ मा मात्रै यस कम्पनीले सेयरधनीलाई लाभांश् दिएको रेकर्ड छ । सो आर्थिक वर्षमा कम्पनीले २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगदसहित २३.१६ प्रतिशत लाभंश दिएको थियो । त्यसयता कम्पनीले लाभांश दिन सकेको छैन । वित्तीय अवस्था कमजोर रहेको यस कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढ्नुको पछाडिको कारण कम्पनीसाग पनि छैन । सेयरमूल्य बढ्नुको पछाडिको कारण आफूलाई थाहा नभएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया बताउँछन् । ‘हाम्रो कम्पनीको सेयरमूल्य बढिरहेको हामीलाई पनि थाहा छ । हामीले सर्किट लेभलमै बढ्ने गरी हामीले कुनै नयाँ काम गर्ने निर्णय पनि गरेका छैनौं, मूल्यमा प्रभाव पार्ने काम पनि गरेका छैनौं,’सीईओ थपलियाले भने । उनले पनि कम्पनीले तत्काल लाभांश वितरण गर्न सक्ने स्थिति नरहेको बताए । ‘विगतमा कम्पनी नोक्सानमा जाँदा लाभांश पनि दिन सकेनौं, अहिले पनि दिन सक्ने अवस्था छैन,’ उनले भने । यस कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको जगेडा कोषमा ४२ करोड ३९ लाख ९५ हजार १२१ रुपैयाँ छ । छोटो अवधिमा सबैभन्दा द्रुत गतिमा मूल्य उचालिनुमा यसको न्यून पूँजी रहेको हुनसक्ने बजार विश्लेषकहरू बताउँछन् । विश्लेषकका अनुसार बजारमा सूचीकृत सेयर संख्या न्यून भएकाले सीमित व्यक्ति तथा समूहले यस कम्पनीको मूल्यलाई सजिलै नियन्त्रण गर्न सक्छ । लोक्यापका कम्पनीहरू ठूला कारोबारीले खरिद बढाउनेबित्तीकै कम्पनीमा आपूर्तिले थेग्न सक्दैन, जसले गर्दा मूल्य उचालिने गरेको लगानीकर्ताको बुझाइ छ । बजार विश्लेषक मुक्ति अर्याल नयाँ सत्ता समिकरणका साथै मौद्रिक नीतिको प्रभावका कारण केही दिनयता निरन्तर बढिरहेको सेयर बजारमा वित्तीय अवस्था कमजोर भएका कम्पनीहरूको समेत सेयर मूल्य अस्वाभाविक रूपमा बढिरहेको हो । ‘यसरी वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरूको समेत सेयर मूल्य अस्वाभाविक रूपमा बढ्नुले लगानीकर्तामा वित्तीय ज्ञानको कमि रहेको हुनसक्ने बुझिन्छ,’ उनी भन्छन्, ‘यसरी मूल्य बढ्नुमा लगानीकर्ताको सेन्टिमेन्ट, बजारको माग र आपुर्ति जस्ता धेरै पक्षहरूले पनि प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।’ लगानीकर्ताले वित्तीय विवरण अध्ययन नगरी खरिद बिक्री गर्नाले पनि यस्तो अवस्था सिर्जना भएको हुनसक्ने उनी बताउँछन् । ‘आफूले वित्तीय विवरण अध्ययन गर्ने भन्दा पनि हल्लाको भरमा लाग्ने गर्नुहुन्छ,’ उनी भन्छन्, ’तर त्यस्तो गल्ति गर्नु हुँदैन ।’ हल्लाको भरमा नभई वित्तीय विवरण अध्ययन गरेर मात्रै कारोबार गर्न उनी सुझाव दिन्छन् ।
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब
कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी १५ अर्ब रुपैयाँ रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ रुपैयाँ हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ रुपैयाँ छ । ११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० रुपैयाँ ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको उनले बताए । रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाए। कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उनले जनाए ।
यी ५ बैंकमा राष्ट्रिय बीमा कम्पनीको करोडौंको सेयर
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न ५ वटा वाणिज्य बैंकमा करोडौंको सेयर लगानी गरेको छ । कम्पनीले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनीमा सेयर लगानी रहेको हो । यी ५ वटा संस्थामा कम्पनीको ४ करोड ८० लाख १४ हजार १७८ कित्ता सेयर लगानी रहेको छ । जसमध्ये नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता सेयर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, ग्लोबल आईएमई बैंकमा ५ लाख ६१ हजार ०८६ कित्ता, नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा ३५ लाख ४८ हजार ७७३ कित्ता सेयर लगानी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल आयल निगम, हिमालयन बैंक, नेपाल ल्युव आयल लगायतका संस्थामा समेत लगानी छ । २०८१ असारसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ८१ करोड रुपैयाँको लगानी रहेको