साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।’ पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताए । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए । ‘साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ’, उनले भने, ‘बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।’ यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
बैंकहरुको लाभांश क्षमता ५.८५ प्रतिशत, एभरेष्ट र स्ट्याण्डर्डको उच्च, ४ बैंकका सेयरधनीको हात खाली
काठमाडौं । बैंकहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत देखिएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको औसत लाभांश क्षमता ९.६५ प्रतिशत थियो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको देखिएको छ । एभरेष्टको लाभांश क्षमता २९.८६ प्रतिशत छ भने स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २६.५ प्रतिशत छ । यस्तै, नबिल बैंकको १४.२६ प्रतिशत, नेपाल एसबिआईको १०.७६ प्रतिशत र सानिमाको १०.४ प्रतिशत लाभांश क्षमता छ । अन्य ११ बैंकको लाभांश क्षमता एक अंकमा छ । यस्तै, कुमारी, हिमालयन, एनआईसी एशिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि यी बैंकले लाभांश वितरण गर्न सकेका थिएनन् । अघिल्लो वर्ष एनआइसी एशिया बैंकको लाभांश क्षमता ३०.५६ प्रतिशत रहेको भए पनि नियामकीय प्रावधानका कारण बैंकका सेयरधनीले लाभांश पाउन सकेका थिएनन् ।
हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित छ । यस्तै बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ४.९१ प्रतिशत कायम भएको छ ।
एभरेष्ट बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत, खराब कर्जा पनि घट्यो
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको नाफा १०.०७ प्रतिशत बढेको हो । बैंकले गत आवमा ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दाी गरेको थियो । यस्तै, बैंकको गत आवमा लाभांश वितरण क्षमता २९.८६ प्रतिशत रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ देखिएको छ । बैंकले गत आवमा २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३३६.०६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७१ प्रतिशत रहेको छ । अन्य बैंकको खराब कर्जा बढ्दा यस बैंकको भने घटेको छ ।
सिद्धार्थ बैंकको नाफा ३ अर्ब बढी, यस्ता छन् अन्य सूचक
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले सम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद नाफा ४.७८ प्रतिशतले घटेको हो । यस्तै, बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब १८ करोड ४५ लाख रुपैषँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ र जगेडा कोेष २१.०४ प्रतिशत बढेर १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । अघिल्लो आवको तुलनामा बैंकको वितरणयोग्य नाफा घटेर ३६ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन ७.९० प्रतिशत बढाएर २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ६.१५ प्रतिशत बढाएर १ खर्ब ९५ अर्ब ३२ करोड रुपैयाँ गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १.०७ रुपैयाँ घटेर २१.४० रुपैयाँ कायम भएको छ भने खराब कर्जा २.२२ प्रतिशत रहेको छ ।
नाफामा प्रभु, कुमारी र प्राइमको उछाल, नबिलले इन्ड्रष्टी टप्दा १० बैंकको घट्यो
काठमाडौं । गत आर्थिक वर्ष २०८०८१ मा बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले कुल ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा गरेका थिए । गत आवमा अघिल्लो आवको तुलनामा बैंकहरुको नाफा १३.३९ प्रतिशत बढेको हो । प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक अगाडि देखिएको भएपनि नबिल बैंक बढी नाफा गर्ने बैंकको पहिलो नम्बरमा छ । बैंकहरुको वित्तीय विवरणअनुसार प्रभु बैंकले १४९९.०३ प्रतिशतको नाफा वृद्धि गरेको छ भने कुमारी र प्राइम कमर्सियल बैंकले क्रमशः ३४५.६६ प्रतिशत र २६७.१८ प्रतिशतको नाफा वृद्धि गरेका छन् । यस्तै, वाणिज्य बैंकमै सबैभन्दा बढी नाफा गर्ने बैंक भने नबिल रहेको छ । नबिलले गत आर्थिक वर्षमा १०.२२ प्रतिशतको नाफा बढाएर कुल ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । यो अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ ।
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २३.०९ प्रतिशत कम नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेर ५ अर्ब ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ र जगेडा कोष ३.७६ प्रतिशत घटेर ५ अर्ब ६७ करोड रुपैयाँ छ । गत वर्ष बैंकले निक्षेप संकलन २.४४ प्रतिशत बढाएर १ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ०.७७ प्रतिशत बढाएर १ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ५.०९ रुपैयाँ घटेर १०.७६ रुपैयाँ कायम छ । बैंकको प्रतिसेयर नेटवर्थ १४८.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ । अघिल्लो वर्ष ०.८६ प्रतिशत खराब कर्जा रहेकोमा गत वर्ष बढेर १.५६ प्रतिशत पुगेको छ ।
ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब बढी, यस्ता छन् अन्य सूचक
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले बैंकको नाफा १०.१३ प्रतिशतले घटेको छ । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ८.२५ प्रतिशत घटेको छ । ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी १६.६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.८१ रुपैयाँ छ ।