विकासन्युज

वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।  गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट १० अर्ब २१ करोड रुपैयाँ मूल्यका दलहन आयात गरिएको थियो ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए । उनका यस अवधिमा तीन अर्ब २० करोड रुपैयाँ मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा चार अर्ब ५० करोड रुपैयाँको मुसुरो दाल आयात भएको थियो ।  यसैगरी, चालु आवका १० महिनामा दुई अर्ब चार करोड रुपैयाँ मूल्य पर्ने सिसी/राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने दुई अर्ब ७४ करोडको रुपैयाँ सिमी/राजमा आयात भएको थियो । चालु आवको १० महिनामा एक अर्ब ९२ करोड रुपैयाँ मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने दुई अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो ।  चालु आवको १० महिनामा ४२ करोड रुपैयाँ मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाख रुपैयाँको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।   

भारतमा नेपालका प्रधानमन्त्रीलाई नगरिएको स्वागत रविलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा मंगलबार भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । भारतको सत्ताधारी दल भाजपाको कार्यालयमा मंगलबार उनको भव्य स्वागत गरिएको छ ।  भाजपाको निमन्त्रणामा पाँचदिने भ्रमणमा रहेका लामिछानेलाई दिल्लीस्थित भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको हो । सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता सुरु गरेका छन् ।  भेटअघि भाजपा कार्यालय परिसरमा पञ्चेबाजा, पुष्प वर्षा  तथा सांस्कृतिक झाँकीसहित उनको स्वागत गरिएको छ । स्वागत कार्यक्रममा भारतीय तथा नेपाली समुदायका उल्लेख्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।  भारत प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले प्रतिक्रिया माग्दा लामिछानेले भ्रमणपछि विस्तृत रूपमा बोल्ने बताएका थिए । भ्रमणका क्रममा उनले भाजपा नेतृत्वसँगै भारतीय सरकारका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामिछाने र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच पनि भेटवार्ताको तयारी गरिएको छ । उक्त भेट भाजपा कार्यालयमै हुन सक्ने जनाइएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट बुधबारका लागि तय भएको भए पनि समय भने अन्तिम रूपमा टुंगिएको छैन । भारतीय सञ्चारमाध्यम ‘आजतक’ले प्रधानमन्त्री मोदीको उपलब्ध समयअनुसार भेटघाट हुने भएकाले त्यस दिन नेपाली प्रतिनिधिमण्डलका अन्य औपचारिक कार्यक्रम नराखिएको जनाएको छ । राजनीतिक वृत्तमा लामिछानेको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । विगतमा नेपालका प्रधानमन्त्रीलाई नगरिएको स्वागत र सम्मान सभापति लामिछानेलाई गरिएको छ ।  तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा उनलाई विमानस्थलमा स्वागत गर्न भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवा पुगेका थिए । यसपटक भने भाजपा नेतृत्वका उच्च तहका पदाधिकारीहरू नै स्वागतमा सक्रिय देखिनुले भ्रमणलाई विशेष महत्व दिइएको संकेत मानिएको छ । यस पटक लामिछानेलाई स्वागत गर्न भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंह आइपुगेका थिए ।  सभापति रवि लामिछानेसँग भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंह ।  भारतले रविलाई विगतका प्रधानमन्त्री भन्दा बढी प्राथमिकता दिएको स्वागतबाट बुझ्न सकिन्छ । नेपालमा रास्वपाको बढ्दो राजनीतिक प्रभाव तथा नयाँ परिस्थितिका कारण भारतीय पक्षले फरक ढंगले वर्तमान नेपाल सरकारलाई हेरिरहेको विश्लेषण कुटनीतिका जानकारहरु बताउँछन् ।  लामिछानेको भ्रमणलाई सामान्य राजनीतिक भेटघाटभन्दा बढी महत्वको रूपमा हेरिएको छ । भारतले नेपालका प्रमुख राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्ने आफ्नो परम्परागत नीति अनुरूप रास्वपासँग पनि निकट संवाद बढाउन खोजेको हुन सक्ने टिप्पणी कुटनीतिक जानकारहरुके छ । सभापति लामिछानेले मंगलबार भारतको हिन्दुस्थान टाइम्समा एउटा लेखमार्फत नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । उनले दुई देशबीचको सम्बन्धलाई परम्परागत राजनीतिक र भू राजनीतिक बहसभन्दा माथि उठाएर विकास, व्यापार, लगानी र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन् । लामिछानेले नेपालमा पछिल्ला वर्षहरूमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिका क्रान्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ पुस्ताको नेतृत्व स्थापित भएको उल्लेख गरेका छन् । उनले रास्वपाले प्राप्त गरेको जनादेश परिवर्तनको पक्षमा जनताको स्पष्ट सन्देश भएको दाबी गरेका छन् । सभापति लामिछाने र भाजपाका अध्यक्ष नितिन नविन । तस्बिर : एएनआई  लेखमा उनले नेपाल र भारतबीच रेल, हवाई सेवा, ऊर्जा, सूचना प्रविधि, पर्यटन र शिक्षाजस्ता क्षेत्रमा व्यापक सहकार्यको सम्भावना औंल्याएका छन् । प्रस्तावित रक्सौल र काठमाडौं रेलमार्ग निर्माणले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक गतिविधिमा ऐतिहासिक परिवर्तन ल्याउने उनको भनाइ छ । लामिछानेले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म प्रत्यक्ष उडान सञ्चालन गर्नुपर्ने, काठमाडौं र बेङ्गलुरु डिजिटल करिडोर निर्माण गर्नुपर्ने तथा नेपालमा आईआईटी जस्ता प्रतिष्ठित भारतीय शैक्षिक संस्थाहरू विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।  उनले नेपालको जलविद्युत् सम्भावना भारतको ऊर्जा सुरक्षासँग जोडिएको बताएका छन् । सीमापार व्यापार सहज बनाउन आधुनिक पूर्वाधार, डिजिटाइज्ड एकीकृत जाँच चौकी र उन्नत पारवहन प्रणालीको आवश्यकता रहेको उनको धारणा छ । भाजपा कार्यालयमा रवि लामिछाने ।  लामिछानेले नेपाल र भारतबीच रहेका विवादहरूलाई ऐतिहासिक तथ्य, प्रमाण र संवादका आधारमा समाधान गर्नुपर्ने उल्लेख गरेका छन् । उनले अतिराष्ट्रवादी भाषणभन्दा व्यावहारिक संवाद र पारस्परिक विश्वासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

साना तथा मझौला उद्योगको प्रवर्द्धनबिना देशमा आर्थिक क्रान्ति असम्भव : सुरकृष्ण वैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवद्र्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य शर्त रहेको उल्लेख गरेका हुन् ।  वरिष्ठ उपाध्यक्ष वैद्यले साना तथा घरेलु उद्योग महासंघले जिल्ला तहसम्म पुगेर गरिरहेको कार्यको प्रशंसा गर्दै सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतले अबका दिनमा वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।  विशेषगरी वस्तुगत संघका सदस्यहरूको सक्रियताले महासंघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । सरकारी बजेट र तालिम कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै उपाध्यक्ष वैद्यले हाल सञ्चालित सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गलाई समेट्न नसकेको टिप्पणी गरे । आर्थिक, सीपमूलक र आयमूलक तालिमहरू (महिला, युवा तथा कृषक लक्षित) स्थानीय सरकारको अगुवाइमा भएपनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनहरूमार्फत हुनुपर्ने उनको प्रस्ताव छ ।  नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरका तालिमहरू सञ्चालन गरिए मात्र वास्तविक उद्यमीले अवसर पाउने र तालिमपश्चात रोजगारी सिर्जना हुने वैद्यले बताए । आगामी दिनमा दुवै महासंघले साझा समिति बनाएर सरकारसँग प्रभावकारी रूपमा समन्वय गर्ने योजना रहेको समेत बताए ।  ‘हामी के भन्छौँ भने, नेपालमा ठूला उद्योग घरानाभन्दा पनि जबसम्म साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन हुँदैन, जबसम्म साना उद्योगहरूको व्यवस्थापन हुँदैन र साना उद्यमीहरूको औद्योगिक क्रान्ति हुँदैन, तबसम्म देशमा आर्थिक क्रान्ति सम्भव हुँदैन भन्नेकुरा सबैले स्पष्ट रूपमा बुझेका छन्,’ उनले भने ।    

एमालेको राष्ट्रिय कार्यशाला अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुने भएका छन् ।  जेठ २० र २१ गते काठमाडौंमा पार्टीको संगठन विभागले आयोजना गर्ने राष्ट्रिय कार्यशालालाई अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक कार्यशालाको अध्यक्ष ओलीले उद्घाटन गर्ने एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।  डा. अधिकारीका अनुसार कार्यशालामा संगठन सुदृढीकरण, सदस्यता विस्तार, पार्टी संरचनाको प्रभावकारी परिचालन तथा भावी कार्ययोजनाबारे छलफल र अभिमुखीकरण गरिनेछ । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, पदाधिकारी, कार्यालय सचिव तथा विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहने डा. अधिकारीले जानकारी दिए । एमालेले कार्यशालामार्फत सदस्यता नवीकरण तथा विस्तार अभियानलाई थप प्रभावकारी बनाउने र पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।

नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने निजी क्षेत्रको प्रवृत्ति हट्नुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै अब निजी क्षेत्रले नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने (रेन्ट–सिकिङ) प्रवृत्ति त्याग्नु पर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्रको प्रवृत्ति नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने रहेको बताउँदै अब यो प्रवृत्ति रहन नहुने बताए ।  उनका अनुसार विगत तीन–चार दशकदेखि भइरहेको उदारीकरण र नीतिगत सुधारमा निजी क्षेत्रको भुमिका उल्लेखनीय रहेको छ तर निजी क्षेत्रबारे आलोचनात्मक रूपमा हेरिने केही प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक छ । भट्टकाअनुसार निजी क्षेत्रले अनावश्यक रूपमा नीतिमा लबिङ गरेर रेन्ट–सिकिङ व्यवहारलाई प्रोत्साहन गर्नु हुँदैन । उत्पादनशील लगानीभन्दा सट्टेबाजीमा केन्द्रित हुने प्रवृत्तिबाट पनि माथि उठ्न आवश्यक छ ।  उनले सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि चर्चामा आएको ‘फिसिङ विथ डायनामाइट’ अवधारणाको उदाहरण दिँदै अल्पकालीन लाभका लागि दीर्घकालीन क्षति हुने गतिविधिबाट निजी क्षेत्र र राज्य दुवै टाढा रहनुपर्ने बताए ।   भट्टले निजी क्षेत्रले सुशासनयुक्त कर्पोरेट संस्कार (गुड कर्पोरेट गभर्नेन्स) प्रवद्र्धन गर्नुपर्ने र सरकारले पनि सुशासनलाई बलियो बनाउँदै लैजानुपर्ने बताए । सरकारको ‘सुशासन र समृद्धि’ लाई सँगसँगै अघि बढाउने लक्ष्यको परिपूरकका रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनको भनाइ थियो । ‘निजी क्षेत्र भनेको नेपालको अर्थतन्त्रमा इमानदारीपूर्वक योगदान गरिरहेको क्षेत्र हो । विगत तीन–चार दशकदेखि हामीले उदारीकरण र नीतिगत सुधारका कुरा गरिरहेका छौँ, त्यसमा निजी क्षेत्रको योगदान पनि उत्तिकै महत्वपूर्ण छ,' उनले भने । उनले निजी क्षेत्रलाई अघि बढाउन सकिए देश उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढ्ने र त्यो सबैको साझा चाहना भएको बताए । उपाध्यक्ष भट्टले मुलुकको विकासका लागि छिमेकी देशहरूजस्तै प्रविधिको प्रयोग बढाउन, सरकारी तथा निजी दुवै क्षेत्रमा कार्यक्षमता वृद्धि गर्न आवश्यक रहेको बताए । त्यसो गर्नसके सार्वजनिक हितका कार्यक्रमहरूलाई प्रवर्द्धन गर्दै पछाडि परेका क्षेत्र, वर्ग र नागरिकलाई पनि विकासको साझेदार बनाउन सकिने उनको भनाइ थियो ।      

होटल पौवाको १९औं शाखा जनकपुरधाममा

जनकपुरधाम । होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदैछ । उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन’ आयोजना गर्दैछ ।  चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । रुपन्देहीबाट सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । ‘देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडल हो, जहाँ लगानीकर्ता र कर्मचारी दुवै संस्थाको विकास यात्राका साझेदार बनेका छन् । कर्मचारीहरुलाई लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै हामीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारेका छौं ।’ अध्यक्ष भण्डारीले बताए ।  कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी हुने उपाध्यक्ष ध्रुवराज न्यौपानेले बताए । उनले भने ‘जनकपुरमा पौवाको चारतारे विस्तार यात्रा अर्को महत्वपूर्ण उपलब्धि हो । जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो । नेपाल–भारत धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा रहेको यस शहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।’  नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।  ‘तिब्र विकासको लक्ष्य प्राप्तिका लागि सामुहिक लगानी मोडालिटी तयारी गरेका छौं । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पु¥याउने यात्रामा निरन्तर अग्रसर रहनेछ’, उनले भने ।  होटलमा ६२ वटा रुम रहेका छन् । चारतारेस्तरमा हुनुपर्ने सबै सुविधा ९स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार हलहरु, रेस्टुरेन्ट, जीम, साउना स्टिम र स्पा सुविधासहितको पूर्वाधार रहेका छन् ।

अब कम्प्युटरमा सिधै ‘एआई’, एनभीडीयाले ल्यायो ‘नयाँ चिप’

काठमाडौं । एनभीडीयाले सोमबार एउटा नयाँ चिप सार्वजनिक गरेको छ । सार्वजनिक चिपले कृत्रिम बौद्धिकता (एआई) का क्षमताहरूलाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरहरूमा उपलब्ध गराउने एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले जानकारी दिए । चिप सार्वजनिक भएसँगै एनभीडीयाले आफूलाई उसका प्रतिस्पर्धीहरू एड्भान्स्ड माइक्रो डिभाइसेज (एडब्ल्यूडी), इन्टेल र एप्पलसँगको प्रतिस्पर्धामा उभ्याएको छ । कम्प्युटिक्स सम्मेलनका लागि ताइवानमा रहेका एनभीडीयाका सीईओ हुआङले दुई कम्पनीबीच तीन वर्षको सहकार्यपछि एआई युगका लागि पीसीलाई पुन:परिभाषित गर्ने माइक्रोसफ्टसँगको प्रयासको एक हिस्सा आरटीएक्स स्पार्क पीसी चिप भएको बताएका छन् । एनभीडीयाका सीईओ जेन्सेन हुआङ । ताइवानको मिडियाटेकसँग मिलेर विकास गरिएको यो चिप यसै वर्षको शरद ऋतुमा डेल, एचपी, लेनोभो, आसुस, माइक्रोसफ्ट सर्फेस र एमएसआईका ल्यापटप तथा कम्प्याक्ट डेस्कटपहरूमा उपलब्ध हुनेछ । यसपछि एसर र गिगाबाइटका मोडलहरूमा पनि यो चिप आउनेछ । उद्योग विज्ञहरूका अनुसार यो प्रोसेसरले एआईसँगको प्रयोगकर्ताको अन्तरक्रियालाई पूर्ण रूपमा बदल्नेछ किनकि यसलाई क्लाउड कम्प्युटिङमा मात्र निर्भर हुनुको सट्टा स्थानीय रूपमै स्वायत्त एआई एजेन्टहरू सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएको छ । एआई मोडलहरूलाई तालिम दिने चिपहरूमा आफ्नो वर्चस्व जमाएपछि एनभीडीया अब ‘इन्फरेन्स प्रोसेसर’ को मागमा आउने अनुमानित वृद्धिलाई कब्जा गर्न अघि बढेको छ । यी त्यस्ता चिपहरू हुन् जसले प्रयोगकर्ताका प्रश्नहरू र दैनिक कार्यहरू सम्हाल्न बनाइएका एजेन्टहरूलाई एआई प्रतिक्रिया दिने शक्ति प्रदान गर्छन् । बढ्दो प्रतिस्पर्धाले लगानीकर्ताहरूलाई चिन्तित बनाएका बेला, पीसीहरूलाई लक्षित गरेर एनभीडीयाले आफ्नो ठुलो सञ्जाल र एआई विशेषज्ञताको बलमा एउटा नयाँ ठुलो बजार खोल्ने दाउ खेलेको छ । एआई पीसीहरूका लागि अहिलेसम्मको बजार प्रतिक्रिया मिश्रित देखिएको छ । एचपीले गत हप्ता यी डिभाइसहरूले त्रैमासिक बिक्री बढाउन मद्दत गरेको रिपोर्ट गरेको थियो, तर डेलले यस वर्षको सुरुमा माग सुरुवाती अपेक्षाभन्दा कम रहेको बताएको थियो । एआई मागको फाइदा उठाउन खोजिरहेको क्वालकमले पनि माइक्रोसफ्टसँग मिलेर एआई पीसीहरू अघि सारिरहेको छ । काउन्टरपोइन्ट रिसर्चका सहसंस्थापक नील शाहले भने, ‘आरटीएक्स स्पार्कले परम्परागत एपकेन्द्रित पीसीलाई एक वास्तविक उपयोगी ‘एजेन्टिक एआई’ व्यक्तिगत कम्प्युटरमा रूपान्तरण गर्ने देखिन्छ । निजी एज एआई एजेन्टहरू महत्त्वपूर्ण बन्दै जाँदा आगामी वर्षहरूमा यो अन्ततः हरेक घरमा पुग्नेछ ।’ ‘यो व्यक्तिगत कम्प्युटिङ क्षेत्रका लागि ‘आरटीएक्स स्पार्क’ विशेष हुनेछ, जसरी विगतमा आइफोन, च्याटजीपीटी वा डिपसिक भएका थिए,’ उनले थपे । यस घोषणापछि एनभीडीयाको सेयर ४ प्रतिशतले बढ्यो, जबकि एएमडी, इन्टेल र क्वालकमको सेयर ४.९ प्रतिशतदेखि ८.५ प्रतिशतसम्मले घट्यो । एप्पल ०.८ प्रतिशतले घट्यो भने सफ्टवेयर सेयरहरूमा आएको सुधारका कारण माइक्रोसफ्ट २.७ प्रतिशतले बढ्यो । एचपी र डेल दुवै ७ प्रतिशतभन्दा बढीले बढे भने हङकङमा लेनोभोको सेयर ५ प्रतिशतभन्दा बढीले बन्द भयो । हुआङले सोमबार आफ्नो मुख्य भाषणको ठुलो हिस्सा कम्पनीको पीसी र सीपीयू विस्तारमा केन्द्रित गरेका थिए । उनले आफ्नो नयाँ भेरा‍ सेन्ट्रल प्रोसेसरको सुरुवाती प्रयोगकर्ताहरूमा ओपनएआई, एन्थ्रोपिक र स्पेसएक्स रहेको बताए । पूर्ण रूपमा स्वायत्त एजेन्टहरूतर्फको यात्रा आफ्नो ट्रेडमार्क कालो छालाको ज्याकेटमा ठाँटिएका हुआङले जुन २ देखि ५ सम्म चल्ने कम्प्युटिक्स ट्रेड शो अगाडि सम्बोधन गरिरहेका थिए । यस मेलाले विश्वका केही ठुला प्रविधि कम्पनीका नेतृत्वकर्ताहरूलाई आकर्षित गरेको छ । पीसी हार्डवेयरमा स्थानीय रूपमै चल्ने एआई एजेन्टहरूमा एनभीडीयाले दिएको जोड क्वालकमका सीईओ क्रिस्टियानो अमोनको भनाइसँग मिल्दोजुल्दो थियो । अमोनले पनि कम्प्युटिक्स अगाडि बोल्दै सन् २०२६ लाई ‘एजेन्टिक एआई’को लागि टर्निङ पोइन्टका रूपमा चित्रण गरे । ‘दुई वर्षअघि हामीले एआईले कसरी मानव–कम्प्युटर इन्टरफेसलाई परिवर्तन गर्नेछ र फलस्वरूप हाम्रा सबै व्यक्तिगत कम्प्युटिङ डिभाइसहरूको आर्किटेक्चर बदल्नेछ भन्नेबारे कुरा गरेका थियौं । र, त्यो सन् २०२६ मा वास्तविकता बन्न थालेको छ। त्यसैले हामी २०२६ लाई ‘एजेन्टहरूको वर्ष’ भन्छौं,’ उनले भने । अमोनका अनुसार एजेन्टिक एआईतर्फको यो परिवर्तनले स्थानीय एज कम्प्युटिङलाई अपरिहार्य बनाउँछ, किनकि आजका डिभाइस आर्किटेक्चरहरू सधैं अन रहने र स्वायत्त रूपमा चल्ने गरी बनाइएका थिएनन् । ‘आजका यी सबै डिभाइसहरू प्रयोगकर्ताद्वारा सुरु गरिने कार्यका लागि बनाइएका हुन्, एजेन्टहरूद्वारा होइन,’ उनले भने । मे महिनामा भएको वित्तीय प्रतिवेदन बैठकको क्रममा हुआङले एनभीडीयाको नयाँ भेरा सेन्ट्रल प्रोसेसरले कम्पनीलाई नयाँ २०० अर्ब डलरको बजारमा पहुँच दिने बताएका थिए । एनभीडीयाका पछिल्ला एआई उत्पादनहरूको रूपरेखा प्रस्तुत गर्दै र विश्वव्यापी प्रविधि उद्योगमा ताइवान टापुको केन्द्रीय भूमिकालाई हाइलाइट गर्दै गरिएको लामो भाषणमा हुआङले भने, ‘यो (भेरा सीपीयू) हाम्रो वृद्धिको नयाँ प्रमुख ड्राइभर बन्नेछ ।’ हुआङले एआईले सफ्टवेयर इन्जिनियरहरूको माग घटाउनेछ भन्ने चिन्तालाई ‘पूर्ण बकवास’ भन्दै खारेज गरे । बरु यो प्रविधिले कामदारहरूलाई बढी उत्पादक बनाएर रोजगारीका अवसरहरू बढाउने तर्क उनले गरे । उनले भने, ‘यो एआईको प्रतिज्ञा हो । इन्जिनियरहरू, सफ्टवेयर इन्जिनियरहरूको सङ्ख्या वास्तवमा बढिरहेको छ । मानिसहरू एआईले जागिर घटाउने कुरा गर्छन् । यो पूर्ण बकवास हो । यसले गर्दा अझ बढी सफ्टवेयर इन्जिनियरहरू काममा राखिँदै छन् ।’ ताइवानको दक्षिणी सहर ताइनानमा जन्मिएका हुआङले गत हप्ता ताइवानमा प्रतिवर्ष करिब १५० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका थिए र यसलाई एआई क्रान्तिको केन्द्रविन्दुको रूपमा वर्णन गरेका थिए । ताइपेई म्युजिक हलमा भएको यो भाषण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेइजिङ भ्रमणमा गएर चिनियाँ नेता सी जिनपिङलाई भेट्न पुगेको उच्चस्तरीय कर्पोरेट प्रतिनिधिमण्डलको हिस्सा बनेको करिब दुई हप्तापछि भएको हो । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) अन्य पठनीय सामग्रीहरू : चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ इरान र अमेरिका युद्धविरामको सहमति नजिक फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति

माण्डु हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले ७१ लाख ७७ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।