कम्पनीको तथ्याङ्क छ । सरकारको प्राथमिकतामा रहेका तथा नेपाल बीमा प्राधिकरणद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा लगानी गरेको कम्पनीले जनाएको छ । साथै विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको कम्पनीको भनाइ छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (तत्कालीन राष्ट्रिय बीमा संस्थान) को संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनी जग्गा तथा भवनको अतिरिक्त कम्पनीको वीरगञ्जमा ६ कठ्ठा जग्गा, धनगढीमा ६ कठ्ठा जग्गा रहेको छ भने भैरहवामा ४ कठ्ठा १० धुर जग्गा र सोमा आफ्नो भवन समेत रहेको छ ।
सरकारले कुनै पनि शिर्षकमा लक्ष्यअनुसारको कर उठाउन सकेन, भ्याट तीन खर्ब मात्रै
काठमाडौं । गत वर्ष सरकारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २५.५६ प्रतिशत कम राजस्व संकलन गरेको हो । सरकारले गत आर्थिक वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले १० खर्ब ५८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ मात्रै कुल राजस्व संकलन गरेको हो । जुन तोकिएको लक्ष्या भन्दा २५.५६ प्रतिशत कम हो । सरकारले गत वर्ष कुनै पनि शिर्षकमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । १३ खर्ब ५ अर्ब रुपैयाँ जम्मा कर राजस्व र १ खर्ब १७ अर्ब रुपैयाँ अन्य राजस्व (गैरकर) संकलन गर्ने सरकारको लक्ष्य थियो । तर, २७.६४ प्रतिशत कम अर्थात् ९ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै कर र २.३२ प्रतिशत अर्थात् १ खर्ब १४ अर्ब रुपैयाँ गैरकर संकलन गरेको हो । भन्सार महशुल कर शिर्षकमा ३ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा ३४.६१ प्रतिशत कम अर्थात् २ खर्ब १ अर्ब २ करोड रुपैयाँ मात्रै भन्सार महशुल उठाउन सफल भयो । यस्तै, पैठारी शिर्षकमा २ खर्ब ४४ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले ३४.९४ प्रतिशत कम अर्थात् १ खर्ब ५९ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । तर, हरित करमा राजस्व संकलन गर्ने लक्ष्य राखेको थिएन । सो शिर्षकमा गत वर्ष ४५ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । सरकारले गत वर्ष निकासीतर्फ ६९ करोड ९१ लाख रुपैयाँ, पूर्वाधारतर्फ ३१ अर्ब ६७ करोड रुपैयाँ, भन्सारको अन्य आयतर्फ १ अर्ब ५२ करोड रुपैयाँ, कृषि सुधार शुल्कतर्फ १३ अर्ब १७ करोड रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १० अर्ब ९२ करोड रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ४ अर्ब ५७ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४ खर्ब २५ अर्ब ८९ करोड रुपैयाँ, उत्पादन, बिक्री, सेवातर्फ १ अर्ब ५७ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, निकासीतर्फ ५८.२७ प्रतिशत कम अर्थात् २९ करोड १७ लाख रुपैयाँ, पूर्वाधारतर्फ ३४.८५ प्रतिशत कम अर्थात् २० अर्ब ६३ करोड रुपैयाँ, भन्सारको अन्य आयतर्फ ५६.७३ प्रतिशत कम अर्थात् ६६ करोड १९ लाख रुपैयाँ, कृषि सुधार शुल्कतर्फ ५०.३८ प्रतिशत कम अर्थात् ६ अर्ब ५३ करोड रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १९.०९ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ५.८३ प्रतिशत अर्थात् ४ अर्ब ३१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २७.१० प्रतिशत कम अर्थात् ३ खर्ब १० अर्ब रुपैयाँ र उत्पादन, बिक्री, सेवातर्फ १७.२४ प्रतिशत कम अर्थात् १ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गरेकोछ । यस्तै, पैठारी शिर्षकमा २ खर्ब ६८ अर्ब रुपैयाँ, अन्तःशुल्कमा २ खर्ब ७ अर्ब रुपैयाँ, आन्तरिक उत्पादनमा १ खर्ब ५५ अर्ब रुपैयाँ, पैठारीमा ५१ अर्ब ६३ करोड रुपैयाँ, आयकरमा ३ खर्ब ६२ अर्ब रुपैयाँ, आयकरमा ३ खर्ब २ अर्ब रुपैयाँ, ब्याज करमा ५९ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, पैठारीमा ३२.८७ प्रतिशत कम अर्थात् १ खर्ब ८० अर्ब रुपैयाँ, अन्तःशुल्कमा २९.३७ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ, आन्तरिक उत्पादनमा २९.८० प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब रुपैयाँ, पैठारीमा २८ प्रतिशत अर्थात् ३७ अर्ब १४ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो ।