रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल तानियो (तस्बिरहरू)
काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ । लगनखेल थतिटोलबाट बिहीबार रथ तानेर जावलाखेल पुर्याइएको हो । सातगाउँमा सतुंगल, नैकाप, मत्स्येगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । परम्परागत बाजा, झाँकिसहित रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । गत वैशाख २७ गते बिहीबार रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिव १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।
पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो
वीरगञ्ज । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ । गत आर्थिक वर्षमा आठ सय ९७ घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि आव २०७/८० मा भने यहाँ एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८/७९ मा भने एक हजार चार सय ८८ वटा उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताए। ‘गत आर्थिक वर्षमा बैङ्कमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगीरव्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,’ उनले भने, ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।’ आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या एक सय ९२ वटाले घटेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ छुट्टाछुटै एक सय ७९ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, निर्माणतर्फ एक सय एक एक नयाँ उद्योग दर्ता भएका छन् । पर्यटनतर्फ ८०, सेवातर्फ तीन सय ५८ वटा नयाँ उद्योग थपिएका छन् । गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन् । गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने रु एक अर्ब पाँच पाँच करोड ९८ लाख सात हजार चार सय ५४ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार चार सय ५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ भने पाँच सय ११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार ती थपिएका हुन् ।
आधा दर्जन लघुवित्तमा ५ बीमा कम्पनीको लगानी
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थामा बीमा कम्पनीहरूले लगानी गरेको पाइएको छ । विभिन्न ५ बीमा कम्पनीहरूले ६ लघुवित्तमा करिब साढे १६ करोड बढी लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, महुलि लघुवित्त, फरवार्ड लघुवित्त र मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्थामा सूर्यज्योति लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ र सन नेपाल लाइफले सेयर लगानी गरेका हुन् । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सूर्यज्योति लाइफ र नेपाल लाइफले ४ वटा लघुवित्त संस्थामा लगानी गरेका छन् । सूर्यज्योति लाइफले विभिन्न लघुवित्तमा ३ लाख ४ हजार ३६९ कित्ता र नेपाल लाइफले ६ लाख ४४ हजार ८९२ कित्ता सेयर लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्तमा सूर्यज्योति लाइफ र नेपाल लाइफले लगानी छ । जसमा सूर्यज्योति लाइफको ०.५६ प्रतिशत अर्थात् ७३ हजार ३५ कित्ता र नेपाल लाइफले ०.६८ प्रतिशत अर्थात् ८८ हजार ३६७ कित्ता सेयर लगानी गरेका हुन् । यस्तै निर्धन उत्थान लघुवित्तमा नेशनल लाइफ र नेपाल लाइफको लगानी रहेको छ । यस लघुवित्तमा नेशनल लाइफको २ प्रतिशत अर्थात् ५ लाख २२ हजार ४१५ कित्ता र नेपाल लाइफको ०.६८ प्रतिशत अर्थात् १ लाख ७८ हजार २५८ कित्ता सेयर लगानी छ । मिथिला लघुवित्तमा नेपाल लाइफको २.०८ प्रतिशत अर्थात् ४० हजार ७६६ कित्ता सेयर, महुलि लघुवित्तमा सूर्यज्योति लाइफको २.१० प्रतिशत अर्थात् ६७ हजार ७५९ कित्ता सेयर लगानी छ । फरवार्ड लघुवित्तमा विभिन्न तीन बीमा कम्पनी नेपाल लाइफ, एशियन लाइफ र सूर्यज्योति लाइफको लगानी रहेको छ । जसमा नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, एशियन लाइफ र सूर्यज्योति लाइफको ०.८०÷०.८० प्रतिशत अर्थात् ८४ हजार ३७५ कित्ता सेयर स्वामित्व छ । मेरोमाइक्रोफाइनान्स लघुवित्तमा सन नेपाल लाइफको ०.७९ प्रतिशत अर्थात् १ लाख ४ हजार १४५ कित्ता र सूर्यज्योति लाइफको ०.६० प्रतिशत अर्थात् ७९ हजार २ सय कित्ता सेयर लगानी छ ।
कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी पास
काठमाडौं । परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । सहभागी परीक्षार्थी मध्ये (५२.९१ प्रतिशत) उत्तीर्ण भएका छन् । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । कक्षा १२ नतिजा पनि गत असारमा प्रकाशित एसइईको जस्तै लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बीवाइडीका गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले बताएको छ । समझदारी पत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ ।
सामाखुशीमा क्युएफएक्स चेनको नयाँ हल खुल्यो
काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर महलमा क्युएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहीबार साँझ अभिनेता अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपुत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गरेका थिए । तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ । उद्घाटनपछि कुराकानी गर्दै सञ्चालक सुमित मैनालीले हलका सबै थिएटरमा पिक्चर र साउण्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एशियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको बताए । जम्मा दर्शक क्षमता ५ सय सिट रहेको बताए । लाउञ्जर, सोफा सिटहरु रहेको जानकारी दिए । यससँगै क्यूएफएक्सको हल संख्या १७ पुगेको छ । हलको टिकट रेट अहिले कम रहेको र बिस्तारै अरुकै स्तरमा पुर्याउने बताए । ३ वटा थिएटरका लागि १८ करोड लगानी लागेको जानकारी दिए ।
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाख
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली सुनचाँदी व्यावसायीका अनुसार बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनपीएल बढेपछि हिमालयन लघुवित्तको नाफा २४.८१ प्रतिशत घट्यो
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासमा खुद नाफा २४.८१ प्रतिशत घटेर ७५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेर २३ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्लानी गरेको थियो । लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेर ३ करोड ६९ लाख रुपैयाँ छ भने कुल सञ्चालन आम्दानी ८.५६ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ र जगेडा कोष ४.८१ प्रतिशत बढेर १४ करोड ५२ लाख रुपैयाँ छ । लघुवित्तले ३ अर्ब ५० करोड निक्षेप तथा सापटी संकलन गरेर ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ७८ पैसा घटेर २.३६ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३.५७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा १.२८ प्रतिशतविन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ । यस्तै लघुवित्तको आधार दर १६.५८ प्रतिशत र कस्ट अफ फण्ड ८.७६ प्रतिशत छ ।